अन्त्य र सुरुवात- विस्लावा सिम्बोर्सका - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Wednesday, September 10, 2025

अन्त्य र सुरुवात- विस्लावा सिम्बोर्सका



अन्त्य र सुरुवात

- विस्लावा सिम्बोर्सका

 

हरेक युद्धपछि

कोही न कोहीले त सफा गर्नैपर्छ

आखिर सबै कुरा

आफैँ ठिक हुदैनन् ।

 

कोही न कोहीले सडकको छेउतिर सार्नैपर्छ

टुटेफुटेका सामग्रीहरू

ता कि लासले भरिएका सवारीहरू

सजिलै गुड्न सकुन् ।

 

कोही न कोही भिज्नैपर्छ

फोहोर र खरानीमा

सोफाको स्प्रिङमा

फुटेका सिसाका टुक्रामा

रगत लत्पतिएका कपडाहरूमा  

 

कोही न कोहीले खम्बा घिसारेर

ठड्याउनैपर्छ भत्किएका पर्खालहरू

कोही न कोहीले सिसा लगाउनुपर्छ झ्यालहरूमा

फेरि मिलाएर झुन्ड्याउनुपर्छ भाँचिएका ढोकारू ।

 

यी दृश्यहरू फोटो खिच्न लायक आकर्षक हुँदैनन् 

र यसलाई पूरा गर्न बर्सौँ लाग्ने छ

त्यति बेलासम्म क्यामराहरू

अरू युद्धहरू कभर गर्न दौडिइसकेका हुने छन् ।

 

हामीलाई फेरि पुलहरू चाहिन्छन्

नयाँ रेल्वे स्टेसनहरू चाहिन्छन्  

माथितिर सार्दासार्दै फाट्ने छन्

कमिजका बाहुलाहरू ।

 

कोही हातमा झाडु बोकेर

अझै अघिल्लो समय सम्झिने छ

अर्को कोही सुनेर

सहमतिमा टाउको हल्लाउने छ

तर वरिपरि पहिले नै

कतिपय भेला भइसक्ने छन्

जसलाई यो सफाइ दिक्क लाग्ने छ ।

 

कहिलेकाहीँ कोही

बाक्लो झाडीभित्रबाट निकाल्ने छ

खिया लागेका तर्कहरू

र उठाएर फ्याँकिदिने छ फोहोरको डङ्गुरमा

 

जसले यहाँको वास्तविकता बुझ्थे

उनीहरूले बाटो खाली गर्नुपर्छ

आफूभन्दा कम जान्नेहरूलाई

त्यसपछि अझै कम जान्नेहरूका लागि

र अन्ततः बिल्कुल अन्जानहरुको लागि

 

कारण र परिणाम

समयसँगै घाँसले ढाकिन्छ 

अनि कोही त्यही घाँसमा पल्टिएर

मुखमा घाँसको पात चपाउँदै

बादललाई नियालिरहेको हुने छ ।

 अनुवादः मणि डुम्रे

 

 

 

No comments:

Post a Comment