जनैपूर्णिमा (लेख) – भरतमणि भट्टराई - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Sunday, August 22, 2021

जनैपूर्णिमा (लेख) – भरतमणि भट्टराई

 आलेख

जनैपूर्णिमा

          भरतमणि भट्टराई

हिन्दु परम्पराअनुसार श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने चाडलाई जनैपूर्णिमा भनिन्छ । यस दिन ब्राह्मणहरूले मन्त्रोच्चारण गरी पवित्र यज्ञपवित धारण गर्दछन् । काँचो धागोद्वारा बनाइएको दुई शिखाको जनै धारणबाट ब्राह्मण¸ क्षत्रीय पुरुषहरूले  शारीरिक‚ मानसिक तथा आध्यात्मिक चित्त शुद्धि प्राप्त गर्ने जन विश्वास रहिआएको छ । पवित्र जलाशय वा मठ मन्दिरमा ब्राह्मणहरू शुद्ध भएर मन्त्र वाचन गरी गायत्री मन्त्रले पवित्र बनाइएको धागोलाई नारी तथा पुरुषहरूले ज्वाइँ तथा भान्जाको हातबाट सात वा नौ डोरा धागो लगाउने वैदिक परम्परा रहेको छ । भान्जा तथा ज्वाइँ नभएमा गुरु‚ पुरोहित तथा मन्दिरका पुजारीसँग तागो बाँध्ने गरिन्छ । यस दिन चन्द्रमा अति चहकिलो हुने भएकोले मानवमा असिम कृपा प्राप्त हुने विश्वास गरिने हुँदा तागाधारीहरू विशेषतः शिव र विष्णुको आराधनासमेत गर्ने गर्दछन् । हिन्दु धर्मावलम्बीहरूका चाडहरूको शुभारम्भ नागपञ्चमीलाई माने तापनि जनैपूर्णिमाबाट नै मूल रूपबाट चाडको प्रारम्भ हुने गर्दछ । रोपाइँ लगायतका कामहरू सकेर बिश्रान्ति लिने र मानिसहरू सुरक्षित रहनका लागि रक्षाबन्धन धारण गरेर मिष्ठान्न परिकार खाने यो चाड समग्र चाडहरूको सुरुवातीको पावन अवसर नै मान्ने गरिन्छ ।

आजभोलि मानिसहरू प्रोटिन‚ भिटामिन‚ खनिज तथा आवश्यकीय तत्त्वहरू प्राप्त गर्नका लागि नियमित यस किसिमका परिकारहरू बनाएर खाने गर्दछन् । यस किसिमको परिकारबाट शरीरले शक्ति प्राप्त गर्दछ र यसले शरीर स्वस्थ्य रहन सघाउँछ ।

कपासबाट कातिएको चोखो धागोबाट बाटिएका जनैमा २ वटा शिखाहरू रहेका हुन्छन् । एउटा शिखामा ३ वटा डोरा हुन्छन्‚ जसले ब्रह्मा‚ विष्णु र महेश्वर तथा अर्को शिखामा रहेका ३ डोराले कर्म‚उपासना र ज्ञान योगलाई प्रतिबिम्बित गर्ने विश्वास गरिँदै आइएको शास्त्रका जानकारहरू बताउँदछन् । यस पवित्र यज्ञोपवित धारण गर्ने मानिसले सत्कर्म गरेर नैतिक आचरणमा बस्नुपर्ने र यसबा आफ्ना नित्य कर्मलाई निरन्तरता दिँदै सकारात्मक सोचका साथ अगाडि बढ्न सहयोग पुग्छ भन्ने विश्वास गरिन्छ । हिन्दु संकारअनुसार ब्राम्हण वा ज्वाइँ, भान्जाले तागो बाँध्दा उच्चारण गरिने यस किसिमको मन्त्रले रक्षा गर्ने मान्यता रहेको छ ।

                 “यन बद्धो वलीराजा दानवन्द्रो महा बलम् ।

                   तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ॥”

 

रक्षा बन्धन बाँध्ने बेलामा आशिषस्वरूप भनिने मन्त्रको शाब्दिक अर्थ ´दानवका राजा वलीलाई बाँधिएको रक्षा बन्धनले तपाईँलाई पनि बाँधिएको छ‚ त्यसले तपाईँलाई सधैं रक्षा गरोस् ।΄ आध्यात्मिक मान्यताअनुसार मानवलाई विभिन्न किसिमका बाधाअड्चनबाट जोगाउनका निम्ति रक्षा गर्न ऋषिस्वरूप ब्राह्मणहरूद्वारा मन्त्रद्वारा तर्पण गरी शुद्ध पारिएका तागो वा जनैले रक्षकको काम गर्दछ । यो पवित्र धागो जो कोहीले पनि लगाउँदा स्वास्थ्य र शान्ति प्राप्ति हुन्छ भन्ने विश्वास शास्त्रानुसार पाउन सकिन्छ ।



जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भनिन्छ । ऋषिहरूद्वारा तर्पण दिएर धागोलाई पवित्र बन्धन बनाउने दिन जनै पूर्णिमा भएकाले यसलाई ऋषि तर्पणी भनिएको हो । यस दिन लगाइएको धागोलाई लक्ष्मी पूजाका दिन गाईको गलामा माला बनाएर लगाइदिनाले वा गाईको पुच्छरमा बाँधिदिनाले पुण्य मिल्ने हिन्दु संकारको मान्यता रहेको छ । यति बेला बाँधिएको धागाको डोरालाई अरू बेला चुँडाल्न वा फ्याँक्न नहुने‚ यदि चुँडिन गएमा त्यसलाई तुलसीको मठमा विसर्जन गर्नुपर्ने प्रचलनसमेत रहेको देखिन्छ । यसको मूल कारण तुलसीको मठमा विष्णुको बास हुने भएकाले समयअगावै अञ्जानमा चुँडिन गएको बन्धनको माफी विष्णुले दिन्छन् भन्ने सांस्कारिक मान्यता समाजमा रहेको देखिन्छ ।

यसै दिन दिदीबहिनीले दाजुभाइलाई दाहिने हातमा रङ्गीन फूल जडित धागोले राखी बाँधिदिने प्रचलन रहेको छ । राखी बाँध्दा दिदीबहिनीले सुस्वास्थ्य एवम् दीर्घ जीवनको कामना गर्दैआशिष दिन्छन् भने दाजुभाइले आफूसक्य दान र कपडा दिने चलन छ । यस किसिमको प्रचलन प्रायः नेपालको तराई क्षेत्र‚ केही शहरी इलाका तथा अन्य मुलुक भारत‚ बङ्गलादेशलगायतका स्थानहरूमा रहेको देखिन्छ ।

जनैपूर्णमाका दिन विशेष परिकार गेडागुडीद्वारा तयार गरी खाइने हुनाले यस दिनलाई क्‍वाँटी खाने दिनका रूपमा पनि लिने गरेको पाइन्छ । विशेषतः नेवार जातिमा यो चलन पहिलेदेखि नै प्रचलनमा थियो । हाल आएर सबै जातिका मानिसहरूले क्वाँटी खाने गर्दछन् । क्‍वाः को अर्थ तातो परिकार र ति (टी) को अर्थ झोलिलो वा रसादिलाई बोध गर्दछ । यसले गेडागुडी पकाएर तयार पारिएको तातो झोलिलो परिकारलाई बुझाउँदछ । क्‍वाँटीलाई क्‍वाँति पनि भनिने गरेको पाइन्छ । क्‍वाँटी बनाउँदा ९ प्रकारका गेडागुडीहरू जस्तो मुंग‚ मास‚ भटमास‚ सानोकेराउ‚ मस्याङ्‚ चना‚ सिमी‚ बोडी र बकुल्लालाई उपगोग गरिन्छ । यसरी उमारेर पकाएको झोलिलो मिठो परिकार नै क्‍वाँटी हो । मानिसहरू बर्खाभरि काम गरेर तागत सकिएपछि शरीर तन्दुरुस्त र मजबुत बनाउनका निम्ति यस किसिमको परिकार खाएको हुनुपर्छ । आजभोलि मानिसहरू प्रोटिन‚ भिटामिन‚ खनिज तथा आवश्यकीय तत्त्वहरू प्राप्त गर्नका लागि नियमित यस किसिमका परिकारहरू बनाएर खाने गर्दछन् । यस किसिमको परिकारबाट शरीरले शक्ति प्राप्त गर्दछ र यसले शरीर स्वस्थ्य रहन सघाउँछ ।

हाम्रो संस्कारमा रहेका हरेक प्रचलनमा वैज्ञानिकता रहेको देखिन्छ । आखिर धागोले किन रक्षा गर्दथ्यो र ! तर मानिसलाई नैतिकताको डोरीले बाँधेर विकृति‚ विसङ्गति तथा अमानवीय व्यवहारलाई परित्याग गर्दै आफ्नो जीवनलाई सही मार्गमा डोर्‍याउनका निम्ति वाचाका रूपमा ल्याइएको प्रचलन हो भनेर जान्दा हुन्छ सबैले । आज मान्छे मान्छेको रूपमा नरहनाको एउटा कारण नैतिकतालाई ख्याल नगर्नु नै हो । हिन्दु  संस्कारमा रहेका हाम्रा चलनहरूमा मनोवैज्ञानिकता रहेको छ । त्यसको अन्वेषण गरी सकारात्मक सोचका साथ कर्तव्य पूरा गर्ने गरेमा मात्र मानव सही बाटोमा हिँड्न सक्छ र समाज सुधार हुन गई समग्र देशको परिस्थिति सुध्रेर जान्छ । सबैले जन्मने र मर्नेको ख्याल गरी कर्तव्य र नैतिकतालाई आत्मसात् गरेर जीवन मार्गमा अवतरित हुन सके मात्र सबैको उन्नति‚ प्रगति र विकास भई समतामूलक समाजको सिर्जना हुन जान्छ । स्वच्छ र सुन्दर समाजको निर्माणमा आजकै दिनदेखि लाग्न यस ऋषि तर्पणीले सबै मानव जातिहरूमा सद्‍बुद्धि प्रदान गरोस्‚ सम्पूर्ण जनमानसहरूमा रक्षाबन्धनको शुभकामना ।

 

पोखरा–१०‚ मिलनटोल‚ कास्की ।

 

 

 

 

No comments:

Post a Comment