रोजगारी (कथा)- रुद्र ज्ञवाली - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, July 3, 2021

रोजगारी (कथा)- रुद्र ज्ञवाली

  कथा

                           रोजगारी

                                                                                                        - रुद्र ज्ञवाली
    “तिमीले सोचेजस्तो स्वतन्त्रता त यहाँ पनि छैन त्यसैले तिमी यहाँ नआऊ भनेर पटकपटक सम्झाएकी थिएँ । तर, ऊसले मानेन । आप्mना स्वास्नी छोराछोरीलाई सुइँको नदिएर ऊ काठमाडौं आयो र मसँग फोन सम्पर्क ग¥यो । म काठमाडौंमा छैन, यता छु भनेपछि यतै आयोे । म एक्लै एयरपोर्ट गएर  रिसिभ गर्न समाजको कारण असजिलो लाग्यो । त्यसैले एकजना देवर नाता पर्ने मानिस र अर्को एउटी साथी भएर एयरपोर्ट गयौं र उसलाई जुब्ली रिसोर्टको कोठा नं.९९९ मा राख्यौं । उसले रिसोर्टको कोठामा छिर्नेबित्तिकै देवरहरुलाई घर पठाएर मलाई त्यहीँ बस्न भनेको थियो तर त्यो कुरा त्यति बेला सम्भव थिएन ।” उसले भुइँमा नजर गाडेर भनी ।
    “उसले मसँग नेपाली सिमको व्यवस्था गर्न भन्यो र मैले त्यहीँ देवर पर्नेको एउटा सिम मिलाइदिएँ । ऊ एकदिन मात्रै त्यो होटलमा बस्यो । धन्न त्यस दिन मेरो श्रीमान् घरमा थिएन । ऊ घरमा भएको भए म ऊसँग बोल्न नै कहाँ पाउँथेँ र । त्यस रात धेरै पटक उसले मलाई फोन गरिरह्यो । रातभरि न ऊ सुत्यो ,न मलाई सुत्न दियो । म त्यो होटलबाट दस पन्ध्र कि.मी. टाढा छुु भन्ने कुराले ऊ व्यग्र भयो । भोलिपल्ट श्रीमान् घर आइनपुग्दै म ऊ बसेको रिसोर्ट गएँ  । म एक्लै गएकीले  भोको ब्वाँसो सिनुमा झम्टिएझैं ऊ ममाथि झम्टियो । त्यसपछि त्यो सबैथोक त्यहाँ भयो जुन उसको देशमा रहँदा दैनिक हुने गथ्र्यो । घरदेखि धेरै नजिक चिने जानेका मानिस भेटिन सक्ने डरले मैले घरदेखि अलि टाढा राख्न खोजेकी थिएँ तर उसले मानेन । त्यसैले, घरनजिकैको होटलमा बस्ने बन्दोवस्त मिलाइदिएँ । त्यसो गर्दा बजार जाने बहानामा कुनै पनि बेला होटेल पुगेर उसको मन बुझाइदिन सजिलो हुने भयो ।
    म यता फर्कने बेला नजा भनेर हुनसम्म हत्ते हालेको थियो उसले । जति हत्ते हाले पनि न ऊ मलाई स्वास्नीको हैसियत दिन सक्थ्यो न म आजीवन उसकी रखौटी भएर बस्न सक्थें । मेरो शरीरमा आकर्षण देखिँदासम्म एकलौटी रखैल कायम राख्न चाहन्थ्यो ऊ । लोग्नेबाट परित्यक्ता मैले आप्mनो भविष्यको बारेमा केही सोच्नैपर्ने भएकाले  बिदामा आएकी थिएँ । यहाँ आएपछि पनि उसले फोन गरेर छिट्टैै फर्कन आग्रह गरिरहेको थियो तर यहाँ आइसकेपछि मेरो मनमा धेरै कुरा खेले । अरुका घरबार देखेर मलाई पनि घरबारे हुने रहर जाग्यो । त्यसैले मैले यहाँ आएको केही समयपछि विवाह गरें तर त्यो अरबीको मन किन दुखाउनु भनेर विवाह गरेको कुरा ऊसँग लुकाएँ ।
