गजल मञ्च चितवनमा २५ गजल - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Monday, December 13, 2021

गजल मञ्च चितवनमा २५ गजल

लेखराम सापकोटा

भरतपुर । गजल मञ्च चितवनको आयोजनामा गजल वाचन कार्यक्रम ‘गजलसँग’ को सातौँ शृंखला सम्पन्न भएको छ । शनिबार नारायणगढमा आयोजित कार्यक्रममा चितवन र नवलपरासीका ५ जना गजलकारले गजल वाचन गरे । 


चितवन साहित्य परिषद्को सभाहलमा गजल सुन्न जम्मा भएको माहोललाई सम्बोधन गर्दै सुरुवातमा नवलपरासीकी गजलकार दिलु थापा मगरले गजल प्रस्तुत गरिन् । उनले सबै गजल तरन्नुममा सुनाइन् । उनी यसअघि पनि गजल सुनाउन धेरैपटक मञ्चमा उभिइसकेकी छन् ।

रहेसम्म जीवन म तिम्रै रहन्छु 

चलेसम्म धड्कन म तिम्रै रहन्छु ।


गजल सुनाउने लहरमा उभिएका अर्का स्रस्टा चितवनका नवराज ढकालले पनि स्रोताको ध्यान खिचेरै गजल प्रस्तुत गरे । उनले चितवनमा पहिलोपटक मञ्च सेयर गरेका हुन् ।

म गएको दुःखले ऊ रोयो नभन्दा हुन्छ

मान्छे खुसी हुँदा पनि आँसु आँखामा हुन्छ ।


नवलपरासी, कावासोतीका विक्रम ढकाल अनुराग पनि माहोललाई हेरेर गजल सुनाउँछन् । उनी गजल सुनाउन धेरैपटक मञ्चमा उभिएका छन् । शनिबार चितवनको माहोललाई उनले गजलमय बनाए ।

यता कोप्यो र उता निस्कियो सियो जिन्दगी 

म जस्ताको तस्तै छु कपडाको बदलियो जिन्दगी ।


भरतपुर चितवनकी सरस्वती पौडेल गजल सुनाउन पहिलोपटक मञ्चमा आएकी हुन् । उनले पछिल्लोपटक आफ्ना गजलहरू युट्युबमा पनि राखेकी छन् । मञ्चमा उभिएकी उनले केही प्रेमिल र राष्ट्रप्रेम झल्किएका गजल सुनाइन् ।

म फर्काउन चाहन्छु देशभित्रै अब

विदेशिएका राहदानी गजल लेखेर ।


गजलकारको अन्तिम लहरमा थिए चितवनका अविरत सुमन । सुमन चितवनका पुराना युवा गजलकार हुन् । जिल्लामा गजलको लहर ल्याउनमा यिनको नेतृत्वको टोलीले एउटा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । उनले कार्यक्रममा अधिकांश पुरानै गजल सुनाए ।

तिमी चाँडोचाँडो रफ्तार आफ्नो बढाउँदै थियौ

म बिस्तारैबिस्तारै कदम आफ्नो रोक्दै थिएँ ।


कार्यक्रममा पाँचै जना स्रस्टाले ५र५ गरी कुल २५ वटा गजल प्रस्तुत गरे । सबै स्रस्टाले पहिलो र दोस्रो चरणमा दुई दुई र अन्तिम चरणमा एक एक गरि पाँच पाँच गजल प्रस्तुत गरेका हुन् । कार्यक्रममा अधिकांश प्रणयपरक गजल प्रस्तुत भए ।


सोही समारोहमा गजल मञ्च चितवनले प्रदान गर्दै आएको रमादेवी–हीरालाल स्मृति पुरस्कार २०७७र०७८ संयुक्तरूपमा प्रदान गरियो । उक्त पुरस्कारबाट धादिङकी अमला अधिकारीको ‘आश्रम’ गजलसंग्रह र चितवनका चेतनाथ रुवालीको ‘आमा’ गजलसंग्रहलाई पुरस्कृत गरियो ।


कार्यक्रममा गजल मञ्च चितवनका अध्यक्ष स्व। द्वारिका नेपालको तस्बिरमा पूर्वअध्यक्षहरू धनराज गिरी, किसान प्रेमी, पुष्प अधिकारी अञ्जलि, रमेश प्रभात र कार्यवाहक अध्यक्ष लेखराम सापकोटाले माल्यार्पण गरेका थिए । असामयिक निधन भएका अध्यक्ष नेपालको सम्मानमा एक मिनेट मौन धारण पनि गरिएको थियो ।


स्वर्गीय नेपालका परिवारको सहयोगमा ‘द्वारिका नेपाल गजल स्मृति पुरस्कार’ स्थापना गरिन लागिएको कार्यवाहक अध्यक्ष सापकोटाले जानकारी दिए ।

No comments:

Post a Comment