दीपक समीपको ‘अक्षर अक्षरमा देश’ - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, January 15, 2022

दीपक समीपको ‘अक्षर अक्षरमा देश’

पोखरा । साहित्यकार दीपक समीपको पहिलो मुक्तक सङ्ग्रह ‘अक्षर अक्षरमा देश’ शनिबार पोखरामा सार्वजनिक भएको छ ।

पोखरेली युवा सांस्कृतिक परिवारद्वारा आयोजित एक कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, रमेश श्रेष्ठ, कलाकार दुर्गा बराललगायतले कृतिको लोकार्पण गरे । कार्यक्रममा सरुभक्तले दीपकलाई प्रभावशाली मुक्तककार रूपमा चित्रण गरे । लमजुङमा २०५१ मा भएको भेटघाटको स्मरण गर्दै उनले दीपक समीपलाई त्यस बेलादेखि संरक्षण कविता आन्दोलनका विभिन्न कार्यक्रममा सहकार्य गर्दा र पोखरामा विभिन्न साहित्यिक संस्थाको नेतृत्व गर्दासम्म असल र जुझारु स्रष्टाका रूपमा आफूले चिनेको बताए । उनले गजलमा जस्तै मुक्तकमा पनि समीपको उपस्थिति हस्तक्षेपकारी भएको धारणा राखे ।



कवि तीर्थ श्रेष्ठले मुक्तक बिन्दुमा सिन्धु अटाउने विधा भएको भन्दै आकारमा सानो भन्दैमा मुक्तक ख्याल ठट्टाको विषय नभएको धारणा राखे । उनले दीपक समीप मुक्तकलाई गम्भीरतापूर्वक लेख्ने मुक्तककार भएको बताए ।

मुक्तककार समीपले आफ्ना अनुभव र अनुभूतिलाई मुक्तकमा समेट्ने प्रयास गरेको बताए । सङ्ग्रह प्रकाशनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै उनले आगामी दिनमा पाठकीय सुझावको अपेक्षा गरे । वि. सं. २०३३ जेठ १६ गते लमजुङको सूर्यपाल (हालः मध्यनेपाल नगरपालिका-३) मा जन्मेका समीपले चालिसको दशकदेखि नै मुक्तक लेख्न थालेका हुन् । यसअघि वि. सं. २०६२ मा उनको ‘भूगोलभित्र नकोरिएको देश’ नामक गजल सङ्ग्रह प्रकाशन भएको थियो । मुक्तक र गजलका अलावा कथा, लघुकथा, गीत र कवितामा समेत कलम चलाउने समीप गजल सन्ध्या पोखरा र पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्षसमेत हुन् ।

आयोजक पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा समीक्षा सञ्जीव पौडेलले, स्रष्टा परिचय डा. ईश्वरमणि अधिकारीले र स्वागत कोषाध्यक्ष अर्जुन अधिकारीले गरेका थिए । कार्यक्रममा कवि रमेश श्रेष्ठ र जीवन सागर भण्डारीले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन साहित्य संयोजक रीता अधिकारीले गरेकी थिइन् । बिएन पुस्तक संसारद्वारा प्रकाशित पुस्तकमा १०१ ओटा मुक्तक समेटिएका छन् ।

 

दीपक समीपको परिचयः

दीपक समीप नेपाली साहित्यमा स्थापित नाम हो । चालिसको दशकको अन्त्यतिर युवामञ्चमा मुक्तक प्रकाशित गरेर साहित्यमा प्रवेश गरेका उनी मुक्तकका सशक्त हस्ताक्षर हुन् । त्यसो त उनी नेपाली साहित्यका विविध विधाहरूमा कलम चलाउन सक्ने विशिष्ट खुबी भएका स्रष्टा हुन् । उनका कविता पढ्दा उनी मुख्यतः कवि हुन् भन्ने लाग्छ भने गजल पढ्दा उनी प्रमुख रूपमा गजलकार नै हुन् जस्तो लाग्छ । उनका कथा, लघुकथा पढ्दा कथा, लघुकथाले नै उनलाई खास परिचय दिन्छ भन्ने लाग्छ । फेरि उनका गीत पढिरहँदा गीतकारका रूपमा उनलाई अगाडि राखिनुपर्छ भन्ने लाग्छ । अझ उनका मुक्तकहरू पढिरहँदा र मुक्तक लेखनमा उनको शिल्पशैली देख्दा दीपक समीप खाँटी मुक्तककार हुन् भनेर ठोकुवा गर्न सकिन्छ । खासमा उनले जुन विधामा कलम चलाउँछन् त्यसलाई पूर्णतः न्याय गर्न सक्ने खुबी दीपक समीपमा छ ।

संरचनागत आकारमा सानो भए पनि मुक्तक अन्य विधाभन्दा शक्तिशाली हुन्छ । मुटुभित्र धारिलो छुरा धसिए झैँ हुनु, दिमागमा हजारौँ भोल्टको करेन्ट लागे जस्तो झड्का लाग्नु र सिकारीको गोलीले डालीमा बसेको चरा फुत्रुक्कै खस्नु जस्ता तीव्र गतिका असरहरू मुक्तकमा निहित हुन्छन् । दीपक समीपका मुक्तकहरूमा यस्ता तीव्र प्रकारका असरहरू प्रशस्त पाइन्छन्

साभारः अक्षर अक्षरमा देश (मुक्तककार परिचय)

No comments:

Post a Comment