समाचार-सम्मोहन साहित्यिक पत्रिका लोकार्पण - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Sunday, July 28, 2013

समाचार-सम्मोहन साहित्यिक पत्रिका लोकार्पण



             सम्मोहन साहित्यिक पत्रिका लोकार्पण

पोखरा, साउन १२ गते ।

कला, साहित्य र संस्कृतिको उर्वरभूमि मानिने पोखरामा सम्मोहन साहित्यिक त्रैमासिक पत्रिकाको वरिष्ठ साहित्यकार सरुभक्तले एक कार्यक्रमका बीच शनिबार लोकार्पण गर्नुभएको छ ।


वरिष्ठ साहित्यकार सरुभक्तले पत्रिकाको लोकार्पण गर्दैै पोखरेली साहित्यिक पत्रकारिताको इतिहास कोट्याउनुभयो । उहाँले सम्मोहन साहित्यिक पत्रिकाले पोखरामा रहेको साहित्यिक पत्रिकाको अभावलाई पूरा गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । प्राज्ञ हरिदेवी कोइरालाले सम्मोहनलाई सम्पूर्ण पोखरेली वाङ्मय साधकहरुको साझा सम्पत्तिका रुपमा चित्रण गर्दै यसको निरन्तरताको सवाल सबैको इज्जतसँग जोडिएको बताउनुभयो । प्रशस्त साहित्यिक गतिविधिहरु हुँदै आए पनि गतिलो साहित्यिक पत्रिकाको अभावलाई पूर्ति गर्ने उद्देश्यसहित पत्रिका प्रकाशन गरिएको प्रकाशक तथा प्रधान सम्पादक रुपिन्द्र प्रभावीले बताउनुभयो ।

पत्रिकाको समीक्षा गर्दै स्तम्भकार तथा सञ्चार उद्यमी मेहश भण्डारीले राष्ट्रिय स्तरमा सिर्जनात्मक प्रतिस्पर्धा गर्न सक्ने सर्जकहरु सम्मोहनले उत्पादन गर्न सक्नेमा जोड दिनुभयो भने अर्का समीक्षक साहित्यकार राजेन्द्र पौडेलले सम्मोहनको प्रवेशाङ्कलाई साहित्यका हाटबजारको उपमा दिँदै सम्पूर्ण साहित्यिक खुराक सम्मोहनमा पाउन सकिने बताउनुभयो ।

पोखराका अग्रज र समकालीन पुस्ताका स्थापित व्यक्तिहरु सल्लाहकारका रुपमा रहेका सम्मोहनको प्रकाशक तथा प्रधान सम्पादकमा रुपिन्द्र प्रभावी, सम्पादकहरुमा अल्पज्ञानी, कपिल शर्मा ‘सञ्जोग’ र सुरज उपाध्याय रहनुभएको छ । त्यसैगरी, सहसम्पादकमा उदिपराज ढुङ्गाना र रामचन्द्र अधिकारी तथा व्यवस्थापकमा गणेश पौडेल रहनुभएको छ । कार्यक्रममा पोखरा विश्वविद्यालय साहित्य समाजका अध्यक्ष सुवास मल्ल, नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापा, पत्रिकाका सल्लाहकारहरु ईश्वरमणि अधिकारी र कृष्ण उदासीले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा सम्पादक सुरज उपाध्यायले स्वागत र अर्का सम्पादक कपिल शर्मा ‘सञ्जोग’ले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सञ्चालन सम्पादक अल्पज्ञानीले गर्नुभएको थियो ।

देशविदेशका ६८जनाको रचना समेटिएको पत्रिका १०४ पृष्ठमा फैलिएको छ । पत्रिकाले पत्रिका प्रकाशनका अलावा ओझेलमा परेका स्रष्टाहरुको रचना सङ्कलन गरी पुस्तकका रुपमा प्रकाशन गर्ने, पुरस्कारहरुको स्थापना गर्ने, साहित्यिक परिचर्चा र अन्तरक्रियाहरु सञ्चालन गर्नेलगायतका योजना पनि निर्माण गरिरहेको जनाइएको छ । यसैबीच, आगामी साउन १९ गते पोखरामै पहिलोपटक कविता मञ्चनसहित सम्मोहनद्वारा प्रकाशित कवि कृष्ण उदासीको कवितासङ्ग्रह हिउँ फुल्ने गाउँहरुको लोकर्पण कार्यक्रम पनि आयोजना गरिएको पत्रिका परिवारले जनाएको छ ।

