२९ औं पारिजात स्मृति दिवस पोखरामा - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, April 16, 2022

२९ औं पारिजात स्मृति दिवस पोखरामा



पोखरा । साहित्य शृङ्खला, पोखराको २३५ औं नियमित रचना वाचनको शृङ्खला एवम् २९ औं पारिजात स्मृतिको अवसरमा पारिजातको व्यक्तित्व र कृतित्वमाथि परिचर्चा शनिबार सम्पन्न भएको छ । 

पारिजातको जीवनी, कृतिहरूमाथि वरिष्ठ साहित्यकार एवम् समालोचक प्राध्यापक डाक्टर रविलाल अधिकारिले चर्चा गरेका थिए । पारिजात शारीरिक रूपमा अशक्त भए पनि त्यसलाई आफ्नो सपनाको बाधक बन्न नदिई साहित्य सृजना निरन्तर गर्दै आफ्नो जीवन नेपाली साहित्यलाई पूरै दिएको प्रसङ्ग उल्लेख अधकारीले उल्लेख गरे । प्रकृतिलाई माया गर्ने, सौन्दर्यप्रेमी , सुधारवादी, मानवतावादी सोच भएकी पारिजात साहित्य लेखन, समाजसेवामा सक्रिय रहिरहने महिला हस्ती भएको र सम्पूर्ण महिलाहरूका लागि प्रेरणाको स्रोतका रूपमा अधिकारीले चिनाए ।

साहित्य शृङ्खलाका संस्थापक परिकल्पनाकार धनप्रसाद तामाङले पारिजात आफू पनि सशक्त महिला हस्ती, त्यसमाथि पनि कम्युनिस्ट आन्दोलनका हिरो निर्मल लामाको सङ्गतले अझै उनलाई विचारमा परिपक्वता ल्याउन मदत पुगेको बताए । शृङ्खलाका सल्लाहकार एवम् परिश्रमी प्रतिभा पुरस्कारका संस्थापक नारायण परिश्रमीले अङ्ग्रेजी भाषामा पारिजातको यथार्थ जीवनी, कृतिबारे चर्चा गरेका थिए । 

कार्यक्रममा कवि नुमराज बराल, छन्दिका, छन्दमणि, गीताञ्जली साहित्य परिवारका अध्यक्ष रामनाथ अधिकारी सँगी, निवर्तमान अध्यक्ष लोकनाथ पुडासैनी र सल्लाहाकार बिष्णु अल्पविराम, गी तिवारी, चन्द्रावती वाग्ले, सन्तोष न्यौपाने, सन्तोष पौडेल, प्रबिना पौडेल, संस्थाका कोषाध्यक्ष लक्ष्मण गौतम हिमालीलगायतले आफ्ना तथा पारिजातका सिर्जना सुनाएका थिए । संस्थाका उपाध्यक्ष एवम् सृजना आलोक शृङ्खलाका सम्पादक ताराप्रसाद तिमिल्सिनाले स्वागत मन्तव्यका साथ हातमा घडी छु... रमाइलो प्यारोडी गीत गाएर सुरुमै हल तताएका थिए । 

संगम सांस्कृतिक मन्च, नेपालका सचिव विकास लुङ्गेली र डिबी बान्तवाले साङ्गीतिक प्रस्तुति राखेका कार्यक्रमको साञ्चालन सचिव काजी गाउँले गरेका थिए भने अध्यक्षता शृङ्खलाकी अध्यक्ष लक्ष्मी थापाले गरेकी थिइन् ।


No comments:

Post a Comment