रङ्गमञ्च –मनोज घर्ती मगर - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Monday, July 29, 2013

रङ्गमञ्च –मनोज घर्ती मगर

  रङ्गमञ्च             

                          जाग्यो पोखरेली रङ्गमञ्च


                                                                             –मनोज घर्ती मगर

खचाखच भरिएका दर्शकहरुको थामिनसक्नुको भिड ‘अन्तर्राष्ट्रिय रक्सी भट्टी’लाई स्वागत गर्न आतुर थियो । शृङ्गारपटारसहितको ‘अन्तर्राष्ट्रिय रक्सीभट्टी’ मा धेरैले आँखा गाडेका थिए । असार १४ र १५ गते पोखरा उद्योग वाणिज्य संघको सभाहलमा ठेलाठेल भइरहेका बेला मधुर सङ्गीतले दर्शकको ध्यान स्टेजतिर खिच्यो । बिस्तारै पर्दा खुल्यो । नेपथ्यबाट आवाज आयो– पख्नोस् दर्शकवृन्द, विदेशीहरु आउने क्रम सुरु भएको छ । एकै छिनपछि रक्सीभट्टी उद्घाटन हुनेछ । त्यतिबेलै २÷४ जना युवाले विरोध गरेपछि दर्शक केही बेर अलमल्ल परे । ‘यो अन्तर्राष्ट्रिय रक्सी भट्टी खोल्न पाइँदैन, रक्सीभट्टी बन्द गर्’ लगायत नारा लगाउँदै केही युवा सिधै मञ्चमा प्रवेश गर्दा धेरै पोखरेलीले सोचे साँच्चिकै विरोध भएछ । तर, त्यो विरोध नभएर करिब एक दशकपछि, पोखरेली रङ्गमञ्च ब्युँझाउने प्रयास थियो ।

शीर्षककै विरोधबाट सुरु भएको नाटक राष्ट्रियता र देशप्रेमको भावसहित एक घण्टा ३० मिनेट चल्यो । नाटकमा एक नेपाली पात्रले विदेशीसँग मिलेर नेपालमा अन्तर्राष्ट्रिय रक्सीभट्टीको तामझामका साथ उद्घाटन गर्ने तयारी गर्छ । केही देशप्रेमी र राष्ट्रभक्त नेपालीका छोराछोरीले रक्सी नेपालको संस्कृति नभएको भन्दै विरोध गर्न थालेपछि, उसले रक्सीभट्टीको उद्घाटन गर्न सक्दैन । एकपछि, अर्को गर्दै रक्सीभट्टीको विरोध गर्ने ३ जनालाई उसले रक्सीभट्टीकै छेउमा बाँदर, सुँगुरको संज्ञा दिएर गार्डलाई पिँजडामा थुन्न लगाउँछ । उनीहरुसँग पटक–पटक हुने दोहोरो भनाभनले नीच पशुको संज्ञा पाएको उसले थुनिएका २ पुरुष र एक महिला पात्रलाई बेस्मारी भकुर्छ । औपचारिक उद्घाटन हुन नपाए पनि, रक्सीभट्टीको व्यापारले राम्रै गति लिन्छ ।

भट्टीमा रक्सी मात्रै होइन, यौवन र जवानीको बिक्री पनि हुन थाल्छ । बाबुआमाको निरीहपन र गरिबीले सानै उमेरमा बेचिनुपर्दाको पीडालाई अनो नेपाली पात्रमार्फत् नाटकमा व्यङ्ग्यात्मक तरिकाले उतारिएको छ । नेपालको ग्रामीण भेगका छोरीचेली मात्रै नभई बाल्यकालमै धर्मछोराको नाउँमा बेचिएका पुरुष पात्र अनोको जीवनीले नाटकलाई झन् रोचक बनाएको छ । नाटकमा रक्सी, गरिबी र धनीको सम्बन्धसँगै नेपालको राष्ट्रिय स्वतन्त्रता र प्राकृतिक सम्पदालाई पनि समेटिएको छ । युथ क्रियशन थियटरको प्रस्तुती रहेको यो नाटकमा दुईवटा आइटम डान्ससमेत समेटिएको छ । यी र यस्तै कथावस्तु समेटिएको नाटक झण्डै एक दशकपछि पोखरामा मञ्चन भएपछि थुप्रै पोखरेलीले भरपुर मनोरञ्जन मात्र लिएनन् राष्ट्रियताका सवालमा घोत्लिए पनि ।

