सम्मोहन साहित्यिक पत्रिकामाथिको प्रदक्षिणा - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Sunday, September 29, 2013

सम्मोहन साहित्यिक पत्रिकामाथिको प्रदक्षिणा

सम्मोहन साहित्यिक पत्रिकामाथिको प्रदक्षिणा

-राजिन पनेरू

पहिचानः 
साहित्येतिहासिक दस्ताबेजको रूपमा सम्मोहनको पहिलो अंक आफ्नो अलग्गै पहिचान स्थापनार्थ नेपाली साहित्य पारखी, स्रष्टा तथा द्रष्टाका सामु अवतिरत भएको छ । त्रैमासिक प्रकाशन लक्ष्य
राखी पहिलो अंक प्रकाशन गरिसकेको सम्मोहनको शीर्षक अभिधात्मक अर्थमा मान्छेको मनलाई वशीकरणमा राख्नु भन्ने हुन्छ । ‘मोहन’ शब्दमा ‘सम्’ उपसर्ग लागी ‘सम्मोहन’ शब्दको निर्माण भएको हो । सम्मोहन नेपाली साहित्यपारखीलाई सम्मोहित गराउँदै साहित्यको उचित विकास र विस्तारमा टेवा पु¥याउने मूल हेतुका साथ जि.प्र.का. कास्कीको द.नं. २९६÷०६९÷०७० को दायराभित्र रही विधिवत् रूपमा जन्मिएको साहित्यिक पत्रिका हो । यसको पहिलो अंक विभिन्न दृष्टिकोणले महत्त्वपूर्ण देखिन्छ । जीवन र जगत्लाई हेर्ने फरक दृष्टिकोण यसको मूलभूत विशेषता हो । यसै जगमा  टेकी  सम्मोहन विस्तारै आफ्नो मार्गलाई प्रशस्त गर्न सबल बन्दै छ । यसले नेपाली साहित्यको श्रीबृद्धिमा कस्तो योगदान दिन्छ ? भन्ने प्रश्नलाई पत्रिकाको आगामी प्रकाशनहरुले पुष्टि गर्नेछन् परन्तु पहिलो अंकलाई पनि योगदानको आभ्यासिक चरणमा राखी अध्ययन गर्न आवश्यक छ । साहित्यकार तथा सञ्चारकर्मी रुपिन्द्र प्रभावी ‘कटु’, प्रधान सम्पादक तथा प्रकाशक रहेको यस पत्रिकाका सम्पादकहरुमा अल्पज्ञानी, कपिल शर्मा सञ्जोग र सुरज उपाध्याय, सहसम्पादकहरुमा उदिपराज ढुंगाना र रामचन्द्र अधिकारी, तथा व्यवस्थापकमा गणेश पौडेल रहेका छन् । यस लेखको मूल उद्देश्य सम्मोहनको पहिलो अंकको समग्र मूल्याङ्कन हो । पत्रिकामा क–कसका कुन–कुन विधाका लेखरचना समावेश गरिएको छ भन्नुभन्दा पनि यसमा प्रकाशित रचनाको कस्तो मूल्य रहेको छ र समग्रमा यसको शक्ति तथा सीमा के देखिन्छ भनी खोज्नु आवश्यक देखिन्छ । यही आधारमा पोख्रेली साहित्यिक पत्रिका सम्मोहनमाथि प्रदक्षिणा गरिएको छ ।

