कविताहरु - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Sunday, July 28, 2013

कविताहरु


युध्दमा
           – गोविन्दबहादुर कुँवर














हरेक युध्दमा
भौतिक बलमा गरिने विजय पनि
विजय नै हो
र नैतिक बलमा गरिने बिजय पनि
विजय नै हो
तर ती दुईटामा
दुई ध्रुबजत्तिकै फरक छैन र ?
भौतिक बिजयाका लागि
नीति, नियम र नैतिकताको जरुरत पर्दैन
फगत बाहुबलीहरुको बगाल भए पुग्छ
विधि ,विधान र वौध्दिकताको आवश्यकता पर्दैन
केबल कुतर्कीहरुको जमात भए पुग्छ
इमान, त्याग र समर्पण्ँको दरकार पनि पर्दैन
मात्र चोटटा, चापलुस र चाटुकारहरुको
बथान भए पुग्छ
तर भौतिक विजयमा
बाहिर युध्द जितेको देखिए पनि
भित्र भने बिजेता हारिरहेको हुन्छ
उता नैतिक विजयमा
बाहिर योध्दा पराजित देखिए पनि
भित्र भने उसले
युध्द
जितिराखेको हुन्छ ।

मान्छे र पहिरोहरु


                —    निष्प्रभ सजी






भीरमुनि उभिएर
पहिरो
पखिर्रहेको छ मान्छे

पहिरो कहिले
उस्को आगन हु“दै बग्छ
पहिरो कहिले
उस्को मन छु“दै बग्छ

यी थरिथरिका पहिरोहरुबाट
खै कसरी
तर्किरहेको छ मान्छे

उसलाई थाहा छ
भीर  डरलाग्दो हुन्छ
सायद कतै टेक्ने ठाउ“ नभएपछि
भीर छोड्न सक्दैन मान्छे

उसलाई नसम्झाइदेऊ
पोहोर साल
परार साल
सम्झियो भने मनै भत्किन्छ

यसपालि त
घर भात्किए पनि
मन भत्काउ“दिन भन्दै
डर लाग्दो भीरमुनि उभिएर    
पहिरो
पर्खिरहेको छ मान्छे 
यी थरिथरिका पहिरोहरुबाट
खै कसरी तर्किरहेको छ मान्छे  ।

कविताको उज्यालो
                –रमेश श्रेष्ठ
   







सदनबाट लखेटिएको मान्छेको सपनाको
हत्या भएको छ
सडकमा,
पृथ्वीको सम्पूर्ण प्रार्थना
आँसुको आहाल भएर
रोइरहेका छन् छहराहरूमा,

झण्डा च्यात्ने नारा
अकस्मात जन्मिएको छ गणितबाट,
सिमाना–
किशोरीझैं बलात्कृत भैरहेको छ मरुभूमिको आँखामा,
अस्तित्वको सौन्दर्य
कैद छ रातको अन्धकारमा
मान्छे किन्ने र बेच्नेहरूको बिगबिगी
बढेको छ गरिबीसँग सँगै

प्रत्येक दिन मानिसको ईश्वर
मर्न डराएर
भैरहेको छ पागल,

आज
किन रोकियो बतास ?
किन थामियो वर्षा ?
किन मौन छ आगा ?

मानिसहरू देश खोज्न
पर्खिरहेका छन्
कविताको उज्यालो ।
             खारापानी र सजायहरूको चेकबुक
                           
            -   सरस्वती प्रतीक्षा
    










स्मृतिहरुको एल्बममा
उफ्रीउफ्री नाचिरहेछ–दुःस्वप्न

समवेदनाहरुको लस्करमा
लुखुरलुखुर हिँडिरहेछ– यहाँको किशोरी घाम

हो,
यो त्यही उजाड बस्ती हो
जहाँ बबण्डरमय बाढीले
एकदमै भद्दा चित्र कोरेर गएको थियो
कैयन्का ओजस्वी सपनाहरुलाई
अजिङ्गरले निलेझैं
निलेको थियो प्रकृतिको रौद्ररुपले

