प्रमिथस र मान्छेहरू (लघुकथा)– सरुभक्त - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, July 3, 2021

प्रमिथस र मान्छेहरू (लघुकथा)– सरुभक्त

 लघुकथा

               प्रमिथस र मान्छेहरु    

                                                                                 – सरुभक्त

                                                                                            


त्यस बेला पृथ्वीमा सर्वत्र अन्धकार मात्र थियो । उज्यालो कतै थिएन । विचरा मान्छेहरु त्यस समयमा जन्मन, अन्धकारमै सङ्घर्ष गरी बाँच्न अनि अन्धकारमै मर्न अभिशप्त थिए । मानिसहरुको त्यो दयनीय अवस्थादेखि प्रमिथसलाई दुःखको अनुभूति भयो । एकदिन उनले स्वर्गबाट आगो चोरी पृथ्वीमा ल्याए अनि मान्छेहरुलाई दिए ।
आगो चोरी पृथ्वीमा लगेको अभियोगमा स्वर्गका राजा जिउसले प्रमिथसलाई अजम्मरी पीडाको सजाय दिए । यता पृथ्वीमा आगो आइपुगेपछि सभ्यताको विकास गरे, इतिहासको रचना गरे । उज्यालोका ज्ञान–विज्ञानको विकास गरी मान्छेहरु देवताहरुभन्दा शक्तिशाली भए । एकदिन शक्तिको मदमा उनीहरुले एकअर्काको संहार गरे ।
पृथ्वीमा फेरि अन्धकार छायो । अन्धकारमा केही मान्छेहरु मात्र बाँच्न सफल भए ।

अजम्मरी पीडा भोगिरहेको प्रमिथसलाई मान्छेहरुको त्यो दयनीय अवस्था देखी टीठ लाग्यो । एकदिन उनले फेरि स्वर्गबाट आगो चोरी फेरि पृथ्वीमा लगे । आगो देखी मान्छेहरु ओडारतिर भागे ।
“ए ¤ तिमीहरु किन भागेका ? म स्वर्गबाट आएको प्रमिथस हुँ । ल, यो आगो लिएर अब सभ्यताको विकास गर ।” प्रमिथसले माया मानेर  भने ।
      “होइन हजुर, हामीलाई आगो चाहिँदैन, हामीलाई अन्धकारमै रुमलिन दिनुहोस् ।” मान्छेहरुले भने ।
      “किन ?” प्रमिथसले सोधे ।
“आगोले उज्यालो मात्र दिँदो रहेनछ, पोल्दो पनि रहेछ । उज्यालोले सभ्यता विकास मात्र गर्दो रहेनछ, सभ्यता विनाश पनि गर्दो रहेछ ।” मान्छेहरुले भने, अनि ओडारमा गहिरो अन्धकार हरायो ।
प्रमिथसको अजम्मरी पीडामाथि अर्को अजम्मरी पीडा थपियो ।

No comments:

Post a Comment