अधिकारीको चौथो कृति सम्बोधिका सार्वजनिक - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, August 26, 2023

अधिकारीको चौथो कृति सम्बोधिका सार्वजनिक



पोखरा । साहित्यकार ईश्वरमणि अधिकारीको मुक्तक सङ्ग्रह सम्बोधिका बजारमा आएको छ । कृतिको प्रकाशक संस्था पोखरेली युवा सांस्कृतिक परिवारद्वारा शनिबार आयोजित कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठ, दीपक समीप, सरस्वती प्रतीक्षालगायतले कृतिको लोकार्पण गरे ।

यसअघि सगरमाथा आरोही अरविन (जीवनी, २०५८), समयको तस्बिर (कविता सङ्ग्रह, २०६१) र हृदयको आलाप (गजल सङ्ग्रह, २०६६) प्रकाशन गरिसकेका अधिकारीको सम्बोधिका चौथो कृति हो । वि. सं. २०२६ मा लमजुङमा जन्मेका उनी चालिसको दशकदेखि पोखरा बस्दै आएका छन् । उनी पृथ्वीनारायण क्याम्पसका गणित विभागका प्रमुख हुन् ।

कार्यक्रममा साहित्यकार सरुभक्तले लेखकीय पहिचान लेखकको शैली र विचारले दिने भन्दै ईश्वरमणिलाई रुवाइ शैलीका राम्रा मुक्तक लेख्न सक्ने स्रष्टाका रूपमा आफूले चिनेको बताए । साहित्यकार तीर्थ श्रेष्ठले पोखराको मुक्‍तकिलो इतिहासको स्मरण गर्दै संरचनाको पछि दौडेर कहीँ नपुगिने बरु भावगत पक्षमा जोड दिन लेखकहरूसँग आग्रह गरे ।

कृतिकार अधिकारीले झण्डै तीन दशकमा लेखिएका मुक्तकहरूमध्ये छानिएका १११ मुक्तक कृतिमा समेटिएका जानकारी दिए । कृतिको समीक्षा सञ्जीव पौडेलले गरेका थिए ।

परिवारका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रीता अधिकारीले स्वागत तथा पूर्वअध्यक्ष जीवन सागर भण्डारीले स्रष्टा परिचय दिएका थिए । कार्यक्रममा रमेश श्रेष्ठ, हरिदेवी कोइराला, दीपक समीप, सरस्वती प्रतीक्षाले शुभकामना दिएका थिए । कृतिभित्रबाट मुक्तक मञ्चका पूर्वअध्यक्ष प्राञ्जलले मुक्तक वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव चैतन्य अधिकारीले गरेका थिए ।

 

No comments:

Post a Comment