ढकालको उपन्यास पुलिक बजारमा

पोखरा, असोज १२ गते ।
आख्यानकार नवराज ढकालको नयाँ उपन्यास ‘पुलिक’ शनिबारदेखि बजारमा आएको छ । ढकालका पिता वेदनाथ ढकालले सम्मोहन साहित्यिक पत्रिकाद्वारा आयोजित एक कार्यक्रमका बीच पुलिकको लोकार्पण गर्नुभएको हो ।
सम्मोहन साहित्यिक पत्रिकाका प्रधान सम्पादक÷प्रकाशक रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिको समीक्षा गर्दै पृथ्वीनारायण क्याम्पसका नेपाली विभागका प्रमुख प्रा. डा. विष्णुप्रसाद पौडेलले पुलिक साम्यवादी वैचारिक उपन्यासका क्षेत्रमा पोखराले गौरव गर्नलायक महत्वपूर्ण कृति भएको बताउनुभयो ।


त्यस्तै अर्का समीक्षक प्रगतिशील लेखक सङ्घ कास्कीका अध्यक्ष डा. कृष्णराज अधिकारीले कल्पना र यथार्थको मिश्रण भएको प्रगतिवादी उपन्यासका रुपमा पुलिक पाठकका माझ आएको बताउनुभयो ।
त्यसै गरी, अर्का समीक्षक सम्मोहनका सल्लाहकार साहित्यकार ईश्वरमणि अधिकारीले पुलिकले नेपाली जनताको सपनाको आधा चेहरा देखाएको र आधा चेहरा स्वयम् पाठकले देख्ने बताउनुभयो । इमानदार लेखकका रुपमा ढकालले नेपाली समाजमा रहेका विकृतिहरुलाई सफा गर्ने पुलिक भएको बताउनुभयो ।

कार्यक्रममा उपन्यासकार नवराज ढकालले आफ्नो लेखकीय अनुभव सुनाउँदै आफूलाई लेखकीय तटस्थता स्वीकार्य नभएको बताउनुभयो । पुलिकमा आफूले देखे, भोगेका पात्र र प्रवृत्तिहरुलाई प्रस्तुत गरेको बताउँदै ढकालले अब आफू साहित्यमा निरन्तर लागिरहने प्रतिबद्धता जनाउनुभयो । 
कार्यक्रममा सम्मोहनका सल्लाहकार राजेन्द्र चापागाईं ‘आहत’, बखानसिँह तमू ‘आभास’, ःयाण्डम रिडर्स सोसाइटी अफ् नेपालका अध्यक्ष गनेस पौडेल, गण्डकी साहित्य सङ्गमका अध्यक्ष नारायण परिश्रमी, प्रलेसका केन्द्रीय पार्षद नारायण मरासिनी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सम्मोहनका सम्पादक सुरज उपाध्यायले स्वागत गर्नुभएको कार्यक्रममा सहसम्पादक उदिपराज ढुङ्गानाले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सञ्चालन सम्पादक अल्पज्ञानीले गर्नुभएको थियो ।

पोखरामा काव्य विधाको निकै विकास भए पनि आख्यानको गतिलो कृति निस्कन नसकेको टिप्पणी साहित्यकार तथा समालोचकहरुले गर्दै आएकामा पुलिकले केही हदसम्म भए पनि सो अभावलाई पूरा गर्ने विश्वास लिइएको छ । जनयुद्धलाई आधार मानेर प्रेम, युद्ध र सामाजिक विषयवस्तुलाई रोचक ढङ्गले समेटिएको पुलिक १८४ पृष्ठमा फैलिएको छ भने यसको प्रकाशन रत्नसागर प्रकाशन काठमाण्डौले गरेको हो । यसअघि पाश्चात्य साहित्य सिद्धान्त तथा समालोचना पद्धति लगायत ४ वटा पाठ्पुस्तक लेखिसक्नुभएका ढकालको साहित्यिक कृति भने यो पहिलो हो । उहाँ हाल अन्धो सूर्य नामक अर्को उपन्यास लेखिरहनुभएको छ ।

गत वैशाखदेखि प्रकाशन आरम्भ भएको सम्मोहन साहित्यिक पत्रिकाले युथ क्रियशन थिएटरको सहकार्यमा पोखरामै पहिलो पटक कविता मञ्चनसहित कवि कृष्ण उदासीको हिउँ फुल्ने गाउँहरुको प्रकाशन गरिसकेको छ भने कवि इन्द्र राना ‘प्रतीक’की श्रीमतीको उपचारका लागि आर्थिक सहयोग सङ्कलन अभियान पनि सम्पन्न गरेको थियो । पत्रिका प्रकाशनका अलावा अन्य पुस्तक प्रकाशन, विमोचन, अन्तरक्रियाका साथै विभिन्न अभियान पनि सम्मोहन समूहले सञ्चालन गर्दै जाने सम्मोहन परिवारले जनाएको छ ।

