साहित्यिक अभियान
अक्षरयात्रा
–लक्ष्मण थापा
जीवन यात्रा हो र यात्रा जीवन हो । जीवनमा गति हुन्छ, गति हुनुपर्छ । गतिविहीन जीवन, जीवन हुन सक्दैन । गतिले नै जीवनलाई जीवन्त बनाउँछ । जीवनले गति प्राप्त गर्न यात्रा हुनुपर्छ । पोखराको पानीझैं एक ठाउँमा मात्र जमेर बस्दा कीटाणु पैदा हुन्छ । जीवन नदीझैं गतिमय हुनुपर्छ । नदीझैं यात्रामय हुनुपर्छ अनि पो सँगालिन्छ जीवन अनि पो अनुभवरुपी अजस्र ज्ञान प्राप्त गर्छ जीवनले । चट्टानसँग ठोकिन्छ र सङ्लिन्छ नदी । पहाडसँग पैठेजोरी खेल्छ र स्वच्छ हुन्छ नदी । नदी यात्रारत हुन्छ, उसको गन्तव्य समुन्द्र हो । गन्तव्यमा पुग्न हतारिने नदीले हामीलाई पाठ पढाइरहन्छ कि गन्तव्यमा पुग्न सजिलो हुँदैन । अनेक हण्डरहरु खानुपर्छ, गोता पाउनुपर्छ, पछारिनुपर्छ, जुध्नुपर्छ, कहिले धमिलिनुपर्छ, । नदी सङ्घर्षको प्रतीक हो । नदी नुनिलो समुन्द्रमा पुगी समुन्द्रको अस्तित्वमा बिलाउँछ । समुन्द्रको गन्तव्य आकास हो । समुन्द्र आकासको यात्रामा लालायित रहन्छ । पानीको अस्तित्वमा लालायित रहन्छ । पानीमा अस्तित्व वाष्पीकरण भै आकासमा पुग्छ । बादल बन्दछ । बादल धर्तीको कोख चुम्न आतुर रहन्छ । वाफ भई नुनिलो पानी जब आकासमा पुग्छ, तब मिठोमा रुपान्तरण भै धर्तीमै झर्दछ र जीवनलाई हरियालीपूर्ण बनाउँछ त्यसैले जीवन यात्रा हो । जीवन भोगाइहरुको यात्रा हो । यात्राले जीवनलाई जगत्को यथार्थबोध गराउँछ ।
अक्षर भावना हुन् । भावना अक्षरका माध्यमले अभिव्यक्त हुन्छन् । अक्षरबिना टाढाका, अपरिचित, अन्जान र अन्य देशका मानिसका भावना बुझ्न सकिँदैन । नभोगेका ऐतिहासिक युग अक्षरको माध्यमबाट बुझिन्छन् । अनुभूति नगरेका समय र स्थानहरु अक्षरका माध्यमबाट अनुभूत गरिन्छ । अक्षरहरु गतिशील हुन्छन् । अक्षरहरु अन्तरिक्षमा बडो जोडसँग दौडिरहेका हुन्छ । अक्षरहरुको आफ्नो धर्म हुन्छ । कहिले यात्राले अक्षरहरुलाई डो¥याइरहेका हुन्छन् जसले जसलाई डो¥याएका भए तापनि दुवैको सहयात्रा हो अक्षरयात्रा ।
अक्षरयात्रा एउटा सिर्जनाको यात्रा हो । अक्षरयात्रा एउटा साहित्यको यात्राा हो । अक्षरयात्रा एउटा आन्दोलनकारी यात्रा हो । आन्दोलन परिवर्तनका लागि गरिन्छ । आन्दोलन यथास्थितिको विरुद्ध गरिन्छ । आन्दोलन नवीन युगको उदयका लागि गरिन्छ । आन्दोलन क्रान्तिका लागि गरिन्छ । क्रान्ति भन्नेबित्तिकै हिंसा हुन्छ भन्ने बुझिन्छ । क्रान्तिमा रक्तपात हुन्छ भनेर डराइन्छ । क्रान्तिमा बर्बरताको उल्कापात हुन्छ भनेर सोचिन्छ । हो, विश्वका राजनीतिक क्रान्तिहरु रक्तपातपूर्ण भएका छन् । हिंस्रक भएका छन् । रगतका खोलाहरु बगेका छन् । विपक्षलाई निमिट्यान्न पारिएका छन् । प्रतिपक्षको अस्तित्वको जरा उखेलिएको छ । अस्तित्व नै मास्ने दुष्प्रयास गरिएको छ तर सिर्जनात्मक क्रान्तिमा त्यो कुरुपता हुँदैन । सिर्जनात्मक क्रान्ति त्यस्तो भयावह हुँदैन । यसमा कोलाहल हुँदैन । हल्ला हुँदैन । घात र प्रतिघात हुँदैन । इश्र्या र दम्भ पनि हुँदैन । यो त शातिपूर्वक गरिने तपस्या हो । चुपचाप गरिन्छ । दिगो परिवर्तन आउँछ । नयाँ मूल्य र मान्यताको स्थापना गर्दछ र विश्व सप्तरङ्गी सुन्दरताका आभाहरुमा स्नान गर्दै अगाडि बढ्छ । नयाँ गन्तव्यको यात्रामा यात्रारत हुन्छ । त्यस्तै सिर्जनाको सुरुचिपूर्ण आन्दोलन हो अक्षरयात्रा ।
हुन त विश्व साहित्यमा मात्रै हैन, नेपाली साहित्यमा पनि अनेक आन्दोलन गरिएका छन् । साहित्यिक आन्दोलनले राजनीतिक आन्दोलनलार्ई दिशाबोध गरेका छन् । युगान्तकारी परिवर्तनका लागि कोशेढुङ्गाको काम गरेका छन् । साहित्यिक आन्दोलनबिना राजनैतिक आन्दोलन अन्धो हुन्छ । अन्धोले गन्तव्य थाहा पाउन सक्दैन । सामाजिक परिवर्तनको द्योतक हो साहित्य । हुन त साहित्य स्वयम् आन्दोलन हो । साहित्यलाई कुनै आन्दोलनको खोल ओढाइरहनु आवश्यक छैन । साहित्य जहिले पनि परिवर्तनकारी हुन्छ । साहित्य जहिले पनि युगान्तकारी हुन्छ तैपनि कहिलेकाहीँ आन्दोलनभित्रको आन्दोलन गर्नुपर्ने हुन्छ । त्यस्तै एउटा आन्दोलन हो अक्षरयात्रा ।
पोखरा आफँैमा सौन्दर्यको अनुपम खानी हो । सौन्दर्यको अमृत पोखरा वरिपरि छताछुल्ल छ । सौन्दर्य आफैँ सिर्जना हो । सिर्जना जहिले पनि सौन्दर्यमय हुन्छन् त्यसैले पोखरेली मनहरु सिर्जनशील छन् र यो सिर्जनाको प्रवाहलाई पञ्चायती शासनकालका बाँध बाँधेर थुन्ने दुष्प्रयास गरेको भए तापनि त्यो बाँध ४६ सालमा फुट्यो । सिर्जनात्मक बन्धन टुटेपछि खुल्ला, स्वतन्त्र र स्वच्छन्द वातावरणले साहित्य सिर्जनाको प्रवाहमा तीब्रता आउन थाल्यो । यसै परिवेशमा पोखरामा क्रियाशील पुराना साहित्यिक संस्थाले सबैलाई समेट्न नसक्ने अवस्था आएकोले नवनीत साहित्य सागर वि.सं. २०५७ सालमा स्थापना भयो । त्यसको दुई वर्षपछि २०५९ सालमा गजल सन्ध्या र २०६० सालमा भावना परिवारको स्थापना भई आ–आफ्नो गतिविधि अगाडि बढाउन थाले । यिनीहरुका आफ्ना नियमित कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस भइरहेको थियो ।
पोखरालाई कार्यथलो बनाइ लामो समयदेखि सिर्जना यात्रामा यात्रारत वरिष्ठ गीतकार, गजलकार तथा कवि प्रकट पगेनी ‘शिव’ त्यति बेला ली वर्डको जागिर छोडेर पोखरा उपमहानगरपालिकाको कार्यालयअगाडि ‘पगेनी आर्ट मिडिया’ खोली स्वतन्त्र व्यवसाय सुरु गरेका हुनाले हाम्रो जमघटको ठाउँ त्यही भएको थियो । पोखराकै अर्का युवा ओजश्वी, सिर्जनशील र उत्साही साहित्यकार दीपक समीप तथा अर्का युवा खरो स्वभाव र सिर्जनाधर्मितामा चुर्लुम्म डुबेका, विशेष गरी नाटकका क्षेत्रमा आÇनो क्षमताको प्रदर्शन गर्न सक्षम साहित्यकार कृष्ण उदासी र यो पङ्तिकारको ‘केही यात्रा होस्, केही जमघट होस्, केही सिर्जना होस्, केही नवीनताको अनभूति होस् र जहाँजहाँ गइन्छ, त्यो ठाउँको चर्चा पनि होस् । त्यहाँको पर्यटन विकासमा समेत सघाउ पुगोस्’ भनी नियमित साहित्यिक यात्राको कार्यक्रम गर्ने निर्णय गरी त्यसको न्वारन गरियो र न्वारनको नाम राखियो अक्षरयात्रा ।
‘अक्षरयात्रा’ कार्यक्रम एकल संस्था वा व्यक्तिको अभिव्यक्ति हैन । यो सामूहिकताको भावनामा आधारित कार्यक्रम हो । संस्था भिन्दाभिन्दै हुन सक्छन् । संस्थाका दृष्टिकोण फरक पर्न सक्छन् तैपनि समान उद्देश्य लिएर गठन गरिएका संस्थाहरुले साझा कार्यक्रम सञ्चालन गर्न सक्छन् । यसै भावनाको अभिव्यक्ति अक्षरयात्राले गरेको छ । नवनीति साहित्य सागर, गजल सन्ध्या र भावना परिवारले हलो कोदालो र मलजल गरी बियाड तयार गरेर अक्षरयात्राको बिउ छरी खेती गर्न थाले र यसको शुभारम्भ भयो । वि. सं. २०६२ साल असार १८ गते सुन्दरी डाँडाबाट प्रख्यात तालहरु वेगनास ताल र रुपातालको साँध बनेर बसेको पुण्यभूमि, शान्तिभूमि र सिर्जनाको भूमि सुन्दरी डाँडाबाट थालनी गरिएको यात्राले धेरै ठाउँलाई आफ्नो गन्तव्य बनाइसकेको छ ।
