अक्षरयात्रा- लक्ष्मण थापा - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, July 3, 2021

अक्षरयात्रा- लक्ष्मण थापा

साहित्यिक अभियान

          अक्षरयात्रा

                                                                –लक्ष्मण थापा


जीवन यात्रा हो र यात्रा जीवन हो । जीवनमा गति हुन्छ, गति हुनुपर्छ । गतिविहीन जीवन, जीवन हुन सक्दैन । गतिले नै जीवनलाई जीवन्त बनाउँछ । जीवनले गति प्राप्त गर्न यात्रा हुनुपर्छ । पोखराको पानीझैं एक ठाउँमा मात्र जमेर बस्दा कीटाणु पैदा हुन्छ । जीवन नदीझैं गतिमय हुनुपर्छ । नदीझैं यात्रामय हुनुपर्छ अनि पो सँगालिन्छ जीवन अनि पो अनुभवरुपी अजस्र ज्ञान प्राप्त गर्छ जीवनले । चट्टानसँग ठोकिन्छ र सङ्लिन्छ नदी । पहाडसँग पैठेजोरी खेल्छ र स्वच्छ हुन्छ नदी । नदी यात्रारत हुन्छ, उसको गन्तव्य समुन्द्र हो । गन्तव्यमा पुग्न हतारिने नदीले हामीलाई पाठ पढाइरहन्छ कि गन्तव्यमा पुग्न सजिलो हुँदैन । अनेक हण्डरहरु खानुपर्छ, गोता पाउनुपर्छ, पछारिनुपर्छ, जुध्नुपर्छ, कहिले धमिलिनुपर्छ, । नदी सङ्घर्षको प्रतीक हो । नदी नुनिलो समुन्द्रमा पुगी समुन्द्रको अस्तित्वमा बिलाउँछ । समुन्द्रको गन्तव्य आकास हो । समुन्द्र आकासको यात्रामा लालायित रहन्छ । पानीको अस्तित्वमा लालायित रहन्छ । पानीमा अस्तित्व वाष्पीकरण भै आकासमा पुग्छ । बादल बन्दछ । बादल धर्तीको कोख चुम्न आतुर रहन्छ । वाफ भई नुनिलो पानी जब आकासमा पुग्छ, तब मिठोमा रुपान्तरण भै धर्तीमै झर्दछ र जीवनलाई हरियालीपूर्ण बनाउँछ त्यसैले जीवन यात्रा हो । जीवन भोगाइहरुको यात्रा हो । यात्राले जीवनलाई जगत्को यथार्थबोध गराउँछ । 
अक्षर भावना हुन् । भावना अक्षरका माध्यमले अभिव्यक्त हुन्छन् । अक्षरबिना टाढाका, अपरिचित, अन्जान र अन्य देशका मानिसका भावना बुझ्न सकिँदैन । नभोगेका ऐतिहासिक युग अक्षरको माध्यमबाट बुझिन्छन् । अनुभूति नगरेका समय र स्थानहरु अक्षरका माध्यमबाट अनुभूत गरिन्छ । अक्षरहरु गतिशील हुन्छन् । अक्षरहरु अन्तरिक्षमा बडो जोडसँग दौडिरहेका हुन्छ । अक्षरहरुको आफ्नो धर्म हुन्छ । कहिले यात्राले अक्षरहरुलाई डो¥याइरहेका हुन्छन् जसले जसलाई डो¥याएका भए तापनि दुवैको सहयात्रा हो अक्षरयात्रा । 
अक्षरयात्रा एउटा सिर्जनाको यात्रा हो । अक्षरयात्रा एउटा साहित्यको यात्राा हो । अक्षरयात्रा एउटा आन्दोलनकारी यात्रा हो । आन्दोलन परिवर्तनका लागि गरिन्छ । आन्दोलन यथास्थितिको विरुद्ध गरिन्छ । आन्दोलन नवीन युगको उदयका लागि गरिन्छ । आन्दोलन क्रान्तिका लागि गरिन्छ । क्रान्ति भन्नेबित्तिकै हिंसा हुन्छ भन्ने बुझिन्छ । क्रान्तिमा रक्तपात हुन्छ भनेर डराइन्छ । क्रान्तिमा बर्बरताको उल्कापात हुन्छ भनेर सोचिन्छ । हो, विश्वका राजनीतिक क्रान्तिहरु रक्तपातपूर्ण भएका छन् । हिंस्रक भएका छन् । रगतका खोलाहरु बगेका छन् । विपक्षलाई निमिट्यान्न पारिएका छन् । प्रतिपक्षको अस्तित्वको जरा उखेलिएको छ । अस्तित्व नै मास्ने दुष्प्रयास गरिएको छ तर सिर्जनात्मक क्रान्तिमा त्यो कुरुपता हुँदैन । सिर्जनात्मक क्रान्ति त्यस्तो भयावह हुँदैन । यसमा कोलाहल हुँदैन । हल्ला हुँदैन । घात र प्रतिघात हुँदैन । इश्र्या र दम्भ पनि हुँदैन । यो त शातिपूर्वक गरिने तपस्या हो । चुपचाप गरिन्छ । दिगो परिवर्तन आउँछ । नयाँ मूल्य र मान्यताको स्थापना गर्दछ र विश्व सप्तरङ्गी सुन्दरताका आभाहरुमा स्नान गर्दै अगाडि बढ्छ । नयाँ गन्तव्यको यात्रामा यात्रारत हुन्छ । त्यस्तै सिर्जनाको सुरुचिपूर्ण आन्दोलन हो अक्षरयात्रा । 

