गीतिकविता
देशबासीको पुकार
- भानु ढुङ्गाना
जन्म दिने आमा बाबा बिर्सिएर हिँड्ने
पराईका पाउ परी किन अन्तै भिड्ने ?
फर्किएर आऊ चाँडै नेपालका सुत
बा,आमाको सेवा गर देशभित्रै जुट
आफ्नै देशको माटोसँग अन्नबाली माग
मल जल मिलाएर उर्वरामा लाग
आऊ छोरा पराईका गाली छोडी आऊ
नेपालको माटो पुष्प प्रेममाला लाऊ
लुकाएर शिर लगी कहाँ झुकायौ !
सम्झिएनौ माता पिता सुख के पायौ ?
माता पिता सुत बन्धु बुझ परिवार
सानो घर भए पनि सम्झ दरबार
टाढा नजाऊ फर्की आऊ नेपालमा बसौँ
सिर्जनाको फूलबारी सत्कर्मले कसौँ
उत्सर्ग छ यहीँभित्र सृष्टि सुन्दर धारा
छोरा रछोरी, बुहारी, आऊ फर्की प्यारा
झर्ना-छाँगा छहरा छ यहीँ हराभरा !
धान, मकै, गहुँ, जौ फल्छन् गरा-गरा
हिउँदेबाली बर्खेबाली हुन्छ हराभरा
सृजनाका लतादिक फल्छन् गरा-गरा
आऊ छोरा बुहारी हो, नातिना र नाति
आऊ छोरी जुवाइँ हो, आऊ सँगी-साथी
सिर्जनाले सजाउनु पर्छ यो पाटो
बा आमाको पुकार सुन, सम्झ यो माटो !
हाल : क्यानेडा
No comments:
Post a Comment