अक्षरयात्रा पोखरेली साहित्यकारहरुको प्रिथ कार्यक्रम भइसकेको छ । यस यात्रामा सहभागी नभएका साहित्यकारहरु कास्की जिल्लामा त विरलै होलान् । छिमेकी पर्वत, बाग्लुङ, स्याङ्जा, तनहुँ, लमजुङलगायत जिल्लाका चर्चित र नवोदित साहित्यकाहरु यसका यात्री भइसकेका छन् । युवा र नवप्रवेशीहरुका लागि त यो कार्यक्रम शीलत चौतारी बनेको छ । कहीं कतै क्रम टुटेको छैन । यात्राको पचासौं शङ्खलालाई स्वर्ण शृङ्खलाको रुपमा सुन्दरी डाँडामै विशेष कार्यक्रम गरी मनाउनका साथै अक्षरयात्रा घोषणपत्र २०६६ जारी गरियो । सो घोषणापत्रमा अक्षरयात्राका उद्देश्यहरु पनि सार्वजनिक गरियो ।
अक्षरयात्राका उद्देश्यहरुः
१. मासिक रुपमा साहित्यक भेटघाट गर्ने ।
२. मासिक रुपमा साहित्यिक यात्रा गर्ने ।
३. अक्षरयात्राका क्रममा तत्स्थानका अनुभूतिहरुलाई समेटेर तत्स्थानमै साहित्य सिर्जना गरी सुन्ने÷सुनाउने ।
४. पर्यटकीय स्थलहरुका प्राकृतिक, ऐतिहासिक आदि महत्वलाई जनसमक्ष पु¥याउने ।
५. साहित्यिक पर्यटन पद्धतिको विकास गर्ने ।
६. साहित्यलाई समाज रुपान्तरण र क्रान्तिको सम्वाहक बनाउने ।
७. स्थानीय जनसमुदाय र साहित्यकारहरुबीच सम्पर्क र सम्बन्ध स्थापित गर्ने ।
८. नवोदित साहित्यकारहरुलाई प्रेरणा र प्रोत्साहन दिने ।
९. ओझेलमा परेका पर्यटकीय स्थलहरुलाई प्रकाशमा ल्याउने ।
१०. नवोदित र अग्रज पुस्ताबीचको दूरी घटाउने ।
११. पर्यटकीय सम्भावनाको खोजी र साहित्यमार्फत् उजागर गर्ने ।
१२. जनजीवनका यथार्थ वस्तुस्थितिका आधारमा साहित्य सिर्जना पद्धतिको विकास गर्ने ।
अन्य यस्तैयस्तै प्रकारका कार्यक्रम पनि देशभरि पर्याप्त रुपमा सञ्चालन भइरहेका छन् तैपनि अन्य कार्यक्रम र अक्षरयात्राका बीचमा केही भिन्नता पनि छन् । अतः यस कार्यक्रमका विशेषताहरु तपसिल बमोजिम रहेका छन्ः
१. गजल सन्ध्या, नवनीत साहित्य सागर र भावना परिवारजस्ता तीनवटा संस्थाद्वारा संयुक्त रुपमा सञ्चालित ।
(हाल गजल सन्ध्या र नवनीत साहित्य सागर दुई संस्थाबाट मात्र सञ्चालित ।)
२. सामूहिक नेतृत्वको सिद्धान्तमा सञ्चालित ।
३. सह–अस्तित्वको सिद्धान्तमा आधारित ।
४. प्रत्येक महिनाको तेस्रो शनिबार साहित्यिक यात्रा ।
५. सर्वसम्मत निर्णयको आधारमा गन्तव्य निर्धारण ।
६. प्रजातान्त्रिक पद्धतिमा आधारित ।
७. साहित्य र पर्यटनबीच सम्बन्ध स्थापना ।
८. यात्राको आर्थिक भार सहभागीहरुबाटै जुटाइने ।
यात्रा निरन्तरता हो । जसरी समय निरन्तर अगाडि बढिरहन्छ जसरी नदी निरन्तर बगिरहन्छ, जसरी सूर्य र चन्द्रमाले यात्रा गरिरहन्छन्, त्यसैगरी यात्रीहरु पनि अगाडि बढिरहन्छन् । सो क्रममा कोही छुट्छन् तर यात्रा टुट्दैन । कोही भेटिन्छन्, तर यात्रा रोकिँदैन किनकि रोकिनुको नाम यात्रा हैन । यात्रामा विश्राम हुन सक्छ तर क्रमभङ्गता हुँदैन । यसै पाटोमा हाम्रा सहयात्राी संस्था भावना परिवार छुटेको छ जसको अध्यक्ष सुषमा पौडेलले यात्रालाई स्वर्ण शङ्खलासम्म पु¥याउन सक्षम भए तापनि उनले र उनको संस्थाले यात्राबाट विश्राम लिए । तीनैवट संस्था निरन्तर सँगसँगै यात्रारत रहन पाएको भए निश्चय नै यात्रा अझ सुखद् रहने थियो ।
सुन्दरीडाँडाबाट सुरु भएको यात्रा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, अनदुडाँडा, तालबाराही, महेन्द्रपुल, नदीपुरपार्क, डेभिजफल्स, माटेपानी, गुम्बा, गुप्तेश्वर गुफा, विन्ध्यवासिनी मन्दिर, वेगनास ताल, धम्पुस देउराली, कृस्ति नाच्नेचौर, चमेरे गुफा, बन्दीपुर (तनहुँ), कुश्मा (पर्वत) सराङकोट, पामे, मट्टिखान, लुम्ले, देउराली उकाली, फेवा पावरहाउस, दिपाङताल, काहुँखोला, मनकामना मन्दिर (गोर्खा), नदीपुर पराजुलीचौर, कार्कीडाँडा, बेसीसहर (लमजुङ), वेगनासताल, लभ्लीडाँडा, सार्दिखोला, लामागाउँ, भद्रकाली मन्दिर, हेमजा, शान्ति वनवाटिका, बाँगे फड्के (स्याङ्जा), लेखनाथ माझीकुना, अर्घौंअर्चले, ढोरबाराही (तनहुँ), चमेरे गुफा, जैमुरे, टाइगरटप लेखनाथ, पोखरा भ्यू पोइन्ट, ढुङ्गे साँघु, भरतपोखरी, घाचोक, ड्यामसाइड (फेवाताल), हरियोखर्क, चन्द्रकोट, कुमारी गुफा, कास्कीकोट, पुरुन्चौर, दिपाङताल, छोरेपाटन, ओशो तपोवन, दोविल्ला, कमलपोखरी, बडरबोट बाटुलेचौर, नारायणस्थान पोखरा, मालेपाटन, अन्तर्राष्ट्रिय विमानस्थाल, पोखरा, पोखरा विमानस्थाल, घाँसीकुवा (तनहुँ), मेथलाङ, पाउँदुरकोट, भलाम ¥यालेचौर, हरिहर गुफा, केदारेश्वर मन्दिर, हेमजा विष्णुपादुका, पुम्दीकोटमा गरिसकिएको छ र यो यात्राले ९४ औं शृङ्खला पार गरिसकेर अगाडि बढिरहेको छ । यस क्रममा विभिन्न जिल्लाका विभिन्न साहित्यिक संस्था, क्लब, आमा समूह आदिसँग सहकार्य गरिसकेको छ भने अनेकौं स्रष्टा सहभागी भई हजारौं कविता, गजल, मुक्तक आदि सिर्जना गरी वाचन तथा प्रकाशन भइसकेका छन् ।
यो यात्रा त्यति सजिलै अगाडि बढिरहेको छैन, त्यसमा सहभागी संस्था र त्यसका पदाधिकारीहरुको अथक परिश्रम छ । सुषमा पौडेल, दिलिप दोषी, रुपिन्द्र प्रभावी ‘कटु’, कपिल शर्मा ‘सञ्जोग’, गजल सन्ध्याका हालका अध्यक्ष मन क्षेत्रीलगायत अन्य पदाधिकारी र साहित्यकारहरु ईश्वरमणि अधिकारी, जीवन सागर भण्डारी, बलराम पूर्णविराम, विष्णु अल्पविरामलगायत साहित्यकारहरु आयोजक संस्थाका कुनै पदमा नरहेर पनि निरन्तर यात्रारत भएकोले यात्रा अविरल ओजपूर्ण हुन सकेको छ । सरुभक्त र तीर्थ श्रेष्ठजस्ता अग्रणी साहित्यकारहरु पनि समय समयमा यात्रामा समावेश भई गरिमा बढाएका छन् । गोविन्द गिरी र कृष्ण देवकोटाजस्ता उत्साही र मनकारी युवाहरुले सानै रकमको भए पनि अक्षयकोष स्थापना गरी अक्षरयात्रा प्रतिभा पुरस्कार दिने चाँजोपाँजो मिलाइदिएर ठूलो गुन लगाएका छन् ।
जीवन र जगत्को यथार्थबोधका लागि अक्षरयात्रा भन्ने उद्घोषका साथ अगाडि बढेको अक्षरयात्राले साँच्ची नै जीवनको यथाथबोध गराएको छ र जगत्लाई पनि बुझ्ने प्रयास गरेको छ । भोगाइ सबैभन्दा गतिलो शिक्षा हो । यथार्थको भोगाइ वास्तवमा ओखरजस्तो हुन्छ† बाहिर अति कडा र फुटाल्न सक्यो भने भित्र नरम । नरम मात्र हैन मिठो र पोसिलो पनि । अक्षरयात्रा ओखरजस्तै हो । यो कडा छ, गाह्रो छ, सङ्घर्षपूर्ण छ, कठिन छ तर यसको अनूभूति सुखद् छ । यो पहाड चढेजस्तै छ । उकालो उक्लेर टुप्पोमा पुग्न कठिन लाग्छ तर जब टुप्पोमा पुगिन्छ अनि सबै दुःखहरु बिर्साइदिने सौन्दर्यको अनुभूति गर्न पाइन्छ । यो यात्राले पर्यटकीय विकासमा पनि उत्तिकै योगदान दिएकोे ठहर धेरै समालोचक र साहित्यकारहरुको छ† यसका मट्टिखानजस्ता उदाहरणहरु पनि जिउँदोजाग्दो नै छन् । यसले यात्रा साहित्यलाई पनि उत्तिकै मद्दत पु¥याएको छ । आगामी दिनहरुमा अक्षरयात्रा अझै अगाडि बढ्दै गई नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिने अपेक्षा गर्न सकिने ठाउँहरु प्रशस्त छन् ।
(लेखक अक्षरयात्रा सञ्चालक संस्थामध्ये एक नवनीत साहित्य सागरका अध्यक्ष हुनुहुन्छ ।)
