साहित्यिक सगरका उज्याला ताराः रामकृष्ण तारा - अल्पज्ञानी - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Thursday, June 24, 2021

साहित्यिक सगरका उज्याला ताराः रामकृष्ण तारा - अल्पज्ञानी

 स्रष्टा परिचय

साहित्यिक सगरका उज्याला ताराः रामकृष्ण तारा

- अल्पज्ञानी

अनुभूति र जीवन भोगाइको रङले कविताको वा समग्र साहित्यको लेपन गर्दछ । त्यसो त कल्पनाको उडान पनि सँगसँगै भरिएको हुन्छ । आफ्नो लेखनीमा भरिने विरङ्गी रङहरुको समायोजन लेखकको हृदयमा भरिएका यावत जीवन वृत्तान्तका
अनुभूतिका रङहरुले घनिभूत भएका हुन्छन् । आफ्ना सुख, दुःखलाई अक्षरका माला उनेर जीवनानन्द प्राप्त गर्दै लेखकहरु विचारको प्रक्षेपण गर्छन् । चिन्तनशील लेखकहरु प्रक्षेपित विचारले चेतनाको प्रवाह गराउँदै समाज परिवर्तन, राष्ट्र परिवर्तन र समग्र परिवर्तनको खाका कोर्न रुचाउँछन् । आफ्नो जीवनको महत्वपूर्ण भाग सपाङ्ग अनि बाँकी भाग अपाङ्ग भएर जीवन बिताइरहेको एउटा सचेत मस्तिष्कले आफ्नो लेखनीबाट मनोबल बढाउँदै, आत्मबल बढाउँदै साहित्य सिर्जनाका माध्यमबाट आफूजस्तै अपाङ्ग र त्योभन्दा धेरै राष्ट्रभक्तिको भाव उजागर गरेर त्यस्तै परिवर्तनको अपेक्ष गर्दै  सार्थक जीवन बाँचिरहनु गौरवको विषय हो । यहाँ साहित्यलाई अनुत्पादक क्षेत्र भनेर वकालत गर्नेहरु पनि प्रशस्तै भेटिन्छन् तर साहित्यलाई नै जीवनको, इच्छाशक्तिको, दृढताको, आत्मविश्वासको, मनोबलको र लेखनीको मूल ऊर्जा मानेर आफ्नो जीवनको आयुलाई बढाइरहेको महसुस गर्नु सामान्य कुरा होइन । ‘मलाई मेरो लेखकीयले जुन ऊर्जा र जुन जीवन दिएको छ त्यो म कतैबाट कहिल्यै पनि प्राप्त गर्न सक्दिनँ’ भन्ने कविलाई मानवचोला क्षणभङ्गुर लाग्नु स्वाभाविक हो । २०६२ वैशाखको दुर्घटनाले झण्डै मृत्युशै य्याको नजिक पुगेका लेखकले दुवै गोडाको चाल गुमाए पनि अन्तरआत्माबाट इच्छाशक्ति बटुलेर शेष जीवनको लागि कलमको यात्रा थालनी गरेका छन् । उनले आफ्नो व्यक्तिगत जीवनमात्र नभएर समग्र अपाङ्गको मनोबल र मनोकाङ्क्षालाई उजागर गर्द राष्ट्र र राष्ट्रियताको चिन्तन पनि प्रस्तुत गरेका छन् ।