    हुन त अरु नेपाली युवतीको तुलनामा मेरो त्यहाँको बसाइँ धेरै अर्थमा सुगम थियो । पहिलो कुरा, यसबाट मलाई राम्रै अर्थोपार्जन भइरहेको थियो । दोस्रो कुरा, म अरु नेपाली युवतीले जस्तो सामूहिक बलात्कार हुनबाट जोगिएकी थिएँ । त्यहाँका धनाढ्य शेखहरु साह्रै कामुक हुन्छन् । मैले काम गर्ने बगलको घरमा काम गर्ने एउटी केटी छ । त्यसको व्यथा हेरेर त म स्वर्गमा थिएँ जस्तो लाग्छ । मलाई त जेजे गरे पनि यही एउटाले मात्र हो । अरुहरुको तुलनामा यो अरबी अलिक  सभ्य छ । छिमेकमा काम गर्ने केटीले भन्थी, ‘उसले काम गर्ने घरमा तीन पुस्ताका लोग्नेमान्छे छन् । लगभग पैंसट्ठी वर्षजतिको रिटायर्ड बूढो छ । त्यसका ३ भाइ छोरा छन् । ३ भाइबाट पाँचवटा नाति छन् । ऊ भन्थी, विधुर बूढाले रातैभरि सुत्न दिँदैन । नानाथरि यौनोत्तेजक औषधिको सेवन गरी रगडिरहन्छ । जब उसको निदाउने समय हुन्छ, मेरो उठ्ने बेला हुन्छ । म उठेर बाथरुम छिर्न पाएकी हुँदिनँ जेठो नातिले घिसार्दै आप्mनो शयनकक्षमा पु¥याउँछ र अश्लील सिनेमामा देखिने सबैथोक गर्छ, गराउँछ । छोरो पर्ने अधवँैसे पनि कम्ती छैन । उसकी स्वास्नी एउटा तेल कम्पनीमा ठूलै दर्जामा जागिरे छ । उसले ओभरटायम गर्नुपर्छ तर उसको लोग्ने त्यहाँको सरकारी जागिरमा छ । ऊ अफिसबाट फर्केर सीधै मेरो कोठामा पस्छ । यतिसम्म लम्पट र भोगी छ कि ऊ ढोकासमेत नढप्काई कपडा फुकाल्न थाल्छ र मेरो शयनकक्ष नपुग्दै नाङ्गिइसक्छ । कुनै लाजशर्म छैन । चढ्दो उमेरको बोकोजस्तै निर्लज्ज छ । अरु त अरु भरखर सोह्र वर्ष टेकेको, कान्छो नातिले पनि मेरो शरीरलाई तालिम केन्द्र बनाउँछ । घरका त भए भए बाहिरबाट पाहुना आउँदासमेत मेरो शरीरले सत्कार गरिन्छ ।’
    मेरी साथीले छिमेकी घरमा भोगेको यस्तो बुहार्तनको तुलनामा मलाई कुनै समस्या छैन । त्यही एकजना अधवैंसेसँग सुतिदिए पुग्छ । यहाँ नेपालमै बसेकी भए पनि एकजनासँग सुत्नु त पथ्र्यो पथ्र्याे । दिनभर घरको कामकाज, साँझ घरको जुठो भाँडो अनि आधा रातमा जाँडले मात्तिएर फर्केको कथित लोग्नेको पशुवत् यौन स्वेच्छाचारिता । त्योभन्दा त यो मान्छेसँगको सम्बन्ध धेरै सभ्य र सुखद् थियो । अरु शेखजस्तो होइन । यसले मेरो सुविधाका पनि कुरा गर्छ । मलाई चाहिएको कुनै कुरा कमी हुन दिँदैन, मलाई परिवारका अरु पुरुषले टेढो हेरेको पनि मन पराउन्न । शारीरिक सम्बन्ध कायम गर्दागर्दै  प्रकारान्तरले मानसिक सम्बन्ध पनि स्थापित भएको रहेछ यो मान्छेसँग । विदामा यता आउने अघिल्लो राति मलाई अँगालोमा बेरेर यो निकै रोयो, ‘तँ गएपछि फर्किन्नेस् । उतै बिहे गरेर बस्छेस् अनि मलाई कल्ले हेर्छ ? मेरो कपडा कसले धोइदिन्छ ? मलाई औषधि र खाना कसले खुवाउँछ ? तँ नभए म मर्छु सानिया म मर्छु ।’ पटकपटक यसै भनेर रोएको थियो ऊ र  छिट्टै फर्केर आउँछु भन्दै उसलाई थुम्थुम्याएकी थिएँ, मैले ।
