सम्बन्ध (कथा) –मनीषा गौचन - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, July 3, 2021

सम्बन्ध (कथा) –मनीषा गौचन

 कथा

                      सम्बन्ध               

                                                                   –मनीषा गौचन


“चिया पाइन्छ दिदी ?”
“चिया त पाइन्छ नि तर बच्चाहरुको बस आउन थालिसक्यो ।”
“हुन्छ हुन्छ पहिला बच्चाहरुलाई पठाउनुस् । हामी एक क्षण बस्दै गरौँला ।”

 बिहानको समय, सुशील भाइको पल्सर बाइकमा चढेर पोखरा घुम्न निस्केकी थिएँ । यही क्रममा चियाले तिर्खाउँदै हामी एउटी महिलाको पसलमा पुग्छौँ । माथिको हरफ उनीसँगको पहिलो संवाद हुन् । अगाडि फेवातालबाट बगेर आएको फुस्रे खोला र पछाडि सेती नदी । यी दुई नदीको बीचको दोविल्लामा यी महिला दुःखले रुझेको मन लिएर बसेकी रहिछन् । कुराकानी बढ्दै जाँदा मैले देख्न थालेँ उनको मनका चिसा कुनाहरु ।
पाहुनाको आगमनले खुलेको उनको ओंठको मुस्कानमा एउटा गहिरो अभावको घाउ पनि सँगै देखियो । त्यो घाउ छुँदै बाहिरिन्थे लामो लामो चित्कार । फुस्रे खोलाझंै अनगिन्ती बगेको हुनुपर्छ उनको आँखाबाट अश्रुधारा । नियाल्दा लाग्थ्यो ती आँखाहरु पनि रित्तिसकेका छन् अब त ।
 निधारमा रातो चकमन्न टिका छ । गलामा त्यस्तै रातो पोते । बेस्वादको धुनमा हातको चुरा बजाउँदै उनी दुईजना साना साना नानीहरुलाई स्कुल पठाउनको लागि तयार पार्दै थिइन् । ठूली छोरी रहिछिन् र सानो चाहिँ छोरा । लगभग उस्ता उस्तै देखिन्थे । मैले सोधेँ–
“बर्षौटे पो हुन् कि क्या हो ?”
“हो नि । के गर्ने ? यो दुःख पाउने कर्म रहेछ । धमाधम बच्चा जन्मिहाले । अहिले सम्हाल्न एक्लै । कहानी लामो छ यिनीहरु स्कुल जालान् र भनुँला ।”   
  उनले यति भन्नासाथै मैले अनुमान गर्न थालेँ कतै यिनका श्रीमान् ...।
हेर्दाहेर्दै उनले छोरालाई स्कुलको युनिफर्म लगाइदिइन् । र छोरी भने आफै सकी नसकी युनिफर्म लगाएर कपाल छरपस्ट पार्दै आमालाई हेरिरहेकी थिइन् । छोरालाई जुत्ता लगाई वरी उसको मसिनो कपाल तेल र पानीले सपक्क पारिदिई । त्यसपछि उनी छोरीतिर फर्किन् र हतार हतार दुइ चुल्ठी कपाल बाटिदिइन् । यतिबेलासम्म पहेलो रङको बस आइसकेर पनि अगाडि बढिसकेको थियो ।
“यही बस हो ? गयो त” मैले भनेँ ।
“हो हो । पर रोकिन्छ एकछिन्” भन्दै उनले दुबैलाई झोला बोकाइदिइन् । उनीहरुको सानो सानो जीउमा झोला लपक्कै टाँसियो । दुवैजना झोला हल्लाउँदै बस गएतिर दौडिए । उनी खुरुर्र दौडिएका छोरा छोरीतिर टोलाइन् । म उनको उदासी आँखाहरुमा । क्षणभरमै ओझेल परे दुइटा फूल ।
अगाडि खोला सुसाइरहेको छ । माथि माथि पाखामा कटुसका रुखहरु फुलेका छन् । यता उनका दुई फूल भरखर स्कुल गए । गरिबीले पिल्सिएकाहरुलाई फूल फुलाउन असाध्यै गाह्रो हुन्छ । उनी भन्छिन्–
