कथा
भन्दै थियो– खजे दुरा र इतिहासको अर्को भ्रमित पात्र
- सुन्दर मानन्धर
परबाट हेर्दा यति ठूलो रुख पनि बोट देखिने रहेछ, बोटलाई अति नजिकबाट हेर्दा रुख देखिने रहेछ । यी रुखहरु–बोटहरु वर्षौंदेखि ठिङ्ग उभिएको उभिएकै भएर निश्लोट बाँचिरहेछन् । आफ्नो वरिपरि मौसमी मगमग सुवास छर्दै मानिसको जीवनलीलालाई चुनौति दिइरहेछन् । उता मानिस चाँपको बोटमुनि ठसठस गन्हाउँदो भएर पुस्तौली सेतो धोती आँधीखोलाको बगरमा फिँजारिरहेछ ।
चाँपको फेंदमुनि कोटघरको पालेले भन्यो– ” हजुर ! बारुदको गन्ध आएर बसिखप्नु भएन, यो चाँप किन बसाउँथ्यो ? मगमग बास्ना चलेको भए हामीले यसलाई यस्तो विरुप देखिने गरी किन नङ्ग्याउँथ्यौँ ? नाङ्गिएका युक्लिप्टसहरुलाई किन बलात्कार गथ्र्यांै ? यी झार, दुबो, पाती, सिस्नो तथा ऐँसेलुका झाङहरुसमेत हाम्रा दुस्मन बने ।”
“क्यामोफ्लेज बन्न सक्थ्यौँ ।” विस्मयभावले आकास हेरेर टोल्हाउँदै चाँपले भन्यो– “युग बोकेर ठिङ्ग उभिएका हामीलाई तिनका दरसन्तानले नङ्ग्याए, तिनका बाजेलाई मीठो सुवास छर्ने हामी कसरी बारुद बन्यौँ ? हामी स्थिर रह्यौँ, तर नयाँहरुका घ्राणशक्ति फेरिएछन् ।”
“मेरै छत्रछायामा बसेर मेरै ओत खाएर, मैले दिएको प्राणवायुले आपूmलाई सिँचेकाहरु मेरै ओत खाएर, मेरै बद्नाम गरिहिँड्नेहरुले आपूmलाई कहिले चिन्ने हुन् ?” चाँप सुस्तायो ।
पालेले कुरा बुझेर पनि नबुझेझैँ ग¥यो । हरेकले आ–आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने भएकाले होला– नबोल्नु नै उपयुक्त ठान्यो । के गर्नु, कर्तव्यले मानिसलाई साँचोलाई झूट र झूटलाई साँचो बनाउन लगाउँछ, त्यसमा पनि कोटघरको पालेकोे बाध्यता थियो– गम खान ।
परबाट बग्दै आएको आँधीखोलामा एकजना मानिस तैरिंदै–उत्रिंदै गरेको देखियो । वर्षायाम भएकाले उर्लेको आँधीको पानी धमिलो थियो, नदीले आफ्नो दायाँबायाँ किनारा बढाएको थियो । नदीले आपूm शक्तिशाली भएको देखाउनलाई होला– मानिसका खेतहरुसमेत आफ्नो कब्जामा लिएको थियो । त्यो मानिसको टाउकामा भएको गजबको सिल्कनलाई एउटा हातले समातिराखेको थियो । नदीको पानीभित्र टाउको मात्र देखिएको त्यो मानिसले ‘गुहार’स्वरुप एउटा हात हल्लाइरहेको थियो ।