यहाँको हावामा
आज पनि आला लासहरुको नमीठो गन्ध बहन्छ
उछिट्टिएका टाउका, हात, खुट्टा र आन्द्राभुँडीहरुको फेहरिस्त बहन्छ

हेर्दाहेर्दै
निमिट्यान्न भो तातोपानीको कुण्ड
र छ्याल्लब्याल्ल पोखियो आँसुहरुको कुण्ड
यो आँसुहरुको कुण्ड
यो रहरहरुको अस्थिपञ्जरको कुण्ड
यहाँको हावामा
रुपान्तरणको चर्को दस्तुर बहन्छ ।

मर्नेहरु त मरेर गए
बाँच्नेहरु के साँच्चै बाँचिरहेछन् ?
उप्m !
मनबाहिर भन्दा मनभित्र बढी छ मसानघाटको आवादी !

ओ, खारापानी !
तिम्रो अर्थी कविताबाट
मुक्ति खोजिरहेछन्–
सनाखत हुन नसकेका थुप्रै जीवनेच्छाहरुले
गुममाया र गुमप्रसादका आत्मकथाले
अन्तिम प्रकाशन खोजिरहेछन्

बग्दै गरेका
मान्छेहरुको अन्तिम क्रन्दन
चौपायाहरुको अन्तिम चित्कार
बग्दै गरेका
रुख, ढुङ्गा, मुढाहरुको भयानक परिदृश्य
घर, खेत र खलियानहरुको अन्तिम आहट
बग्दै गरेका
बस, ट्रक, ट्रयाक्टर र पुलहरुको विस्मयकारी पटाक्षेप
घर, खेत र खलियानहरुको अन्तिम आहट

गल्ती÷गल्ती÷गल्ती–
गल्तीको आधा चेहरा मान्छेको
गल्ती÷गल्ती÷गल्ती–
गल्तीको आधा चेहरा प्रकृतिको

आज म
सजायहरुको चेकबुकमा हस्ताक्षर गर्न
खारापानी आएकी छु
र सोध्दै छु–
ओ, खारापानी !
सजायहरुको यो चेकबुकलाई
कसले बनायो हँ– मान्छेले कि प्रकृतिले ?

हिउँ फुल्ने गाउँहरु

                             
–कृष्ण उदासी










शिरमाथि सगरमाथा, हत्केलामा सुनाखरी
ओठभरि लालीगुराँस पाखाभरि प्याउली फुली
जब देशले बोलाउँछ, निद्रामा नि ब्युँझिदिन्छु
लालुपाते फूल टिपी सिउँदोभरि सिउरिदिन्छु ।

लेखिदिन्छु फूलफूल, पातपात नाउँहरु
यो देशमा कहाँ छैनन् हिउँ फुल्ने गाउँहरू ।

मेचीदेखि कालीसम्म, मधेसदेखि भोटसम्म
उत्साह र उमङ्गका ज्योतिहरु बालिदिन्छु
काँडा फुल्ने पहाड बढे खनीखोस्री ढालिदिन्छु
अबेरै होस्, हत्याहिंसा आतङ्कलाई फालिदिन्छु ।

लेखिदिन्छु फूलफूल, पातपात नाउँहरु
यो देशमा कहाँ छैनन् हिउँ फुल्ने गाउँहरू ।

मादलुको घिन्ताङमा, खैंजडी र मुजुरामा
सिर्जनाका नयाँनयाँ गीतहरु गाइदिन्छु
हिमालको छोरो म त हिउँजस्तै हाँसिदिन्छु
चन्द्रसूर्यजस्तो अमर मायाप्रीति गाँसिदिन्छु ।

