बाल प्रतिभा अनुराग र रोजिनालाई कौशिलादेवी भण्डारी पुरस्कार - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Friday, August 11, 2023

बाल प्रतिभा अनुराग र रोजिनालाई कौशिलादेवी भण्डारी पुरस्कार

पोखरा । नारी प्रतिभा वाङ्‍मय प्रतिष्ठानले आफ्नो तेस्रो स्थापना दिवसको अवसर पारी बिहिबार दुई बालप्रतिभालाई पुरस्कृत गरेको छ ।

प्रतिष्ठानले समाजसेवी झलकबहादुर भण्डारी र साहित्यकार डा. पुष्पा के.सी. भण्डारीद्वारा स्थापित कौशिलादेवी भण्डारी बाल प्रतिभा पुरस्कार बालप्रतिभाद्वय अनुराग सापकोटा र रोजिना अधिकारीलाई प्रदान गरेको हो । अनुराग शितलादेवी मा.वि., पोखरा -१२ मा कक्षा ८ मा र रोजिना महेन्द्र मा. वि., लाहाचोक, कास्कीमा कक्षा १० मा अध्ययनरत छन् । पुरस्कार राशि जनही १० हजार रुपियाँ रहेको छ ।

उक्त पुरस्कार समाजसेवी झलकबहादुर भण्डारीकी ममतामयी माता र डा. पुष्पा के सी भण्डारीकी ममतामयी सासू स्व. कौशलादेवी भण्डारीको नाउँमा स्थापना गरिएको हो । उक्त पुरस्कार पहिलो पटक प्रदान गरिएको हो । आगामी दिनहरूमा प्रत्येक दुई दुई वर्षमा दुई जना बालप्रतिभालाई नै प्रादेशिक वा राष्ट्रव्यापी रूपमा पुरस्कृत गरिने संस्थाकी अध्यक्ष छन्दिकाले जानकारी दिइन् । कार्यक्रमकी प्रमुख अतिथि स्वरकिन्नरी, लोकगायिका प्राज्ञ हरिदेवी कोइरालाले आजका बालबालिका भोलिका युग संवाहक भएको धारणा राखिन् । पुरस्कारले बालप्रतिभाहरूलाई हौसला मिल्ने भन्दै कोइरालाले भण्डारी दाम्पतीद्वारा स्थापना गरिएको पुरस्कारप्रति गौरवान्वित भएको बताइन् । साथै पुरस्कार संस्थापक डा. पुष्पा के. सी. भण्डारीले ममतामयी सासू आमाको नाउँमा सम्मान व्यक्त गर्दै पहिलो पटक पुरस्कार प्रदान गर्न पाउँदा अत्यन्तै हर्षित महसुस भएको बताइन् । कार्यक्रममा शितलादेवी माविका प्रधानाध्यापक बाबुराम अधिकारी र कवि छन्दमणिले शुभकामना मन्तव्य दिएका थिए । पुरस्कृत प्रतिभाहरूले आआफ्ना मन्तव्यसहित रचना वाचन गरेका थिए भने रोजिना अधिकारीकी आमा रूपा अधिकारी, शुभ शर्मा र अर्की बालप्रतिभा  अविप्सा सापकोटाले पनि आआफ्ना रचना वाचन गरेका थिए ।

प्रतिष्ठानकी अध्यक्ष छन्दिकाको अध्यक्षता र सचिव लक्ष्मी थापाको सञ्चालनमा भएको कार्यक्रमम स्रष्टा परिचय कवि सरस्वती श्रेष्ठ ‘सरू’ले प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा उपाध्यक्ष अम्बिका भण्डारीले स्वागत गरेकी थिइन् । सचिव लक्ष्मी थापाको संयोजकत्वमा रहेको पुरस्कार छनोट समितिको सिफारिसमा पुरस्कार प्रदान गरिएको थियो ।



 

No comments:

Post a Comment