प्रदक्षिणाः
कूल १०४ पृष्ठभित्र सम्मोहन बाँधिएको छ । यसमा साहित्यका चारै विधा (आख्यान, नाटक, कविता र निबन्ध) सँगै संवार्ता, स्रष्टा परिचय, साहित्यिक गतिविधिजस्ता बहुआयामिक विधाको एकमुष्ठ बिजको सन्धान भएको छ । यसमा सम्पादकीयबाहेक देश–विदेशका विभिन्न भागका ६५ स्रष्टाहरुका विभिन्न विधाका मूल्यवान् रचनाहरु समावेश गरिएका छन् जुन प्रत्यक्ष वा परोक्ष रूपमा जीवन र जगत्सँग सम्बन्धित देखिन्छन् । आजको साहित्य चिन्तन कम, ज्यादा चिन्ताको मार्गमा दौडिरहेको देखिन्छ । कोही साहित्यलाई वर्गको घेरामा राख्नुहुँदैन वा साहित्यको कुनै वाद हुँदैन भन्ने मान्यता बोकी त्यसको वकालत गर्दछन् त कोही साहित्य वर्गीय हुन्छ र यसले निश्चित वादलाई अँगालेको हुन्छ भनी वकालत गर्छन् । अर्थात्, डम्फु आ–आफ्नो बज्छ । संगीत आ–आफ्नै गुञ्जिन्छ । तालअनुसारको शब्द मिले नमिलेको लेखाजोखा गर्ने खाँटी मूल्यबेत्ता भने पाठक वा स्रोता नै हुन् । ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न सक्ने आँट पाठक वा स्रोतामा हुनैपर्छ । यो गुण नभएकालाई असल सिर्जनाको असल पाठक वा स्रोता मान्न सकिँदैन । सन्दर्भ सम्मोहनको अध्ययन र एउटा पाठकको प्रतिक्रियासँग सम्बन्धित गर्नु हो । प्रस्तुत पत्रिकाका प्रत्येक रचनाहरुको गर्भलाई केलाउने हो भने यो लेख पुस्तकको रूपमा परिणत हुन सक्छ । उसो त टाउके लेखाइ गर्नु पनि राम्रो होइन । यो मानेमा पत्रिकाले टेकेको धरातल र त्यो धरातलमा उब्जिएका अनाजहरुको स्वरुप निर्धारण गरी यसको ऐतिहासिक मूल्यको खोजी गर्नु नै यस लेखको धर्म हो । यसै सीमामा यो पंक्तिकार उभिएको छ । 
पत्रिकामा समावेश भएका सबै सर्जकका रचनाहरु साहित्यिक मूल्यका दृष्टिले अब्बल छन् वा दोयम त्यो द्रष्टाको दृष्टिले निर्धारण गर्दछन् । यो मानेमा मेरो दृष्टिमा सम्मोहनको पहिलो अंकमा समावेश गरिएका सिर्जनाहरु उत्कृष्ट छन्, सुन्दर छन् र कतिपय रचनाहरु परिमार्जित भएमा अझ सुन्दर हुने देखिन्छन् । उसो त सिर्जनाको कुनै श्रेणी हुँदैन । आमाले जन्म दिने सन्तानजस्तै सर्जकका सिर्जना पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । जसरी आमाका सन्तान कोही होचा कद, कोही अग्ला, कोही काला, कोही गोरा वर्ण आदिबाट चिनिन्छन्, त्यस्तै सर्जकका सिर्जना पनि । मेरो दृष्टिमा आमाका सन्तान र सर्जकका सिर्जना उस्तै हुन् । सम्मोहनका पहिला सन्तानहरु सुन्दर छन्, आशालाग्दा छन्, परिवर्तनशील छन् र जाँगरिला र समावेशी पनि । कति सन्तानहरु अभ्यस्त छन् त कति सन्तानहरु साधनारत । जीवन र जगतको वशीकरणमा द्रवीभूत भएका चित्तहरु सम्मोहनमा समाहित भएका छन् । सम्पूर्ण पत्रिकाको अध्ययनमा सबैभन्दा प्रभावित तुल्याएको छ, पत्रिकाका सहसम्पादक अल्पज्ञानीद्वारा प्रस्तुत बगरे कवि इन्द्र राना ‘प्रतीक’ को जीवनगाथाले । अल्पज्ञानीको निम्नवर्गीय कविमाथि पुगेको दृष्टि पत्रिकाको निम्ति एउटा इतिहास बनेको छ र यसलाई मार्गनिर्देशनको रूपमा आम लेखकहरुले बुझ्न जरुरी छ । पत्रिकाको प्रकाशनसँगै एउटा मानवताको रक्षा ग¥यो सम्मोहन टिमले । अर्थात्, जीवन र मृत्युको दोसाँधमा छट्पटाइरहेकी  बगरे कवि इन्द्र राना ‘प्रतीक’ की जीवनसंगीनीलाई मुत्युबाट बचाउने कामसमेत गरी मानवताको