चाँपको बोटमाथि टुप्पोमा बसिरहेको क¥याङकुरुङको एक झुण्डको बीचमा बसेर हेरिरहेको एउटा लोर्के क¥याङकुरुङले भन्यो– “हेर लाज पचेको मानिस, आपूmले श्रवणकुमारलाई मार्न हुने, जङ्गलका जीवजन्तुका सिकार गर्न हुने, नदीले बगाउँदा गुहार माग्ने ? यस्तो मान्छेले त नदीलाई नै पो जित्नुपर्छ ।” दोस्रो क¥याङकुरुङले खिसी गर्दै भन्यो– “ती मान्छेका जातै यस्तै हुन् क्या । यिनीहरु आपूm शक्तिशाली हुँदा संसारै आफ्नै देख्छन्, संसारभरकै मानिस र अन्य प्राणीमाथि शासन गर्न खोज्छन् । कमजोर बनेपछि आपूmभन्दा निर्बलियो पनि कसैलाई ठान्दैनन् । यी यस्तै हुन् । पाजीहरु....! ”
पुलमाथि बसेर माथिबाट बग्दै आएको मानिसलाई हेरिरहेका मछुवाहरुले त्यो मानिसलाई चिने, पुस्तौनीदेखि डर–त्रास देखाएर आपूmहरुलाई दुःख दिइरहने त्यो मानिसलाई देखेपछि मछुवाहरु एकछिन त अकमक्क परे । उनीहरुले आफैलाई बिर्से– होइन यो मानिसको आज यो गति, बिचरा कसले बनाएछ ? आपूmलाई बचाउन गुहार मागिरहेको त्यो मानिसलाई देखेपछि मछुवाहरुको मनमा दया पलाएर होला– एकजनाले लामो डोरीको सहाराले पुलबाटै जाल हान्यो ।
तर कस्तो अचम्म ! कस्तो बिडम्बना ! त्यो मानिसको टाउकाको सिल्कन टल्किरहेको टोपी र पोसाकमात्र जालभित्र आयो, मानिसको अत्तोपत्तो छैन । मछुवाहरु तीन छक्क परे ।
“श्री सकिएपछि त मानिसको विजोगै हुँदोरहेछ” अघिको पठ्ठो क¥याङकुरुङ बोल्यो । त्यो टोपी र पोसाक उसको रहेनछ, पुख्र्यौली रहेछ, कुन जुगदेखि पहिँरदै आएको पोसाक मक्किसकेको, टाउकाको भव्य सिल्कन जडिएको टोपीको शान हराएको– धिक्कार छ ! इतिहासमा यो पुस्ताको यो दशा ।” मान्छे नभेटे पनि पोसाक र टोपी चिनेरै एकजना वृद्घ माझीले भन्यो ।
“छोड्दे दाइ, केही भएको छैन, यस्तालाई किन माया गर्नु ? हाम्रो यो गति बनायो, इतिहासदेखि माछा मार्ने, नदीमा बगाएको मान्छेलाई छोपेर उद्घार गर्नेभन्दा बढीमा हामी केमा सप्रियौँ र ? मोरोलाई बचाउन खोजेको पोसाक र टोपी मात्रै आएछ, अब यही पोसाकभित्र–टोपीभित्र इतिहास पस्नुपर्छ ।” अर्को युवा माझी जोसियो । माझीहरु झुत्रो पोसाक र सिल्कन अङ्कित रङ उडिसकेको टोपी बोकेर फाँटफाँटै लागे ।
युक्लिप्टसहरुको नाङ्गो बोटमाथि बसेर तमासा हेरिरहेको “बाज” चाहिँ मानिसले बोकेको पोसाक–टोपीमा आँखा गाडिरहेको थियो ।
बिचरा ! क¥याङकुरुङह “बाज”लाई देखेपछि चाँपको हाँगा–हाँगामा लुक्न पुगे । आपूmभन्दा ठूला र शक्तिशाली देखेपछि कस्तरी डराएका ! अझ गहिरिएर लुके ।
