गीत - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


गीत


गीत 

                          –श्रमिक बराल


सर्प ठानी अँध्यारोमा डोरी देखी तर्सिएछु
कान छाम्न बिर्सिएर कागको पछि दौडिएछु

तर्क गर्नु पर्ने रै’छ प्रमाण बुझ्नु पर्ने र’ैछ
साँचो कुरा थाहा पाउन सोध्नु खोज्नु पर्ने रै’छ
ताल ठानी पोखरीमा जीउ डुवाइ पौडिएछु
कान छाम्न बिर्सिएर कागको पछि दौडिएछु

सही कुरा थाहा पाउन विवेकलाई साथ राख्नु
भन्थे सुन्थे कुरा छाडी प्रमाणलाई हातमा राख्नु
जताबाट बतास आयो उतैतिर दौडिएछु
कान छाम्न बिर्सिएर कागको पछि दौडिएछु
                       पोखरा, हाल: भक्तपुर

गीत


                   –विवश थापा






तिम्रै पीरले होला सायद पलपल पिउन थालेको छु
अन्धकारमा टोलाएर एक्लै जिउन थालेको छु

चोखो मनले प्रीत दिँदा तिम्लाई जोख्ने तुल भयो
अञ्जानमै माया गर्नु आखिरीमा भूल भयो
जे भए नि आखिरीमा मनलाई सिउन थालेको छु
तिम्रै पीरले होला सायद पलपल पिउन थालेको छु

पञ्चेबाजा बजाएर तिम्रो खाली सिउँदो भ¥यौ
सोझो मान्छे फसाएर तिम्रो स्वार्थ पूरा ग¥यौ
माया भन्ने यस्तै रै’छ एक्लै जिउन थालेको छु
तिम्रै पीरले होला सायद पलपल पिउन थालेको छु ।
                                 रायडाँडा–२, बाग्लुङ
                   

गीत

                                    – दुर्गाबहादुर शाह ‘बाबा’













मनले बाँध सधंै तिम्रो धड्कनमा हुन्छु
त्यही धड्कनको सङ्गीतमा तिम्रो गीत सुन्छु

बिनामौसम, बिनाऋतु माया फुल्दो रै’छ
त्यही फूलमा भमरा भै’ जीवन भुल्दो रै’छ
जिउन जाने कत्ति मिठो जीन्दगीको रङ्ग
सारा दुख बिर्सिदिन्छु हुँदा तिमीसँग

बग्दै जाँदा दुई खोलीको मिलन जहाँ हुन्छ
त्यही मिलन जिन्दगीको सहयात्रा बन्छ
                        [email protected]

गीत              


       –जीवन सागर भण्डारी 













आज फेरि मनभरि नाथाथरि कुरा चल्यो
कुनै कुरा आधा चल्यो कुनै कुरा पूरा चल्यो

वेदनाको कालो बादल किन छायो कुन्नि ?
हाँसो कता हराएछ कसले पायो कुन्नि ?
रातदिन आँखाबाट आँसु झरेपछि
मीठै लाग्दो रै’छ त्यही बानी परेपछि

मनभित्र आँधी हुरी किन चल्यो होला ?
नियतिले यति धेरै किन छल्यो होला ?
रेटेपछि सारङ्गीलाई पर्छ जसै रून
त्यही रूँदा दुनियालाई बन्छ मीठो धुन

गीत

             –शिव पलाँस 



बरु सहिद बनिदिन्छु झण्डा झुक्न दिन्न
यै माटोको कसम खान्छु देश दुख्न दिन्न

जब कोही धावा बोल्छ नेपाल राष्ट्रमाथि
पर्खाल बनी म उभिन्छु खोली आप्mनै छाती
म मरेर केही हुँदैन मुलुक डुब्नुहुन्न
देशको साँचो पराइको हातमा पुग्नुहुन्न

नेपाली हुँ कर्तव्यमा कहिल्यै चुक्या’ छैन
गोर्खाली हुँ इतिहासमा शिर झुक्या’ छैन
हिँड्छु सधंै वीर पुर्खाले देखाएको बाटो
स्वर्गभन्दा ठूलो लाग्छ मलाई मेरै माटो
                              किचनास – ९, स्याङ्जा





No comments:

Post a Comment