कला सम्मोहन –सुरज उपाध्याय - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Sunday, July 28, 2013

कला सम्मोहन –सुरज उपाध्याय

कला सम्मोहन

नाङ्गो संसारका न्युड चित्रकार भुर्तेल

                                                                            

    –सुरज उपाध्याय    
                                
पोखरालाई कोही साहित्यको, कोही शिक्षाको, कोही संस्कृतिको, कोही पर्यटनको, कोही खेलकुदको त कोही गीतसङ्गीतको केन्द्रभूमि बनाउने भन्दै अनेकौं खालका अभियानमा क्रियाशील छन् । यस्तै यहाँ थुप्रै कलाकारहरु छन् जो कलाको सहर बनाउन कुची र क्यानभास बोकेर हिँडिरहन्छन् अथक भरियाझैं । हुन पनि पानी रङको दृश्यचित्रको लागि पोखरा उपयुक्त स्थल नै हो कि जस्तो पनि लाग्छ । त्यसो त पोखरा आफैंमा कुनै सिद्धहस्त कलाकारले बनाएको सुन्दर चित्रभन्दा कहाँ कम छ र ! 

पानी रङका दृश्यचित्रहरु पोखरेली कलाकर्मीहरुका मौलिक चिनारी हुन् । पानी रङको चित्रलाई अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउनका लागि पोखरेली कलाकारहरु दिनरात तल्लीन छन् । तिनै कलाकारहरुमध्ये कलाकार यादवचन्द्र भुर्तेल पानी रङलाई देश विदेशमा चिनाउन अहोरात्र खटिरहेका छन् यद्यपि भुर्तेल एक्रेलिक र तेल रङ पनि उत्तिकै खेलाउँछन् ।  जीवनका पच्चीस वसन्त शिक्षण पेसामा बिताएका भुर्तेल सङ्घर्षदेखि हार नखाने व्यक्ति हुन् । कक्षाका आफ्ना सम्पूर्ण विद्यार्थी साथीहरु पास र आफू फेल हुँदा पनि उनले आफ्नो अध्ययनलाई चटक्क छाडेनन् । पढाइमा ११ पटकसम्म बल्ढ्याङ खाएका भुर्तेलले विज्ञान र ललितकलामा स्नातक गरेरै छोडे । परिवारको इन्जिनियर बनाउने इच्छा भए पनि चित्रकारितामा उनको विशेष रुचि भएकोले त्यतातिर लाग्ने सपना उनले कहिल्यै देखेनन् । इमानदार भएर शिक्षण पेसामा लाग्दा पनि अपमानित हुनुपरेपछि उनले पेसाबाटै राजिनामा दिए । उनले पढाएका विद्यार्थीहरु अहिले देशविदेशमा विभिन्न निकायका उच्च तहमा कार्यरत रहेको उनलाई पनि थाहा छ जो उनका लागि पनि आत्मसन्तुष्टिको एउटा पाटो बनेको छ ।

वि. सं. २०२६ सालमा ७० वटा समसामयिक यथार्थवादी चित्रहरु समेटेर पहिलो पटक एकल चित्रकला प्रदर्शनी गरेका भुर्तेललाई हालसम्म आÇना कतिवटा प्रदर्शनी भए, उनी आफैलाई थाहा छैन । उनले थुप्रै पटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा प्रतिनिधि कलाकारका रुपमा सहभागिता जनाइसकेका छन् । “कला कलाका लागि, न त कला जीवनका लागि, न त कला धनका लागि” भन्ने अनौठो विचार लिएका भुर्तेल आफू भने चित्र बेचेरै पोखरामा व्यावसायिक कलाकार बनेका छन् ।
कलाकार भुर्तेल आफ्नै ग्यालरी फाइन आर्ट ग्यालरीमा

तीन दशकभन्दा बढी पोखरामै व्यावसायिक कलाकारिता गरेका उनी पोखरामा असली कलाकार नै नभएको विचार राख्छन् । भन्छन्, “नेपालमै राम्रा कलाकारको अभाव छ, पोखरामा त झन् कुशल कलाकार पाउनु साह्रै गाह्रो छ ।” वि. सं. २०३४ सालमा नेपालकै दोस्रो व्यावसायिक आर्ट ग्यालरी फाइन आर्ट ग्यालरी खोलेर  व्यावसायिक कलाकारितामा आफ्नो सम्पूर्ण उर्जाशील जीवन समर्पण गरेका छन् भुर्तेलले । उनका छोरा होगेर्थ भुर्तेलले समेत चित्रकलामा आÇनो छुट्टै पहिचान बनाइसकेका छन् । उनले सिकाएका र उनलाई चित्रकलामा गुरु मानेका थुप्रै चित्रकारहरु राष्ट्रिय स्तरका कलाकार भइसकेका छन् । उनकै गुरु चाहिँ को हुन् त कलाका ? उनी सम्झिन्छन्, “पोखरका कृष्णगोपाल रञ्जित र काठमाण्डौका कालीप्रसाद श्रेष्ठ ।” साहित्यका विभिन्न विधाहरुलाई अत्यन्त माया गर्ने उनका कलासिर्जनाहरु गहन रुपले अध्ययन गर्न सक्ने हो भने सुन्दर र अमूर्त कविताजस्ता लाग्छन् भने आक्षरिक कविता पनि विभिन्न पत्रिकाहरुमा उनका नाममा प्रकाशित छन् ।