रक्षामा सम्मोहन टिम लाग्नुले पक्कै पनि महत्त्वपूर्ण इतिहास कायम गर्दछ भन्ने मेरो बुझाइ हो । साहित्यमा यस्तो थालनी सायदै भएका छन् । यसले स्रष्टाहरु दुःखीका कथा–व्यथा लेख्दैनन् मात्रै, उनीहरुको भौतिक संकटलाई छेक्ने यत्नमा पनि लागिपर्दछन् भन्ने पुष्टि गराएको छ । अभिजात्य वर्गको गुनगान गाएर पैसा, पद र प्रतिष्ठाको तीन ‘प’ मा भुलिरहेको समाजको अगाडि सम्मोहनमार्पmत् उठाइएको सिर्जनाको बन्दुक, इन्द्र राना ‘प्रतीक’ जस्ता निमुखा प्रतिभाको हकहितका निम्ति पड्काइनु जरुरी छ । यो साहस सम्मोहनले गरेको छ । अर्को प्रशंसनीय कर्म हो, पत्रिकाद्वारा भारतबासी नेपाली स्रष्टा तथा चिन्तक भविलाल लामिछानेसँग लिइएको संवार्ता । अन्तर्वार्ता नै संवार्ता हो । यसले प्रवासी नेपालीहरुको पीडालाई मात्र द्योतन गरेको छैन कि समग्र नेपाल र नेपालीको राष्ट्रियतामाथि पर्न सक्ने भावी खतराको संकेत गर्दै सम्पूर्ण नेपालीहरुलाई एकताको सूत्रमा बाँधिन आह्वान गरेको छ । मनोज घर्तीमगरको पोखरेली रङ्गमञ्चीय इतिहासको पृष्ठभूमिसहितको वर्तमान नाट्यगतिविधि, लक्ष्मण थापाको अक्षरयात्राको गतिविधि, मिश्र बैजयन्तीको हाइकुको लेखन सन्दर्भ, सुरज उपाध्यायको चित्रकार यादवचन्द्र भुर्तेलको नांगो चित्रकारिता, असफल गौतमको कवि कुलबहादुर केसीको सम्झना, कर्मयुगको भूपिनको चौबीस रिलमाथिको समीक्षा र खगेन्द्र गिरी ‘कोपिला’ को रतनजंगका कथामाथिको चर्चाले समालोचनाको व्याख्यात्मक, ऐतिहासिक, प्रभावात्मकजस्ता प्रकारहरुलाई अँगाली त्यसैको आधारमा संक्षिप्त विश्लेषण गरिएको देखिन्छ । 
मृगौला प्रत्यारोपणपछिको जीवनचक्रमा उभिएका तीर्थ गुरुङको अनुभव, मनिषा गौचनको यात्रासँगै जन्मिएको दोविल्लाको नारी सम्बन्ध, रुद्र ज्ञवालीको अरबी पीडाको पात्र सान्या अर्थात् सुनिताको वेदना आदि वर्तमान मानिसका जीवनसँग सम्बन्धित पाटाहरु हुन् । सम्मोहनमा मदन पुरस्कार विजेता द्वय सरुभक्त तथा कृष्ण धराबासीदेखि व्यङ्ग्य लेखक तथा कवि विश्व शाक्यसम्मका रचनाहरु समावेश गरिएका छन् । सम्मोहनमा प्रकाशित कविता होस् या त गीत, जापानी तीन हरफे कविता अर्थात् हाइकु होस् या त रुवाइयात छन्दको मुक्तक नै, उर्दू–फारसी–हिन्दी प्रभावबाट विकसित हुँदै मोतिरामले भित्र्याएको गजल होस् या त एकाङ्की नै, प्रत्येक रचनामा जीवन र जगत्को प्रत्यक्ष वा परोक्ष सम्बन्ध छ । अनुभव वा अनुभूति, आलेख होस् वा त अन्य लेख यसले पाठकमा एउटा न एउटा बिम्ब छाडेको छ, यसका निम्ति को सर्जक अग्रज या अनुज, को अभ्यस्त या को सिकारु, सबै सम्बन्धित विधाका स्रष्टाहरु सफल छन् र उनीहरुमा अझ मिहिनेत, प्रतिबद्धता र क्रियाशीलताको खाँचो छ । प्रत्येकको सिर्जनामा कहीं न कहीं, केही न केही रुपले जीवन र जगत् बोलेको छ, चाहे व्यङ्ग्यात्मक पारामा होस् या त व्यञ्जनात्मक वा त अभिधात्मक अर्थमा नै । जीवन र जगत्को भावगंगामा डुबुल्की मार्दै ल्याएका मणिहरुमा उचित प्लेटफर्म प्रदान गर्दै पाठकको मस्तिष्कसम्म सहज र सरल ढंगमा सम्प्रेषण गर्ने सेतुको रूपमा सम्मोहन साहित्यिक पत्रिका उभिएको छ । स्रष्टाहरुको रचनामा प्रकाशनको प्राण स्वरुप प्रदान गरी सञ्जीवनीको रूपमा जीवन्त बनाउने मुख्य श्रेय सम्मोहन परिवारलाई दिनै पर्छ ।

