रखापत्रको प्रधान सम्पादकबाट सेवानिवृत्त भएका श्रीओम श्रेष्ठ ‘रोदन’ लघुकथा समाजका अध्यक्ष हुन् । वि. सं. वि.सं. २०१९ कार्तिक ११ गते माता बेलकुमारी र पिता शिवप्रसाद श्रेष्ठका सुपुत्रका रूपमा झम्सीखेल, ललितपुरमा जन्मेका हुन् । वि. सं. २०४५ मा ‘ललिता’ कवितासङ्ग्रह प्रकाशन गरेर कृति प्रकाशनको यात्रारम्भ गरेका रोदनका सरगम, समवेदनाका स्वरहरू, अर्थहीन अर्थहरू, समयका सम्भावनाहरू, समुद्रपारि समुद्रवारि, नबिर्सने दिनहरू, प्रसङ्गवश, एक्लो परिचयलगायतका कविता, निबन्ध र नियात्राका पुस्तक प्रकाशित छन् । उनका आँखीझ्याल, भ्रममार्ग र भनौँ कि नभनौँ गरी ३ वटा लघुकथाकै पुस्तक प्रकाशित छन् । दर्जनौँ कृति तथा पत्रिकाको सम्पादन गरेका उनले सुप्रबल जनसेवा श्री (तृतीय, २०७६), उत्तम शान्ति पुरस्कार (२०५४), युवा वर्ष मोती पुरस्कार (२०५७), शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार (२०६३), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पुरस्कार (अमेरिका, २०६४) लगायत दर्जनौँ सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् ।
पचासको
दशकदेखि नै लघुकथाको विकासमा विभिन्न माध्यमबाट क्रियाशील रोदन लघुकथा समाजको
स्थापना गरी नेपाली लघुकथाको संस्थागत विकास तथा विधागत पहिचान स्थापित गर्नका
लागि लागिरहेका छन् । लघकथाका यिनै अभियन्तासँग कालीको सुसेली (लघुकथा
विशेषाङ्क) का लागि यस अङ्कका सम्पादक रुपिन्द्र प्रभावीले गरेका
कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
· लघुकथा समाजका अध्यक्ष हुनुहुन्छ, किन आवश्यक पर्यो यो संस्था ?
-
नेपालमा लघुकथा सङ्ग्रह
प्रकाशन भएको इतिहास सात दशक भइसक्दा पनि लघुकथा स्थापित हुन नसकेकाले नै संस्थागत
रूपमा काम गर्नका लागि संस्था आवश्यक भएको हो ।
लघुकथा लोकप्रियताको दृष्टिले त्यति कमजोर नभए पनि सिद्धान्त र चर्चाका
दृष्टिले उपेक्षित थियो र शून्य जस्तै थियो । लघुकथामा रुचि राख्नेहरू सङ्गठित हुन
नसकेकाले नै लघुकथाको लागि बहस गर्नेहरूको पनि अभाव थियो । यी सबै कार्यलाई
संस्थागत रूपमा नै अगि बढाउनुपर्छ भन्ने मान्यताले वि.सं.२०६५ मा लघुकथा समाजको
स्थापना भएको हो । प्रारम्भमा मेरो संयोजकत्वमा किशोर पहाडी, ध्रुव मधिकर्मी, डा.रवीन्द्र समीर र गोरखबहादुर सिंह
थियौँ ।
· समाज स्थापना स्थापना भएपछि लघुकथाको विकासका लागि के के गर्नुभयो ?
-
धेरै नै काम गरेका छौँ भन्ने
लागेको छ । नेपाली लघुकथालाई सैद्धान्तिक
रूपमा परिभाषित गरेका छौँ । ‘लघुकथाको विधान’ नामक पुस्तक लेख्नका लागि डा.
लक्ष्मणप्रसाद गौतमलाई अनुरोध गरेर प्रकाशन गरेका छौँ । ‘आजका लघुकथा’ सङ्ग्रह र
‘नेपाली लघुकथा’ नामक पत्रिका प्रकाशन गरिरहेका छौँ । लघुकथामाथि अनुसन्धान गर्ने, योगदान पुर्याउने, कृति प्रकाशन गर्नेहरूलाई पाँचओटा
पुरस्कारबाट सम्मान अर्पण गर्दै आएका छौँ । काठमाडौँमा मात्र नभएर विभिन्न
जिल्लामा प्रशिक्षण कार्यक्रम पनि गर्दै आएका छौँ । लघुकथा पुस्तक प्रकाशनपूर्व
पाण्डुलिपिको अन्तरक्रिया गर्ने गरेका छौँ । सर्वनाम नाटक घरसँग मिलेर लघुकथाको
मञ्चन गर्दै आएका छौँ । लघुकथा समयअनुरूपको सिर्जना हो भन्ने हाम्रो प्रचारप्रसार
अभियानले गर्दा नै अहिले लघुकथाको लेखन र प्रकाशनको सङ्ख्या ह्वात्तै बढेको छ ।
कार्यक्रम र चर्चा बढिरहेका छन् ।
लघुकथालाई साहित्य नै होइन भन्नेहरूलाई प्रशंसक बनाउन सकेका छौँ ।
· यहाँले नै भनिसक्नुभयो, सात दशकदेखि लघुकथासङ्ग्रह प्रकाशन हुन थालेको हो । तपाईँहरूले संस्था
स्थापना गर्नुअगि पनि लघुकथा लेखिएका थिए र त्यसपछि अझै बढी लेखिएका छन् । भिन्नता
चाहिँ के पाउनु भएको छ ?
