मेरी आमा ! तिमीलाई कोटी कोटी प्रणाम छ (कविता) - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, June 8, 2024

मेरी आमा ! तिमीलाई कोटी कोटी प्रणाम छ (कविता)



-   कल्पना ज्ञवाली ‘समर्पण’

जीवनका

हरेक पथहरूको प्रदर्शक,

जीवनका

हरेक मार्गहरूको मार्ग दर्शक,

स्वेच्छिक जीवन

सन्तानलाई अर्पित गर्दै

सन्तान, पति, कर्मघरका हरेक

बुहार्तन सहन सकेकी

मेरो हरेक

श्वास, निश्वास र अर्धश्वासमा

बास बसेकी

मेरी प्यारी आमा तिमीलाई

कोटी कोटी नमन छ .........................

.

.

.

बिहानैको मिर्मिरे उज्यालोसँगै

मेरी आमा !

कुखुराको पहिलो कुखरी काँ

भन्नु अगाडि नै

उठिसकेकी हुन्थिन्

मेरी आमा !

घरको हरेक धन्दा सकेर

सन्तानलाई पहिलो गुरु बनेर

दिनको मिर्मिरे उज्यालोसँगै

जीवन मार्गदर्शनका पाठहरू पढाउँथिन्

र अहिलेका हामी सन्तानहरू

मेरी आमाका अतुलनीय योगदानका

उपज हौँ

मेरी आमाको

मार्गदर्शनका कारण नै हामी

उभिन सकेका छौँ

बाँच्न सकेका छौँ

बाँच्न सिकेका छौँ .............

.

.

.

दैवको लीला !

क्रूर नियतिले मेरी आमालाई

हामीबिच रहन दिएन

धेरै खुसी हामीले आमाबाट पाउँदा

केही खुसी हामीले आमालाई

दिन सकेनौँ

केही खुसी हामीले आमालाई

दिन सक्ने अवस्थामा हामी

पुग्न नपाउँदै

हाम्री आमा

भगवान्‌को नजिक हुनुभयो

त्यही भएर

त्यो क्रूर भगवान्‌लाई

भन्न मन लाग्छ

तिमीले हामीबाट

हाम्रो आमा खोस्नु भनेको

भगवानप्रतिको हाम्रो विश्वास गुम्नु हो

मेरी आमा !

तिमी कहाँ छौ ?

यी अश्रुनयनहरूले तिमीलाई

खोजिरहेका छन्

आमा !

तिमी जहाँ छौ

तिम्रै पदचिह्‍न हिँड्न

मार्गदर्शन दिइरहेकी छौ

मेरी आमा तिमीलाई

कोटी कोटी नमन छ

मेरी आमा तिमीलाई

मेरा अश्रुपुरित नयनहरूले

खोजिरहेका छन्

आऊ !

मेरो आँखाअगाडि आऊ

र टिलपिलिएका

मेरा आँखालाई तिनै

मातृवात्सल्यका हातहरूले पुछिदेऊ

मेरी आमा ! तिमी

सधैँ सधैँ मेरा लागि जीवित छौ

पलपल र निमेष निमेष

मेरा लागि बाँचिरहेकी छौ

दिगन्तसम्म मेरी आमा

मेरै अगाडि मलाई

आफ्नो न्यानो काखमा राखेर

लुट्पुट्याइरहेकी छौ

आमा !

तिमी धन्य छौ

आमा !

तिमीलाई कोटि कोटी प्रणाम छ ।

                             तिलोत्तमा-६, रुपन्देही


No comments:

Post a Comment