लेखिदिन्छु फूलफूल, पातपात नाउँहरु
यो देशमा कहाँ छैनन् हिउँ फुल्ने गाउँहरू ।

मित्र आई झुक्यो भने सम्मानले उठाउँछु
शत्रु आई लुक्यो भने दैलैबाट भगाउँछु
पहरामा पनि जल–धारा बनी रसाउँछु
थोत्राफोस्रा नियम च्याती, नयाँ युग बसाउँछु ।

लेखिदिन्छु फूलफूल, पातपात नाउँहरू
यो देशमा कहाँ छैनन् हिउँ फुल्ने गाउँहरू।

(सम्मोहन साहित्यिक पत्रिकाबाट प्रकाशोन्मुख कवि उदासीको कवितासङ्ग्रह ‘हिउँ फुल्ने गाउँहरू’बाट)

यसपटकको हिउँद

                                    –तीर्थ श्रेष्ठ








यसपटकको हिउँदमा
चुनाव भयो
जाडो पनि डरलाग्दो थियो
राजनैतिक दलहरुको घोषणापत्र ओच्छ्याइयो
पोष्टरहरु ओढियो
र पम्प्लेटहरु बालेर आगो तापियो
सजिलैसँग जाडो धपाइयो ।

अध्याँरोमै देखिन्छन् सपनाहरु

                   – युवराज श्रेष्ठ











ए, जुन !
तिमी नचम्क भो
यहाँ मान्छेहरु उज्यालो मन पराउँदैनन् ।

दिनभर सूर्यको प्रकाशले उनीहरु अत्तालिएका छन्
नचाहेका धेरै देखेका छन्,
चाहिने थोरै गरेका छन् ।
मान्छेहरु
धेरै निदाउन चाहन्छन्,
र त दिउँसै रात पार्छन्
अध्याँरा कोठीहरुमा उनीहरु
अन्धकारका योजना बुन्छन्
रात पार्ने सपना देख्छन् ।

ए, जून !
अब त पहिले–पहिलेझैं
तिम्रो शीतलताको बखान हुँदैन
तिम्रो प्रकाशको योगदान लेखिँदैन
मान्छेहरु तिमीलाई छोप्न चाहन्छन्
किनकि उनीहरु उज्यालो मन पराउँदैनन् ।

ए, जून !
अन्धकारमै देखिन्छन् सपनाहरु
तिमी सपना देख्नबाट बञ्चित नगराऊ ।
मान्छेले चाह्यो भने
तिमीले भन्दा बढ्ता शीतलता
आँफै बनाउन सक्छन् ।
तिमीले भन्दा धेरै प्रकाश
आफँै छर्न सक्छन्
तर उनीहरु उज्यालो मन पराउँदैनन्,
र त रात पार्छन् दिउँसै
आप्mनो व्यक्तिगत सपना देख्नका लागि
अन्धकारमा बाँच्न चाहन्छन्
चन्द्रसूर्य छेक्न चाहन्छन् ।
                                     लमजुङ

अब आउने नयाँ वर्ष अहिलेको जस्तो नहोस्

                    –आर. आर. चौलागाईं











अब आउने नयाँ वर्ष
अहिलेको जस्तो धुलो र धुवाँको नहोस्
अहिलेको जस्तो अविश्वासको नहोस्
अहिलेको जस्तो हिलो र मैलोको नहोस्
अहिलेको जस्तो असहमतिको नहोस्
अहिलेको जस्तो बाटोमा जथाभाबी हिँडिरहेको साँढेजस्तो नहोस्
अहिलेको जस्तो खेतबारीमा तर्साउन राखेको बुख्याँचाजस्तो नहोस्
अब आउने नयाँ वर्ष
अहिलेको जस्तो नहोस् ।

