राष्ट्रिय मुक्तक पुरस्कार-२०७८ स्व. चेतन कार्कीलाई दिइने - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, April 9, 2022

राष्ट्रिय मुक्तक पुरस्कार-२०७८ स्व. चेतन कार्कीलाई दिइने

पोखरा । मुक्तक मञ्च केन्द्रीय समितिद्वारा सञ्चालित एवम् साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार २०७८ बाट  चेतन कार्कीलाई मरणोपरान्त सम्मान गरिने भएको छ ।

मञ्चका सल्लाहकार सरुभक्तको संयोजकत्वमा सूर्य खड्का ‘बिखर्ची’ र सरस्वती श्रेष्ठ सरू सदस्य तथा अध्यक्ष रामजीप्रसाद आचार्य र पुरस्कारका संस्थापक विष्णु अल्पपविराम पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा मञ्चले स्व. चेतन कार्कीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको शनिबार आयोजित कार्यक्रममा जानकारी दिइएको हो ।

नेपाली मु्क्तकको विकास र लेखनका लागि महत्त्वपूर्ण योगदानको उच्च कदर गर्दै प्रत्येक दुई वर्षमा प्रदान गरिने सो पुरस्कारको राशि रु २२ हजार २२२, ताम्रपत्र र दोसल्ला रहेको छ ।

नेपाली मुक्तक लेखनको प्रारम्भदेखि समकालीन मुक्तक लेखनमा सक्रियतासहित विशिष्ट योगदान पुर्‍याउनुभएका स्व. चेतन कार्की (वि.सं. १९९५ कात्तिक २२- २०७८ जेठ २) नेपाली चलचित्रका सफल निर्देशक, लेखक, कवि, गीतकार तथा मुक्तककार हुन् । उनको जन्म स्याङ्जाको बहाँटारी, थुम, आरुखर्कमा भएको थियो । उनी दाइलाई बोलाऊँ भने लेक स्वर पुग्दैन, तीजको रहर, माया पिरतीको चोखो कथा, छोरीको जन्म हारेको कर्म, बैनीको दया छ भने जस्ता चर्चित गीतका रचनाकार हुन् । उनका शब्दमा नेपालका स्थापित गायक गायिकाहरु नारायणगोपाल, तारादेवी, अरुणा लामा, किरण प्रधान, प्रकाश श्रेष्ठलगायतले स्वर दिएका छन् ।

सो पुरस्कारबाट यसअघि कृष्णप्रसाद पराजुली, रत्नशम्शेर थापा, सरुभक्त र तेजनाथ घिमिरे सम्मानित भइसकेका छन् ।

सोही अवसरमा आयोजित मञ्चको नियमित मुक्तक वाचन कार्यक्रममा चार दर्जनभन्दा बढीले आफ्ना रोज्जा मुक्तक सुनाएका थिए । मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नवीन भण्डारीले गरेका थिए ।

No comments:

Post a Comment