वर्षः १, अङ्कः २ २०७० साउन-भदौ-असोज अङ्कको सम्पादकीय______
गोली हानेर गरिएजस्तो छिटो परिवर्तन गर्न त नसक्ला तर जब बिस्तारै यसले परिवर्तन गर्दछ, त्यसको
प्रभाव गोलीको प्रभावझैं अर्को गोलीले परिवर्तन गर्नै नसक्ने गरी दिगो रहन्छ । यसले साहित्यको
शक्तिको आँकलन गर्न सघाउँछ । यस्तै, समाजको गतिशीलता बुझ्न पनि साहित्य पढ्नु जरुरी
छ । भनाइ पनि छ, “कि परेर जानिन्छ, कि पढेर जानिन्छ ।” यसले के जनाउँछ भने अध्ययन गर्नु
समग्र जीवन र जगत्लाई बुझ्नका लागि अति आवश्यक प्रक्रिया हो । अध्ययनबिना मानिसले न
संसारलाई चिन्न सक्छ, न त जीवनलाई नै । यस अर्थमा, अध्ययन संस्कृति जीवनकै अभिन्न पाटो हो ।
वर्तमान विश्वलाई बुझ्न अति सजिलो छ तर अध्ययन जरुरी छ । हुन सक्छ, अध्ययनको
माध्यम वा शैली फरक–फरक छन् । विश्व इतिहासका अनेकोैं घटनाका दस्तावेजले मानिसलाई
ज्ञानको भण्डार दिने गर्दछ । जीवन निर्वाहका लागि यस युगका मानव समुदायलाई ठूलो चुनौती
हुँदा–हुँदै पनि पठन संस्कृति पनि जीवनका लागि अनिवार्य सर्तजस्तै बनिसकेको छ । जीवन र
जगत्का आवाज बोलेका साहित्यले मानिसलाई मानसिक शक्ति प्रदान गर्दछ, जो हरेक विजयको
जननी शक्ति हो । नेपालमा पनि पछिल्लो समय पठन संस्कृतिको विकास राम्ररी हुँदै आएको छ ।
यसले साहित्यकार वा लेखकलाई पनि केही हदसम्म सहयोग त पुग्ला नै तर त्यसभन्दा बढी पाठक
स्वयम्ले ठूलो फाइदा पाउँछ । त्यसले ल्याउने जागरणको परिणाम सारा समाज र राष्ट्रले प्राप्त
गर्ने कुरामा पनि सायद दुई मत नहोला । दार्शनिक थोरोले भनेका छन्, “पुरानो कोट लगाऊ, नयाँ
पुस्तक किन ।” हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि “पुस्तकालय प्रत्येक युग र प्रत्येक
महात्माहरुको अमर समूह हो” भनेका छन् । यी भनाइहरुले पनि अध्ययन संस्कृतिको महत्वलाई पुष्टि
गर्दछन् । अध्ययनका लागि स्रोत र माध्यमहरु वर्तमानमा अनगिन्ती विकसित भएका छन् । अध्ययनका
लागि मुख्य स्थल पुस्तकालय नै हुन्, तापनि आजभोलि पुस्तकालयका पनि अनेकौं विकसित
संस्करणहरु आइसकेका छन् । जहाँ जुन माध्यमबाट जे पढे पनि मुख्य कुरो अध्ययन संस्कृति नै
हो । पठन संस्कृतिकै विकासका लागि देशभर विभिन्न खालका संस्थाहरु नै स्थापना भएका छन् ।
पठन संस्कृतिलाई आत्मसात् गर्नु हरेक व्यक्तिका लागि फाइदाजनक छ ।
No comments:
Post a Comment