रामकृष्ण ‘तारा’
____________________________________________

वि.सं. २०१७ भाद्र ४ गते स्वर्गीय पिता बामदेव अधिकारी र स्वर्गीय माता गोमादेवी अधिकारीको कोखबाट समिभञ्ज्याङ–४, लमजुङमा जन्मनुभएका तिनै चिन्तनशील लेखक रामकृष्ण अधिकारी साहित्य यात्रामा रामकृष्ण ‘तारा’ नामले परिचित हुनुहुन्छ । बी.ए.÷बी.एड.सम्मको औपचारिक शिक्षा प्राप्त गर्नुभएका कवि ‘तारा’ लामो समयसम्म अध्यापन पेसामा संलग्न हुनुहुन्थ्यो । प्रा.वि. देखि मा.वि. तहसम्मका विद्यार्थीहरुको उज्यालो भविष्यका लागि उहाँहरुसँगै आफ्नो ऊर्जाशील जीवन व्यतीत गरेका कवि तारा अहिले भने चितवनमा बस्दै आउनुभएको छ । उहाँ पछिल्लो समय समिभञ्ज्याङकै सम्झना मा.वि. हुँदै रम्घाको मालिका नि.मा.वि.माअध्यापनरत हुनुहुन्थ्यो । विद्यालयको सम्पूर्ण प्रपञ्च मिलाउने प्रधानाध्यापक र विद्यार्थीलाई अङ्ग्रेजी पढाउने उहाँको दिनचर्या थियो । यसै क्रममा एक दिन आफ्नै घरको बार्दलीमा बसेर आफ्नै दारी काट्दा उहाँमाथि अकस्मात अकल्पनीय घटना घट्यो अर्थात् बार्दलीको रेलिङ खसेर उहाँ आँगनमा पछारिनुभयो । उहाँको ढाड आँगनको ढुङ्गामा बजारियो । गाउँको साँघुरो आँगनबाट उहाँ अझै तल पुगेपछि बेहोस हुन पुग्नुभयो । बेहोस रामकृष्णलाई गाउँलेहरुले डोलामा बोकेर अस्पताल पु¥याए । चितवनमा डाक्टरहरुले पनि रोगको निदान गर्न नसकेपछि उहाँ काठमाण्डौँ पठाइनुभयो । पछि थाहा भयो कि उहाँलाई ‘स्पाइनल इनजुरी’ भएको रहेछ ।

साहित्य पढ्न रुचाउनुकै नाताले लेखकहरुको सामीप्य मन पराउनु स्वाभाविक नै हो । त्यसैमाथि एउटा बेग्लै स्फूर्ति र उत्साहले अलि फरक दुनियाँमा रमाएको मान्छे अचानक दुर्घटनापश्चात् स्पाइनल इन्जुरी भएर शरीरको कम्मरमुनिको भाग कत्ति पनि नचल्ने भएपछि, दुवै खुट्टाले चाल र चेतना गुमाएपछि आफ्नो अमूल्य जीवनको अमूल्य समयलाई साहित्य सिर्जनाको माध्यम बनाएर जिजीविषाको गीत गाइरहेको मानिसलाई भेट्ने चाहना झन् तीब्र भएर आयो । अप्रत्याशित र अकल्पनीय दुर्घटनाले ‘स्पाइनल इन्जुरी’को कारण बिछ्यौनामा र ह्वीलचियरमा आफ्नो जीवन व्यतीत गरिरहनुभएका कवि रामकृष्ण ‘तारा’को घरमा पुग्दा उहाँ भित्र ओछ्यानमै हुनुहुन्थ्यो । म भने अशक्त भएर पनि आफ्नो साहित्य यात्राले आफूलाई जीवन्त राख्न प्रेरित र हृदयको आलापलाई, पीडालाई मलमपट्टि लगाउने अक्षरका सर्जकलाई भेट्न आतुर थिएँ । घरको एउटा कोठा । खाटमाथि कम्मरभन्दा तलको भाग नचल्ने मानिस । अगाडि टेबलमा विभिन्न औषधिहरु, पाइप, पानी । खाटसँगै जोडिएर राखिएको ह्वीलचियर । बुक ¥याकमा विविध पुस्तकहरु । माथि तखतामा पनि किताबका पङ्क्तिहरु । जेठो छोरो सञ्जीव अधिकारीले त्यही कोठाको अगाडि बस्न अनुरोध गर्दा म कवि रामकृष्ण ‘तारा’ बसेको कोठामा विचरण गरिरहेको थिएँ । सुरुमा नै उहाँको बसाइँ असहज देखेपछि लाग्यो कि मान्छेले जस्तोसुकै जीवनलाई पनि आत्मसात् गर्नुपर्दो रहेछ । दुःखलाई आत्मसात् गरियो भने जीवन सार्थक हँुदो रहेछ । यथार्थमा उहाँको त्यस अवस्थाले कता–कता म आफैं दुखिरहेको थिएँ तर सजिलैसित उहाँले मलाई पो सुनाउनुभयो, “जीवन भोग्न जान्यो भने जस्तै दुःखलाई पनि आफ्नो काँधमा बोक्न सकिन्छ, आफ्नो वशमा राख्न सकिन्छ ।”