अब आउने नयाँ वर्ष
तिर्खा लागेर छट्पटिएको काकाकुलजस्तो नहोस्
बिनाउद्देश्य गन्तव्य हराएको यात्रीजस्तो नहोस्
अलपत्र भएर मिल्किएको र भाँचिएको छाताजस्तो नहोस्
बिनानियमको, बिनाविधानको र बिनाअनुशासनको नहोस्
ब्रेक फेल भएर कुदिरहेको गाडीको पाङ्ग्राजस्तो नहोस्
अहिलेको जस्तो पटक्कै नहोस्, हुँदै नहोस्
अब आउने नयाँ वर्ष
अहिलेको जस्तो नहोस् ।

अब आउने नयाँ वर्ष
विश्वासै विश्वास बोकेर आओस्
सबैले पालना गर्ने नीति–नियम बोकेर आओस्
सहमतिको खाका बोकेर आओस्
घैलाभरि स्वच्छ पानी बोकेर आओस्
घाइतेहरूका लागि सञ्जीवनी बुटी बोकेर आओस्
अधमरोहरूका लागि अक्सिजन बोकेर आओस्
अब आउने नयाँ वर्ष
सुन्दर, सफा र हराभरा भएर आओस् ।
अब आउने नयाँ वर्ष
हामीमाथिको नीलो र सङ्लो आकासजस्तो भएर आओस्
लोभलाग्दो हरियो वन, पाखा र पहाडजस्तो भएर आओस्
मनै हर्ने हिमालको सेतो र कञ्चन रङजस्तो भएर आओस्
दाजुभाइ र दिदीबहिनीलाई लडाउने होइन मिलाउने बलियो डोरी भएर आओस्
न्याय हराएकाहरूका लागि एउटा भरपर्दो आधार भएर आओस्
आजसम्म हामीले के–के सोचेका थियौँ ती सबैको भरोसा भएर आओस्
अब आउने नयाँ वर्ष
सुन्दर, सफा र हराभरा भएर आओस् ।

अब आउने नयाँ वर्ष
अहिलेको जस्तो नहोस्
अब आउने नयाँ वर्ष
सुन्दर, सफा र हराभरा भएर आओस् ।


                           हेटौँडा–४, अभिकुञ्ज
                           मित्रनगर, मकवानपुर (नेपाल)
                                     E-mail : [email protected]
                                     URL    : www.rrchaulagain.com
 

सम्झनामा पोखिएको मन

          –    कृष्ण पहारी
                                                 









 तिम्रो एक चिम्टी सम्झनाले
मलाई एक हिक्का बाडुली लाग्दा
म त अवाक् बनेछु
अनि बेहोसमै
फेरि तिम्रो सम्झनामा छताछुल्ल पग्लिएर
थाहै नपाइकन
म त छरपस्ट बिस्ताराभरि पोखिएछु ।

यस्तो अनौठो एक हिक्का बाडुुलीको
छरपस्ट पोखिने सम्झना
तिमीलाई के थाहा,
सम्झना कति बग्दो रहेछ, मान्छेको मनभित्र
तिमीसँग सवाल–जवाफ गर्न सक्दिनँ
सम्झना बढेपछि ज्वरो चढ्न थालेछ
थर्मोमिटर खोलेर बेहोसमै ज्वरो नापेछु
सिटामोल चपाएछु
सम्झनामा फेरि पोखिन थालेछु ।

तिम्रो सुन्दरताको बयान गर्नै नसक्ने मेरो रहर
म नाजवाफ बनेछु
तिम्रो जिन्दगीका अनेकन मोडहरु
चट्टानझैं पत्रपत्र च्यातेर उप्काउन थालेछु
अनि भूगोलको अर्को गोलाद्र्धमा
फेरि हाम्रो मिलनको एउटा खम्बा गाडेर
हामी एक चिम्टी सम्झनाको खातिर
एक हिक्का बाडुलीको खातिर
तड्पिइरेहेका हुन्छौं
छरपस्ट बिस्ताराभरि पोखिएर
सवाल–जवाफ गरिरहेका हुन्छौं ।

