भरतमणि भट्टराईको ससुराली - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, October 2, 2021

भरतमणि भट्टराईको ससुराली

 लघुकथा

ससुराली

-   भरतमणि भट्टराई

सन्देशको विवाह एक्लो छोरो भएकाले बाआमाको रहरका कारण १५ वर्षकै उमेरमा भयो । पल्लो गाउँका अर्जुनकी छोरी चमेलीसँग उसका बाबा मसिनेले छोराको बिहे गराइदिए । बुहारी पाएपछि के के नै सुख पाउने र छिट्टै नातिनातिना देख्न पाइने आशमा सन्देशकी आमा आशावादी थिइन् । मसिने पनि घरको सरसफाइ र कामकाजमा सहयोग पुग्ने ठानेर बुहारीको आगमनलाई स्वागत गर्न हतारिएका थिए । चमेली बुहारीका रूपमा भित्रिएपछि केही समय त सुमेलो नै आउला झैं भएको थियो तर एक वर्ष नबित्दै छोरालाई नै लिएर माइतमा गई । सन्देश र चमेली उतै काम गरेर बस्न थाले । एक्लो छोरो भए पनि सन्देशले घरतिरको वास्ता नै गर्न छाड्यो । दिनहुँ सासूससुराको स्याहार गरी रमाउन थाल्यो ।



मसिनेले छोराबुहारीलाई लिन भनेर छोराको ससुराली गए तर सन्देश विदेश जाने भनेर फर्कन मानेन । उल्टै विदेश जाने खर्च माग्यो सन्देशले । मसिनेले विदेश नजान सल्लाह दिँदै बरु आफ्नै भूमिमा केही गरेर बस्नका लागि  चाहिने पैसाको व्यवस्था मिलाइदिने वचन दिए । कसै गरी नमानेपछि  छोरालाई जग्गा धितो राखेर २ लाख रुपैयाँ दिई विदेश पठाए र सन्देश वर्किङ भिसामा विदेश गयो ।

सन्देशले १२ वर्ष काम गरेर कमाएको पैसा सबै चमेलीका नाममा पठायो । चमेलीले सहरमा घडेरी किनेर घरसमेत बनाई । त्यसपछि सन्देश नेपाल फर्क्यो र घर नआई ससुरालीतिर नै गयो तर चमेली त्यहाँ थिइन । उसले ससुरासँग चमेलीका बारेमा सोधखोज गर्‍यो । अर्जुनले चमेली बजारमा घर बनाई बसेको धेरै भयो उहीँ जानु भनिदिए ।

सन्देश चमेली बसेको ठाउँ खोज्दै सहर पस्यो । उसले चमेली बसेको घर सोधेर पहिल्यायो । घरमा जाँदा चमेली अर्कै केटो लिएर बसिरहेकी देख्यो उसले । त्यो देखेर सन्देशले चमेलीसँग सोध्यो‚ ‘यो को हो चमेली  ?

चमेलीले झोकिएर भनी‚ऊ मेरो श्रीमान । देखेनौ सँगै बसेको ? अनि तिमी को हौ ? अरू केही काम थियो कि हामीसँग ?’

सन्देश केही नबोली आश्चर्यचकित भई टोलाइरह्यो । फेरि चमेलीले भनी‚काम नभए आफ्नो बाटो लागिहाल । किन टोलाइरहेको ? अब हामी बाहिर जाने बेलामा साइत बिग्रन्छ । गइहाल छिटो ?’

सन्देश गहभरि आँसु लिएर आफ्नै घर रित्तो हात लिएर फर्क्यो । घरमा आउँदा बा परलोक भइसकेका र आमाको स्थिति रोगले गर्दा ज्यादै नाजुक भएको पायो । जग्गा जमिन सबै उसले विदेश जाँदा लिएको ऋण तिर्न नसकेर साहुले खाएछ । उसले बिलौना गरेर आमासँग माफी माग्यो तर मृत्युको मुखमा जान तयार भएकी आमालाई उसको माफले के गर्न सक्थ्यो र ! आमाको पनि देहान्त भएपछि आफूले गरेको विगतको गल्तीलाई सम्झेर आफैँलाई धिक्कार्दै एक्लो दु:खदायी जीवन रोएर बितायो ।

पोखरा-१०, मिलनटोल, कास्की

 

 

No comments:

Post a Comment