-
तिसको दशकमा लेखिएका लघुकथाहरू
निकै चोटिला थिए । राम्रा लेखिएका थिए तर कस्तो हुनुपर्छ भन्ने कुनै मान्यता थिएन
। त्यसैले चुट्किलालाई पनि लघुकथा भनेर लेखिन र छापिन थालेको थियो । वि.सं. २०५६
मा मधुपर्कले लघुकथा विशेषाङ्क प्रकाशन गरेपछि नै केही सैद्धान्तिक कुरामा चर्चा
हुन थालेको हो । अहिले लघुकथा लेखनमा सचेतना बढेको छ । छोटो रचना लेख्नु चुनौती हो
भन्ने बुझ्न थालेका छन् त्यसैले बुझेर लघुकथा लेख्न सजिलो छैन भन्ने कुरा स्थापित
हुँदै गएको छ ।
· कुनै कथा छोटो हुनेबित्तिकै लघुकथा भइहाल्ने हो र ? कि अन्य कुनै निश्चित मूल्य, मान्यता, नियम वा सिद्धान्त छन् ?
-
आकारले लघुकथा बन्छ भन्नु
लेखकको ठुलो भ्रम हो । लघुकथा संरचनाले छोटो भए पनि पूर्ण हुन्छ । लघुकथाका
प्रत्येक वाक्यमा कौतूहल जगाउने हुनुपर्छ र अन्त्य झङ्कृत पार्ने हुनुपर्दछ । त्यसका लागि समापनमा पाठकलाई पनि
सहभागी बनाउने गरी खुला हुनुपर्छ त्यसैले लघुकथा बढीमा तीन सय शब्दको हुनुपर्ने
भएकोले यसमा व्याख्या र विश्लेषणको प्रयोग गर्नुहुँदैन । कथालाई तीव्र रूपमा अगाडि
बढाउनका लागि सङ्क्षिप्त, कौतूहल, समसामयिक,
साङ्केतिक र व्यङ्ग्यमूलक हुनु जरुरी हुन्छ ।
· व्यङ्ग्यमूलक भनिरहँदा नेपाली साहित्यमा लेखिएका कतिपय लघुकथाहरू
चुट्किला जस्ता पनि छन् । अझै भनौँ, कतिपय चुट्किला नै लघुकथा भनेर छापिएका छन् । कतिपयलाई त लघुकथाको संरचना
नै त्यस्तै हुने हो कि भन्ने भ्रम पनि परेको छ । तपाईँलाई के लाग्छ ?
-
यो सत्य हो तर कतिपयलाई कहीँ
पनि नियन्त्रण गर्न सकिँदैन । कानुनै लाग्ने, सजाय नै पाउने
काम त गरिरहेका छन् भने साहित्यमा के हुन सक्छ र ? सिर्जनाको
गहिराइ बुझेपछि आफैँ स्वतः नियन्त्रण हुन्छ नै ।
· त्यसो भए कथा र लघुकथामा के के फरक हुन्छन् ?
-
कथामा घटनाहरूलाई व्याख्या
गरेर अगाडि बढाउन सकिन्छ तर लघुकथामा सम्भव हुँदैन । कथामा उपकथाहरू हुन्छन् तर लघुकथामा
हुँदैन । कथामा शब्दसीमा नहुन सक्छ तर लघुकथामा हुन्छ । कथामा पात्र, परिवेश धेरै हुन सक्छ तर लघुकथामा त्यस्तो हुँदैन ।
· अङ्ग्रेजीमा लेखिने Short Story नै नेपाली लघुकथा हो वा Very Short Story लघुकथा हो ?