ग्याँसचेम्बरको साँझ
–कृष्ण धराबासी
जर्मन उत्रिनासाथ जुन जाडोले स्वागत ग¥यो । त्यो त्यति डरलाग्दो थिएन । काठमाडौंमा देखाइएको जस्तो डरलाग्दो थिएन यो तर दिन धुम्म थियो र चिसो सिरेटो चलिरहेको थियो । हामी पृथ्वीको यस्तो अर्काे भागमा उत्रिसकेका थियांै, अब आफू जन्मेको हुर्केको र बाँचिरहेको ठाउँमा फेरि फर्केर पुग्नका लागि वैज्ञानिक प्रविधिले कुनै कारणवश साथ नदिने हो भने सदा सदाका लागि परिवार र सम्बन्धहरुबाट विच्छेद भइसकेका छौं । आँखाअघि यही एउटा चक्र छ, जसको अनुहारमा टुलुटुलु हेरिरहें केही क्षण ।
उल्फ र योहन्ना दुवै सेवा निवृत्त लोग्नेस्वास्नी रहेछन् । दुवैले आÇनो जीवनकालमा संसारका अनेक देशमा भ्रमण तथा सेवा गरेको अनुभव बोकेका थिए । उल्फ विगत २९ वर्षअघि पहिलोपल्ट नेपालको भक्तपुर पुगेका रहेछन् । उनी जी.टी.जेड.को कर्मचारीका रुपमा त्यहाँ पुगेका थिए । जी.टी.जेड.ले गरेको सहरी विकास परियोजनाको योजना प्रमुखका रुपमा नेपालमा रहेको राम्रो अनुभव रहेछ उनीसँग । सामान्य नेपाली भाषा बुझ्ने उनी धेरै नै अनुभवी, पोख्त, तथा पारिवारिक स्वभावको रहेछन् । उनकी श्रीमती योहन्ना त भारतको बम्बेमा पनि बसेकी र त्यहाँको मराठी भाषाको समेत सामान्य अध्ययन गरेकी रहिछन् । पछि उल्फ काठमाडौं आएपछि उनी पनि पतिसँगै काठमाडौं आएर विश्वभाषा क्याम्पसमा पाँच वर्ष जर्मनी भाषाको प्राध्यापन गराएका रहेछन् त्यसैले दुवैलाई नेपाल, नेपाली जीवन र मनोविज्ञानबारे राम्रो ज्ञान रहेछ । भेट हुनासाथ उनीहरुले प्रस्तुत गरेका न्यानो माया यात्राभरिका लागि पक्कै पनि संरक्षणीय बन्नेछ भन्ने लागिहाल्यो । दुवैको उमेर, अनुहार र प्रस्तुतिले आत्मीयता स्वीकार ग¥यो ।
विप्लव प्रतीक ठीक समयमा आइपुगे । वर्लिन एयरपोर्टबाट हामीलाई सोझै रिलाक्सा होटलमा ल्याइयो । पहिल्यै हाम्रो लागि बुक गरिएको कोठामा लजाउँदै, धकाउँदै बेहुलीको जस्तो चालमा प्रवेश गरियो ? आÇनो कोठाभित्र पसेर सामान्य ‘फ्रेस’ भएपछि तल ओलियांै, जहाँ हामीलाई पर्खिबसेका थिए उल्फ र योहन्ना । त्यसो त त्यसअघि नै उल्फले हामीलाई कोठामा प्रवेश गराएर होटलका नियमहरु र विद्युतीय सिस्टमबारे जानकारी गराएका थिए ।
कोठा एकदम नै आरामदायक । टी.भी., फोन, लेखपढ गर्ने टेबल, जोडिएको सुविधा सम्पन्न ‘बाथरुम’ । बाक्लो र सफा फराक पलङ । दराज र टेबलमा सजाइएका जातजातका रक्सीका बोतलहरु जसको बाहिरै लेखिएको थियो मूल्य । उल्फले पहिल्यै भनिसकेको थियो, यो रक्सी प्रयोग गरेमा आफैंले पैसा तिर्नुपर्नेछ । मेरा लागि त त्यो समस्या थिएन, तर अरु साथीहरुलाई त्यो सम्झाइएको राम्रै भयो होला ।
तल पुगेपछि हाम्रो सामान्य अतिरिक्त परिचय भयो । दिउँसोको खानाको बारेमा सोधियो । बाटोभरि पनि राम्ररी केही खान सकिएको थिएन । भोक राम्ररी नै लागेको थियो । तातो भात मज्जाले खानुजस्तो लागेको थियो । भूपालको स्वास्थ्य अझै ठीक भइसकेको थिएन । उनी के खाने केमा परेका थिए । दुवैले सल्लाह ग¥यौं– “हामी भातै खाऊँ ।”
निकै बेरपछि खाना त आयो तर के आयो के ! जर्मनी भ्रमणको बारेमा कुरा हुँदा काठमाडौंमा सन्जीवले भनेका थिए, मलाई त तिनीहरुको खाना पटक्कै मीठो लाग्दैन । सोचेको थिएँ, स्वादको समस्या केही दिनमा ठीक होला नि त । तर जब खाना आयो, खानासँगै ह्वास्सै फेरि त्यही गन्ध आयो, जुन गन्धसँग थाइ एयरवेजभित्रै भेट भइसकेको थियो र त्यसलाई शरीरले अस्वीकार गरेको थियो । भोकको आधा शक्ति स्थगित भयो । भूपाल र म दुवैलाई एकै खालको भात थियो जसमा अनेक खाले तरकारीहरु (फर्सी, ..........) समेत एकै ठाउँ मिसाइएको थियो, जस्तो कहिलेकाहीं बिरामी हुँदा हामीले बिरामीका लागि बनाउँछौं । भूपाल र म दुवैले एकअर्कालाई हेरेर फिस्स हाँस्यौं । मनमा लाग्यो– ‘खाइस् बज्या ! खुब मीठो खाँदै विदेश घुम्ने सपना देखेको थिइस्, भेटिस् ।’
बडो विरक्त भावले बिस्तारै एक चम्चा मुखमा हालें, नाकलाई गन्ध रोक्न लगाउँदै । अहो ! के हो यस्तो । नुन पनि चर्काे छ, अरु कुनै स्वादसँग यसअघि चिनजान नै थिएन । भित्रैदेखि वाक्क भएर आयो र झिलिक्क तपार्इंको अनुहार बल्यो आँखामा । खाने बेलामा तपाईलाई धुक्र्याउँदै मैले गर्ने गरेको लीलाको यहाँ राम्रो जवाफ थियो । फननन दिमागमा क्यालेण्डर घुम्यो, ल्यख द्दढ, घण्, म्भअ। ज्ञ, द्द, घ, द्ध, छ, ट, ठ, ड, ढ, ज्ञण्, ज्ञज्ञ । अझ त्यसपछिको पाँच दिन फ्रान्स र बेल्जियमतिरको यात्रा छ । के अब सधंै यही गन्धेसँग भान्सामा भेट होला त !
पटक्कै निल्न सकिनँ । विप्लव त विदेश बस्ने बानी भएकोले उनलाई केही मतलव नै थिएन । भेनु हेरेर के–के, के–के मगाएर मज्जाले खान थाले । बेञ्जु दिदीले पनि हाँसको मासु र खै कुन्नि केको कालो थुप्रो पकापकी खान थाल्नुभयो । हामी दुई राई र भट्टराई भने टुहुराजस्ता एकअर्कालाई टुलुटुलु हेर्दै निल्न खोज्दै थियांै । हाम्रो खानाप्रतिको अरुचि अरुले अनुभव गरिरहेका थिए । विचरा उल्फ र योहन्नालाई हाम्रो त्यो अवस्थाप्रति अप्ठ्यारो लागिरहेको थियो । भन्यांै– ‘यात्रा र थकाइको कारणले हो, भोलिदेखि ठीक होला ।’
आजको अतिरिक्ति कुनै कार्यक्रम थिएन । एकपल्ट उल्फले हामीलाई सम्पूर्ण भ्रमणभरिको कार्यक्रमको जानकारी गराए । हामीले के कसरी कार्यक्रममा भाग लिने भन्नेबारे बुझाए । चक्र अफिस पुगिओरी आइपुग्यो ।
उल्फको कार्यक्रममा ग्याँसचेम्बर (कन्सनटे«सन) केम्प घुमाउने कुनै कार्यक्रम थिएन । मैले नेपालबाट फोनमा चक्र र दुबसुसँग कुरा गरेको थिएँ– ‘जर्मन पुगेर, त्यो पनि बर्लिन नै पुगेर पनि हिटलरको त्यो जनविनाशको केन्द्र नहेरी के फर्किनु ।’ अनि चक्रले यही पहिलो दिन नै हामीसँग केही समय फाल्टु हुने हुनाले सक्नुहुन्छ भने, घुमौं भन्यो । सल्लाह ग¥यौं– ठीकै हो, त्यत्तिकै होटलमा दिउँसैदेखि सुत्नुभन्दा त घुम्नै राम्रो र हामी चक्रको गाडीमा बसेर ग्याँसचेम्बर (कन्सन्टे«सन) केम्प तिर लाग्यौं । (ओरानियनवर्ग)
बर्लिन सहरबाट ३५ कि.मी. टाढा रहेछ त्यो ओरानियनवर्ग तर त्यो पनि सहरभित्रै पथ्र्याे । त्यहाँ पुग्न हाम्रो गाडीले कुनै एकान्त बाटो समात्नुपरेन । केही छोटा सुरुङहरुभित्र पस्दै, निस्कँदै गाडी अगाडितिर चिप्लिरहेको थियो । अचम्म त होइन त्यो, किनभने त्यहाँको जीवनमा सबैभन्दा सहज भइसकेको कुरा तर हामी (म) लाई भने अचम्मै लाग्यो । घरिघरि ड्राइभर र चक्र एउटा हाते कम्प्युटरजस्तो यन्त्रबाट बाटोको दिशा पत्ता लगाइरहन्थे । नेभिगेटर (टमटम) भन्दोरहेछ त्यसलाई । उपग्रहका माध्यमबाट सारा बाटोको रेखाङ्कन गरेको हुँदा, जस्तै अनभिज्ञ ड्राइभरले पनि त्यसै यन्त्रको निर्देशनबाट चाहेको ठाउँ ट्याक्कै पुगिने रहेछ । ध्वनीले समेत बताइरहने त्यस यन्त्रले, जस्तै नयाँ चालकले पनि अलमलिनुनपर्ने रहेछ ।