“उस्ता उस्तै छन् । हुर्काउनै गाह्रो ।”
हाम्रो लागि चिया पकाउन उनी भान्छातिर लागिन् । उनको पसलका तख्ताहरु रित्ता छन् । कतै पुराना सामानहरु छन् । हेर्ने हो भने सायद मिति सकिएका सामानहरु होलान् । कसैले किन्न नखोजेका । पसलअगाडि सानो मेच छ । त्यसभरि चित्रहरु छन् । सिसाकलमले कोरिएका । मसिना घर । फूल । घाम । तारा । भरखर स्कुल लागेका उनका नानीहरुले कोरेका रेखाचित्रहरु होलान् । म केही बेर त्यसैमा नियालिरहन्छु ।
उता सुशील भाइ ढुंगा र गिट्टी धुने ठाउँतिर टोलाइरहेका छन् । ग्राबेल पखाल्न व्यस्त मेशिनको आवाजले दोविल्लाको मधुरमतालाई निलिरहेको छ । त्यसले आफ्नो वरिपरिको हरियालीमा समेत सेताम्मे धुलो छरिदिएको छ । ती नजिक फुलेका कटुसका फूलहरु बाक्लो धुलोले थिचिएर अलस तलस भएझंै देखिन्छन् । मिनी ट्रकहरु अटस मटस गिट्टी र ढुंगा बोकेर ओहोर दोहोर गरिरहेका छन् ।
दोविल्ला रातभर निदाउन सक्दैन रे, अघि भरखर बाटोमा भेटिएका एकजना दोविल्लावासी वृद्धाले भनेकी । दिनभर कुरा सुन्न दिँदैन रे । खाली मेशिन कराएको आवाज, ढुंगा बालुवा खन्याएको आवाज, ट्रक गुडेको आवाज । यी आवाज सुन्दैमा दोविल्लावासीको कान भरिन्छ रे । कठै मान्छेहरु आफ्नो स्वार्थ पूरा गर्न कसैको बस्तीलाई यसरी असर गर्न पुगेका हुन्छन् । मलाई दोविल्लावासीको असाध्यै माया लागेर आयो ।
चिया लिएर उनी आइन् । सिसाको धर्सावाला गिलास । गिलासभित्र कालो चिया छ । नाम मात्रै कालो । तर चिया रातो छ । उनको ओंठको रङजस्तै । तर त्यो ओंठ सुक्खा छ । पानी नपाएको जमिनजस्तै कट्कटिएको । उनको त्यो सुक्खा ओंठले भनिरहेझंै लाग्छ–
मभित्र दुःखको पहाड छ । त्यो पहाड चढ्ने क्रममा पटक पटक म तिर्खाले लखतरान हुन्छु । यी हेर, म कति विघ्न कट्कटकटिएकी छु । मलाई भिजाउने मान्छे मभन्दा धेरै टाढा छ ।
हामीलाई चिया दिने बेला उनको ओंठ केही तन्कियो । त्यहाँ मीठो मुस्कान उदायो ।  
“चिनी कस्तो भयो कुन्नि...?”
चियामा चिनी उनको ओंठको मुस्कान भन्दा कमै थियो । चिया पिउन थाल्यौँ । उनी टुलुटुलु मेरो अनुहारमा टोलाउन थालिन् । उनको आँखाको भाषा बुझिहालेँ ।
“अनि भन्नुस् अरु तपाईं के गर्नुहुन्छ ?”
“के गर्नु र नानी यी यो एउटा घर छ । त्यही पनि उसैको नाममा । खेतबारीको नाममा केही छैन । पसल छ सामान छैन । पर बिल्डिङ बनाउन आएका मान्छेहरुले धमाधम उधारो खाइदिए । अहिले न पैसा न सामान । माग्न जाँदा जाँदै एकजना दुईजना गर्दै सबै कता गए कता । म सबैतिरबाट ठगिएँ । लोग्नेले धोका दिएपछि सबैतिरबाट ठगिँदो रहेछ ।”
“धोका ?”
“हो धोका । लहरै बच्चा पाइसकेपछि छोडेर गए । अहिले यी नानीहरुको बिजोग”
