हिउँ फुल्ने गाउँहरू (कविता) –कृष्ण उदासी - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, July 3, 2021

हिउँ फुल्ने गाउँहरू (कविता) –कृष्ण उदासी

 

हिउँ फुल्ने गाउँहरु

                                       –कृष्ण उदासी




शिरमाथि सगरमाथा, हत्केलामा सुनाखरी
ओठभरि लालीगुराँस पाखाभरि प्याउली फुली
जब देशले बोलाउँछ, निद्रामा नि ब्युँझिदिन्छु
लालुपाते फूल टिपी सिउँदोभरि सिउरिदिन्छु ।

लेखिदिन्छु फूलफूल, पातपात नाउँहरु
यो देशमा कहाँ छैनन् हिउँ फुल्ने गाउँहरू ।

मेचीदेखि कालीसम्म, मधेसदेखि भोटसम्म
उत्साह र उमङ्गका ज्योतिहरु बालिदिन्छु
काँडा फुल्ने पहाड बढे खनीखोस्री ढालिदिन्छु
अबेरै होस्, हत्याहिंसा आतङ्कलाई फालिदिन्छु ।

लेखिदिन्छु फूलफूल, पातपात नाउँहरु
यो देशमा कहाँ छैनन् हिउँ फुल्ने गाउँहरू ।

मादलुको घिन्ताङमा, खैंजडी र मुजुरामा
सिर्जनाका नयाँनयाँ गीतहरु गाइदिन्छु
हिमालको छोरो म त हिउँजस्तै हाँसिदिन्छु
चन्द्रसूर्यजस्तो अमर मायाप्रीति गाँसिदिन्छु ।

लेखिदिन्छु फूलफूल, पातपात नाउँहरु
यो देशमा कहाँ छैनन् हिउँ फुल्ने गाउँहरू ।

मित्र आई झुक्यो भने सम्मानले उठाउँछु
शत्रु आई लुक्यो भने दैलैबाट भगाउँछु
पहरामा पनि जल–धारा बनी रसाउँछु
थोत्राफोस्रा नियम च्याती, नयाँ युग बसाउँछु ।

लेखिदिन्छु फूलफूल, पातपात नाउँहरू
यो देशमा कहाँ छैनन् हिउँ फुल्ने गाउँहरू।

(सम्मोहन साहित्यिक पत्रिकाबाट प्रकाशित कवि उदासीको कवितासङ्ग्रह ‘हिउँ फुल्ने गाउँहरू’बाट)

No comments:

Post a Comment