-
नेपालमा लघुकथाको सिद्धान्त
तयार नहुन्जेलसम्म विभिन्न भाषाका विद्वान्का परिभाषा उद्धृत गर्ने गरिन्थ्यो ।
त्यही भएर लघुकथा भनेको अङ्ग्रेजीको सर्ट स्टोरी भन्ने भ्रम निकै मौलाएको थियो ।
यही भ्रमले गर्दा वि. सं. २०५२ मा पहिलो पटक प्रज्ञाप्रतिष्ठानले झापाको
धुलाबारीमा आयोजना गरेको लघुकथा गोष्ठीमा प्रवासका धेरै स्रष्टाहरूले लामा कथाहरू
वाचन गरेका थिए । म त लघुकथालाई अङ्ग्रेजीमा पनि नेपालीमा जस्तै लघुकथा नै
भन्नुपर्छ भन्छु, हाइकुलाई नेपालीमा पनि हाइकु नै
भनिए जस्तै ।
· नेपाली लघुकथाका क्षेत्रमा प्राज्ञिक कार्यहरू खासै हुन सकेको
पाइँदैन, किन होला ?
-
अहिले त हुन थालिसकेका छन् ।
विश्वविद्यालयहरूमा शोध, अनुसन्धान, विद्यावारिधि भइसकेका छन् । पाठ्यपुस्तकहरूमा समावेश हुन थालिसकेका छन् ।
लघुकथामाथि कार्यपत्रहरू लेखिइरहेका छन् । लघुकथा कृतिको समालोचना मात्र होइन,
एउटै लघुकथाको समालोचना हुन थालेको छ । विभिन्न सङ्घ/संस्थाहरूले
प्रतियोगिता गर्ने, पुस्तक निकाल्ने, विशेषाङ्क
प्रकाशन गर्ने जस्ता कार्यहरू हुँदै आएका छन् । प्रज्ञाप्रतिष्ठानले नेपाली र
हिन्दी भाषामा समेत कृतिहरू प्रकाशन गरेको छ । समय समयमा बौद्धिक बहस र छलफल पनि
भइरहेका छन् ।
· लघुकथा समाज पनि साहित्यका अन्य गुट जस्तै एउटा गुट मात्रै हो
भन्ने पनि सुनिन्छ । यस सम्बन्धमा के भन्नुहुन्छ ?
-
यो कुरा त मैले पहिलो पटक
सुनेँ । लघुकथा समाजले अहिलेसम्म कुनै गुट, विचार,
नजिक, टाढालाई चासो नै राखेको छैन त्यसैले
समाजले अर्पण गर्दै आएका पुरस्कार र कार्यक्रमहरूको प्रशंसा नै हुने गरेका छन् ।
लघुकथा समाजको गुट भनेको लघुकथा र लघुकथाकारहरू नै हुन् ।
· संस्थाका भावी योजनाहरू के छन् ?
-
लघुकथाको प्रशिक्षण अभियानलाई
सातै प्रदेशमा लैजाने, गोष्ठी, कार्यक्रमलाई
सघन बनाउने, नेपाली उत्कृष्ट लघुकथाहरूलाई अङ्ग्रेजीमा
अनुवाद गर्ने लक्ष्य रहेका छन् ।
· नेपाली साहित्यमा लघुकथाको अवस्था कस्तो छ ?
-
अत्यन्तै सुखद अवस्थामा लघुकथा
पुगेको छ । लेखन बढ्दो छ । लोकप्रियताका कारण अन्य विधाका स्थापित स्रष्टाहरूले
पनि लेख्न थालेका छन् । लघुकथा पहिले जस्तो हल्काफुल्का, विवरण र चुट्किला मात्र लेख्ने प्रवृत्ति घट्दै गएको छ । अहिलेको लघुकथा
लेखन तुलनात्मक रूपमा सन्तोषजनक मान्नुपर्छ । प्रकाशन सङ्ख्या बढ्दै गइरहेको छ ।
सहज भने लघुकथाको मात्र होइन, कुनै विधाको हुन सकेको छैन ।
· यहाँहरूले लघुकथा गोष्ठी, प्रशिक्षण, वाचनलगायतका कार्यक्रमहरू सञ्चालन
गर्नुभएको समाचार सुन्न/पढ्न पाइन्छन् तर अहिले पनि लघुकथा भनेर राष्ट्रिय
पत्रिकाहरूमा, सामाजिक सञ्जालहरूमा आउने कथाहरूमा गुणात्मक
परिवर्तन आएको त देखिँदैन !
-
कुनै पनि कुरा चर्चामा आएपछि
त्यसप्रतिको आकर्षण बढ्नु स्वाभाविक हो । लघुकथा लेख्नेहरूको सङ्ख्या उत्साहका साथ
बढिरहँदा गुण ओझेल पारिरहेको हुन्छ । हेर्दै जानुहोला, अब बिस्तारै लघुकथा लेख्नेहरू गुणस्तरीय लेखनमा नै सचेत हुने छन् । कुनै
पनि कुरा जति नबुझ्दा सजिलो हुन्छ, त्यति बुझेपछि हुँदैन ।
मलाई लाग्छ लघुकथा बुझ्नेको सङ्ख्या पनि बढ्दै गइरहेको छ ।
· यहाँ स्वयम्ले थुप्रै लघुकथाका पुस्तकको लेखन र सम्पादन
गरिसक्नुभयो । सुरुको किताब लेख्दा र पछिल्लो किताब लेख्दाको फरक अनुभूति केही छन्
कि ?
