किस्ताबन्दी मृत्योत्सव (लघुकथा) -अल्पविराम - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Monday, August 9, 2021

किस्ताबन्दी मृत्योत्सव (लघुकथा) -अल्पविराम

लघुकथा 

 किस्ताबन्दी मृत्योत्सव

-अल्पविराम


कार्ल मार्क्सको ऊछित्तो काढेर लेखेको एउटा लेख मोबाइलमा पढेपछि प्रसुनलाई केही नौलो काम गर्ने सनक चढ्यो । सहकारीको अधिकृत स्तरको जागिरे र फाट्टफुट्ट साहित्य पनि सिर्जना गर्ने उसले आफ्ना मन मिल्दा साथीहरूलाई फोन गर्दै भन्यो, ‘हेर ए केटा हो ! मैले तिमीहरूलाई एउटा भव्य पार्टी दिँदै छु, सॉझ ७ बजे होटल मिलिजुली भान्छामा आऊनू है ।’ साथीहरूले फोनमा सोधे, ‘केको उपलक्ष्यमा हो ? प्रसुनले ‘सस्पेन्स एण्ड सरप्राइज’ भन्दै टार्‍यो ।

प्रसुनसमेत छ जना होटलमा भेला भए । टेबुलमा खाने पिउने सम्पूर्ण वस्तुहरू सजाइएका थिए । साथमा आकर्षक केक पनि । ‘ए ! आज यसको जन्मदिन रहेछ ।’ साथी सुजनले भन्यो । सबैले हो रैछ हो रैछ भने तर प्रसुनले हाँस्दै भन्यो, ‘आज मेरो महत्त्वपूर्ण पच्चिसौँ वर्षको मृत्यु भएको दिन हो । जन्म दिवस होइन । मृत्युलाई पनि हाँसेरै स्वीकार गर्न सिक्नुपर्छ । यही उपलक्ष्यमा मृत्योत्सव मनाउन तिमीहरूलाई बोलाएको । आजदेखि हरेक वर्ष यसरी नै मृत्योत्सव मनाउने निधो गरेको छु । कस्तो लाग्यो तिमीहरूलाई मेरो आइडिया  ?’ 

साथीहरू सबैले हात हातमा पेग समातेर चियर्स भन्दै एउटै स्वरमा गललल्ल हाँस्दै भने, ‘वन्डरफूल, वन्डरफूल, बट सन्की आइडिया ।

                                                              कथाकार लघुकथा प्रतिष्ठान, नेपालका अध्यक्ष हुनुहुन्छ ।

No comments:

Post a Comment