हुन त विश्व साहित्यमा मात्रै हैन, नेपाली साहित्यमा पनि अनेक आन्दोलन गरिएका छन् । साहित्यिक आन्दोलनले राजनीतिक आन्दोलनलार्ई दिशाबोध गरेका छन् । युगान्तकारी परिवर्तनका लागि कोशेढुङ्गाको काम गरेका छन् । साहित्यिक आन्दोलनबिना राजनैतिक आन्दोलन अन्धो हुन्छ । अन्धोले गन्तव्य थाहा पाउन सक्दैन । सामाजिक परिवर्तनको द्योतक हो साहित्य । हुन त साहित्य स्वयम् आन्दोलन हो । साहित्यलाई कुनै आन्दोलनको खोल ओढाइरहनु आवश्यक छैन । साहित्य जहिले पनि परिवर्तनकारी हुन्छ । साहित्य जहिले पनि युगान्तकारी हुन्छ तैपनि कहिलेकाहीँ आन्दोलनभित्रको आन्दोलन गर्नुपर्ने हुन्छ । त्यस्तै एउटा आन्दोलन हो अक्षरयात्रा । 
पोखरा आफँैमा सौन्दर्यको अनुपम खानी हो । सौन्दर्यको अमृत पोखरा वरिपरि छताछुल्ल छ । सौन्दर्य आफैँ सिर्जना हो । सिर्जना जहिले पनि सौन्दर्यमय हुन्छन् त्यसैले पोखरेली मनहरु सिर्जनशील छन् र यो सिर्जनाको प्रवाहलाई पञ्चायती शासनकालका बाँध बाँधेर थुन्ने दुष्प्रयास गरेको भए तापनि त्यो बाँध ४६ सालमा फुट्यो । सिर्जनात्मक बन्धन टुटेपछि खुल्ला, स्वतन्त्र र स्वच्छन्द वातावरणले साहित्य सिर्जनाको प्रवाहमा तीब्रता आउन थाल्यो । यसै परिवेशमा पोखरामा क्रियाशील पुराना साहित्यिक संस्थाले सबैलाई समेट्न नसक्ने अवस्था आएकोले नवनीत साहित्य सागर वि.सं. २०५७ सालमा स्थापना भयो । त्यसको दुई वर्षपछि २०५९ सालमा गजल सन्ध्या र २०६० सालमा भावना परिवारको स्थापना भई आ–आफ्नो गतिविधि अगाडि बढाउन थाले । यिनीहरुका आफ्ना नियमित कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस भइरहेको थियो । 
पोखरालाई कार्यथलो बनाइ लामो समयदेखि सिर्जना यात्रामा यात्रारत वरिष्ठ गीतकार, गजलकार तथा कवि प्रकट पगेनी ‘शिव’ त्यति बेला ली वर्डको जागिर छोडेर पोखरा उपमहानगरपालिकाको कार्यालयअगाडि ‘पगेनी आर्ट मिडिया’ खोली स्वतन्त्र व्यवसाय सुरु गरेका हुनाले हाम्रो जमघटको ठाउँ त्यही भएको थियो । पोखराकै अर्का युवा ओजश्वी, सिर्जनशील र उत्साही साहित्यकार दीपक समीप तथा अर्का युवा खरो स्वभाव र सिर्जनाधर्मितामा चुर्लुम्म डुबेका, विशेष गरी नाटकका क्षेत्रमा आÇनो क्षमताको प्रदर्शन गर्न सक्षम साहित्यकार कृष्ण उदासी र यो पङ्तिकारको ‘केही यात्रा होस्, केही जमघट होस्, केही सिर्जना होस्, केही नवीनताको अनभूति होस् र जहाँजहाँ गइन्छ, त्यो ठाउँको चर्चा पनि होस् । त्यहाँको पर्यटन विकासमा समेत सघाउ पुगोस्’ भनी नियमित साहित्यिक यात्राको कार्यक्रम गर्ने निर्णय गरी त्यसको न्वारन गरियो र न्वारनको नाम राखियो अक्षरयात्रा । 