परको चुच्चे ढुङ्गामाथि बसेर हेरिरहेका दुईजना वृद्घमध्ये एकजनाले नदीमा बगाएर ल्याएको मानिसलाई सङ्केत गर्दै भन्यो– “त्यो मान्छेलाई बचाउन के पो गरिएन र ! यिनका सारा दरसन्तानलाई चिन्दछु म, मेरा बराजुले यिनलाई जोगाइदिएका हुन् । यिनीहरु केही गर्दैनथे, नाम मात्र हो यिनीहरुको, काम केही थिएन र छैन पनि । दुःख गर्ने त हामीजस्तै, माझीजस्तै, किसानजस्तै, सिपाहीजस्तै,...... जस्तैहरु नै त हो । नाम मात्रले पनि यिनीहरु हीरा बनेका थिए, वास्तवमा यिनीहरु चम्केका थिएनन्, अरुद्वारा चम्केका थिए, देखियो, चाल पाइयो । अब त्यो मान्छे बग्दै–बग्दै जानुपर्छ । मान्छेको शरीरबाट लुगा छोडाएपछि त प्राकृतिक रुपमा सबै उस्तै । बग्दै–बग्दै जाओस् न त्यो नदीसँगै कहाँ–कहाँ । समुन्द्रमा पुग्नुपर्छ, अनि थाहा पाउँछ संसार ।
वर्षायाम नदीको भेलसँगै भर्खर जन्मेको नवजात शिशुजस्तै प्राकृतिक रुपमा आँधीको धमिलो पानीमा उँधै–उँधै बगिरह्यो । युगौँअघि श्रवणकुमार (हरु) लाई मारेको स्मरण ग¥यो, अन्धाअन्धीको श्राप आँखामा नाचिरह्यो, कर्मको फल भोगेको महसुस ग¥यो ।
बग्दै गयो ऊ, आँधीको एकोहोरो प्राकृतिक बगाइसँगै बहकियो ऊ, र इतिहासका पानाहरु पर्लक्क पल्टे– आलमदेवी, कास्कीकोट, लमजुङ, गोरखा... । पानीसँगै बग्यो ऊ, दक्षिणतिरको गहृौसुरको अग्लो डाँडो देख्नेबित्तिकै उसलाई भक्कानो फुटाएर रुँ–रुँ लाग्यो । सोच्यो उसले– हिजो÷आज । उप्m ! म के भएँ । पानीबाट निस्कने प्रयास ग¥्यो, के भएर हो सकेन निस्कन । लहरसँगै बगिरह्यो ।
बग्दै गयो ऊ, इतिहासले झन् नजिकबाट सुत्त तानेर ल्यायो । आलमदेवी ! ! आँधीमा बग्दै गर्दा गर्जियो एकतमाससँग । हिजोहरुमा त्यो माटोबाट उँभैउँभो लागेको, त्यहाँ आएर मानिसहरुलाई एकत्रित पारेर आफू सबैभन्दा “ठूलो” बनेको, अझ लमजुङ–गोर्खा–काठमाडौंको घनचक्करे इतिहासले पोलेर होला– पानीबाहिर निस्कने दुष्प्रयास ग¥यो ।
प्राकृतिक रुपमै पानीबाहिर निस्क्यो ऊ । आफ्नो शरीर देखेर उसलाई अनौठो लाग्यो, माझीहरुको जालले उसलाई बिछट्टसँग नङ्ग्याएको थियो । दिग्भ्रमित बन्यो ऊ र मनमनै गर्जियो– “मेरो इतिहास, म तँैसँग आएँ ।”
आलमदेवीलाई गोलचक्कर मारेपछि आकास हेर्दै टोलाउँदै गर्न थाल्यो । “मानिसहरु लाजले आँखा छोपे, मानिसहरुले पागल÷बौलाहा÷सन्की÷नकचरोजस्ता विभिन्न उपनाम दिए । परिचय हराएको “त्यो मान्छे” को हो ? को !
उसले आफ्नो इतिहास वमन गर्यो । मानिसहरु जिल्ल परे । पत्याउनै नसकिने घटना– होइन होइन ! “नभएको होइन, हो, हो, हो” कत्रो अन्धाकार भ्रमभित्र पर्ने । विश्वासै थिएन कसैलाई पनि । सबैले “बौलाहा” प्रमाणित गरे । उसले सबैलाई “बौलाहा” प्रमाणित ग¥यो । सञ्जनै छैन ?