श्रीमान् उल्फ र योहानाले हामीलाई आजको बाँकी दिन आरामको लागि छुट्याइदिएका थिए र साँझको हाम्रो खाना भने नेपाली राजदूतको निवासमा महामहिम राजदूत सुरेशप्रसाद प्रधानको आतिथ्यमा थियो । हामीले ग्याँसचेम्बरको भ्रमणपछि सीधै राजदूत निवासमा जानुपर्ने थियो । चक्र सँगै भएकाले हामीलाई त्यसको कुनै पीर थिएन ।
बाटो खोज्दै विस्तारै वरिपरिको दृश्य हेर्दै झण्डै आधा घण्टाजतिमा हामी त्यहाँ पुग्यौं । जर्मनीको राजधानी बर्लिनमा चाँडै साँझ पर्दाे रहेछ । यसै पनि नोभेम्बरको अन्तिम दिन ल्यख घण् मा थियौं हामी । घाम मधुरो हुन थालिसकेको थियो र जाडो बिस्तारै हाकिम हुन लागेको थियो । त्यसो त मैले झोलामा पोको पार्ने हो भने बोक्नै नसकिने लुगाहरु शरीरमा उनेको थिएँ अर्थात् सात खाप लुगाबाहिर एकदम नै बाक्लो ज्याकेट थियो । त्यसो त मलाई झलक्क हेर्नेले एउटा टन्न हावा भरिएको फुटबलजस्तो नै देख्थे होलान् कि ! तैपनि कताकताबाट हावा छिरेर छालालाई चिमोट्न खोज्दथ्यो । एउटा कुरा चाहिँ मलाई त्यहाँ साह्रै अचम्म लाग्यो र आज पनि त्यो अचम्म कायम नै छ, त्यो के भने शरीरको कुनै पनि भागको छाला जाडो वा गर्मीसँग तर्सिरहन्छ र सुरक्षा मागिरहन्छ तर अनुहारको छाला भने कसरी त्यति सज्जन र भलाद्मी भइरहेको होला ? जस्तै जाडोमा पनि उदाङ्ग हुन सक्ने त्यसको सहनशक्तिलाई मान्नुपर्छ जस्तो लाग्यो ।
टाउकोमा दुइटा ऊनीका टोपी खापेर लगाएको थिएँ । बाक्लो मÇलर गलामा दुई फन्का बेरिएको थियो । कान छोप्ने एउटा ‘काने’ काठमाडौंमै किनेको थिएँ । हातमा दुई जोर पन्जा खापेको थिएँ । खुट्टामा दुई जोर मोजा खापेको थिएँ । दुईटा ट्राउजरबाहिर थर्मकोटको सुरुवाल र त्यसबाहिर बाक्लो कटराइको पेन्ट । भित्री मयलपोससहित बाहिरी ज्याकेटसम्म आइपुग्दा सात खाप थिए कम्मरमाथि लुगा तैपनि कता कता चित्त बुझ्दो न्यानो नभएजस्तो तर यो जाडो बाटोमा वा कतै टहल्दा मात्र थियो । गाडीभित्र वा होटलभित्र पस्नासाथ एसीको न्यानोले गर्दा ज्याकेट खोल्न मन लागिहाल्थ्यो ।
तपाईँले त्यहाँबाट हिंड्न लाग्दा मेरो चिसोविरोधी शरीरका बारेमा राखेको चिन्ता त्यति कहालीलाग्दो अनुभव भएन सीताजी ! तर यो मेरो पहिलो दिनको अनुभव हो । भोलिभोलि के होला, थाहा छैन ।
ओरानियनवर्ग पुग्दा झण्डै तीन बजेको थियो । आकास अलिक अँध्यारो थियो, घाम पनि हाम्रो तिरको धुम्मिएको पुस महिनाको जस्तो मलिनो थियो । उघ्रिएको उज्यालो थिएन दिन ।
हामी त यसै पनि परदेशी ! भाषाको समस्या त छँदै थियो, अझ नयाँ ठाउँमा नयाँ कुरा हेर्न हिंडेका । चक्रले नै कतै जमर्नीमा कतै अङ्ग्रेजीमा कुरा गर्दै केम्पभित्र छिरायो । त्यो दिन छुट्टी परेकाले वास्तविक म्युजियम भने बन्द थियो । जुन कुरा हेर्ने तीब्र इच्छा थियो, त्यो पूरा नहुने भयो तैपनि उनीहरुले हामीलाई म्युजियमबाहेकका अरु भागहरु भ्रमणका लागि अनुमति दिए ।
थुप्रै मानिसहरु भ्रमण सकेर फर्किरहेका थिए र हामी चाहिँ भ्रमणका लागि गइरहेका थियौं । उनीहरुले हामीलाई पाँच बजेभित्र फर्किसक्नू भनेका थिए । सोच्यौं, दुई घण्टाभन्दा बढी त के नै घुमिएला र ? म्युजियम हेर्नका लागि भने प्रतिव्यक्ति १० युरो लाग्ने रहेछ, बाहिरी भ्रमणका लागि भने पैसा तिर्नुपरेन ।
एउटा ठूलो गेटबाट हामी भित्र छि¥यौं । ड्राइभर गाडीमै बसे । चक्रसमेत हामी पाँचजना कन्सन्ट्रेसन केम्पभित्र प्रवेश ग¥यौं ।
हिटलरको यो र यस्ता केम्पहरु जर्मनभरि विभिन्न ठाउँमा छन् र ती हरेक केम्पमा जनमहाविनाशको हृदयविदारक तस्वीर छ भन्ने कुरा हाइ स्कुलमा इतिहास पढ्दा सरोज ओली सरले वडा चित्रात्मक ढङ्ले हामीलाई पढाउनुहुन्थ्यो र त्यो छाप मेरो मनमा साह्रै गहिरो गरी परेको थियो । दोस्रो विश्वयुद्धका कारण र परिणामहरुबारे उहाँले साहै्र सरल र आकर्षक ढङ्ले पढाउनुभएको थियो । हिरोसिमा र नागासाकीमा झरेका अणुबमहरुको विनाश र हिटलरले यहुदीमाथि गरेको जातीय दमनको कथाले मलाई साह्रै नराम्रो प्रभाव परेको थियो । इतिहास र राजनीतिप्रतिको मेरो रुचि त्यति बेलैदेखि गहिरो गरी बढेको थियो । इतिहास त मलाई आख्यानजस्तो लाग्छ । त्यहाँ घटना हुन्छन्, परिणाम हुन्छन्, पात्र हुन्छन्, कारण हुन्छन् र तिनले सिङ्गै युगको सन्देश बोकेका हुन्छन् । विश्वको वर्तमानलाई चिन्न हामीले इतिहासका पानाहरुमा भ्रमण नगरी हुँदै हुँदैन ।
घरिघरि मेरो मनमा अनौठो भावुक र गौरवको अनुभूति भइरहन्थ्यो । मलाई भित्र कतैबाट हावा भरिएर छातीसम्म आइपुगेझैं लाग्थ्यो र अरुले थाहा नपाउने गरी ठूलोठूलो सास फेरिरहन्थें । मलाई गर्व लाग्नुको कारण थियो म मेरो वाल्यकाल देखिको मन लागेको कुरा हेर्न आइपुगेको थिएँ र यो मेरो जीवनमा अकल्पनीय यात्राको संयोग थियो ।
हामी मुलगेटबाट भित्र छिर्नासाथ हाम्रो अगाडि एकदम नै फराक र खुल्ला क्षेत्र थियो । धेरै टाढा एउटा अत्यन्त अग्लो स्तुप थियो । लाग्छ, त्यसको उचाइ हाम्रो धरहराको भन्दा पनि अग्लो छ तर त्यो इँटै इँटाले बनेको छ । सबैभन्दा पहिला देखिने नै त्यही रहेछ किनकि त्यो सबैभन्दा अग्लो छ । सयौं विघा क्षेत्रभित्र थियौं हामी जसलाई चारैतिरबाट एकदम नै बलियो र अग्लो पर्खालले घेरिएको छ । यसभित्र सानासाना लहरै बनेका व्यारेक र बङ्गलाहरु देखिए । वरिपरि रुखहरु पनि थिए तर पातहरु झरिसकेका वा रुखमै सुकेर टाँसिएका । घुम्नका लागि निर्देशित बाटाहरु थिए । थुप्रै बाटाहरुमध्ये हामीले कुनै एउटा बाटो समायौं । खुबै पर्यटक भएका हामीहरु, सबैले हातहातमा क्यामेरा बोकेका थियौं र सिकारु सिपाहीले जस्तो जतासुकै क्लिक गरिरहेका थियौं । मानौ, त्यहाँभित्र भएका सबै कुरा साह्रै मूल्यवान् छन् र उठाएर लानैपर्छ ।
जता हे¥यो त्यतै रहस्यजस्तो लाग्थ्यो । ती साना व्यारेकहरु बन्द थिए । भित्र पसेर हेर्न पाइएन । सीमाका झ्यालहरुबाट चिहाउँदै, हेर्दै अघि बढ्दै थियांै । बेलाबेला छुट्टिँदै र भेटिँदै पनि । उज्यालै थियो, को कहाँ पुग्दै छ भन्ने परैबाट देखिने हुनाले डराइहाल्नुपर्ने त केही थिएन, फेरि हामी खुल्ला मैदानमा थियौं, निसासिने कुरा पनि त थिएन ।
सबैभन्दा संयम र भलाद्मी थिए विप्लव । उनलाई हामी तीनजनालाई जस्तो कुनै कुरामा डाफ झाप थिएन । भोको गाईले बाली माडेजस्तो हामी यो पनि त्यो पनि छिटोछिटो जितेर हेर्न र देख्न खोजिरहेका थियौँ । भूपाल र ममा चाहिँ प्रस्ट भिन्नता थियो । ऊ भनिरहेको थियो– “के हेरिरहनु यो मुला ! हेर्नैपर्ने त टे«यर पो हो, जहाँ कार्ल माक्र्स जन्मेका थिए । जर्मनमा आएर कार्ल माक्र्स जन्मेको ठाउँ नपुगी कसरी फर्किनु ? कार्ल माक्र्स भनेको एउटा त्यो दार्शनिक हो, जसको विचारले आज डेढ सय वर्षदेखि सारा संसारलाई दीक्षित गरिरहेको छ । राजनैतिक सत्ता प्राप्ति र अप्राप्तिको लडाइँ आÇनो ठाउँमा होला तर कार्ल माक्र्सको विचारलाई सम्बोधन नगरी आज ह्वाइट हाउसले पनि कुनै योजना बनाउन सक्दैन । वर्गबोधको चेतनाको यस्तो वैज्ञानिक चिन्तन दिन सक्ने मान्छे जन्मेको यो भूमिमा यो आततायीको केम्प के घुम्नु ?”
