हाइकु - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


हाइकु

हाइकु

             –शङ्कर गिरी



आफ्नै रडाको
कुम्लो बोकी ठिमी भो
साझा सवाल ।

तुषारापात 
हजारौं सपनामा
तिमी चिप्लिँदा ।

जस्तै लाग्दछ
हाड नभा’को जिब्रो
तिम्रो आवाज ।

खुनका धारा
बालुवामा पानी
सङ्घर्ष धेरै ।
              पर्वत

हाइकु

         –सौगात सङ्घर्ष



हरायौ तिमी 
भेटियो होला अर्कै 
चट्ट परेको ।

जून हेरेर 
भोक मार्न सकिन्न 
बिहे गरे’सि ।

झर्छ नि फूल 
समय आएपछि
माया झर्दैन ।

सम्झना पनि 
आइरहन्छ धेरै 
तिम्रो र मेरै ।

तिमीले देख्यौ 
आज बन्द कोठामा
को लुटिँदै छ ?

                     पोखरा

हाइकु

                         –रावल कृष्ण



       पापी डाँडाले
उनको साथ छुटायो 
रुपसकाँडाले ।
(रुपसकाँडा = २०६९ साल पुस २७ गते राति बस दुर्घटना भएको ठाउँ जहाँ ३१ जना यात्रुको ज्यान गएको थियो)

तिमी नहुँदा
आफ्नै मुख बिरानो 
आज नधुँदा ।

माझ टारीमा 
धान काट्न नआऊ है
मकैबारीमा ।

डाँडामाथि घाम
के प¥यो साइँला दाइ
यस्तो बेला काम ।

पानी झरेन 
संविधानको धाराले 
कामै गरेन ।
                               चाफामाण्डौ ४, अछाम

हाइकु

                     - दिलिप दोषी



ए खारापानी !
भत्काइस् जिन्दगी
शोकको आँसु ।

रातको पीडा
आँखाको भाका बोल्यो
फर्किआएन ।

कस्तो दुर्भाग्य
मेरो भाग्य लुटियो
लौन बचाऊ ।

नीलो आकास
बाजहरुको हुल
खुसी हरायो ।

कस्तो पहिरो
खुसी जिन्दगी आज
उजाड पार्यो ।
                    पोखरा ८, सिद्धार्थचोक
                 [email protected]

हाइकु

               –चित्रकुमार गुरुङ


मेरो विश्वास
बालुवाको पर्खाल
तिम्रो कसम ।

मन नै त हो
गरिबको सम्पत्ति
कति हो कति ।

असल मित्र
बस्दछ दिलभित्र
कति पवित्र ।

साउने झरी
विधवाको सिउँदो
भिजेको मन ।

मन्को सवारी
हुँइकाउने इच्छा
रित्तो सडक ।

माछापुच्छ«े, कास्की

No comments:

Post a Comment