    नागरिकता र पासपोर्टमा मेरो नाम सुनीता भए पनि सम्बन्ध स्थापित हुँदै जाने क्रमसँगै मेरो नाम पनि परिवर्तन गरिदिएको थियो, उसले । सुरुका केही दिन सुनिता नामले नै सम्बोधन  गरे पनि पछि पछि सानिया र अचेल सान्या भनेर सम्बोधन गर्छ, ऊ । बिहान एयरपोर्ट जाने बेलामा उसको कोठामा पसेकी मलाई गर्लम्म अँगालोमा बेरेर सुँक्सुकाएको थियो ऊ र पैसा राख्ने लकरबाट निकालेर मेरो पारिश्रमिक अतिरिक्त केही रकम बाटोखर्च भन्दै मेरो हातमा राखिदिएको थियो । उसको त्यो न्यानो मायामा म नपग्लिने कुरै थिएन । भैगो त त्यसो भए म जान्नँ । मेरो टिकट क्यान्सिल गरिदेऊ भन्दै उसलाई अँगालेकी थिएँ । ‘मैले नजाऊ भनेको हैन । जाऊ सान्या जाऊ । तर गएर छिटै फर्क है ।’ यति भन्दै उसले मलाई सयौं चुम्बन गरेको थियो र त्यसपछि उसको कम्पनीमा म्यानेजर काम गर्ने इण्डियनको साथ लगाएर एयरपोर्ट पठाएको थियो ।
    हुन त म उसकी नोकर थिएँ तर नोकरको जस्तो व्यवहार कहिल्यै गरेन यो अरबीले । एकदम राम्रो खानदानी मान्छे हो ऊ । उसको परिवार सबै ठूलाठूला पदमा छन् । ऊ पनि तेल कम्पनीबाट रिटायर्ड मान्छे हो । उसकी स्वास्नी सरकारी जागिरबाट रिटायर्ड भइसकी । छोरो डाक्टर छ । यस्तो काम गर्ने मान्छे हैन ऊ । मलाई अचम्म लागेको छ । कसैले फँसाएको हुनुपर्छ उसलाई । यो मान्छे धेरै पावरफूल छ । यसलाई यहाँ केही नराम्रो भयो भने हजारौं नेपालीले त्यहाँ सास्ती खप्नुपर्ने हुन सक्छ । हजारौं नेपालीले जागिरबाट हात धुनुपर्ने हुन सक्छ त्यसैले मेरो विन्ती छ सर यो मान्छेलाई छोडिदिनुस् । जति पैसा लाग्छ म तिर्छु । यसको साटो म जेलमा बस्छु । यसले मलाई ठूलो गुन लगाएको छ ।” यति भन्दै ऊ घुँक्कघुँक्क गर्न थाली ।
    एकछिनपछि सम्हालिएर बोल्न थाली ऊ, “मान्छेको मन पनि विचित्रको हुँदो रहेछ  । यता यो शरीर लोग्नेसँग सुतिरहेको हुन्छ, उता यो मन त्यही अरबीसँग पुगेको हुन्छ । म बडो अप्ठ्यारोमा परेकी छु यति बेला । म मेरै चक्रव्यूहमा फँस्दै गएकी छु । फेरि एकपटक उता गएर केही कमाएर आउने र सुखले जीवन बिताउने अभिलाषा एकातिर छ भने अर्कातिर अरुहरुको झैं सुखद् दाम्पत्य जीवनको पनि लालसा छ । दुई नाउमा खुट्टा हालेको यात्रीजस्तै भएकी छु म ।  कति बेला दुर्घटना हुने हो भन्न सक्दिनँ । यो अरबी यहाँ आएर मलाई निर्वाध भोग्न चाहन्छ । जीवनका सबै अतृप्तिहरु यतै समाप्त पार्न चाहन्छ ।  जुन कुरा अब यहाँ सम्भव छैन । यो अरबीको घरमा दुई वर्ष काम गरेको कुरा मेरो वर्तमान लोग्नेले थाहा पाइसकेको छ । मेरै लागि यो यहाँ आएको शङ्का मेरो लोग्नेलाई परिसकेको छ । एकातिर म यो अरबीलाई यथार्थ कुरा भन्न पनि सक्दिनँ र उसलाई यो अवस्थामा मर्न दिन पनि सक्दिनँ भने अर्कोतिर एकपटक घरबार टुटाइसकेकी मैले फेरि टुटाउन पनि चाहन्नँ ।  