‘अक्षरयात्रा’ कार्यक्रम एकल संस्था वा व्यक्तिको अभिव्यक्ति हैन । यो सामूहिकताको भावनामा आधारित कार्यक्रम हो । संस्था भिन्दाभिन्दै हुन सक्छन् । संस्थाका दृष्टिकोण फरक पर्न सक्छन् तैपनि समान उद्देश्य लिएर गठन गरिएका संस्थाहरुले साझा कार्यक्रम सञ्चालन गर्न सक्छन् । यसै भावनाको अभिव्यक्ति अक्षरयात्राले गरेको छ । नवनीति साहित्य सागर, गजल सन्ध्या र भावना परिवारले हलो कोदालो र मलजल गरी बियाड तयार गरेर अक्षरयात्राको बिउ छरी खेती गर्न थाले र यसको शुभारम्भ भयो । वि. सं. २०६२ साल असार १८ गते सुन्दरी डाँडाबाट प्रख्यात तालहरु वेगनास ताल र रुपातालको साँध बनेर बसेको पुण्यभूमि, शान्तिभूमि र सिर्जनाको भूमि सुन्दरी डाँडाबाट थालनी गरिएको यात्राले धेरै ठाउँलाई आफ्नो गन्तव्य बनाइसकेको छ । 
अक्षरयात्रा पोखरेली साहित्यकारहरुको प्रिथ कार्यक्रम भइसकेको छ । यस यात्रामा सहभागी नभएका साहित्यकारहरु कास्की जिल्लामा त विरलै होलान् । छिमेकी पर्वत, बाग्लुङ, स्याङ्जा, तनहुँ, लमजुङलगायत जिल्लाका चर्चित र नवोदित साहित्यकाहरु यसका यात्री भइसकेका छन् । युवा र नवप्रवेशीहरुका लागि त यो कार्यक्रम शीलत चौतारी बनेको छ । कहीं कतै क्रम टुटेको छैन । यात्राको पचासौं शङ्खलालाई स्वर्ण शृङ्खलाको रुपमा सुन्दरी डाँडामै विशेष कार्यक्रम गरी मनाउनका साथै अक्षरयात्रा घोषणपत्र २०६६ जारी गरियो । सो घोषणापत्रमा  अक्षरयात्राका उद्देश्यहरु पनि सार्वजनिक गरियो । 
अक्षरयात्राका उद्देश्यहरुः
१. मासिक रुपमा साहित्यक भेटघाट गर्ने । 
२. मासिक रुपमा साहित्यिक यात्रा गर्ने । 
३. अक्षरयात्राका क्रममा तत्स्थानका अनुभूतिहरुलाई समेटेर तत्स्थानमै साहित्य सिर्जना गरी सुन्ने÷सुनाउने । 
४. पर्यटकीय स्थलहरुका प्राकृतिक, ऐतिहासिक आदि महत्वलाई जनसमक्ष पु¥याउने । 
५. साहित्यिक पर्यटन पद्धतिको विकास गर्ने ।
६. साहित्यलाई समाज रुपान्तरण र क्रान्तिको सम्वाहक बनाउने ।  
७. स्थानीय जनसमुदाय र साहित्यकारहरुबीच सम्पर्क र सम्बन्ध स्थापित गर्ने । 
८. नवोदित साहित्यकारहरुलाई प्रेरणा र प्रोत्साहन दिने । 
९. ओझेलमा परेका पर्यटकीय स्थलहरुलाई प्रकाशमा ल्याउने । 
१०. नवोदित र अग्रज पुस्ताबीचको दूरी घटाउने । 
११. पर्यटकीय सम्भावनाको खोजी र साहित्यमार्फत् उजागर गर्ने । 
१२. जनजीवनका यथार्थ वस्तुस्थितिका आधारमा साहित्य सिर्जना पद्धतिको विकास गर्ने । 