तर मलाई भने यो केम्पसँग जोडिएको मानवताको महाविनाशको चित्र अत्यन्त कारुणिक र जिज्ञासु थियो । भक्तहरु पवित्र तीर्थहरुको भ्रमण गर्न पाएर जुन आत्मिक सुखको अनुभव गर्लान्, त्यही सुखको अनुभूति भइरहेको थियो मलाई । त्यो ठाउँमा पुग्दा मभित्र एकप्रकारको कम्पन थियो, हे हिटलर ! तिमीले, तिमीले के जित्यौ ? तिमीभित्रको निष्ठूरता र क्रुरताको त्यो विकराल विष कसले किन रोप्यो ? तिम्रो त्यो उग्रनश्लीय चेतना मानव सभ्यताको निम्ति कति घातक भयो ? यी हेर त ! आज मजस्तो एउटा साधारण मान्छे जो यहाँभन्दा हजारौं माइल टाढाबाट तिम्रो क्रूरतालाई थुक्न आइपुगेको छु तिम्रो आत्मघाती बङ्करका नजिक ।
अलिक पछि मैले इतिहासका अरु पाना पनि पढ्दै गएँ । विश्वयुद्धसम्बन्धी अनेकौं साहित्यहरु पढिए । थुप्रै संस्मरणहरु पनि पढें । इतिहास र उपन्यासका हजारौं पानाहरुमा हिटलरको यो विनाश कथा पढ्दा–पढ्दा मनभरि र दिमागभरि जीवनमा एकपल्ट पुग्नैपर्ने ठाउँका रुपमा छानिएको यस केम्पमा थिएँ म । कार्ल माक्र्सको जन्मस्थल पनि पुगौंला तर हिटलरको यो रक्तपिपासु योगदान पनि त हेर्नैप¥यो । त्यसो त विश्वलाई बनाउने, थर्काउने र सजाउने अनेकौं कुरा दिने भनेका दुईटै देश त हुन्– जर्मनी र चीन । यी दुई देशले जति कुरा दिएका छन् त्यति अरु कुनै देशले दिए होलान् र ? चीनको कुरा कुनै दिन पुगेछु भने त्यो दिन भनौंला सीताजी ! आज म जर्मनको कुरा भन्छु ।
तपार्इंले सुनेका जति पनि राम्रा नराम्रा कुराहरु तिनको सवैभन्दा ठूलो श्रेय जर्मनीलाई जान्छ । किनभने–
विश्व राजनीतिमा अविश्रान्त क्रान्तिको बिम्बका रुपमा जुन माक्र्सलाई चिनिन्छ, ती ऋषि यही देशमा जन्मेका थिए । विश्वलाई आणविक युगमा प्रवेश गराएर, आज जुन वैज्ञानिक चमत्कारितामा हामी बाँचिरहेका छौं त्यसका चिन्तक अल्बर्ट आइन्स्टाइनको जन्म पनि यही भूमिमा भएको थियो । अस्तित्ववादका प्रणेता नित्सेलाई जर्मनी पञ्चभौतिक तत्वले स्वीकारेको थियो । मनोविज्ञानको बादशाह भनी चिनिने सिग्मण्ड फ्रायड यसै भूमिका बीज थिए । अहिले म जुन केम्पमा उभिएर भावुकताको आँसु पुछिरहेछु, यस महाविनाशका योजनाकार हिटलर पनि यहीं जन्मेका हुन् । साहित्य, दर्शन, मनोविज्ञान, राजनीति, भौतिक विज्ञान, युद्धकला आदि जुनै क्षेत्रमा पनि विश्व थर्काउने व्यक्तित्वहरु जन्मेको यो माटोमा मल चाहिँ केको परेको होला ? मभित्र अनौठो हुलमाल भइरहन्छ ।
निकै माथि पुगिसकेका थिए चक्र, विप्लव र वेञ्जु दिदी ! भूपाल र म अलिक पछि थियौं सँगसँगै । हामी दुई जनालाई वास्तवमै लागिसकेको थियो त्यो केम्प । उग्र कम्युनिष्टविरोधी जातिवादी, नाजी हिटलरको त्यो महाविनाशले हामी दुवैलाई नमीठो गरी छोएको थियो । मानवताको विनाशमा हिटलरकै जस्तो नरसंहार कार्ल माक्र्सको चिन्तनस्रोत मान्ने कम्युनिष्टहरु स्तालीन, पोलपोट, माओ आदिहरुको नेतृत्वले पनि गरेकै हो । मानवताको पक्षधर मेरा लागि जनविनाशका यी सबै महानायकहरु नकारात्मक पात्र छन् तर अहिले म हिटलरको यस केम्पमा उसैको रक्तदुर्गन्धले आक्रान्त छु ।
हामी बिस्तारै पर्खालमा टाँसिएका ती तस्वीरहरु नजिकबाट हेर्दै हिंडिरहेका थियांै, जसलाई त्यस केम्पमा ल्याएर निर्ममता साथ मारिएको थियो । साना केटाकेटी, बूढाबूढी, महिला, सेनाका अधिकृतहरु, राजनीतिकर्मी र समाजसेवीहरु । कति राम्राराम्रा अनुहारहरु थिए ती तस्वीरमा । जसको जन्म मिति र मारिएको दिनसमेत उल्लेख गरिएको थियो । पालैपालो फोटो खिच्यौं तर फोटोहरुमा हाम्रा अनुहारहरु एकदम नै भावुक थिए । त्यसैत्यसै मन विरक्तिएको थियो ।
चिन्दै नचिनेको, देख्दै नदेखेका, आजभन्दा झण्डै ६० वर्षअघि नै खरानी भइसकेका ती मानिसहरुको मृत्युको कथाले हामीलाई छोइरहेको थियो । आध्यात्मिक भाषामा भन्ने हो भने हामीलाई ती मृतात्माहरुले स्पर्श गरिरहेका थिए र रोईरोई आÇनो पीडा बताइरहेका थिए ।
प्रत्येक व्यारेक र भवनहरुका छेउछेउ हँुदै बाँकी संसारसँग विच्छेद गराइएको अग्लो पर्खालको नजिकबाट हामी त्यो कम्पाउण्डको फन्को मारिरहेका थियौं । झण्डै आधा घण्टाजति हिंडेपछि हामी एउटा ठूलो अर्काे कम्पाउण्डभित्र छि¥यौं । जहाँ एकतले भवनहरु थिए र प्रायः एकतलोमुनि भूमिगत कोठाहरु पनि थिए । ती बन्द कोठाहरुमा जान सक्ने कुरा त भएन तर तिनै जमिनमुनिका कोठाहरुमा यहुदीहरुलाई ट्रकमा हालेर ल्याएर नुहाउन भनी भित्र प्रवेश गराई ग्याँस छोडेर मारिन्थ्यो ।
अर्काे एउटा भवनमा पुग्यौं । त्यो सम्भवतः खुल्ला मैदानमा बनिएको थियो होला, पछि जस्ताको छानो हालेको रहेछ । त्यो छानोमुनि ठूलाठूला चुल्हो, कराही र डाडु पन्युहरु थिए । भान्साघर भन्थे त्यसलाई । त्यो देख्दा झ्वास्स मलाई सम्झना आयो– बी.पी.ले हिटलर र यहुदी उपन्यासमा यस केम्पको कुरा गर्दा मानिसहरु पकाउने ठूलाठूला कराहीको चर्चा गर्नुभएको थियो । सोचें– सायद यिनै कराई होलान ती । हामीसँग गाइड नभएकाले वास्तविकता भने अनुमान मात्र थियो । त्यसैको नजिकमा एकदम नै मार्मिक ढुङ्गाको मूर्तिहरु थिए । ती मूर्तिमा मारिएकी एउटी महिलालाई दुईजना अत्यन्त कमजोर र मानिसहरुले उठाउन खोजिरहेका छन् । भर्खरै कसैले ती मूर्तिका फेदमा फूलमालाहरु छोडेर गएका थिए । लाग्यो, ती कुनै आफन्त यहुदीहरु थिए होलान् र ती मूर्ति त्यहाँ मारिएकाहरुको सामूहिक प्रतिनिधित्व गर्ने बिम्ब थिए होलान् ।
पैतालाले टेकिरहेको जमिनको माटोको फुस्रोपन सबै यहुदीको शरीर जलेको खरानी हो जस्तो लागिरह्यो । हिटलरले यहुदीलाई किन मानिस सम्झेन होला ? उसभित्र यति नराम्रो घृणा केले उमा¥यो होला ?
भूपालले भन्यो– “ए भट्टराई जेठा ! मानिसभित्र जब अत्यन्त उग्र जातीय चेत पलाउँछ त्यसको परिणाम यस्तै हुन्छ । यहाँ मारिएका यहुदीहरु के सबै मारिनुपर्ने थिए होलान् त ?”