    मेरो अहिलेको श्रीमान् जागिरे छ । ऊ दस बजे अफिस जान्छ । साँच्चै भन्नुहुन्छ भने मेरो अहिलेको लोग्ने पनि मप्रति वफादार छैन । टोलको डन हो ऊ । सहरका ठूलाबडा डनहरुसँग उसको उठबस छ । थुप्रै आइमाईहरुसँग सम्बन्ध छ । मसँग सुतीसुती ऊ निर्लज्जतापूर्वक अरु केटीहरुलाई फोन गर्छ । अश्लील कुरा गर्छ । मलाई सुन कोरल्ने ओथारो ठानेर विवाह गरेको हो उसले । हाम्रो दाम्पत्य जीवनको आयु धेरै दिन टिक्दैन, यो पनि मलाई थाहा छ । चर्ने बानी परिसकेपछि बँधुवा बनेर बस्न को राजी हुन्छ ? यति थाहा भएर पनि मेरो बाध्यता । दुनियाँलाई देखाउनकै लागि भए पनि मलाई एक थान लोग्ने चाहिएको थियो । बाहिर सिकार नपाएको बेला उसलाई पनि नारी देहको आवश्यकता थियो । साँच्चै भन्ने हो भने उसको र मेरो सम्बन्ध आवश्यकताको परिणतिभन्दा बढी केही पनि होइन ।”
        एकैछिन रोकिएर उसले भन्न थाली, “म  यहाँ आएको र यो अरबीसँग भेटेको थाहा पायो भने मलाई मेरो लोग्नेले मार्छ । मारे मारोस् । आफू मरेर भए पनि मैले यसलाई बचाउनुपर्छ । यो मेरो मानवीय कर्तव्य पनि हो । फेरि यो मान्छेले मेरो लागि धेरै गरेको छ । मलाई भेट्न काठमाडौं आएको ऊ म यहाँ छु भन्ने थाहा पाएर यहाँ आएको हो । नत्र काठमाडौको फाइभ स्टार होटलमा बसौंला भनेको थियो । मेरै कारणले ऊ यहाँ आयो र यस्तो ठाउँमा बस्नुप¥यो । ‘यही हो तिम्रो फाइभस्टार होटल ?’ हिरासत कोठा देखाउँदै उसले मलाई सोध्यो । यस्तो ठाउँमा त उसको कुकुर पनि बस्न मान्दैन । यो धेरै धनी र ठूलो मान्छे हो सर । यसको मन पनि उदार छ । मलाई असाध्यै माया गर्छ । मैले नखुवाई खाना पनि खाँदैनथ्यो ऊ । म पनि उसँगै बसेर खानुपथ्र्यो ।  तन्ना मैले मिलाइदिनुपथ्र्यो । अरुले कपडा पट्याएको उसलाई मन पर्दैनथ्यो । ‘कहिल्यै छोडेर नजा है’ भन्थ्यो ऊ तर उसले जे भने पनि र जे गरे पनि यथार्थमा म उसकी के थिएँ र ? एउटी रखैलको भन्दा बढी केही अस्तित्व थिएन त्यहाँ । न म कसैकी छोरी थिएँ न कसैकी बुहारी । मसँग मन भरिएको क्षण ऊ मलाई कुकुरले छोडेको हड्डीजस्तै बनाउन सक्थ्यो । यो यथार्थ बुझेरै त म यता फर्केकी थिएँ, जिन्दगीलाई नयाँ ढङ्गले बिताउँला भन्ने सोंचका साथ । तर सोचेजस्तो कहाँ हुँदो रहेछ र ।
    भन्न त मेरो लागि छुट्टै घर बनाइदिन्छु पनि भन्थ्यो उसले । उसले जे गरिरहेको थियो  त्यो मेरा लागि नभएर मेरो पोटिलो बैंसको लागि गरिरहेको थियो । यो कुरा मैले राम्रैसँग बुझेकी थिएँ तर बुझेर पनि के नै गर्न सक्थें र म । आर्थिक विपन्नताका कारण सुखको खोजीमा त्यता गएकी थिएँ । सुखले को विदेशिन्छ र ? त्यो पनि अरबमा । दुईचार पैसा कमाएर भविष्य सुखमय बनाउने रहरमा अरुहरुसँगै म पनि दिल्ली हुँदै त्यता पुगेकी थिएँ । म मेरै गाउँकी भाउजू पर्नेको पछि लागेर त्यहाँ पुगेकी थिएँ । त्यहाँ पुगेपछि बल्ल भाउजूले त्यहाँ गर्नुपर्ने कामका बारेमा खुलस्त भनेकी थिइन् । त्यो सुनेपछि मेरो मुटु भक्कानिएको थियो । मेरो विश्वास डग्मगाएको थियो तर पनि मन दरो पारेर काम थालेकी थिएँ ।