“बिजोग त कसरी हुनु ? तपाईँले नै यति राम्ररी हुर्काउनुभएको छ । स्कुल पठाउनुभएको छ ।” उनी मौन भइन् । उनले लगाएको चुरा पोते कुन्नि किन मसँग जिस्किएजस्तै लाग्छन् । ती चुरा पोतेलाई ध्यानै नदिई म उनको अनुहारमा गढिन पुग्छु । तर निधारमा टाँसिएको रातो टिका फेरि उस्तै गरी जिस्किन थाल्छ । मनमनै भन्छु– आ... धोका...। धोका पाएर पनि के लगाइरहेकी होली यो झन्झट ?
हुन सक्छ उनको लागि यो झन्झट नभएर शृङ्गार हो । या समाजमा लोग्ने छ भनेर देखाउने प्रमाण । वा, मान्छेको दोषी हेराइबाट जोगिने एउटा उपाय । 
सुशील भाइको ध्यान हाम्रो कुराकानीले तानिएको छ यतिखेर । बीच बीचमा उनी पनि बोल्छन् ।
“यी बच्चाहरुलाई राम्ररी पढाउनुस् दिदी । भोलि पछि यिनीहरुले नै तपाईँलाई साथ दिन्छन्” शिक्षक हुन् त्यसैलै पढाइकै कुरा । म भने उनीसँग जीवनको कुरा गर्न थालेकी छु ।
कति कष्टकर छ यो जीवन ? जब साथ दिन्छु भन्नेले बीचैमा धोका दिन्छ । जीवन सँगै जिउने भनेर हात समाउनेले हातै छिनाएर जान्छ । सपना एउटै सजाउने भन्नेले निद नै खोसेर लान्छ । एउटै हाँसो हाँसौँला भन्नेले हाँसो सबै लिएर आँसुमा डुबाएर जान्छ । यसरी एउटा सुन्दर सम्बन्ध कति छिटो खोक्रोतुल्य हुन्छ ।
“पढाउने त भनेकै हुँ । बोर्डिङको फि चर्को छ । उसका नानीहरु बोर्डिङमा पढ्छन् भने मेरोलाई किन सरकारी स्कुल पढाउने । मैले पनि बोर्डिङमै राखेँ । तर बोर्डिङको हिसाब किताब बुझेर बुझी नसक्दो हुँदो रै’छ । के के हुन् के के...? पढाउनेहरु भनेर के गर्नु व्यापार गर्न पल्केका रै’छन् ।”
“उसका नानीहरु ?”
“हो उसका नानीहरु...। सौतापट्टिका ।” एकक्षण सन्नाटा छाउँछ । अगाडिको फुस्रे खोला आफ्नै
धूनमा बगेकी छ । पारि मेशिनहरुले कोकोहोलो मच्चाइरहेका छन् । त्यसभित्र मस्तीले नुहाएका छन् ढुंगाहरु । यहाँ ढुंगाले नुहाउन पाउँछ तर मान्छे महिनौ ननुहाइ बस्न बाध्य छ । जब धाराहरु घरभित्र कैद हुन्छन् घर नहुनेले कहाँ नुहाउने ? जब धाराहरु सुक्छन् घरभित्रकैले पनि कहिले नुहाउने ? जलस्रोतको धनी मुलुक, यहाँ हामी पानी खोज्दै छौँ । पानी किन्दै छौँ । पानी नपाएर मर्दै छौँ । 
“उतापट्टि पनि नानीहरु छन् ? यिनीहरु यति साना छन् अनि तिनीहरु ?”
“तिनीहरु त ठूला भइसके । चौध पन्ध्रका ।”
अनि सौताको ...? म झस्किएँ । प्रश्न आफैभित्र खेलिरह्यो ।
“उसले लालाबाला, लोग्ने छोडेर गा’की हो । एक्लै भएर रन्थनिएको मान्छेलाई मैले साहारा दिएकी हुँ । त्यसका बच्चाहरुलाई पनि मैले नै हुर्काएकी हुँ । अर्कैसँग गा’की आइमाइ खै कुन्नि फेरि फर्केर आई । आफैले छोडेको लोग्नेलाई फेरि सुमुसुम्याई । के जादु ग¥यो कुन्नि ? ऊ पनि लपक्कै ऊतिरै लाग्यो । मैले  जानिनँ नानी के रहेछ उसमा ?”