                                पोखराथोक–२, पाल्पा

अभिनय
    
                      -गण्डकीपुत्र











छोपिन्छ
विष राख या अमृत
जीवन राख या मृत्यु
पर्दा लगाएपछि
बाहिरबाट केही देखिँदैन
मात्र देखिन्छ पर्दा
जसरी झोलाभित्र
मासु बोके पनि
सातु बोके पनि
मात्र झोला देखिन्छ
त्यस्तै रहेछ पर्दा ।

मैले पर्दा नलगाएको
एउटा पनि अनुहार देखिनँ
ऐनाअगाडि उभिएर
आफूलाई हेर्दासमेत पर्दा देख्छु
आफ्नो अनुहारभन्दा पहिले ।
                                        झोराहट-२ मोरङ

नारी अस्मिता

            –  गङ्गा अभिलाषी











नारी तिमी सौन्दर्यकी मात्र खानी होइनौ
नारी मनोरञ्जन र सन्तान वृद्धि गर्ने साधन र स्रोत मात्र होइनौ
अस्मिता लुटाएर जिउने तिमी कसैकी कठपुतली होइनौ
नारी जीवन अनमोल छ
नारी तिमी अदम्य, अटल साहस र विश्वासकी खानी हौ
प्रतिभा र ममताकी देवी हौ
अनवरत गतिमा बग्ने निर्मल गगा हौ
सृष्टिकै सुन्दर फूल हौ
आफ्नै वर्चश्वमा रम्दै
होसटेमा हैंसे गर्दै नवीन विचार छर्नु छ
मोती टिप्ने अभिलाषाहरु आफ्नै बर्कतले
समुद्री भेलमा डुबुल्की मार्नु छ
चेतनाका अखण्ड दीपहरु प्रज्वलित गर्दै
ज्ञानका ज्योतिहरु छर्नु छ
सयौंका आँसु पुछ्नु छ
कुरीति र अन्धविश्वासका खाडलहरु पुर्नु छ ।
सङ्कीर्णता र विभेदका पर्खालहरु भत्काउँदै
काँडे तगराहरु पन्छाउँदै
नारी तिमी आफ्नै अस्तित्वमा रमाउनु छ
नारी तिमी आफ्नै पौरखमा रमाउनु छ ।

                             सिसास, भैरहवा, रुपन्देही


मेरी प्रेमिका 
       
                                    -छवि ज्ञवाली











मेरी प्रेमिका –
 मलाई न आकासका जून तारा झार्न भन्छिन्
 न वल्लो भूगोलदेखि पल्लो भूगोल सार्न भन्छिन्

जहिलेदखि प्रेम गरेँ–
अटुट छ हाम्रो सम्बन्ध
कसम त हामीले पनि खाएका छौँ
बन्धनको बार त हामीले पनि लाएका छौँ
घाम–पानी, हावा–हुरीका सयौँ चोट हामीले पनि सहेका छौँ
र पनि
तिक्तता छैन हाम्रो सम्बन्धमा
सदा हामी एक भएका छौँ ।

मेरी प्रेमिकालाई प्रेम मन पर्छ
तर पे्रम दिवसमा उपहार, कोसेली ,सौगात
वा गिफ्टको फर्मायसी सरप्राइजको कुनै डिमाण्ड छैन
मेरी प्रेमिकालाई डेटिङको डेट
मोबाइलको एसएमएस, कागजी फूल,
चिल्ला ग्रेटिङ कार्ड र इन्टरनेटको भेटप्रति कुनै अनुराग छैन
सदाबहार उनी मलाई प्रेम गर्छिन्
सदाबहार म उनलाई प्रेम गर्छु ।
हामी आजन्म एकाकार भई बाँच्ने
साँच्चै मार्मिक कसम खाएका छौँ
त्यसैले त एक पल पनि छुट्टिनुपरेको छैन
अहिलेसम्म प्रेमिकाबाट ।