मैले भनें– “के गर्छाै राई कान्छा ! राजनीतिको यो घिनलाग्दो यात्रा हिंडेको मानिसले सत्ता प्राप्तिको मोहमा आँखै नदेख्दो रहेछ, हाम्रै देशमा पनि हेर न अहिले कस्तो भइरहेको छ ।”
उसले भन्यो– “राजनीति गर्नेहरुले जानेनन् भने यी दिन हाम्रा पनि नआउन सक्दैनन् । तर हामीले संमयम हुन सक्नु पर्छ । वर्गीय चेतनाको सार्वभौम मानववादलाई बिर्सेर जातीय सङ्कुचनतिर समाजलाई जान दिनुहुँदैन। आ–आÇनो पहिचानको खोजीसँग वर्गीय चेतनालाई मूल्य दिनुहुँदैन ।”
मैले भनें– “त्यो त तिमीहरुको काम हो नि । त्यही क्षेत्रमा सक्रिय रुपमा काम गर्ने तिमीहरुले यो विचारलाई बचाउन सक्नुपर्छ कान्छा ।”
उसले भन्यो– “सक्रिय राजनीतिमा काम गर्नेमा मात्र जिम्मा छोडिदियो भने ठूलो गल्ती हुन्छ जेठा । समाजका सबै व्यक्तिको सामूहिक भूमिका चाहिन्छ ।” साथीहरुले परबाट हातले इसारा गरेर ‘छिटो आऊ’ भनिरहेका रहेछन् । हामी छिटो छिटो उनीहरुका छेउमा पुग्यांै । चक्रले भन्यो– “यी राई र भट्टराई कता एकोहोरिएका ? छिटो गरौं नत्र भ्याइँदैन ।”
बेञ्जु दिदीले हाँस्दै भन्नुभो– “यिनीहरु काठमाडौंदेखि नै यत्तिकै छन् आन्द्रो गाँसिएजस्ता । एउटाले भट्टराई जेठो भन्छ, अर्काले राई कान्छो ।” एकछिन हाँसो भयो । बिर्सियांै हामीले हाम्रो परिवेश । विप्लवले गम्भीर अनुहार पारेर भने– “यो ठाउँ नै यस्तै हो । यहाँभित्र पसेपछि जसको मन पनि एकपल्ट विचलित हुन्छ । मानिसले आÇनो सभ्यता चिन्न पनि एकपल्ट यो र यस्तै अरु केम्पहरु घुम्नु उचित हुन्छ ।”
हामी त्यो अग्लो स्तुपको फेदमा पुगिसकेका थियांै । वास्तवमै त्यो हाम्रो धरहराभन्दा अग्लो लाग्थ्यो । त्यसको फेदमा कालो ढुङ्गाका सैनिकका ठूलाठूला सालिकहरु थिए र ती सालिकहरुलाई आगोले झिल्स्याइएका थिए । सायद यसै गरी यहाँ मानिसहरुलाई झिल्स्याइएको थियो भन्ने सङ्केत गरिएको थियो होला त्यो । ती सालिकका फेदमा उभिएर पालैपालो तथा सामूहिक फोटो खिच्यौं ।
निबन्ध
बेराग पात्रहरु
–रमेश सायन
यी हरेक पात्रहरुसँग आ—आफ्नो कथा छ ।
जसको बजारमा माग छैन । पाठक छैनन् र अब दोस्रो संस्करण निस्कनेछैन । बाँच्ने शैली बेरागात्मक छ । विगत सम्झने उत्ति साह्रो फुर्सद छैन । मानांै, ती पात्रहरु हावाले उडाउँदै गरेको कपासको छायाँ हुन् जो अब दोहोरिएर आफै बाँचेको बाटो फर्कनेछैनन् ।
तथापि एकाध पात्रहरुले कतै न कतै मलाई पछ्याइरहेका छन् । जीवनसँग कतै न कतै आएर ठोक्किइरहेका छन् र तिनै पात्रहरुलाई कहिलेकाहीँ Çल्यास ब्याकमा उभ्याएर उनीहरुसँगै उनीहरुकै शैलीमा बेराग बगिरहन्छु ।
दुई वर्षपहिले जीवनसँग थाकेका, प्रगतिमा ओरालो खस्कँदै गरेका एकजना मित्र पूजा पाठ गर्न र देवालय भाकल गर्न थालेका रहेछन् जसले मलाई उनले चिनेका एक ज्योतिषकहाँ साथीको नाताले लिएर गएका थिए । ती मित्रलाई ज्योतिषले “शनिको दसा छ, ग्रहदशाको पाठपूजा गर्नू, शनिबार वरपीपलमा पानी चढाउनू” भनेको थियो । मलाई चाहिँ “जीवन सामान्य छ । कुनै मोडमा तँ जोगी हुन्छस्” भनेको थियो ।
उसै दिनदेखि आजसम्म मेरो जीवन उही गतिमा धकेलिरहेको छ । कतै सङ्गीतको रागजस्तो शैली मिलेको तरङ्ग छैन । भविष्यसँग चिन्ता छैन । आशा गर्ने सपना पनि छैन त्यसैले ज्योतिषले जे भने पनि मेरो जीवनको कुनै कुनामा चिन्ताको दल सरेन । रु.पचास ज्याला तिरेपछि म उसको दैलोबाट बलेंसीमा झरेको थिएँ ।
तीन दिनअगाडि पशुपति जान मन लाग्यो । कारण केही थिएन । मंसिर महिनाको घाम, पशुपतिको भिडभाडमा कसैलाई भाग नलगाई सिङ्गैै तापिरहें जसरी तापिरहेका थिए, स्वर्ग जाने बाटो खोज्न आएका सन्यासी योगीहरु ।
पैतालासम्म खसेको लट्टे दारी । उस्तै आकारको कपाल । पूरै खरानी दलेको खाइलाग्दो ज्यान । योभन्दा अगाडि त्यत्तिको बलियो योगी कहिल्यै देखेको थिइनँ जसले आफ्नो छोप्नुपर्ने एक अंश मात्र छोपेको थियो ।
उसैको छेउमा उभिएँ, नाम र घर सोधँे । योगीहरुसँग सपना हँुदैन । सपना र रहर नभएको मान्छे रिसाउँदैन भन्ने लागेको थियो तर त्यो योगीले मलाई रिसाएर भन्यो, “योगीको नाम, घर, थर, र जात सोध्ने तँ को होस् ।” म उठेर हिँड्न खोजँे । उति नै खेर कुनै विदेशीलाई ‘टेक वीथ मि पिक्चर, वान पिक्चर टु हन्ड्रेड’ भनिरहेको थियो ।
सम्झँे, भरे उसकी स्वस्नीले उसको खल्तिबाट सन्ध्याकालीन आय विवरण खोज्नेछे वा दिनभरि खैरेसँग फोटो खिचाउँदा थाकेको शरीर ठमेलको कुनै मसाज सेन्टरको गेटमा बिसाउनेछ ।
उसको बाँच्ने शैली हो, जसरी बाँचोस् । म अलि पर सरें र रमितेहरुमा थपिएँ ।
पारि लासहरुको लाइन छ । प्रायः आधा डढिसकेका छन् । लासहरुको उमेर फरक छ । नरबहादुरको सेकुवा पसलबाट आउने गन्ध र लासहरुबाट आउने गन्ध एक समानान्तर रेखाजस्तो लाग्छ ।
सबै लासहरुबाट उडेको धुवाँ र फैलिएको गन्ध एकै रङ, उस्तै आकार र गतिमा हावाले बोकेर दगुरिरहेको छ ।
मेरो आँखामा धुवाँको कालो रङ, नाकमा लासको गन्ध र मेरो मथिङ्लमा मभन्दा पचहत्तर वर्ष जेठी र बीस वर्षपहिलेको भोल्टी सर्किनीको अनुहार पौडिरहेको छ । मेरो आँखामा उनका भिराला खेतका गह्राजस्ता गाला र तुषारोको बिहानजस्तो कपाल तैरिरहेको छ जसलाई मेरा बा र हजुरबाले कहिल्यै हाम्रो मझेरीको रङ उनको आँखाको नानीमा पर्न दिएनन् । घरको दलिन उनका औँलाका चक्रले छाम्न दिएनन् । उनी मलाई कान्छा बाजे भन्थिन् । म उनलाई “भोल्टी र तिमी” सम्म भनेर सम्बोधन गर्थंे । जस्तो मलाई सिकाइएको थियो ।
हाम्रो बेंसीमा उनी असार रोपिन्थिन् र मंसिरमा बिस्कुन सुक्थिन् । हरेक साँझ उनी आफ्नो अगेनोमा बल्थिन् कि बल्दिनथिन् मलाई राम्ररी थाहा भएन तर उनी जीवन बोकेर हाम्रो घरमा बेसाहा किन्न आउनेहरुलाई थाङ्ग्रोबाट मकैका झुत्ता ओरालेर कुनै रहर नबोकी बाँचेकी हुन्थिन् ।
मैले आँखाको बराबर बिन्दुमा मेरा हजुरबा र भोल्टी सर्किनीको लास जलिरहेको सम्झिएँ जो यिनै लासहरुभंmंै बराबर गनाइरहेका थिए । अन्तमा दुवै स्वादहीन खरानी भएर सुनकोसीमा बगेका थिए ।
म मेरो हजुरबाको मथिङ्लबाट उम्किएर डिलमा उभिएको छु जहाँ सबैले ओढेको क्षितिज एकै आयतनमा फैलिएको छ ।
धेरै बेरसम्म उनैलाई सम्झिरहें ।
घाट भित्रँदै गरेको एउटा नयाँ लासले ध्यान फेरि लासहरुको लाममा तान्यो । त्यो लासको उमेर मेरो बराबरको हुनुपर्छ । मलामीहरु मेरो एम. ए. कक्षाका सङ्ख्याजति छन् । सबै तन्नेरी छन् । लासको उमेर र मलामीको उमेर प्रायः मिल्छ । रुनेहरुको सङ्ख्य धेरै छैन । एकजना ठूलो स्वरमा धित मर्ने गरी रोइहेको छ । बुभ्mदा उसको बाबु रहेछ । टी.यु. मा एम.एस.सी. पढ्दापढ्दै साइनाइड खाएर आत्महत्या गरेछ ।
ठिक्कै छ । उसको मृत्यु उसको अधिकार, बाँच्न मन लागेन म¥यो । के भयो त ? कसैले कायर भनेर उसको जीवनको स्तर घट्ने छैन अब । आफ्नो जीवनयुद्धमा सहिद भयो । सकियो । आत्महत्या गर्नु कायर हैन बहादुरिता हो । मनले भन्यो ।
तर एक पल्ट मर्नु छ किन साइनाइड खाएछ ? मनमा उसको मृत्युको पछुतो फैैलियो । विचराले मर्नुको आनन्द लिन पाएन । मर्नैपर्ने भए बिस्तारै घाँटीमा ब्लेडले सानो नसा काटेर मृत्युको अनुभव लिईलिई मर्नु राम्रो हो ।
बाग्मती अल्छी मानीमानी बगेको छ । पानीको धर्म बग्नु हो । धर्म निभाइरहेको छ । आज नबग्नुपर्ने भए लेदो त छँदै थियो जमेर बस्ने थियो होला ।