    हुन त घरमै पनि म बलात्कृतजस्तै थिएँ । मेरो पहिलो लोग्ने भनाउँदो पनि अरबबाट फर्केको आवारा टाइपको मान्छे थियो । ठूलाठूला ठेकेदारका पछि लागेर टेण्डर हाल्ने ठाउँमा जाने । दादागिरि गर्ने । लफङ्गा र आवाराहरुसँग सङ्गत गर्ने । ठेकेदारको नुनसँग अलिकति ठर्राको झोल तानेर घर आउने र बाहिर मौका नपरेको रहेछ भने घर आएर भोको कुकुरले सिनो झम्टेझैं झम्टने  । सधैं केही न केही निहुँ झिकेर भकुर्ने । साँच्चै भन्ने हो भने कोठीको जस्तै दयनीय अवस्था त थियो मेरो । मेरो खुसीको त्यो लोग्नेलाई कुनै पर्वाह थिएन । उसले त मलाई यौनेच्छा थान्को लगाउने डम्पिङ साइट बनाएर राखेको थियो । न खान लाउनको पउल, न लोग्नेको माया त्यस्तो जीवन पनि के जीवन ।
    हो त्यति बेलैको कुरा हो सर । मैले अघि कुरा गरेको त्यो देवर पर्नेसँग मेरो चिनाजानी भएको । मेरो कथित लोग्नेलाई ग्याङफाइट गर्दागर्दै पुलिसले पक्रेर लगेछ । जस्तै भए पनि त लोग्ने हो । त्यो थाहा पाएपछि म पुलिस चौकी गएँ । मैले देवर पर्ने मान्छेलाई पहिलो पटक त्यहीँ देखेकी हुँ । मेरो कुरा सुनेपछि उसले मप्रति अत्यन्तै सहानुभूति देखायो । म लाटीले त्यो अपरिचित मान्छेको अस्वाभाविक सहानुभूतिको अर्थ के बुझूँ । मलाई त जसरी तसरी मेरो लोग्नेलाई हिरासतबाट छुटाउनु थियो । उसले जसो भन्यो मैले त्यसै गरें ।
    परिणाममा लोग्ने भनाउँदो हिरासतबाट छुट्यो र उही दिनचय सुरु भयो । लोग्ने हुनुको नाताले वर्वर बलात्कार गथ्र्यो ऊ । रातिराति निहुँ खोजेर कुट्थ्यो । सहनुको पनि सीमा हुँदो रहेछ । म माइत गएँ । लोग्नेले अर्की केटी भगाएर ल्यायो । माइतीमा पुग्दा पनि त्यो देवर पर्ने पछि लाग्न छाडेन । एकपटक फसिसकेपछि त्यसबाट सजिलै ऊम्कन पाइँदो रहेनछ ।
    यस्तो जिन्दगीबाट मुक्ति चाहन्थें म । त्यसैले नयाँ जिन्दगीका केही सुनौला सपना सजाएर विदेशिएकी थिएँ । जिन्दगीका सबै सपनाहरु कहाँ सार्थक हुँदा रहेछन् र । केही पाउन केही गुमाउनु त पथ्र्यो नै । यथार्थमा म विदेश जानुको लक्ष्य काम थिएन, पैसा पैसा पैसा र मात्र पैसा थियो जुन त्यो शेखले पर्याप्त दिइरहेको थियो । मैले देखेकी थिएँ जवानी लुट्नुसम्म लुटेर उपहारमा एच.आ.इ.भी.सहित मृत्यु वरण गर्न स्वदेश पठाइएका थुप्रै नेपाली चेलीहरुलाई । कम्तिमा त्यो शेखसँग स्थापित सम्बन्धको कारण म त्यो त्रासदीबाट केही हदसम्म मुक्ति पाएकी थिएँ । नत्र मेरो छिमेकमा काम गर्ने नेपाली साथीले जस्तै मैले पनि शेखका पाहुनाको यौनदासी बन्ने यन्त्रणा भोग्नुपथ्र्यो ।
    म अरबमा बस्दा पनि त्यो देवर पर्ने मान्छेसँग पटक पटक सम्पर्क भइरह्यो । सम्पर्क के भन्नु । नाजायज सम्बन्धको वार्गेनिङ गरिरह्यो ।  मोवाइल, डिजिटल क्यामरा लगायतका सामान पठाईदिएँ । म घर फर्कने बेलामा काठमाडांैमा लिन गयो । काठमाडौं होटलमा उसँग फेरि सम्बन्ध स्थापित भयो ।