अन्य यस्तैयस्तै प्रकारका कार्यक्रम पनि देशभरि पर्याप्त रुपमा सञ्चालन भइरहेका छन् तैपनि अन्य कार्यक्रम र अक्षरयात्राका बीचमा केही भिन्नता पनि छन् । अतः यस कार्यक्रमका विशेषताहरु तपसिल बमोजिम रहेका छन्ः 
१. गजल सन्ध्या, नवनीत साहित्य सागर र भावना परिवारजस्ता तीनवटा संस्थाद्वारा संयुक्त रुपमा सञ्चालित ।   
  (हाल गजल सन्ध्या र नवनीत साहित्य सागर दुई संस्थाबाट मात्र सञ्चालित ।)
२. सामूहिक नेतृत्वको सिद्धान्तमा सञ्चालित ।
३. सह–अस्तित्वको सिद्धान्तमा आधारित ।
४. प्रत्येक महिनाको तेस्रो शनिबार साहित्यिक यात्रा । 
५. सर्वसम्मत निर्णयको आधारमा गन्तव्य निर्धारण ।
६. प्रजातान्त्रिक पद्धतिमा आधारित ।
७. साहित्य र पर्यटनबीच सम्बन्ध स्थापना ।
८. यात्राको आर्थिक भार सहभागीहरुबाटै जुटाइने । 
यात्रा निरन्तरता हो । जसरी समय निरन्तर अगाडि बढिरहन्छ जसरी नदी निरन्तर बगिरहन्छ, जसरी सूर्य र चन्द्रमाले यात्रा गरिरहन्छन्, त्यसैगरी यात्रीहरु पनि अगाडि बढिरहन्छन् । सो क्रममा कोही छुट्छन् तर यात्रा टुट्दैन । कोही भेटिन्छन्, तर यात्रा रोकिँदैन किनकि रोकिनुको नाम यात्रा हैन । यात्रामा विश्राम हुन सक्छ तर क्रमभङ्गता हुँदैन । यसै पाटोमा हाम्रा सहयात्राी संस्था भावना परिवार छुटेको छ जसको अध्यक्ष सुषमा पौडेलले यात्रालाई स्वर्ण शङ्खलासम्म पु¥याउन सक्षम भए तापनि उनले र उनको संस्थाले यात्राबाट विश्राम लिए । तीनैवट संस्था निरन्तर सँगसँगै यात्रारत रहन पाएको भए निश्चय नै यात्रा अझ सुखद् रहने थियो । 
सुन्दरीडाँडाबाट सुरु भएको यात्रा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, अनदुडाँडा, तालबाराही, महेन्द्रपुल, नदीपुरपार्क, डेभिजफल्स, माटेपानी, गुम्बा, गुप्तेश्वर गुफा, विन्ध्यवासिनी मन्दिर, वेगनास ताल, धम्पुस देउराली, कृस्ति नाच्नेचौर, चमेरे गुफा, बन्दीपुर (तनहुँ), कुश्मा (पर्वत) सराङकोट, पामे, मट्टिखान, लुम्ले, देउराली उकाली, फेवा पावरहाउस, दिपाङताल, काहुँखोला, मनकामना मन्दिर (गोर्खा), नदीपुर पराजुलीचौर, कार्कीडाँडा, बेसीसहर (लमजुङ), वेगनासताल, लभ्लीडाँडा, सार्दिखोला, लामागाउँ, भद्रकाली मन्दिर, हेमजा, शान्ति वनवाटिका, बाँगे फड्के (स्याङ्जा), लेखनाथ माझीकुना, अर्घौंअर्चले, ढोरबाराही (तनहुँ), चमेरे गुफा, जैमुरे, टाइगरटप लेखनाथ, पोखरा भ्यू पोइन्ट, ढुङ्गे साँघु, भरतपोखरी, घाचोक, ड्यामसाइड (फेवाताल), हरियोखर्क, चन्द्रकोट, कुमारी गुफा, कास्कीकोट, पुरुन्चौर, दिपाङताल, छोरेपाटन, ओशो तपोवन, दोविल्ला, कमलपोखरी, बडरबोट बाटुलेचौर, नारायणस्थान पोखरा, मालेपाटन, अन्तर्राष्ट्रिय विमानस्थाल, पोखरा, पोखरा विमानस्थाल, घाँसीकुवा (तनहुँ), मेथलाङ, पाउँदुरकोट, भलाम ¥यालेचौर, हरिहर गुफा, केदारेश्वर मन्दिर, हेमजा विष्णुपादुका, पुम्दीकोटमा गरिसकिएको छ र यो यात्राले ९४ औं शृङ्खला पार गरिसकेर अगाडि बढिरहेको छ । यस क्रममा विभिन्न जिल्लाका विभिन्न साहित्यिक संस्था, क्लब, आमा समूह आदिसँग सहकार्य गरिसकेको छ भने अनेकौं स्रष्टा सहभागी भई हजारौं कविता, गजल, मुक्तक आदि सिर्जना गरी वाचन तथा प्रकाशन भइसकेका छन् । 
यो यात्रा त्यति सजिलै अगाडि बढिरहेको छैन, त्यसमा सहभागी संस्था र त्यसका पदाधिकारीहरुको अथक परिश्रम छ । सुषमा पौडेल, दिलिप दोषी, रुपिन्द्र प्रभावी ‘कटु’, कपिल शर्मा ‘सञ्जोग’, गजल सन्ध्याका हालका अध्यक्ष मन क्षेत्रीलगायत अन्य पदाधिकारी र साहित्यकारहरु ईश्वरमणि अधिकारी, जीवन सागर भण्डारी, बलराम पूर्णविराम, विष्णु अल्पविरामलगायत साहित्यकारहरु आयोजक संस्थाका कुनै पदमा नरहेर पनि निरन्तर यात्रारत भएकोले यात्रा अविरल ओजपूर्ण हुन सकेको छ । सरुभक्त र तीर्थ श्रेष्ठजस्ता अग्रणी साहित्यकारहरु पनि समय समयमा यात्रामा समावेश भई गरिमा बढाएका छन् । गोविन्द गिरी र कृष्ण देवकोटाजस्ता उत्साही र मनकारी युवाहरुले सानै रकमको भए पनि अक्षयकोष स्थापना गरी अक्षरयात्रा प्रतिभा पुरस्कार दिने चाँजोपाँजो मिलाइदिएर ठूलो गुन लगाएका छन् । 
जीवन र जगत्को यथार्थबोधका लागि अक्षरयात्रा भन्ने उद्घोषका साथ अगाडि बढेको अक्षरयात्राले साँच्ची नै जीवनको यथाथबोध गराएको छ र जगत्लाई पनि बुझ्ने प्रयास गरेको छ । भोगाइ सबैभन्दा गतिलो शिक्षा हो । यथार्थको भोगाइ वास्तवमा ओखरजस्तो हुन्छ† बाहिर अति कडा र फुटाल्न सक्यो भने भित्र नरम । नरम मात्र हैन मिठो र पोसिलो पनि । अक्षरयात्रा ओखरजस्तै हो । यो कडा छ, गाह्रो छ, सङ्घर्षपूर्ण छ, कठिन छ तर यसको अनूभूति सुखद् छ । यो पहाड चढेजस्तै छ । उकालो उक्लेर टुप्पोमा पुग्न कठिन लाग्छ तर जब टुप्पोमा पुगिन्छ अनि सबै दुःखहरु बिर्साइदिने सौन्दर्यको अनुभूति गर्न पाइन्छ । यो यात्राले पर्यटकीय विकासमा पनि उत्तिकै योगदान दिएकोे ठहर धेरै समालोचक र साहित्यकारहरुको छ† यसका मट्टिखानजस्ता उदाहरणहरु पनि जिउँदोजाग्दो नै छन् । यसले यात्रा साहित्यलाई पनि उत्तिकै मद्दत पु¥याएको छ । आगामी दिनहरुमा अक्षरयात्रा अझै अगाडि बढ्दै गई नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिने अपेक्षा गर्न सकिने ठाउँहरु प्रशस्त छन् । 



(लेखक अक्षरयात्रा सञ्चालक संस्थामध्ये एक नवनीत साहित्य सागरका अध्यक्ष हुनुहुन्छ ।)

No comments:

Post a Comment