यसो भनिरहँदा उनको आँखा पनि बोलिरहेका थिए पीडाको भाषा ।
“स्वास्नी नभई बाँच्न नसक्दा रै’छन् । त्यो स्वास्नीले छोड्यो भनेर मलाई ल्यायो । म पनि नराम्ररी झुक्किएँ । त्यति बेलाको उसको टीठ लाग्दो अनुहार । अस्त व्यस्त घर । त्यस्तै लालाबाला । सबै सम्हालेर उसलाई खुसी देखुँला आफू पनि रमाउँला भनेर आएँ । तर हेर्नुस् न नानी, म त स्वास्नी मात्र भएँ लोग्नेको मायाबिनाको । साथबिनाको । लोग्ने छैन भनूँ भने त्यही ठाडै छ । छ भनूँ भने रातमा एक्लै । दिनमा एक्लै...”
“यस्तो सम्बन्ध किन बाँच्नुहुन्छ ?”
“नबाँचेर के गरुँ नानी ?”
“जब ऊ हुनुको कुनै अर्थ छैन भने तपाईँ किन उसको स्वास्नी भएर बाँच्ने ? आफ्नो नयाँ जीवन स्वतन्त्र भएर बाँच्नुस् न”
उनले तुरुन्तै आफ्नो गलाको पोते छामिन् । म चाहन्छु उनले त्यो पोते चुडाएर भनून्–
“हो म बाँच्दिनँ, यो अत्यास लाग्दो जीवन । म स्वतन्त्र भएर बाँच्न चाहन्छु । म मेरै खुसीले रम्न चाहन्छु ।”
तर ...तर....
“कम्तीमा उसको स्वास्नी भएर बाँच्नाले यो समाजमा सम्मान पाएकी छु । सुरक्षा पाएकी छु । यदि उसकी स्वास्नी रहिनँ भने ? यो समाजले मलाई अनेक लाल्छना लगाउने छ । दुनियाले यी नानीहरुको बाबु खोज्नेछ । र यो चुरा पोते भएन भने ? अनेक लोग्ने मान्छेहरु गिज्जिनेछन् ।” उनको यो भनाइ सुनेर मेरो मन असाध्यै खिन्न हुन्छ । 
मैले भन्न सकिनँ–
माया र साथ टुटिसकेपछिको सम्बन्ध एउटा हतकडी हो । मनले टाढिइसकेको लोग्ने लोग्ने हुनुको एउटा भ्रम मात्र हो । र त्यस्तो लोग्नेको नाममा आफ्नो सुरक्षा खोज्नु भनेको झन् ठूलो मूर्खता हो ।
मसँग समय थिएन उनलाई सम्झाउने । उनीजस्ता लाखांै महिलाहरु यही हतकडीभित्र भ्रमपूर्ण सम्बन्ध बाँचेर लोग्नेको नाममा आफ्नो सुरक्षा खोजिरहेका छन् । समाज अझै बदलिएको छैन । महिलाहरु अझै बुझ्ने भएका छैनन् ।
चिया सकिइसकेको थियो । उनको अनुहार गहिरोसँग नियालेँ । झन् उदास, झन् उजाड लाग्यो ।
“कतिञ्जेलसम्म बाँच्नुहुन्छ यो उदासी ?”
एउटा प्रश्न चिया रित्तिएको गिलासमा भरिदिएँ । उनले त्यही गिलास उठाइन् । मेरो प्रश्न बुझिन् या बुझिनन् । चियाको पैसा तिरेर हामी आफ्नो बाटो लाग्यौँ । दोविल्ला आफंै पनि ती महिलासँग रिसाएझंै लाग्यो मलाई । फुस्रे खोला अचानक चिच्याएको सुनेँ । कटुसका रुखहरु ठुस्सिएको महसुस गरेँ ।
फर्केर हेर्दा उनी ठिंग उभेर हामीलाई हेर्दै थिइन् । उनी मलाई दोविल्लाजस्तै लागिन् । दुवैतिरबाट खोलाले चपेटिएको ।

                                      
                                                                                             [email protected]                    

No comments:

Post a Comment