    यसै बीचमा त्यो मान्छेमार्फत् मेरो अहिलेको लोग्नेसँग सम्पर्क भयो । नाताले त्यो मान्छेको ठूलो बाबुको छोरो हो, हालको लोग्ने । वैदेशिक रोजगारीको लागि मलेसिया गएकी उसकी स्वास्नी उतै काम गर्ने एकजना नेपालीसँग पोइल गएपछि केटीको खोजीमा रहेछ । यता म लोग्नेले छोडेकी मान्छे । उता ऊ स्वास्नीले छोडेको मान्छे । उस्तै उस्तै कथा व्यथा । ऊसँगको भेटघाट र परिचय बाक्लिँदै गयो । अरबी शेखले जति नै माया गरे पनि स्वास्नीको दर्जा दिँदैन भन्ने कुरा मलाई थाहा थियो त्यसैले मैले विवाह गरें । मलाई लुटिरहने मान्छे मेरो देवर बन्यो ।
    मेरो विचारमा त्यही देवरले षड्यन्त्र गरेको हुनुपर्छ । जे परे परोस् मैले अरबीलाई सहयोग  गर्नैपर्छ । यो शेखले मलाई बाँच्ने आधार दिएको छ । यो वास्तवमै मलाई माया गर्छ । नत्र मलाई खोज्दै यति टाढा किन आउँथ्यो । मजस्ता दसौं केटी काममा राख्न सक्ने हैसियत छ । यसको देशका धनाढ्यहरुमा दुईचार स्वास्नी राख्नु कुनै अपराध मानिँदैन । पाँच सात रखौटी राख्नु शान ठानिन्छ । तरुनी आइमाईको कमी भएर यो यहाँ आएको होइन । वास्तवमा सर म पनि त सतिसावित्रि बनिरहनको लागि त्यहाँ गएकी हैन । आवश्यकता र महत्वाकाङ्क्षाले मान्छेलाई जे पनि बनाउँछ । अन्यथा नठान्नुहोला सर, यौन शोषण त्यहाँ पनि छ र यहाँ पनि छ । मैले विवाह गरिसकेपछि पनि त्यो देवर पर्नेले असजिलोमा पारेर पटकपटक मसँग शारीरिक सम्बन्ध राखिसकेको छ  । म सारै असजिलोमा परेकी छु सर । यो अरबीसँग सम्बन्धको सुईंको पायो भने मेरो लोग्नेले मलाई मार्छ । मैले यहाँ विवाह गरेको थाहा पायो भने यो अरबी बौलाउँछ । मसँग प्रशस्त धन भए यस्ता लोग्नेहरु गल्लीगल्लीमा भेटिन्छन् तर यस्तो उदार दिलको शेख पटकपटक भेटिन्नन् ।
    ठिकै छ मारेछ भने बरु मरौंला ।  भोलि पनि म आउँछु । सरले फोन नगरिदिएको भए उसलाई यहाँ ल्याएको पनि थाहा नहुने रहेछ । यो पक्राऊ परेपछि त्यो देवर पर्ने फरार छ । उसैले पुलिससँग मिलेर फँसाएको हो कि जस्तो पनि लाग्छ सर मलाई त । मबाट यसलाई पन्छाउने जुक्ति हुनुपर्छ देवरको । दुनियाँले जेसुकै भनोस् मैले यो अरबीलाई बचाउनैपर्छ । लोग्नेले जे गर्ला त्यो म सहौंला तर प्लिज सर मैले यहाँ विवाह गरेको कुरा यो अरबीलाई नभनिदिनुहोला । यो कुरा थाहा पायो भने यो अरबी मर्छ ।
जिन्दगी यस्तै रहेछ सर । परेछ भने बरु सरलाई पनि सेवा गरौंला । म अहिले जान्छु ।”  
यति भनेर बाटो लागेकी ऊ त्यसपछि भने कहिल्यै पनि देखा परिन । ऊ किन आइन, यस विषयमा सोधखोज गर्ने आवश्यकता मैले पनि ठानिनँ ।

                                                                                                भैरहवा, रुपन्देही

No comments:

Post a Comment