पोखरामा सिन्धुपाल्चोका साहित्यकार - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Wednesday, April 14, 2021

पोखरामा सिन्धुपाल्चोका साहित्यकार

 पोखरा । पोखरामा नयाँ वर्ष २०७८ को पहिलो दिन अर्थात् बुधबार फरक खालको साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । हरेक शनिबार पोखरामा विभिन्न संस्थाले गर्ने नियमित कार्यक्रमभन्दा फरक किसिमको सो कार्यक्रमको चाँजोपाँजो चाहिँ सिन्धुपाल्चोकको ‘शब्द सारथि’ नामक संस्थाले मिलाएको थियो ।


‘पोखरेली स्रष्टासँग सिन्धु स्रष्टा’ नाम दिइएको कार्यक्रममा पोखरेली र सिन्धुपाल्चोकका स्रष्टाहरूले पालैपालो आफ्ना रचना सुनाए ।

आयोजक शब्द सारथिका अध्यक्ष अमित घिमिरेले पोखराबाट मायाको बिरुवा लगेर सिन्धुपाल्चोकमा सतिसाल बनाउने उद्‍घोष गरे । उनले यस कार्यक्रमले पोखरेली र सिन्धुपाल्चोकका स्रष्टाबिच मितेरी साइनो गाँसिएको धारणा सुनाए ।

सो कार्यक्रमलाई प्रवर्धन गरेको चौतारी साँगाचोकगढी नगरपालिका, वडा नम्बर ५ का वडा अध्यक्ष नरमान श्रेष्ठले भौतिक विकासका पूर्वाधार जति नै राम्रो बनाए पनि कला, साहित्यको विकास गर्न सकिएन भने घर बनाए पनि घरमा बस्ने मानिस नभए जस्तो हुने धारणा सुनाए । भने, ‘साहित्यको उत्थान गर्न सकिएन भने जतिसुकै विकास भए पनि के हुन्छ र !’ वडा अध्यक्ष श्रेष्ठले आफू रगतको नाताले पोखरेली नै भएको जनाउँदै पहिलो पटक गणेशटोलमा रहेको पुर्ख्यौली घर हेर्न पाउँदा गौरव लागेको अनुभव सुनाए ।

संस्थाका सचिव सुन्दर शिरीषले शब्द सारथिले हरेक शुक्रबार सुन्ने र सुनाउने साहित्यिक शृङ्खला सञ्चालन गर्दै आएको जानकारी दिँदै सिन्धुपाल्चोकका तर्फबाट पोखरेली स्रष्टालाई स्वागत गरे । संस्थाले कविता, मुक्तक, गजल, बालसाहित्य, न्यायका लागि कविता जस्ता विशेष कार्यक्रम गर्दै आएको उनले बताए । पोखरेलीका तर्फबाट स्थानीय संयोजन गरेको शुभप्रभात साहित्य पुञ्जका उपाध्यक्ष कृष्ण मर्सानीले सिन्धुपाल्चोकका स्रष्टाहरूलाई स्वागत गरेका थिए ।

साहित्यकार तथा सञ्चारकर्मी डम्बर रसिक भारतीको सञ्चालनमा भएको कार्यक्रममा प्रकट पगेनी ‘शिव’, लक्ष्मण थापा, दीपक समीप, रुपिन्द्र प्रभावी, अनिता दाहाल, त्रुपक, रामकुमार फुच्चे, आवाज शर्मा, शिव त्रिपाठी, मैया सुवेदी, सविता बराल, मेघराज आचार्य, भरत आचार्य, विशाल गिरी, तारानाथ पराजुली, लिली अधिकारी, विनोद श्रेष्ठ, दुर्गा किरण तिवारी, डिल्लीराम भुसाल, रमा खतिवडा, मेघनाथ पौडेल आफ्ना रचना वाचन गरेका थिए । त्यसै गरी, दिल कार्की, हेमन प्रधान, अविरल अप्रिय, जीवन श्रेष्ठ, सुन्दर शिरीषले पनि आफ्ना रचना सुनाएक थिए ।

सो कार्यक्रममा हालै सम्पन्न अधिवेशनबाट नेपाल पत्रकार महासङ्घ, सिन्धुपाल्चोकको अध्यक्षमा निर्वाचित साहित्यकार तथा पत्रकार जीवन श्रेष्ठलाई सम्मान गरिएको थियो । सो कार्यक्रमका लागि सिन्धुपाल्चोकबाट १५ जना साहित्यकारहरू पोखरा आएका थिए ।

No comments:

Post a Comment