पुस्तकालय दिवसका सन्दर्भमा कैलालीमा कविता प्रतियोगिता - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, August 26, 2023

पुस्तकालय दिवसका सन्दर्भमा कैलालीमा कविता प्रतियोगिता

कैलाली । कैलालीको धनगढीस्थित कैलाली जनपुस्तकालयले शनिबार सम्पन्न गरेको अन्तरविद्यालय कविता प्रतियोगितामा दुर्गालक्ष्मी नमुना मावि, अत्तरियाकी नितिका अवस्थी प्रथम भएकी छन् ।

१६ औँ राष्ट्रिय पुस्तकालय दिवसको सन्दर्भ पारेर आयोजना गरिएको प्रतियोगितामा १६ विद्यालयका ३० प्रतियोगीले भाग लिएका थिए । प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय, तेघरीकी पुष्पा रोकाया र दुर्गालक्ष्मी नमुना माविकी भूमिका भट्ट क्रमशः द्वितीय र तृतीय तथा कैलाली मोडेल स्कुल, धनगढीकी प्राश्ना सुवेदी र अक्सफोर्ड मावि, धनगढीका प्रदिप नेपाली सान्त्वना भए ।

पुस्तकालयका अध्यक्ष टिएन जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले पुस्तकालयले असल संस्कार र शिक्षा प्रवाह गरिरहेको भन्दै खुसी व्यक्त गरे । अध्यक्ष जोशीले कैलाली जनपुस्तकालयलाई सुदूरपश्चिमकै स्मार्ट लाइब्रेरीका रूपमा विकास गर्ने गरी अघि बढेको जानकारी दिए ।

कार्यक्रम संयोजक हर्क बोहराले पठन संस्कृतिको विकास गर्न यस्ता सिर्जनात्मक कार्यक्रमहरू गरिनुपर्नेमा जोड दिए । विजेताहरूलाई पुस्तकालय दिवस मूल समारोहका अवसरमा भदौ १५ गते पुरस्कार प्रदान गरिने जानकारी संयोजक बोहराले दिए ।



 

 

No comments:

Post a Comment