यस्तो खबर सुनेर नगर्नू –
हामीबीच तगारो तेस्र्याउने प्रयास कसैले
नबुन्नू योजना–
हामीबीच सम्बन्ध बिच्छेदको ।
हेर्दै जानू–
यो कुनै भावनाको
कथा, गीत, गजल, कविता वा रङ्गीन चित्र होइन
हेर्दै जानू–
यो सर्कस, नाटक वा चलचित्र होइन
आओस्–सात सगरमाथा उचाइको चुनौती
म कसम तोड्न सक्तिनँ
यात्रा मोड्न सक्तिनँ
म प्रेममुक्त हुन सक्तिनँ
बरू परे– आगो निल्न तयार छु
समुद्र सुकाउन तयार छु
हामीले हाम्रो प्रेमको विशाल आकार पार्नु छ
हामीले हाम्रो प्रेमको सपना साकार पार्नु छ
यो हो प्रेम–
पवित्र प्रेम दिलभित्र छ
दायाँबायाँ छ, यात्रामा छ
स्वासमा छ, मुटुमा छ
धुकधुकीमा छ, रगतमा छ
जगत्मा छ
मेटेर मेटिन्न हाम्रो नङ–मासुको गहिरो नाता नेपाली प्रेमी
मेरी प्रेमिका ‘नेपाली माटो’ ।

                                                   भैरहवा, रूपन्देही
                                                         [email protected]


प्रिय जुली

         -राजिन पनेरू








 प्रिय जुली
अतिथि देवो भवः
स्वागत छ तिमीलाई
बिच्छाएर हरियो गलैंचा तराईका फाँटहरुमा
छरेर शीतलता हिमाली झरनाहरुमा
तिम्रो पर्खाइमा छन् विल्कुलै तिम्ले नदेखेको
काँडेभ्याकुरका जोडीहरु
चखेवाका भाले–पोथीको लीला हेर्न
आऊ मेरो देशमा
सुन्दर, शान्त र विशाल परिवेशमा ।

म तिमीलाई बुद्धको क्रीडाभूमि देखाउनेछु
सतीदेवीको पीठको दर्शन गराउनेछु
गुन्द्रुक र ढिंडोमा
रोदीघरको आँगनमा
देउसी भैलो र सारंगीको धुनमा, जुनेली रातमा
सुनाउँला फाग र मालसिरीका कथाहरु
भारत, हुड्कोको तालमा ।

प्रिय जुली
कत्ति नभुली
हिमालचुलीको देशमा
तिमीलाई स्वागत छ
फेवा र रारा तिम्रो पर्खाइमा कुरिरहेछन्
खैंजडी र मुजुराहरु
बोकेर ठूले दाइ
सेल पकाएर साइँली दिदी पर्खिरहिछन्
एकैछिन्
तिम्रो यान्त्रिक सभ्यताको गन्ध छाडेर
बोकेर उमङ्ग
प्रिय सखे यता आए केही था पाए
बिमारी हुने चिन्ता नलिए
पाँचऔँले, सिल्टिमुर र घोडताप्डेको जरा घोटेर
ऐंसेलु र बादुलपातेको रसले
भोटे दाइको खलमा पिँधेर
पिलाउँला चौरी र भेडाको दूधसँगै
राखेर ऊनको गलैँचामा
सञ्चो बनौली
बनाएर हृष्टपुष्ट पठाऔँला तिम्रै थलमा
फर्कने बेला सुनाखरी र पलाँसको
थुङ्गाले रङ्गाएर लालीगुराँसले
तिम्रो खैरो केशमा
आङ्खनै देशमा आङ्खनै परिवेशमा
सुनाए तिम्रा सङ्गीहरुलाई मेरो निमन्त्रणा
सके आऊन् तिमीसँगै तिनीहरु पनि
यति भनी  आजलाई यत्ति नै
बाँकी तिमीसँगको भेटमा
उही तिम्रो रोमियो
सगरमाथाको देशबाट । 


                                    सौरपानी–२, गोरखा
                                    हाल ः काठमाडौं
                            [email protected]


No comments:

Post a Comment