ससुरालीमा भानुभक्त-अविचल आस्था मणि - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Friday, July 14, 2023

ससुरालीमा भानुभक्त-अविचल आस्था मणि

         


      ससुरालीमा भानुभक्त

-                                                                - अविचल आस्था मणि

१.

आफ्नो यो ससुरालको विषयमा केही म लेख्ने भएँ

चुँदीबाट उठेर प्रात पलमा हिंड्दै म मादी तरें

बुल्दी पार गरें पुगेँ सहजमा मादी र सेती तरी

देखें उज्ज्वल कीर्तिमान कविता सौन्दर्यको माधुरी ।

२.

डाँडा लामु विचित्रको छ सुकिलो सद्भाव ऊर्जामय

नेपाली इतिहास उज्ज्वल छटा उम्दा बनोस् वाङ्मय

शुक्लाको जल छाल गर्दछ घुमी डाँडा  र आलिङ्गन

तीनै तर्फ खुला छ छाल लहरी म्याग्दे सफा कञ्चन ।

३.

च्याप्छिन् काख खुसी भएर सहसा शुक्ला बगी गण्डकी

सारा तीर्थ समेटिएर सुखमा आरामको जिन्दगी

चण्डी स्थान यहीँ सुरम्य छ सफा किल्चोक भोले बसे

बत्ती झिल्मिल झन् हुनेछ यसमा म्याग्दे रमाएँ बसें ।

४.

प्रज्ञा पूर्ण प्रकाश पुञ्ज छ यहाँ झर्ना, गुफा ताल छन्

सारै शीतल पेय छन् अमृता झैं नौला जहाँ व्यास छन्

पृथ्वी मार्ग तयार हुन्छ सजिलो सम्पन्न म्याग्दे हुन

होलान् मार्मिक सिर्जना प्रकट झन् सौभाग्य थप्ने गुन ।

५.

म्याग्दे यो ससुराल आज म पुगेँ देखिन्छ सर्वोत्तम

बत्ती झल्मल छाल शुक्ल तटमा खुल्छन् खुबै उद्यम

झर्ना झर्झर बग्दछन् अनि गुफा, झुम्छन् बराही अझ

देखी हर्षित पाहुना हुन पुगून् साहित्यको गौरव ।

६.

साली छन् चिरी चट्ट शान्त विमला, भेना छ जिस्क्याउन

घुम्दा मङ्गल शुक्लको तट भयो इच्छा छ निम्त्याउन

भेना छौ जब भानुभक्त रसिला विर्के छ टोपी पनि

साली यो मनकामना प्रकटमा छन् नेत्र कर्के भनी ।

७.

आऊ लौ अब भानुभक्त जलको कुवा अनन्ते छ यो

आँखामा हिम शैल स्वच्छ चुचुरा खुल्दा उदाङ्गो भयो

चिम्टेको घरमा म भन्दिन कसै दिदी छ चन्द्रा भनी

बाला यौवन पूर्ण लेख कविता भेना छ साली भनी ।

८.

खोजें दर्शन पाइएन कामला ! टाढा बनेकी किन ?

माया प्रेम पराग पूर्ण बलियो चाहन्छु ऊर्जा लिन

प्यारो लाग्छ सदैव तत्पर हुने छन् चाख आलिङ्गन

धर्तीमा अझ सम्मको विनयको गाथा बनोस् कञ्चन ।

९.

देख्दैछौ कवि भानुभक्त कसरी सेती र मादी दुई

एकाकार भए छ सङ्गम जहाँ लालित्य झस्को दिई

उस्तै एक बनाउने विषयमा गाम्भीर्य होस् चिन्तन

गर्दै बस्न मजा छ राम सितमा श्री जानकी कीर्तन ।

१०.

आओस् सुन्दरता उजागर बनी छौ जो सखी सुन्दरी

इच्छा पूर्ण गराइयोस् हजुरले आकाश उड्ने चरी

देख्दा लाग्छ मुहारमा अति खुसी लालित्यमा किन्नरी

पूजा गर्दछु प्रेम गर्छु गहिरो मानेर मैंले परी ।

११.

आऊन् काल छिटै म मर्छु कमला ! मान्दै नमानी डर

तिम्रो मङ्गल होस् सबै किसिमले पाएर खोज्दा वर

आएको जब काल हुन्छ जहिले निर्धक्क होस् स्वागत

भन्ने हो कमला सदैव मनमा मेरो छ जो तागत ।

१२.

आभारी म हुने थिएँ अचम हो यो लेख लेख्ने कवि

पाएको कमला नदी सतहमा छौ छाल टल्के रवि

तिम्रो प्राञ्जल जो मुहार सुषमा सद्भाव गाढा सफा

पाएँ लेख्न मजा हुनेछ कविता ताजा अझै झन् कथा ।

१३.

फोटो घोडचढी दियौ गजबको श्रद्धा गरें अर्पण

लेख्ने प्रेम कथा बढ्यो रहर यो हेर्दा स्वयं दर्पण

पठ्ठो आज भए तरुण अहिले आत्मा गरें दर्शन

पाइन्नन् किन शब्द कोश कमला गर्ने गरी वर्णन ।

१४.

फोटोमा जब अंकमाल गरियो ताजा भएँ झन्झन

तिम्रो चित्त बुझेन आज कमला गर्ने र के गन्थन

तिम्रो साथ मिले म पुग्छु नभमा आकाश गङ्गा पर

धेरै सौख्य मिलाइनेछ सजिलै छौ के कतै तत्पर ?

१५.

शिक्षा मिल्छ कसो गरी हजुरको सौन्दर्यको दर्शन

गर्ने हो कसरी यथार्थ सजिलो आनन्दको वर्णन

इच्छा के मिलापको सिलसिला मिल्नेछ कैले कहाँ

भेट्ने उत्सुकता चढ्यो हृदयमा बन्दै गरोस् योजना ।

१६.

साली एक प्रसन्न जो सुगम छन् रोदी र कौराहमा

लैजान्छिन् कवि भानुभक्त कसरी हाँसेर सल्लाहमा

भेटिन्छन् शुभ प्रातमा नियमले घुम्दै अनन्ते कुवा

निस्केको कुहिरो छ फाँट कसरी ढाक्दैछ लाग्ने रुवा ।

१७.

शुक्लाको जलमा छ बाँध बलियो बन्ने नयाँ ताल छ

नेपाली मन भानुभक्त कविको नौलो छ सञ्जाल छ

बुझ्दा यो नव याम निर्मित सफा आनन्द आत्मा छुने

निस्केको बिजुली छ झिल्मिल अझै भूस्वर्ग म्याग्दे हुने ।

(शार्दूलविक्रीडित छन्द)

अभिनव व्यास

तनहुँ, नेपाल

 

No comments:

Post a Comment