लेखक सधैं पाठकको कठघरामा उभिएको हुन्छः भूपिन

पोखरा, साउन २६ गते ।



समकालीन पुस्ताका चर्चित लेखक भूपिनले लेखकहरु सधैं पाठकहरुको कठघरामा उभिनुपर्ने बताउनुभएको छ । आफ्नै पछिल्लो कृति ‘चौबीस रिल’ निबन्धसङ्ग्रहमाथि ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले शनिबार पोखरामा गरेको परिचर्चा कार्यक्रममा लेखकका तर्फबाट बोल्दै उहाँले ‘वन मुद्दा’ लाग्ने खालका कृति लेख्नुबाट लेखक बच्नुपर्नेमा जोड दिनुभयो ।


“कुनै पनि लेखक गल्तीसहित आफ्ना कृतिहरुमा आएको हुन्छ” भूपिनले भन्नुभयो, “लेखकलाई प्रदान गरिने देवत्वबाट म पनि बच्ने प्रयास गरिरहन्छु ।” क्षतिग्रस्त पृथ्वी र मूल सडक, शब्दहरुको नेपथ्य र हजार वर्षको निद्रा कवितासङ्ग्रहका कवि भूपिनको पछिल्लो समयमा विभिन्न धारका २४ वटा निबन्ध समेटिएको निबन्धसङ्ग्रह चौबीस रिल निकै चर्चामा रहेको छ ।


कृतिबारे अवधारणापत्र प्रस्तुत गर्दै युवा समालोचक तथा साहित्यकार सुरेश रानाभाटले भूपिनलाई समकालीन पुस्ताका एक सचेत र हस्तक्षेपकारी लेखकका रुपमा चिनाउनुभयो । “विषयगत विविधता, प्रस्तुतीगत बौद्धिकता र भाषागत कलात्मकता भूपिनका विशेषता हुन्” रानाभाटले भन्नुभयो, “उनका निबन्धहरु देवकोटाको निबन्धगत चुलीतिर उन्मुख छन् ।”


गुल्मीका साहित्यकार शशि पन्थीको स्रष्टा परिचय दिँदै गीताञ्जली साहित्य परिवारका अध्यक्ष कृष्ण भण्डारी ‘मुमुक्षु’ले शशि पन्थी धेरै विधामा कृति लेखेर पनि ओझेलमा परेको स्रष्टा भएको बताउँदै उनीजस्ता प्रतिभाको खोजी हुनपर्ने बताउनुभयो ।

सोसाइटीका अध्यक्ष राजेन्द्र चापागाईं ‘आहत’को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व पुनरावेदन अदालत पोखराका न्यायाधिस तथा लेखक डिल्लीराज आचार्यले लेखकहरु कोरा कल्पनामा मात्र नरमाई यथार्थमा आधारित रचनामा केन्द्रीत हुनुपर्ने बताउँदै ¥याण्डमले पठन संस्कृतिको विकासका लागि खेलेको भूमिकाको सराहाना गर्नुभयो । कार्यक्रममा साहित्यकार सरुभक्त तीर्थ श्रेष्ठ, रमेश श्रेष्ठ, महेन्द्र रिमाल, युवराज सुवेदी, डिल्लीराज आचार्य, गीता विष्टलगायतले शुभकामना तथा टिप्पणी गर्नुभएको थियो ।


सोसाइटीका उपाध्यक्ष नगेन्द्र भण्डारीले स्वागतसहित आगामी भदौ २९ गते गीता त्रिपाठीको निबन्धसङ्ग्रह ‘एक्लो र उदास उस्तै’माथि पद्मकन्या कलेजकी उपप्राध्यापक अनुपमा रेग्मीले परिचर्चा गर्नुहुने जानकारी दिनुभएको कार्यक्रमको सञ्चालन सहसचिव उपेन्द्र पौडेल र परिचर्चाकारको परिचय राजेन्द्र पौडेलले दिनुभएको थियो । सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयमाथिको परिचर्चासहित स्रष्टा परिचय पनि गर्दै आएको प्रचारप्रसार संयोजक रुपिन्द्र प्रभावीले जनाउनुभयो ।