आँधीखोलाको किनारै–किनार इतिहास ओढेर बाक्लो हुस्सु र कुहिरोभित्र हराएको भ्रमित पात्र बन्यो ऊ, उसले त्यहाँ कोही चिनेका मानिसहरु छन् कि हे¥यो । अहँ, कोही भेटिएन क्षणभर । अलि पर एउटा मानिस– शरीरमा भोटो लगाएको, पटुका बेरेको, खुट्टा खाली, पाइलाहरु परपर्ती चिरिएका, छुस्सछुस्स कहीँकहीँ दाह्रीजुँगा बढेको, एउटा हातमा लट्ठी, भारी बोकेजस्तै चाँदीको जाबी बोकेको– बूढोलाई देखेपछि भीरमा खरको त्यान्द्रो पाएर समाउन खोजेझैँ हुत्तिएर गयो र बूढोलाई समाउन खोज्यो । बूढो केही पर हुँदै भन्न थाल्यो– “मैले यस्तो सोचेर तँलाई “पुरानोकोट” लगेको थिइनँ, तंैले आफ्नो धर्म बिर्सेकैले दुनियाँको हेलाहाँसो भएर बाँच्नुपरेको हो । तेरा लागि यत्तिका वर्षसम्म मैले सास्ती खेपेँ, दुनियाँको गाली सहेँ, तँप्रति मैले गरेको इज्जत–सम्मानलाई तैँले थुकिस्, तँ अधम् भएकैले दुनियाँले दुःख पाएका छन् ।”
बूढाले जाबीबाट एउटा पुरानो भोटो झिक्यो र दिदैँ भन्यो– “तँलाई मैले यहाँबाट यही पुरानो भोटो लगाइदिएर लिएर गएको थिएँ, तैँले यसको अपमान गरिस् । याद छ तँलाई ? कहाँ फालेको थिइस् ? इतिहासका पत्र–पत्रमा मैले यसलाई जोगाएर राखेको थिएँ । अब तैँले जिन्दगीमा पाउने यत्ति होस्....ला....।”
“भोटो” छोएपछि नश्लले झ्वाप्प छोप्यो उसलाई । निकै भक्कानिएर रोयो ऊ, भुक्लुक्क जमिनमा पछारियो ऊ । एकछिनपछि जुरुक्क उठ्यो र भोटोले लाज छोप्यो ।
फेरि आलमदेवीको गोलचक्कर मारेपछि दुईचार कदम अगाडि बढाउँदै गर्दा उसले एउटा लट्ठी भेट्यो । सीधै ऊ आँधीमा हामफाल्यो । आँधीको चिसो पानीमा पस्दै गर्दा उसले सोच्यो– “कसिङ्गर भएर बाँच्नुको कुनै अर्थ रहेनछ । हिजोसम्म मैले गरेका कामहरु मलाई राम्रै, जाती नै लागेको थियो, ठीक गरेँ भनेको थिएँ तर होइन रहेछ– दुनियाँको अगाडि त म यति घृणित पो रहेछु, म कति सारो मन नपर्ने मानिस भएको पो रहेछु ! बुझेँ । जस्तै भए पनि म बाँच्नैपर्छ, यो दुनियाँको रीति हेर्नैपर्छ, म अब बग्दै बग्दै जान्छु, एकदिन समुद्रमा अवश्य पुग्नेछु, त्यो सबैको साझा हो, त्यहीं बस्छु, त्यहीं रमाउँछु । ठूलो भएर बाँचे पनि,सानो भएर बाँचे पनि बाँच्नै हो, म बाँच्नका लागि बाँच्छु । अब मेरो सारा परिचय हराएको छ, म प्राकृत मानव बनेको छु, म आफै कहाँ ठूलो बनेको थिएँ र ? यिनै मानिसले नै त ठूलो बनाएका हुन् । फेरि यिनैले मलाई यति सानो बनाए– मेरो कमजोरीले हो वा युगले नचाहेर हो । राजा–रैती, मालिक–दास मेटिएको युग हो, हे मेरा इतिहासहरु ! तिमीहरुले मलाई यो के सिकायौ ? मलाई यो कस्तो भारी बोकायौ ? किन भ्रमभित्र पाल्यौ ? म परिचय हराएको पात्र, भ्रमित पात्र ।”
पोखरा– १६, बाटुलेचौर
९८४६०४२४०९
No comments:
Post a Comment