-
सुरुमा लघुकथा लेख्न कुनै गाह्रो
लाग्थेन । अहिले निकै गाह्रो लाग्छ । सानो आयाममा एउटा पूर्ण कथा उतार्नु सजिलो त
हैन नै । मैले लेख्ने गरेको कविता, निबन्ध,
नियात्रा लेख्नुभन्दा लघुकथा लेख्न चुनौती लाग्छ मलाई ।
· यहाँ गोरखापत्र संस्थानमा आबद्ध हुनुहुन्थ्यो । त्यहाँका
प्रकाशनहरूमा लघुकथाको स्थिति कस्तो थियो ?
-
हो, मैले गोरखापत्र दैनिक र मधुपर्कको सम्पादकीय नेतृत्व गरेँ र केही वर्ष
युवामञ्चमा पनि आबद्ध भएँ । मधुपर्कमा कतैबाट पनि लघुकथाबारेमा चर्चा नहुँदा र
नगर्दा नै लघुकथा विशेषाङ्क प्रकाशन गरेका थियौँ । यसरी मधुपर्कबाटै दुई पटक
विशेषाङ्क निकाल्यौँ २०५६ र २०७२ मा । युवामञ्चमा हुँदा लघुकथाले विशेष स्थान
पाएको थियो भने गोरखापत्रको शनिवारीय परिशिष्टाङ्कमा पनि लघुकथालाई यथेस्ट स्थान
दिएका थियौँ । रेयुकाई नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष,
मधुपर्कलगायत धेरै संस्थाबाट पनि लघुकथा प्रतियोगिता गराएर चर्चा चलाएको
छु ।
· लघुकथाको विकासमा सञ्चार माध्यमको भूमिका कस्तो छ ?
-
पछिल्लो दशकदेखि लघुकथाप्रति
सञ्चार माध्यमको भूमिका निकै सकारात्मक र सहयोगी बन्दै आएको छ ।
· देशभरि हुने गरेका लघुकथासम्बन्धी गतिविधिलाई कसरी हेर्नुभएको छ ?
-
निकै सुखद । देश मात्र होइन, अहिले सामाजिक सञ्जालका माध्यमबाट संसारभरि नै नेपाली लघुकथाको लेखन,
प्रकाशन र चर्चा हुने गरेका छन् । लघुकथासम्बन्धी जुनसुकै कार्य
जहाँबाट भए पनि त्यसले लघुकथाको गुणस्तर लेखन र विकासमा सहयोग पुर्याइरहेकै हुन्छ
। अहिले भइरहेका लघुकथासम्बन्धी गतिविधिले लघुकथाको सुन्दर भविष्य साकार हुँदै
गएको जस्तो लाग्छ ।
· फेरि पनि स्पष्ट भाषामा भनिदिनुहोस् न, लघुकथा हुनका लागि नभई नहुने र हुनै नहुने कुराहरू
के के हुन् ?
-
लघुकथा बन्नका लागि कथा पूर्ण
हुनुपर्छ । समाजलाई प्रतिविम्बित गर्ने लघुकथा छोटो, छरितो
र कौतूहल जगाउने सूत्रात्मक हुनुपर्छ । व्यङ्ग्य र अन्तिमको बिज वाक्य शक्तिशाली
हुनु जरुरी हुन्छ । छोटो आयाम नै लघुकथा हो भन्ने भ्रम हुनै हुँदैन । छोटो हुने
भएकाले लेख्न सजिलो हुन्छ भन्ने मानसिकता पनि हुनुहुँदैन ।
· अन्त्यमा केही भन्नुहुन्छ ?
-
साहित्यिक यात्रामा तत्कालको
लाइक र कमेन्टको सङ्ख्या र वाह्वाहीले गन्तव्यमा पुर्याउन सक्दैन । सिर्जना
यात्रा निरन्तर बगिरहने नदी जस्तै हुनुपर्छ । साहित्य हतार गर्नेहरूका लागि होइन ।
कहीँ पुगे जस्तो लागे पनि कहीँ पुग्न सकेको हुँदैन । साहित्य भनेको साधना हो ।
साधनाको कुनै गन्तव्य र अन्त्य पनि हुँदैन
। मैले बुझेको साहित्य र यसको यात्रा यही हो ।
साभारः
कालीको सुसेली (लघुकथा विशेषाङ्क), २०७७

No comments:
Post a Comment