कविताको उज्यालो –रमेश श्रेष्ठ - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, July 3, 2021

कविताको उज्यालो –रमेश श्रेष्ठ

 कविताको उज्यालो

                                   –रमेश श्रेष्ठ

   


सदनबाट लखेटिएको मान्छेको सपनाको
हत्या भएको छ
सडकमा,
पृथ्वीको सम्पूर्ण प्रार्थना
आँसुको आहाल भएर
रोइरहेका छन् छहराहरूमा,

झण्डा च्यात्ने नारा
अकस्मात जन्मिएको छ गणितबाट,
सिमाना–
किशोरीझैं बलात्कृत भैरहेको छ मरुभूमिको आँखामा,
अस्तित्वको सौन्दर्य
कैद छ रातको अन्धकारमा
मान्छे किन्ने र बेच्नेहरूको बिगबिगी
बढेको छ गरिबीसँग सँगै

प्रत्येक दिन मानिसको ईश्वर
मर्न डराएर
भैरहेको छ पागल,

आज
किन रोकियो बतास ?
किन थामियो वर्षा ?
किन मौन छ आगा ?

मानिसहरू देश खोज्न
पर्खिरहेका छन्
कविताको उज्यालो ।

No comments:

Post a Comment