सानै उमेरदेखि चित्रकलामा आकर्षित भएका भुर्तेल भित्री इच्छा र हृदयदेखि नै चित्रकारितामा लागेका व्यक्ति हुन् । घरपरिवारको असहयोग र थर्काइबाट पनि विचल्लित नभइकन कला साधनामा लागिरहे । बाल्यकालमा  थुप्रै पटक लालुपातेका रसले चुरोटका बट्टाहरु रङ्ग्याए≤ चित्रकारितालाई नै जीवनको ठूलो सम्पति ठाने≤ चित्रकलाबाट नै अन्तर्राष्ट्रिय स्तरको ख्याति कमाए । उनका थुप्रै चित्रहरु स्वदेशी तथा विदेशी कलाप्रेमीहरुले उचित मूल्यमा खरिद गरेरसमेत लगेका छन् । खरिद बिक्रीका कुरा गर्दा उनी भन्न पछि पर्दैनन् र भन्छन्, “म बसेको घर नै चित्र बेचेर कमाएको हुँ, माया गर्ने ‘Çयान’हरुले सोचेभन्दा बढी मूल्य दिएर चित्र लैजान्छन् ।”
कतिपय कलापारखी सोच्दा हुन्– कलाका क्षेत्रमा प्रशस्त र उदाहरणीय कार्य गरेका यिनका अघि सरकारी र गैरसरकारी सम्मान÷पुरस्कारका थुप्रो नै लागेका होलान् तर यथार्थ अर्कै छ, यिनलाई हालसम्म सरकारी निकायबाट राष्ट्रिय प्रतिभा पुरस्कार २०६१ मात्र प्राप्त भएको छ तथापि जनस्तरबाट थुप्रै संघसंस्थाहरुले यिनलाई सम्मान गरेका छन् । अझ सन् १९८६ मा अन्तर्राष्ट्रय मेडलसमेत पाएका छन् ।

वि. सं. २००३ साल चैत २१ गते पोखराको पस्र्याङमा जन्मेका भुर्तेल चित्रकारिताबाट विवादितसमेत बन्न पुगेका छन् । उनलाई नारीहरुका नग्न तथा अर्ध नग्न चित्रहरु कोरेको भन्दै कतियपयले विवादको घेरामा तान्ने प्रयास गरेका छन् । उनी भन्छन्, “कागज र रङ कहिल्यै अश्लील हुँदैन ।” यही विश्वासका साथ सन् २००० मा काठमाण्डौमा एकल नग्न चित्रकला प्रदर्शनीसमेत गर्दा केही मिडियाहरुले उनलाई अश्लील कलाकारसमेत भने र कतिपय महिलाहरुले “छाडा चित्र बनाउन लाज लाग्दैन ?” भन्दै आक्रोश पनि पोखे । उनी भने “संसार नाङ्गो छ, प्राणीको वास्तविकता नाङ्गो छ” भन्दै यस्ता चित्र बनाउनु कुनै अश्लीलताको सङ्केत नभई यथार्थको चित्रण मात्र भएको जिकिर गर्छन् । “किन नारीका मात्र अङ्गको चित्रण गर्नुहुन्छ, पुरुषको गर्नुहुन्न ?” उनको विचारमा पुरुषमा त्यस्तो केही छैन जसले मानिसलाई आकर्षण गर्न सकोस् र चित्र किन्न प्रेरित गरोस् । प्रश्न गर्छन् उल्टै, “कसले किन्छ पुरुषको नग्न अङ्ग उतारिएको चित्र ?” “अनि नारीको नग्न चित्र चाहिँ किन्छन् त ?” उनी सुनाउँछन् रमाइला रमाइला किस्सा जसले उनी स्वयम्लाई रोमाञ्चित तुल्याउँछन् बेलाबेलामा । हुन त उनले गणेशलगायत केही पुरुष भगवान्का पनि ‘अश्लील’जस्ता चित्र बनाएका छन् जो उनको ग्यालरीमा खुलेआम देख्न पाइन्छ । उनीसँग नग्न चित्रप्रति कलाप्रेमीको आकर्षण बढी रहेको मात्र होइन, एउटै नग्न चित्रलाई ३० हजारभन्दा बढी मूल्यमा बेचेको अनुभव पनि छ । उनको अर्को विशेषता ‘पोट्रेट आर्ट’मा पनि देख्न सकिन्छ । उनी अन्य खालका चित्र पनि उत्तिकै सुन्दर बनाउँछन् तर उनको केन्द्र भने नारीका नग्न तथा अर्ध नग्न चित्र नै हुन् । अमूर्त कलाका पक्षमा वकालत नै गर्न तयार रहने कलाकार भुर्तेल कलाका लागि विचार चाहिने तर्क गर्छन् । जे होस् कलाकार भुर्तेलको साधना प्राकृतिक दृश्यचित्र र नारीको मानवीय रुपाङ्कनमा भने अझ बेजोड रहेको छ ।                                              ं                                                                                                                                                                                                                        

No comments:

Post a Comment