प्राप्तिः  
सम्मोहनको पहिलो अंकको प्राप्ति भन्नु नै यसले पाठक तथा स्रोताको मस्तिष्कमा पारेको बिम्ब हो । साहित्यका चारै विधा (आख्यान, नाटक, कविता र निबन्ध) का साथै समालोचनाको समावेशले यसमा विधागत दोषबाट मुक्ति मिलेको देखिन्छ । नेपाल र नेपालबाहिरका स्रष्टाहरुका जीवन र जगत्सँग प्रत्यक्ष वा परोक्ष सम्बन्ध राख्ने खालका रचनाहरुलाई आफ्नो कार्यपिठीका बनाउनु, नारी तथा पुरुष, समकालीन तथा अग्रज वा अनुज सबै वर्ग तथा तहको स्रष्टाका सिर्जनाहरुको समावेश हुनु, निम्नवर्गीय पात्रको यथार्थ जीवनगाथालाई उतार्नु तथा त्यसलाई व्यावाहारिक पक्षबाट समेत वकालत गर्नु आदि सम्मोहन पत्रिकाको पहिलो अंकको शक्ति हुन् भने पत्रिकालाई आवश्यकभन्दा बढी सजाउन खोज्नु (जस्तैः सम्मोहनको लोगो प्रत्येक पानामा राखिनु, प्रत्येक पृष्ठको टप र बटममा सम्मोहन भनी उल्लेख गरिसकेपछि पनि साइडमा कालो पृष्ठभूमिमा सेतो अक्षरमा पुनः सम्मोहन साहित्यिक पत्रिका भनी उल्लेख गर्नु आदि ।), सम्बन्धित पृष्ठमा लेखकको सिर्जनाको विधा उल्लेख गरे तापनि विषय सूचीमै कुन विधाको रचना हो भनी नछुट्याइनु, विभिन्न ठाउँमा भाषिक अशुद्धता भेटिनुजस्ता पक्षहरु यसका सीमाहरु हुन् । 
विज्ञापनको भरमा बाँच्न बाध्य हुनुपर्ने नेपाली साहित्यको स्थितिलाई यसले पनि भोगिरहेको आभास हुन्छ । उसो त पत्रिकाको विक्री मूल्य रु. ७० भनिए पनि निःशुल्क रूपमा पत्रिका यसका पाठकमाझ उपलब्ध गराइएको बुझिन्छ । यो साहित्यिक गतिविधिको प्रकाशन गर्न खोज्नेहरुका लागि दुर्भाग्यको कुरा हो । फलतः पछि यस्तो परिपाटीले साहित्य प्रकाशकहरुलाई धराशयी बनाउने स्थिति पनि देखिन्छ भने अन्ततः बन्द हुने स्थिति पनि देखिन्छ । नेपालमा यस्ता थुप्रै उदाहरणहरु छन् । सुरुमा निकै जोसिलो पाराले काम गर्ने र पछि आर्थिक समस्याका कारण पत्रिका नै बन्द गरेर इतिहासमा मात्र सीमित हुने स्थितिमा सम्मोहन कदापि नपुगोस् । नयाँ नयाँ संरचना र गतिविधिका साथ आपूmलाई सबल र सक्षम पत्रिकाको रूपमा उभ्याई विश्व साहित्यमा समेत सम्मोहनको छवि पुग्न सकोस् । सम्मोहनको उचित अध्ययन, विश्लेषण, सुझावसहितको मूल्याङ्कन र आवश्यकताअनुसारको परिवर्तन हुन सकेमात्र यसको भविष्य निश्चित गति र गोरेटोमा बग्ने देखिन्छ । यसका निम्ति सहयोगी र सच्चा पाठक तथा शुभचिन्तकको खाँचो पर्दछ । अन्तमा ‘प्रभावी’ को परिकल्पनामा अन्य सहयोगी योद्धाहरुको कोखबाट पैदा भएको सम्मोहन नामक बालकले गाँस, बास र कपासको उचित व्यवस्थापनसँगैको संरक्षण पाओस् र पाओस् उचित मूल्य र सच्चा हृदय भएका पाठकको मनमस्तिष्कमा डेरा जमाउने अधिकार । पहिलो अंक सम्मोहनको मानक अंक हो, यसले साहित्यको धरातलमा ऐतिहासिक कोशेढुंगाको रूपमा  आपूmलाई चिनाउन सफल होस् भन्दै मेरो प्रदक्षिणालाई यहीँ रोक्दछु । 



(कमाण्डर पोष्ट दैनिक, काठमाण्डौ र गण्डकी खबर दैनिक, पोखरामा प्रकाशित)

No comments:

Post a Comment