शुक्लागण्डकीस्तरीय कवितामा बेबिसा प्रथम (फोटो फिचर) - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, May 13, 2023

शुक्लागण्डकीस्तरीय कवितामा बेबिसा प्रथम (फोटो फिचर)

 तनहुँ । शुक्ला साहित्य सङ्गम, तनहुँले शनिबार सम्पन्न गरेको शुक्लागण्डकी नगरपालिकास्तरीय कविता प्रतियोगितामा नेपाल पुलिस आवासीय मावि, बेलचौताराकी बेबिसा खाँण पहिलो भएकी छिन् ।

शुक्लागण्डकी नगरपालिकाभित्रका विद्यालयहरूमा अध्ययनरत २५ जनाले भाग लिएका प्रतियोगितामा खाँणको ‘अधुरा सपनाहरू’ शीर्षकको कविता पहिलो भएको हो । प्रतियोगितामा पञ्चमुनिदेव माविकी पुनम सेन ठकुरीको ‘सोचाइ’, सूर्योदय आवासीय माविकी रीना रानाको ‘आमा, दुःख र म’ तथा जनकल्याण माविका अभिनव तिवारीको ‘बालअधिकारी’ शीर्षकको कविता क्रमशः दोस्रो, तेस्रो र सान्त्वना भएका थिए । विजेताहरूलाई प्रमुख अतिथि लक्ष्मण थापा, संस्थाका पूर्व अध्यक्ष जनार्दन दाहाल, संरक्षक शेषमणि आचार्यलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रमुख अतिथि रहेका नवनीत साहित्य सागर पोखराका संस्थापक अध्यक्ष लक्ष्मण थापाले विद्यार्थीमा अन्तर्निहीत सिर्जनशील प्रतिभा प्रस्फुटनका लागि शुक्ला साहित्य सङ्गमले खेलेको भूमिकाको प्रशंसा गरे । उनले प्रतियोगितामा पुरस्कृत हुनुभन्दा ठुलो कुरा सिर्जनामा निरन्तरता दिनु नै भएको बताए । ‘विद्यार्थीहरूले मञ्चमा कविता प्रस्तुत गर्नु आफैँमा पुरस्कृत हुनु हो’ अक्षरयात्रा साहित्यिक अभियानका परिकल्पनाकारसमेत रहेका थापाले भने, ‘आज को पुरस्कृत भयो भन्नुभन्दा पनि निरन्तरता कसले दियो भन्ने कुरा महत्त्वपूर्ण हुने गर्दछ ।’

प्रतियोगिताको निर्णायकहरूमा साहित्यकार रुपिन्द्र प्रभावीको संयोजक तथा लिली अधिकारी र गोविन्द लज्जावती सदस्य रहेका थिए । सङ्गमकी अध्यक्ष टुकादेवी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संरक्षक शेषमणि आचार्य, सहसचिव सुरज लम्साललगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव जुनु खड्काले गरेकी थिइन् ।

सोही अवसरमा संस्थाको मासिक रचना वाचनको १८५ औँ शृङ्खला पनि सम्पन्न भएको थियो ।












No comments:

Post a Comment