सम्पादकीय_____________ - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Sunday, July 28, 2013

सम्पादकीय_____________

सम्पादकीय/प्रकाशकीय______


एउटा रेडियो अन्तरवार्तामा कवि इन्द्र राना ‘प्रतीक’ले भन्नुभयो, “म कवि नभएको भए सायद आत्महत्या गरिसकेको हुने थिएँ ।” प्रसङ्ग थियो– कवि रानाकी पत्नीको बच्चा जन्माउन नसकेर पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा मृत्यु भएपछिको पीडाको । कवि प्रतीकलाई त्यो दुःखमा साथ दिन धेरै शुभचिन्तकहरु आए, धेरै साहित्यकारहरु क्रियाखर्च नै लिएर पनि आए तर जब टुहुरा लालाबालाको अनुहार हेर्नुहुन्थ्यो उहाँ, जब सम्झनुहुन्थ्यो आफ्नी पत्नीलाई, पीडाको सगरमाथा ठिङ्ग उभिन्थ्यो अगाडि । त्यतिखेर कविलाई सान्त्वना दिने र निःस्वार्थ साथ दिने केवल कविता भए, साहित्य भए । उहाँ भन्नुहुन्छ, “मलाई कविता (साहित्य)ले नै आत्महत्या गर्नबाट बचायो, जुन न त मलाई सहयोग प्राप्त भएको रुपैयाँले दियो, न त आफैंले कमाएको रुपैयाँले नै ।”

अर्थात्, साहित्यले हरेक क्षण जीवन र जगत्लाई साथ दिन्छ । यसर्थः साहित्य संसारको सर्वाधिक उत्पादक वस्तु हो जीवन र जगत्का लागि । साहित्यलाई ‘अनुत्पादक क्षेत्र’ मान्ने जुन खालको पुरातनवादी र अदूरदर्शी सोच छ, त्यो सर्वथा गलत रहेको तथ्य यो युगमा पुनः प्रमाणित गरिरहनु नपर्ला सायद । विश्वका विकसित मुलुकहरुलाई त्यस स्थितिमा पु¥याउने एक प्रमुख कारक त्यहाँको साहित्य, संस्कृति नै भएको इतिहास अद्यापि साक्षी छन् । मकै छरेपछि उम्रिने विरुवाजस्तो वा रक्सी खाएपछि तत्काल चढ्ने मातजस्तो साहित्यको उत्पादन हुँदैन, त्यसमा द्विविधा र दाबी दुवै छैन । हजार रुपैयाँका नोटले दिनेजस्तो उत्पादन पनि साहित्यले नदेला तर इन्द्र राना ‘प्रतीक’जस्ता मान्छेलाई साहित्यले दिने उत्पादन पनि त हजारका नोटले दिएन र कदापि दिन सक्दैन । वास्तवमा मानवसभ्यतालाई जिउँदो राख्ने इच्छा भएका कोही मानिस संसारमा छ भने उसले साहित्य र संस्कृतिको मूल्यलाई कम आँक्न सक्दै सक्दैन, चाहँदै चाहँदैन । भनिन्छ, कुनै राष्ट्रमाथि आक्रमण गर्नु छ भने सर्वप्रथम त्यस देशको साहित्य, कला, संस्कृतिमाथि आक्रमण गर्नुपर्छ । वाङ्मयिक सामथ्र्यकै कारण यस्ता कहावत्हरु विद्यमान विकसित मानवसमाजमा पनि उत्तिकै प्रचलित र सान्दर्भिक भइरहेका छन् । साहित्य सबैले पढ्नैपर्छ भनेर उर्दी जारी गर्न सकिँदैन तर पढ्नेले जति प्राप्त गर्छ नपढ्नेले निश्चित रुपमा त्यति प्राप्त गर्दैन र उसलाई घाटा पनि हुँदैन । लेख्ने करा त व्यक्तिगत क्षमतामा भर पर्ने कुरो पनि हो । असल साहित्यको निकट जो छन्, उनीहरुले सार्थक जीवन जिउनका लागि पक्कै प्रेरणा पाउन सक्छन् । कम्तिमा पनि साहित्यलाई बुझेका मान्छेले जीवन बुझ्ने प्रयास गरेका हुन्छन्, समाजलाई अलिकति भए पनि नजिकबाट बुझेका हुन्छन् तुलनात्मक रुपमा जो अनगिन्ती रुपैयाँले नदिन सक्छ । यस अर्थमा पनि हामी साहित्यलाई उत्पादक क्षेत्रको उच्चतम रुप मान्न तयार भएर लागेका छौं, हुन सक्छ सबै साहित्य त्यस्ता छैनन् । बाँच्न त साहित्य नपढ्ने, नबुझ्ने र नलेख्नेहरु पनि बाँचेकै छन्... ।

साहित्यिक सम्मोहनले कम्तिमा पनि मानिसलाई ‘मानिस’ हुन उत्प्रेरित गर्दछ । हामी सभ्य मानवसमाज निर्माणका लागि चेतनाको आगो बोकेर उभिएका छौं, झिल्को नै सही । जीवनमा साहित्यिक सम्मोहन सर्वाधिक प्रिय सम्मोहन हो । समाज परिवर्तनको सक्षमता बोकेको नवीन चेतना प्रवाहका साहित्यिक सामग्री  नै आजको आवश्यकता हो । वर्तमान सामाजिक सम्मोहन पनि यही नै हो । हामी आम मानिसलाई साहित्यप्रति सम्मोहित तुल्याएर यसको रसपानसँगै यसको वास्तविक उत्पादकत्वसँग परिचित गराउन चाहन्छौं । हुन सक्छ कतिपयका नजरमा यो पागलपन ठहरिएला, तर हाम्रो पागलपनले सुन्दर साहित्यसंसार निर्माणका लागि कुनै एउटा मात्रै भए पनि ईंट्टा थप्न सकेको ठहरिए हामी आफूलाई सफल ठान्नेछौं । हामीलाई थाहा छ, सुरु गर्नुभन्दा निरन्तरता दिनुुमा कैयौं गुना कठिनाइ छ, र हामीलाई यो पनि थाहा छ केही नगर्नुभन्दा केही न केही गर्नु पक्कै पनि राम्रो हो । अझ महत्वपूर्ण कुरा के हो भने सबैको शुभेच्छा रहे असम्भव पनि छैन कुनै पनि ‘फलामको चिउरा चपाउनु’ । यो सम्मोहन साहित्यिक सम्मोहन हो, अन्यथा होइन । हाम्रो अभियानलाई विभिन्न ढङ्गले हौसला प्रदान गर्नुहुने महानुभावहरुप्रति हार्दिक साधुवाद । 

रुपिन्द्र प्रभावी
प्रकाशक/प्रधान सम्पादक
सम्मोहन साहित्यिक पत्रिका,  पोखराको अंक १को सम्पादकीय/प्रकाशकीय


No comments:

Post a Comment