प्रिय विद्यार्थी, जाऊ- यस्तो स्कुल जाऊ (कविता)- सुरज लम्साल - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Friday, June 18, 2021

प्रिय विद्यार्थी, जाऊ- यस्तो स्कुल जाऊ (कविता)- सुरज लम्साल

 

कविता

                   प्रिय विद्यार्थी, जाऊ- यस्तो स्कुल जाऊ

                                                                  - सुरज लम्साल

प्रिय विद्यार्थी,

जाऊ यस्तो स्कुल जाऊ जहाँ

जीवन सिक्न पाइन्छ,

छलफल र अन्तर्क्रियाद्वारा



सिकाइको सार झिक्न पाइन्छ,

त्यही जीवनोपयोगी सिकाइको सारले

जागिरमा टिक्न अनि 

विश्वबजारमा बिक्न पाइन्छ ।


प्रिय विद्यार्थी,

किताबको भारी बोकाउनेमा होइन

नबुझाइकन पाठ घोकाउनेमा होइन

नजाने उठबसदेखि टाउको ठोकाउनेमा होइन

डरत्रासले तिम्रा पाइला रोकाउनेमा होइन


प्रिय विद्यार्थी,

तिमी त यस्तो स्कुल जाऊ 

जहाँ किताबका पानाभित्रका 

शब्द शब्दका अर्थबोध गराइन्छ

तिम्रा मस्तिष्क माझेर

ज्ञानको भण्डार भराइन्छ

छरेर माया र ममता

दिएर अमृत वाणीहरू

तिम्रा काम कर्तव्यहरू अह्राइन्छ । 


प्रिय विद्यार्थी,

गह्रुङ्गो मन लिएर एका बिहानै कक्षा जानुपर्नेमा होइन

बुझाइबिनाको पाठ नजानी गाली खानुपर्नेमा होइन

थरी थरीका प्राक्टिस बुकहरू लानुपर्नेमा होइन

गुणस्तरबिनाको अङ्कलाई राम्रो मान्नुपर्नेमा होइन


प्रिय विद्यार्थी,

तिमी त यस्तो स्कुल जाऊ 

जहाँ खुला हृदयले खुला संसारमा

सम्भावनाका ढोकाहरू सहजै पहिल्याउने 

आत्मविश्वासी सिकाइ होस् 

स्वनिर्णय अनि स्वविवेकी चिन्तन

हासिल गर्ने सिप प्राप्त रहोस्

तिम्रा जिज्ञासाहरू मेटाउने 

सक्षम शिक्षकहरू भओस्


प्रिय विद्यार्थी,

तिमी त यस्तो स्कुल जाऊ जहाँ

भोलिको जीवन सङ्घर्ष बुझ्ने सिकाइ होस्

आफैँले आफैँलाई नै सुझ्ने सिकाइ होस् । 

आफैँले आफैँलाई नै सुझ्ने सिकाइ होस् ।


शिक्षक, जनज्योति माध्यमिक विद्यालय, तनहुँ

No comments:

Post a Comment