यो सुनेपछि केही क्षण त म अमुक भएँ र लज्जित पनि । लाग्यो, मैले त जीवन भोग्नै जानेको रहेनछु । केही समयको गफगाफपछि कविज्यू आफ्नै जीवनतिर फर्किनुभयो । नियतिले बज्र प्रहार गरेपछि आफ्ना मनका, हृदयका भावहरुसहित कवि यसरी पो पोखिन थाल्नुभयो कवितामाः

 अपाङ्गै भावीको नियति कसरी भोग्नु थियो

 गुमाई अङ्गादी जिउन यसरी कष्ट थपियो

 पुकार्छु तिनैमा सकल जगका मित्रहरु जो

 शुभेच्छा दीर्घायु सबसित कहेँ भेद कविको ।

                            (अपाङ्गताः भावीको नियति)

विद्यालयमै छिटफुट रुपमा कविता सिर्जना गर्ने कवि रामकृष्ण ‘तारा’को पहिलो प्रकाशित साहित्यिक रचना भने “मलाई यहाँ बाँच्न मन छैन” शीर्षात्मक कविता ‘क्रान्ति’ पत्रिकामा २०३९ मा छापिएको थियो तर उहाँको मूल साहित्य सिर्जना चोट लागेर ओछ्यान परेपछि सुरु भएको हो बताउनुहुन्छ तारा ।

दिसा–पिसाब भएको पनि उहाँलाई थाहा हुँदैन । घडीका सूईहरुको दौरानमा अथवा समयको बहावसँगै उहाँ दिसा–पिसाब, पानी पिउने निश्चित समय छ, निश्चित मात्रा छ । खाना खाने नियम पनि समयले बनाइदिएको छ । कुनै दिन खानामा, औषधिमा, पानीमा तल–वितल पर्‍यो भने शौचालयको समय पनि बिग्रन्छ । कहाँ कतिखेर दिसा पिसाब हुन्छ भन्ने थाहा नै हुँदैन । नियतिले यसरी बज्र प्रहार गरे पनि श्रीमती नर्मदाको साथले मनोबल भने अझै उच्च रहेको देख्न सकिन्छ । अपाङ्गहरुको मनोदशा र तिनीहरुको इच्छाशक्ति बलियो हुनुपर्ने धारणा राख्दै कवि सुनाउनुहुन्छः

 दुर्भाग्यवश दैवदशा लाग्यो मलाई पनि

 क्या अनौठो नौलो जीवन विताउँदै छु म नि

 नसोचेको बज्रपात पर्‍यो हामी माथि

 मनोबल उच्च राखी चित्त बुझाऔँ साथी

                                  (मनोबल उच्च राखौँ साथी)