आफ्नो मृत्यु सक्नुअघि घामले मेरो लामो छायाँ धमिलो पानीमा खसाल्यो । आफ्नै उमेर सम्झेँ, २७ वर्ष । कुनै रोग सम्झेँ, केही छैन । मेरो आयु सम्झँे र पारि लासका लाइन हेरें । अब सरासर बाँच्न पाएँ भने ३५ देखि ४० वर्ष । बीचमा आत्महत्या गर्ने योजना छैन तर मृत्युको रहर छ । भयानक पीडादायी मृत्यु जसले मलाई दुःखको जस्तै अनेक अनुभव दिइयोस् । चरम भोक र परकाष्ठा प्यासको पीडाजस्तो अनुभव । हिउँमा खाली खुट्टाको जस्तो पीडा या कसैले यातनास्वरुप बाघको खोरमा हालिदिने खबरजस्तो, जीवनको अनुभव ।
साँझ पर्न लागेको छ । जोगीहरु पातलिइसकेका छन् । बाँदरहरुको चहलपहल घटेको छैन । पशुपतिमा आरती सुरु भएको छ । एक किसिमको सङ्गीत हृदयमा गुन्जियो । यहाँ पनि जीवनको एक आनन्द छ । वैरागीहरुको एक झुन्ड ईश्वरको शरणमा आइपुगेको छ । जहाँ आन्नद छ त्यहाँ ईश्वर हुनुपर्छ । रागमा विलिन यो साँझमा मलाई आनन्द आयो ।
दुई किशोर केटाहरु पानीमा चुम्बकको डल्लो हालेर सिक्का पैसा तानिरहेका छन् । जीवन जसरी पनि बाँचेर सक्नु छ । बाचिरहेका छन् ।
एउटाले अनुहार उज्यालो पारेर खल्तीमा हात हाल्यो । लगातार एक दुईका सिक्का भेटेको हुनुपर्छ । रमाउने अनेक तरिका हुन्छन्, ऊ रमायो । मलाई आनन्द आयो । यी किशोरले कहिल्यै आत्महत्या गरेर जीवन सक्दैनन् । यीसँग ठूलो सपना छैन । जीवनमा स–सानो युद्ध गर्छ र जितिरहन्छ । अघि साइनाइड खाएको लास जलिसकेको छ । मैले जीवनको त्यो सहिदलाई मनमनै सलामी दिएँ ।
म अहिले घर फर्कन लागेको छु । यता टहलिने रहर पुगेको छैन तर घाम टाकुराबाट खसिसकेको छ ।
बाटामा फेरि सम्झँे, मलाई जोगी हुन्छस् भन्ने ज्योतिषीको भग्य कस्तो होला । उसको भविष्यमा कस्ता आरु बखडा फले र चिचिलामा झरे । कुन दिन धुरीमा काग करायो र दिनभरि अशुभको डरले कामिरह्यो होला । मलाई लाग्छ, त्यो ज्योतिषी पनि कहिल्यै आत्महत्या गर्दैन ।
ती मित्र जो जीवनसँग वैरागिएर ज्योतिषिकोमा भविष्य बोकेर पुगेका थिए । उनको जीवनप्रति दया लागेर आयो ।
मलाई गाली गर्ने योगीले दारी र कपालको व्यापार गरेकोमा आनन्द लागेको छ । कम्तिमा एकै जीवन दुई पाटाबाट अनुभव गर्र्न पाएको छ । ऊ जोगी र वेश्यालयको ग्राहक एकैपल्ट हुन सक्छ ।
भोल्टी सर्किनी उनको जीवनमा सधैं गहिरिएर बाँच्न खोजेको छु । आफ्नो जीवन हदैसम्म फिक्का र दिक्दार लाग्छ उनको जीवनको अगाडि ।
त्यो आत्महत्या गरेको लास जसले मलाई मृत्युमा पीडाको रहर जगाइरहेको छ ।
बाग्मतीमा पैसाका सिक्का खोज्ने किशोर जसले जीवनसँग स–साना युद्ध गरेकोमा मेरो जीवनसँग मिलेजस्तो लागिरहेको छ ।
म घर फर्कि रहेको छु । गौशाला चोकमा आइपुग्दा धेरै ठाउँमा चर्किए । जीवनसँग राग नमिलेका यी अनेक पात्रहरुसँग म पनि थपिएँः
भविष्यसँग कापिरहेको मित्र
त्यो ज्योतिषि
त्यो योगी
मेरा हजुरबा
भोल्टी सर्किनी
त्यो लास
ती केटाकेटी
पशुपतिमा बजेको आरतीको राग
मैले बाँचेको मेरो आफ्नै जीवन
एक झुण्ड एक बेराग सङ्गीत बदलियो
अनुभव
मृत्युबाट भागेर आएको मान्छे
–तीर्थ गुरुङ
कविलाई बचाउने कवि नै हुन्छन् । भूपिनको यो कुरामा म दुईवटा कुरा पाउँछु, पहिलो कुरा म कवि हुँ तर म स्वयम्लाई कवि मान्न सकिरहेको छैन । कविता नलेखेकै लामो अन्तराल भइसकेको छ र लाग्छ, मेरा कविताहरु त्यति सम्प्रेषणीय छैनन् र व्यक्तिगत रुपमा कवि हुन धेरै जटिलताहरु छन् । तर, दोस्रो कुरा सत्य हो, मृत्युसँग लडिरहेको मलाई बचाउन कविहरु अगाडि आए, कविहरुले बचाए र बचाउनेहरु सब कवि हुन्– मेरो लागि । कविहरुप्रति मेरो उपल्लो दर्जाको इज्जत छ । एउटा कवि ब्रटस हुँदैन, एउटा कवि हिटलर हुँदैन र हुँदैन कुनै कवि जनरल पिनोचे । जङ्गबहादुरहरु कविता लेख्दैनन् र कविता लेख्नेहरु पोलपोट बन्दैनन् ।
कविता नलेखे पनि कविको रुपमा मेरो नाम आयो । मलाई इज्जत गरिएको जस्तो लाग्यो र कताकता त्यो धान्न मलाई गाह्रो भयो । त्यो पनि त्यस्तो बेला जब म मृत्युको अगाडि आत्मसमर्पण गर्न लगभग तयार भइसकेको थिएँ । मृगौलाहरुले आफ्नो काम गर्न छोडिसकेका थिए र उपचार नभए मेरो मृत्यु निश्चित थियो । जीवनप्रति भन्दा स्वयम्प्रति गुनासो बढी रह्यो । किन मैले अहिलेसम्म केही गरेको रहेनछु ? म किन समाजमा केवल लिन आएको रहेछु ? म अति हतास र समपूर्ण रुपले निराश किन थिइनँ भने मलाई भएको क्यान्सर थिएन । कसैले एउटा मृगौला दान दिएमा र यथेष्ट रकमको जोहो भएमा म बाँच्न सक्थेँ । प्रत्यारोपण खर्च र त्यसपछिका महङ्गा औषधी सेवन, सबै सम्झिँदा त्यो मेरो परिवारले धान्न सक्ने थिएन तर आर्थिक सहयोगको निम्ति हात पसारिहाल्न पनि सकिरहेको थिइनँ । साथीहरुलाई अन्तिम विदाइ माग्न चाहन्थेँ, अतः सार्वजनिक भएँ ।
सबभन्दा पहिले मणिपालमा सरुभक्त दाइ आउनुभयो । संरक्षण कविता आन्दोलनमा लागेपछि मैले उहाँलाई आफ्नै दाइको रुपमा पाइसकेको थिएँ । उहाँले मेरो स्थितिप्रति दर्शाउनुभएको चिन्ता कुनै सहोदर दाइको भन्दा कम थिएन र त्यो चिन्ता पछि सबै पोखरेली कविहरुको चिन्तामा परिणत भएको पाएँ, जब उहाँ एक्लै महाराजगञ्ज शिक्षण अस्पताल फेरि आउनुभयो । त्यतिखेर उहाँ सबै कविहरुले मप्रति देखाएका पीर, सहानुभूति र स्वास्थ्यलाभको कामनासहितको सहयोगको भारी लिएर आउनुभएको थियो । दुईजना बहिनीहरु सरस्वती र सरिताले मलाई मणिपालमा भन्न खोजे– ‘म केही हुँ ।’ म केही थिइनँ, बहिनीहरुको आत्मीयता र दाइप्रतिको स्नेह थियो । कतार जहाँ मैले पनि दुई वर्ष पसिना चुहाएको थिएँ–मा कवि अर्जुन पौडेल ‘निर्जन’ र सागर अजनवीहरलाई छट्पटी भयो । मैले नचिनेको कविहरुबाट आएको त्यो आर्थिक सहयोगले फेरि कविहरुको विराट् हृदयको प्रमाण दियो ।
चन्द्र गुरुङ– बहराइनमा कार्यरत कवि चन्द्र गुरुङसँग पनि मेरो चिनजान थिएन । उहाँको सरोकार कति गहिरो रहेछ भन्ने कुरा काठमाडौंमा चाल पाएँ, जब केहीको दिनको भेटमै हामी एउटै प्लेटको मःमः खाने साथीजस्ता भयौँ ।
खोटाङका कवि जयबहादुर घिमिरे काठमाडौंमै मलाई भेट्न आउनुभयो । उहाँ पनि मजस्तै शिक्षक पनि हुनुहुँदो रहेछ । मैले नाइँ नास्ती गर्द पनि उहाँले मलाई सहयोग गर्न खोज्नुभयो । त्यति टाढाबाट नचिनेको कविलाई आफ्नो सहानुभूति व्इः गर्न आउने कविको पागलपन नै हो ।
अष्टेलियामा निस्प्रभ सजीले अभियान नै छेड्यो । बेलाबेलामा फोनमार्फत् मेरो स्थितिको पनि ज्ञान राख्थ्यो । सजीसँग माडीको यात्रा भएको थियो र त्यसपछि उसले के प्रमाणित ग¥यो भने ऊ मेरो आÇनै भाइ हो ।
चितवनमा सरिता बहिनी, एल. बी. सर, धनराज दाइ सबैले गरेको माया मैले स्वीकारेको छु । काठमाण्डौमा रोशन शेरचनको चिन्तनले मलाई रोगसँग लड्न हौसला दियो । रोशन दाइ कवि मात्र हैनन् । मलाई लाग्छ, म जे भन्न चाहन्छु, उहाँ आफ्ना निबन्धहरुमार्फत् भन्नुहुन्छ ।
