कविता
जीवनका उकालीहरूमा
- मिलन समीर
आफ्नै अगाडि सिङ्गै जीवनका टोपी खस्ने उकालीहरू छन्
काँडेघारीको कठिन बाटो छिचोल्दै लामो पार गर्नु छ- लामो यात्रा
र , चुम्नु छ- जीवनयात्राको अन्तिम गन्तव्यमा पुगेर
सफलताको सर्वोच्च शिखर ।
विडम्बना ! युगीन यात्राको शुभ - साइत
जुरिसकेको छैन भन्छन् अहिलेसम्म पनि ।
हामी भने अब उठिसकेका छौँ
यात्राविहीन पट्यारलाग्दो निकै लामो
अर्थहीन बेचैनीको बसाइँलाई लत्याएर
पुग्नुपर्छ आजै झम्के साँझसम्म भए पनि
दुर्गम उचाइमा अभावको चर्को घामले
ज्युँदै पोलिएर पसिनाको आधीखोला बगाउँदै
प्रमिथसको पर्खाइमा अन्धकार कालरात्रीको विरुद्ध
युद्ध मोर्चामा होमिएर पनि अहिलेसम्म पराजित
आफैंलाई धिक्कार्दै बाचिरहेका भुइँमान्छेहरूको गाउँबस्तीमा ।
सदैव शीत लहरले काँचै चपाइएका
देहाती भोटे ओढारभित्र झ्याङ्गिएको
विभेदको असामाजिक कुरीतिसँगै
कुसंस्कारका वनमारा झारहरू उखेलेर
भर्खरै मूल बाटोछेउ आइपुगेका छौँ ।
विचारको मुख थुन्दै बुद्धिको बिर्को लगाएर
विवेकको हत्या गरी स्वप्निल नयनहरूमा
सघन तुवाँलोको बाँधिदिएर कालो पट्टी
बेपत्ता पारिएका निर्दोष भुइँमान्छेहरूको
गाउँबस्तीमा पुगेर जसरी भए पनि भेट्नुपर्ने छ-
विक्षिप्त मानसिकता बोकेर अधकल्चो बाँचिरहेका
परिवारका बाँकी सदस्यहरूलाई ।
आँधीखोलाको अन्धवेगले निरन्तर हानिरहेको
असह्य चोटले विक्षिप्त खिइँदै गएको ढुङ्गा जस्तै
हावाको झोक्काले भुइँमा झारेको फूलको कलिलो थुङ्गा जस्तै
बाढीको अन्धवेगसँगै मझधारमा पुगेपछि एक्कासि घोप्टिएको
असड्ख्य यात्रुहरू सवार सिकारु माझीको पुरानो डुङ्गा जस्तै
बतासे इन्द्रेणी सपनाले सिध्याइदिएर
पुरै रित्तिएका सुनसान गाउँघरहरूमा
छिट्टै भेट्ने अभिलाषा र आकाङ्क्षासहित
युगीन यात्राको सुरूवात गरिसकेका छौँ
कैयौं अफ्ठ्यारा जङ्घारहरूमा तरिसकेका छौँ ।
सहयात्री बनेर हिंडेका छन्- हामीसँगै
पारिलो घामका स्नेही चम्किला आँखाहरू
पछ्याइरहेका छन् अहिलेसम्म हामीलाई
शक्तिशाली विचारको भुईँचालो ल्याउन सक्ने
जाँगरिला बलिष्ठ पाखुरीहरूले
हामीलाई बाटो देखाउँदै हिंडिरहेका छन्-
हुरीबतास त के, पर्यो भने आँधिबेहरी हुन सक्ने
हावाका अथकित पृथक् पाइला चाल्ने खुट्टाहरू,
जसलाई आजसम्म भ्रमको मायावी जालभित्र फसाएर
सपनाको सुनौलो संसारमा धैर्यको बलियो डोरीले
बाँधेर राखिएको थियोे र वर्षौंदेखि आफ्नै घरभित्र
थुनिएको थियोे- आजीवन कैदीका रूपमा ।
अग्राखको आगो झैँ दन्किएर भित्रभित्रै
भतभती पोलिरहेको थियोे पहिल्यैदेखि छाती
आँखाबाट आक्रोशको अग्निज्वाला
बिस्फोट हुन मात्रै बाँकी थियोे ।
छातीभरि ममताको सुनाखरीसँगै
हत्केलामा परिश्रमको सुनगाभा फुलाउँदै
पूर्णिमाको जून बोकेर जीवन- यात्राको उकालीहरूमा
चढिरहेका छौँ शीतलताको आभाससमेत नपाएर
रुखो बनिरहेका अतृप्त प्यासी सहृदयी मनहरूमा
अलिकति मात्रै भए पनि अञ्जुलीभरि छचल्किरहेको
शीतको घैला खन्याउन आतुर छौँ- यतिबेला ।
अविचलित अग्रगामी यात्राको क्रममा
सिङ्गै बाटो ओगटेर बसिरहेका मुढाहरू
अल्झाएर बिच बाटोमै बल्झाइदिने ढुङ्गाहरूमा
भालुपहाड बनेर छेक्न खोज्ने मार्केडाँडाहरू
एक-आपसमा खुशीले रमाउन नपाउँदै
खित्का छोडेर हाँस्न नभ्याउँदै
आफैं किनारा लाग्दै गए क्रमशः ।
पार गरेरै छाड्नुछ- जसरी भए पनि
जिन्दगीका सबैभन्दा कठिन टोपी खस्ने उकालीहरू
र , खोज्नुछ- मान्छेविहीन बनाइएका बस्तीबाट
दिनदाहाडै हराएका ज्युँदा भुइँमान्छेहरू ।
करादीखोला , स्याङ्जा
No comments:
Post a Comment