लामो समयसम्म विद्यालयमा कार्यरत कवि ताराले विद्यार्थीहरुको भित्री चाहना र उनीहरुको मनोविज्ञानलाई पनि राम्रोसँग बुझ्नुभएको छ । यही बुझाइलाई, बालबालिका एवम् किशोर किशोरीका भावनालाई निकै सरल शब्दमा लोक लयलाई समातेर बालकवितासङ्ग्रह प्रकाशन गर्नुभएको छ । उहाँले प्रकृतिको वर्णन, उपदेश, अधिकार, प्रदूषण र उपाय, राष्ट्रप्रेम, संस्कृति प्रेमजस्ता विषयलाई यसमा समावेश गर्नुभएको छ । विद्यार्थीमा हुने असीमित चाहना र ज्ञानप्रतिको तीब्र

इच्छालाई उहाँहरुले पक्रन सक्ने विश्वास गर्दै कवि लेख्नुहुन्छः

 विज्ञानको ज्ञान पढी वैज्ञानिक हुन्छु

 नयाँ यान बनाएर चन्द्रमामा पुग्छु ।

 धरतीलाई कुरुक्षेत्र देख्ने चतुर मनका आँखाहरु लिएर

 जब तिमी लुखुरलुखुर हिंड्थ्यौ, फुट जन्माउने मन्त्र फैलाउँथ्यौ

                                          (चन्द्रमामा पुग्ने रहर)

विभिन्न लेखरचनाहरु पत्रिकामा प्रकाशित हुनुको अलावा मनका घाउहरु (कवितासङ्ग्रह २०६४) भविष्यका पाइलाहरु (कवितासङ्ग्रह–२०६५) र सिर्जनाका कोसेलीहरु (बालकवितासङ्ग्रह (२०६६) कृतिहरु प्रकाशित भैसकेका छन् । निकै सरल शब्दहरुको प्रयोग गरी लयको नजिक पुग्ने कविको काव्यभाव पनि त्यतिकै सरल छ । प्रष्टसँग बुझिने भाव र लय भएकै कारण उहाँका कविता सुबोध्य छन् । कवितासँग सँगै गजल, गीत, मुक्तक, हाइकु पनि प्रकाशित गरेका कवि ‘तारा’ पछिल्लो समयमा भने कथा लेखनतिर ढल्केका छन् । जीवनको लामो समय अध्यापनमा बिताउनुभएका उहाँले थुप्रै बालगीत, बालकविता पनि सिर्जना गरेर आफ्नो सिर्जना शक्तिले नेपाली साहित्याकासलाई फराकिलो पारिरहेका छन् । आफ्नो जीवनको अहिलेको महत्वपूर्ण शक्ति नै लेखनी मानेका कवि तारालाई घर परिवारको सहयोग पूर्ण रुपमा मिलेको छ । पारिवारिक सहयोगबाट सन्तुष्ट प्राप्त गरे पनि साहित्यिक सहयोगबाट भने कवि सन्तुष्ट देखिँदैनन् । कवि स्वयम् कार्यक्रमहरुमा जान नसकेका कारणले उहाँसँग साहित्यिक सम्बन्ध पनि बलियो छैन । त्यस्तै चिनेका, बुझेका र उहाँका सिर्जनाहरु पढेका साहित्यिकमित्रहरुले पनि त्यति सहयोग नगरेकोमा कवि चिन्तित देखिनुहुन्छ । त्यसो त उहाँका कृतिहरु साहित्यिक वृत्तका व्यक्तिहरुको पहलमा नै प्रकाशित भएका देखिन्छन् तर यसको प्रचार प्रसारमा मिडियामा ठाउँ

पाउन भने सकेन । हुन त कविलाई मिडियाको प्रचार नै महत्वपूर्ण पक्ष हो भन्ने लाग्दैन । “महत्वपूर्ण पक्ष त सिर्जना हो” भन्ने कवि तारा पछिल्लो समयमा अपाङ्ग भएर पनि साहित्य सिर्जनाका माध्यमबाट अपाङ्गका विभिन्न अवस्थाहरुलाई उजागर गरेर एक उदाहरणीय व्यक्ति बनिरहनुभएको छ ।

अङ्‍क २ बाट साभार

No comments:

Post a Comment