भूपिन अमेरिकामा कसरी खुसी हुन सकोस्, जसले चर्पीमा पानी नभएकोले आफ्नो साथीलाई रुमाल दिएको थियो र जुन साथी अहिले अस्पतालको पलंगमा मृत्युसँग लडिरहेको थियो । भूपिनको मप्रतिको माया कति छ त्यसको केही अंश समयको कुरुप चित्रकारितामा छ, आफ्नो पहिलो निबन्धसंग्रह चौबीस रिलमा । अरु ठाउँहरु खास गरी, मेरा आफन्तहरु, गाउँलेहरु, सहपाठीहरु, सहकर्मीहरु, विद्यार्थीहरु र साथीहरुबाट पाएको आर्थिक सहयोग अभूतपूर्व थियो र रहेको छ । त्यहाँ एउटा छोरा, ज्वाइँ, एउटा शिक्षक र एउटा साथीलाई बचाउने महान् अभिलाषा थियो । मेरा आदरणीय अग्रज कवि तथा साहित्यकार, समकालीन कवि मित्रहरुको एउटै मात्र पवित्र उद्देश्य थियो– एउटा मान्छेलाई बचाउने ताकि एउटा कवि बाँच्न सकोस् र उसले समाजलाई केही न केही देओस् । मणिपाल अस्पतालमा थलिएको बेला विद्युत् गतिमा एउटा विचार आएको थियो । त्यो विचारलाई म शब्दमा व्यक्त गर्न सक्दिनँ । म सम्पूर्ण कर्तव्य, आग्रह, माया, मोह र जिम्मेवारीबाट मुक्त भएँ र स्वयम् मृत्यु पनि मलाई प्रिय लाग्यो । अलि माथिल्लो तलामा चढूँ र भ्mयालमा गएर यो नाटकको पटाक्षेप गरुँ तर खाटबाट तल झर्नसमेत नसक्ने मेरो मनमा त्यो विचार फैलिन पाएन ।
मलाई माया गर्ने हजारौं मनहरुले मलाई जीवनप्रति सकारात्मक सोच राख्न र बलियो रहन मद्धत गरे । ती सबै मनहरुलाई म पनि त्यत्तिकै प्रेम गर्छु त्यसैले त जीवन जिउने साहस र अभिलाषा जीवित छ । पशुपन्छी र जनावरलाई बढी माया गर्ने मेरो बुबा साकाहारी हुनुहुन्छ । एकदिन सदर चिडियाखानामा थुनिएका चराहरलाई हेर्दै उहाँले भन्नुभयो, “विचराहरुलाई उड्न कति मन होला ।” साक्षर भएको भए उहाँबाट पनि ‘पिँजडाको सुगा’ जन्मिन्थ्यो होला । यो सम्पूर्ण कठिन यात्रामा उहाँको साथ जुन रह्यो त्यो लेख्ने काम मेरो कलमलाई गाह्रो हुनेछ । उहाँको एउटा मृगौला ममा प्रत्यारोपण भयो र म अहिले रोग प्रतिरोधात्मक क्षमतालाई दबाउने औषधीहरुको भरमा बाँचिरहेको छु ।
काठमाण्डौको बसाइँमा प्रसन्न घिमिरेले मसँग गफ गरेर पुस्तकहरु ल्याइदिएर मेरो साथ दियो । पोखराका कविजनहरु भेट्दा उहाँहरु मायाले मेरो स्वास्थ्यस्थिति बुझ्नुहुन्छ । रमेश श्रेष्ठ, अल्पज्ञानी, ईश्वरमणि अधिकारी, पद्मराज ढकाल, सरस्वती श्रेष्ठ ‘सरु’, दीपक समीप, जे. अस्मिता, लक्ष्मण थापा, नारायण मरासिनी, रुपिन्द्र प्रभावी, मदन भण्डारी सबैलाई भेट्दा म हर्षविभोरको अनुभूति गर्छु । विन्ध्यवासिनी मन्दिरको प्राङ्गणमा तीर्थ श्रेष्ठ दाइले जब मलाई आत्मीय र न्यानो अँगालोमा बाँध्नुभयो, मेरो निधार ठूलो भएको जस्तो लाग्यो । राजनीति सप्रेर वा बिग्रेर जातीय सङ्घीयता बने पनि मेरो हृदयमा कुनै सिमाना बनेको छैन र बन्नेछैन पनि । मेरो लागि कविहरुको न कुनै जात हुन्छ, न धर्म । कविहरु कुनै भूगोलका लागि हैनन् र कुनै सम्प्रदायका लागि त विल्कुलै हैनन् । ‘शिरीषको फूल’भन्दा अगाडिको पारिजात मान्ने कविहरु र त्यसपछिका पारिजात मान्ने साहित्यकारको बीचमा जुन रेखा थियो, त्यसमा म थिएँ– अहिले म त्यो देख्दिनँ । म लेनिनको पनि हुँ र लेनोनको पनि ।
जीवन लामो होस्– मेरो कामना छैन । जीवन सिर्जनात्मक र सुन्दर होस् र मृत्यु, त्यो त म अब मलाई कामुको पात्र मर्सोल्टको जस्तो हुनेछ– बिनाघृणा र बिनापश्चाताप र आनन्दको मृत्यु ।
(लेखक गुरुङको केही समयअघि मृगौला प्रत्यारोपण गरिएको थियो ।)
शङ्कर भर्सेस नित्सेका प्लाज्माहरू
–सुरेश प्राञ्जलि
केका लागि विचार, दर्शन ? संसार बदल्नका लागि ? जोखिरहन्छ मेरो मस्तिष्क वैचारिक तराजुमा राखेर शङ्कर र नित्सेलाई । अनि, किर्केगार्ड, हिगेल, फुकुयामा, कार्ल पोल्यानी, सामुअल हन्टिङटनलाई । सा“च्ची, वेदान्त दर्शन र साङ्ख्य दर्शनबीच के अन्तर छ ? के हन्टिङटनको ‘क्ल्यास अप्m सिभिलाइजेसन’ पढेर सक्दा मेरो जीवन पनि क्यास हुन्छ अब ? अथवा फ्रान्सिस फुकुयको ‘द इन्ड अप्m हिस्ट्री एन्ड द लास्ट म्यान’स“गै मभित्र विचारको कर्नाली जन्मियो ? एउटा द्वन्द्व जन्मियो । मलाई थाहा छैन, द्वन्द्ववादको कुन तहसम्म त्यो द्वन्द्व पुग्छ । मेरा अभिव्यक्तिका बाँझा गह्राहरूले सोच्छन्, के म यी विचारको मलिलो फाँटमा अटाएको छु ? विचार वा दर्शनको एकमात्र मौलिक प्रश्न के हो ? के म उत्तर खोज्न सकुँला ? यो जस्टिन गार्डरकी पात्र सोफीको देश होइन । सोफी मेरी प्रेमिका होइन ।
किन–किन पङ्तिहरू बदलिदिन्छन् । जान्दिन“, अभिव्यक्तिमा निखार ल्याउन या भावनाको पहेलिका खडा गर्न । वैचारिक स्तम्भको रूपमा एउटा† असलमा यी कसैस“गै शङ्कर अल्झिरहेको त हुन्छ नै तथापि चिप्लन्छन् क्रमशः । अन्ततः भेट्टाउँछु, हराएका वस्तुहरूबीच शङ्कर लामिछाने र नित्सेका उपर उठेका निभ्रान्ति भावभङ्गीमाहरू । जानेर वा नजानेर लेख्दिन“ पनि केही मैले । तर, यो अलेखाइको एउटा पाटो हो जो ‘अनरियालिटिज्म्’को पुट खोतल्ने क्रियामा उद्धत छु । लेखेर बा“च्न किन सक्दिनँ म ?
मेरी प्रेमिकाका मुटुका च्याम्बरहरू हु“दै शङ्करजस्तै ‘म’हरू या यो पनि युगजस्तै शङ्करहरूका करोडौं आर.बी. सी. हुत्तिरहेछन् अथवा डी.एन.ए.को असर रहिरहेछ यद्यपि, र त यो भइरहेछ सम्भव । कलम, सपना देख्न पुग्छ, अनायास यो ! शङ्करजस्तै विचारको पहाड । या भूपिजस्तै आशाको नदी । र, लाग्छ, म चालिरहेछु पाइला जुन अभिशप्त छ आफैंमा, कि कुनै अविचारको कलेवरभित्र छिपेको निर्जीव वस्तु हँु म । अथवा, यसो पनि, विचार निर्माणको प्रोसेसमा (या भनौँ रियाक्सनमा) कसैले उत्प्रेरकको रूपमा गरिरहेछ, कार्य । देश कता गइरहेछ ? विचारले किन देश डो¥याइरहेको छैन देश ?
(जुन, केमिकल प्रोसेस या, रियाक्सन नै हुनुपर्छ भन्ने छैन । मैत्रिक रियाक्सन या, प्रक्रिया पनि त हुनसक्छ नि ! ) र, पनि बुझाऊँ कसरी (?) मेरा निराश्रित कलमहरूउपर उर्लिएका सम्मोहनहरू र कसैलाई अक्षरहरूभरि खोपेर हिँड्ने ईप्साहरू, । समायोजनविहीन सेतुहरू ! हो, यसै पङ्तिको प्राप्तिउपर अडेको छु, यतिबेला म । र त भन्छु, असलमा, के लेखिरहेछु म । ठा“उ कुठाउ“ रोकेर दोहो¥याउनुपर्छ स्वयम्लाई । यदि एपिग्राफ हो भने–कस्को (?) शङ्कर या स्वयम्को ? जो, लेखे“ मैलै यो, यो नै नभएर, या अकथा नै नभएर अन्य कुनै वस्तु पनि त सक्छ नि हुन ।
कसो–कसो अभिव्यक्तिका खुड्किलाहरू उक्लँदै गर्दा, भावनाका सरिताहरूबीच हुत्तिँदै गर्दा, सिर्जनाका छालहरूउपर तैरिँदै गर्दा– लाग्छ, बनाइदिऊँ युग नै शङ्करको यद्यापि यो पङ्ति केवल अक्षरकै इन्टेसटाइनहरूबीच सीमित रहिदिन्छ नितान्त, र आउँदैन पनि कुनै अभिव्यक्ति† मानौ“, खोक्रा मस्तिष्कहरू, स्वयम्का । के मलाई जोन रल्सको ‘भेल अप्m इग्नोर्यान्स’ले गम्लङ्ङ छोपेको हो र ? होइन । मैले मार्था नुसबमलाई पनि सम्झेको छैन यतिबेला ।
शङ्करका प्रतिको मेरो एक मित्रको धारणहरूबीच भेट्टाउ“छु म पृथक शङ्करवादको इमेज । (यहाँ, जानाजान “शङ्करवादी” भनिदिएँ मैले । असलमा शङ्करवादीहरू फरक विचार र यसको डेस्टिनेसनउपर सपोर्ट गर्छन्, जुन असरको परिणामस्वरूप, आज यो अकथा सार्थकताको बाटोतर्फ उन्मुख छ, बिनासङ्कोच लेखिदिन्छु, म । कारणतः उसको यहा“ र ..., त्यहा“ बीचको उद्गमता खोज्ने आ“टको बीज अङ्कुराएन मभित्र ! एकपटक त ग¥र्यौं पनि अठोट हामीहरूले । लागौं संयुक्त रूपमा र खोजौं– शङ्करका फोसिलहरू भनेर । आखिर, व्यर्थको प्रयास रह्यो त्यो पनि ! मानौं, यो बाटो जुन हि“डिरहेछु म भर्खर ग्राभेल हु“दै छ । यद्यपि, निर्माण भएका छैनन् कलभर्टहरू पनि !
(शङ्करका प्लाज्माहरूद्वारा, मस्तिष्कका डल्लाहरूद्वारा, तरल शैली बहने भेसल र आर्टरीहरूद्वारा ।) ‘शङ्करको, या स्वयम्को । भनौं, पृथक एउटा धार समातेर । ताते गरिरहेछु जसउपर म, भयो–भएन जाँन्दिनँ, एउटा पृथक धार ।’
No comments:
Post a Comment