कविता मञ्चनसंगै हिउँ फुल्ने गाउँहरु’ विमोचन
सागर राज तिमिल्सिना
पोखरा१९ साउन/पोखराको ईतिहासमै पहिलोपटक कवितामञ्चन भएको छ । मञ्चन गरिएको कवितालाई पोखरेलीले निकै मन पराए । कवि तथा नाटककार कृष्ण उदासीको नवौँ कृति हिउँ फुल्ने गाउँहरुको विमोचनसंगै भएको कविता मञ्चनलाई हेरिसकेपछि धेरैले पोखरेली रंगमञ्चले एउटा भिन्न शैली अपनाएको प्रतिक्रिया दिए । शनिबार विमोचित कवितासंग्रह हिँउ फुल्ने गाउँहरु’ मै समावेश दुई कविता आमाको मुच्र्छना’ र स्मृतिलाई निर्देशक पुरु लम्सालले नाटकमा रुपान्तरण गरेका थिए ।
युथ क्रियशन थिएटरको दोस्रो प्रस्तुतीमा भएको कविता मञ्चनमा रेम बिककपिल शर्मा संजोग’, विभु भुषालमनोज घर्तीमगरनिरज पन्तसन्ध्या अधिकारीलिला गुरुङराधा बस्नेतविष्णु सुवेदी लगाएतका कलाकारहरुले अभिनय गरेका थिए । सम्मोहन साहित्यिक पत्रिकाको आयोजनामा भएको कृति विमोचन तथा कविता मञ्चन कार्यक्रममा काठमाण्डौबाट आएका साहित्यकार श्यामलले कविता र नाटकको फ्युजनबाट दुईवटै विधालाई उत्तिकै जम्न सघाउ पुगेको बताए ।
कविता रह्यो भने मात्र कवितामा यस्ता नौला प्रयोगहरु देख्न पाईन्छ ।’ कविता संग्रह विमोचन गर्दै उनले भने–‘त्यसैले कविताका शैलीलाई मात्र ध्यान दिनुको साटो कविता जोगाउनका लागि सबैजना लाग्नुपर्ने बेला आएको छ ।’ आफैले आफैलाई भुल्न सक्ने व्यक्तिमात्र कवि हुन सक्ने बताउँदै कवि श्यामलले सस्तो लोकप्रियताको लागि कसैले पनि कविता लेख्न नहुने बताए ।
साहित्यका सरुभक्तले कविता र नाटकको फ्युजन गराएर कृष्ण उदासीले आफ्नो परिचयलाई निकै बलियो बनाएको टिप्पणी गरे । नाटक र कविता दुवै विधा उदासीसंग जोडिएका विधा हुन् ।’ उनले भने–‘यी दुवैलाई संयोजन गराएर उनले आफ्नो परिचयसंग दुवै विधालाई एकैचोटी जोडे ।’ युथ क्रियशन थिएटरको दोस्रो प्रस्तुती रहेको कविता मञ्चन कार्यक्रम पोखराको ईतिहासमा पहिलोपटक भएको र यो सफल रहेको उनले बताए । त्यस्तै प्राज्ञ हरिदेवी कोईरालाले उदासीको हिँउ फुल्ने गाउँहरु’ एउटा सुन्दर कृति भएको बताईन् ।

कृतिकार उदासीले कविको रुपमा आफुले हिउँ फुल्ने गाउँहरु’ भिन्न शैलीमा लेखेको बताए । पद्यगद्य र लोकछन्दमा लेखिएका कविताहरु विशेषगरि भाव र लयमा ध्यान दिएर लेखेको उनले बताए । कवितासंग्रहमा पचास र साठीको दशकमा लेखिएका कविताहरु पनि समावेश गरेको उनले सुनाए । विमोचन कार्यक्रममा कृतिको समिक्षा गर्दै समिक्षक सुरेश रानाभाटले कविको रुपमा हिँउ फुल्ने गाउँहरुबाट उदासीले सामाजिक परिस्थितीलाई कलात्मक तवरबाट प्रस्तुत गरेको बताए । प्रतीकात्मक रुपमा उनले आफ्नै वरिपरी र परिवेशलाई कविताको शब्दहरुमा बुनेका छन् ।’ समिक्षक रानाभाटले भने–‘अघिल्ला कृतिहरुभन्दा उनी यो कृतिमा फरक शैलीमा प्रस्तुत भएका छन् जुन कुराले उनलाई अझै बढि प्रतिभावान देखाएको छ ।

सम्मोहन साहित्यिक पत्रिकाका प्रकाशक प्रधान सम्पादक रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको् कार्यक्रमको सञ्चालन सम्पादक अल्पज्ञानी गर्नुभएको थियो भने स्वागत सम्पादक सुरज उपाध्यायले गर्नुभएको थियो । कार्यक्रममा सल्लाहकार दीपक समीप, स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्णप्रसाद बाँस्तोला, मधुवन साहित्य प्रतिष्ठानका अध्यक्ष बाबु त्रिपाठीलगायतले शुभकामनाा दिनुभएको थियो भने कवि राजिन पनेरु र बिर्सना बस्नेतले पनि कृतिभित्रका कविता वाचन गर्नुभएको थियो  

No comments:

Post a Comment