नाटकको नशाबाट टाढिएका पोखरेली दर्शक २०७० असार १४ गते शुक्रबार र १५ गते शनिबार ‘अन्तर्राष्ट्रिय रक्सीभट्टी’ नाटकमा लट्ठ परे । नाटकमा उनीहरु मदमस्त भई झुम्न पाए । कुनै बेला नेपाली रङ्गमञ्चलाई नेतृत्व गर्ने पोखराको रङ्गमञ्चलाई फिल्म, साहित्य र टेलिफिल्मको हावाले सोत्तर पारेर लगिदिएको थियो तर तिनका मुनाहरु ‘अन्तर्राष्ट्रिय रक्सीभट्टी’ को रुपमा चिटिक्क परी दर्शकमाझ देखिन आइपुगे । पुराना नाटककार कृष्ण उदासीको लेखन तथा निर्देशनमा नाटक देखाउने सबै जोसिला युवाहरु थिए । कपिल शर्मा(आयुध), रेम बिक(अक्रुर), इन्दु श्रेष्ठ(अनुशयना), मनोज घर्तीमगर (अनो नेपाली), सौगात पोखरेल(अङ्गद), सरु लामिछाने (आस्था), दीपक त्रिपाठी (अमर), रेखा पुरी(अमिता), विभु भुषाल(अकिल), रुपिन्द्र प्रभावी (सूत्रधार), मनिष पुरी, प्रकाश पराजुली, पारु भण्डारी, सन्ध्या अधिकारी, प्रदीप सुवेदी, र लक्ष्मी पल्पसाको आ–आफ्नो कौशलले उद्योग वाणिज्य संघमा खचाखच भरिएका धेरै दर्शकलाई लट्ठ्यायो । विभिन्न पात्रको अभिनय गरेर कलाकारहरुले दर्शकलाई लट्ठ पार्दै वाहीवाही पाइरहे । लामो समयपछि एक हजार, पाँच सय र एक सय रुपैयाँको टिकट किनेर नाटक हेर्न पुगेका झण्डै एक हजार पाँच सय दर्शक लट्ठ परी मदमस्त भई झुमे । देशभक्तिपूर्ण नाटक हेर्ने दर्शकले शान्त भएर नाटकमा रमाइरहे । वर्षौंपछि पोखरामा मञ्चन भएको नाटक हेरेर दर्शक घरि गलल हाँस्थे । घरि सन्नाटा छाउँथे । घरि आक्रोशित हुन्थे । घरि चर्को हुटिङ गर्थे । नाटकमा बोलिएका संवाद सुनेर त्यही अनुसारको व्यवहार गर्ने दर्शकले कलाकारलाई हौसला दिइरहे । थुप्रै दर्शकले उभिएरै नाटक हेरे । उभिने ठाउँ नपाएका दर्शकले टिकट फिर्ता गरी आफ्नो रकम लिएर आयोजकलाई सराप्दै नाटक नहेरी घर फर्किए । ‘नाटक हेर्न पाँच सयको टिकट किनेको थिएँ, हलमा जाँदा खुट्टा टेक्ने ठाउँ थिएन’ सपना गुरुङ भन्छिन्,‘टिकट फिर्ता गरेर पैसा माँगे अनि घर आएँ । कम्तिमा सिटी हलमा कार्यक्रम गरेको भए नाटक हेर्न पाउँथें ।’
तस्वीर: सुरज तमु/जक्सन डटकम

पचासको दशकदेखि सुस्ताएको पोखरेली रङ्गमञ्च ब्युँझिएकोमा खुसी व्यक्त गर्दै धेरै दर्शकले नाटकलाई निरन्तरता दिन सुझाए । कुनै बेला पोखराका  लोकनाटकले नेपालभर चर्चा पाउँथे । लेखनमा मात्रै नभएर नाटक मञ्चनमा पनि नेपालकै अग्रणी थियो । सुनौलो इतिहास हराउन थालेपछि पोखराका पुराना र नयाँ नाट्यकर्मी मिलेर तीन महिना रिहर्लस गरेर यो नाटक मञ्चन गर्न सफल भए । पोखरा मात्रै होइन, पश्चिम क्षेत्रको रङ्गमञ्च नै शून्यतामा झरेको बेला पोखरेली नाटक ब्युँझिएपछि नाटकप्रेमी उत्साहित छन् । ‘मलाई कलाकारहरुको अभिनय र नाटकको प्रस्तुती अत्यन्त राम्रो लाग्यो’ नाटक हेरिसकेपछि पोखराका पुराना नाट्यकर्मी सरुभक्त भन्छन्, ‘फेरि पोखरेली रङ्गमञ्चको पुरानो इतिहासले निरन्तरता पाउनेछ भन्ने अपेक्षा गरेको छु ।’

रङ्गमञ्चका कलाकारहरु विस्तारै फिल्म र सिरियलतिर आकर्षित हुँदा यहाँको रङ्गमञ्चमा सिथिलता आएको थियो । सुस्ताएको पोखरेली रङ्गमञ्च ब्युँझाउन २०६३÷६४ सालदेखि नै थुप्रै प्रयास भए पनि प्रयासले अहिले आएर सार्थकता पाएको छ । ‘दुई दिन शो गरिएको नाटकमा दर्शकको सङ्ख्या र हुटिङले झण्डै तीन महिनासम्म हामी गरेको दुःख बिर्साइदिएको छ’ कर्मको फलबाट हौसिएका नाटकका निर्देशक कृष्ण उदासी भन्छन्, ‘नाटक ऐतिहासिक भएको छ । पोखरामा मालती मङ्गलेपछि यस्तो राम्रो नाटक प्रर्दशन भएकै थिएन ।’ निर्देशक उदासीले बस्ने र उभिने ठाउँ नपाएर दर्शकले टिकट फिर्ता गरी घर फर्कनुले हामीलाई दुखित बनाउँदै छिट्टै पोखरामा अर्को नाटक देखाउने आश्वासन दिए । उनले थला परेको पोखरेली रङ्गमञ्चलाई जगाउन यो नाटकले महत्पूर्ण भूमिका खेलेको दावी गरे ।

पोखरामा नाटकलाई ब्युँझाउने भन्दै कपिल शर्मा ‘सन्जोग’को संयोजकत्वमा  २०६९ चैतमा ९ सदस्यीय ‘युथ क्रियशन थिएटर’ बनाएपछि नाटक मञ्चन हुने वातावरण मिलेको छ । थिएटरले २०७० बैशाख ४ गतेदेखि नै ‘अन्तराष्ट्रिय रक्सीभट्टी’ नाटक रिहर्लसन गरेको थियो । नाटककार कृष्ण उदासीले लेखेको नाटक उनैले निर्देशन गरे भने, विभु भुसासको सहनिर्देशन रहेको थियो । थियटरका अध्यक्ष कपिल शर्मा सन्जोगले सोचेकोभन्दा राम्रो दर्शक प्रतिक्रिया पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिए । ‘हाम्रो पहिलो प्रयास भव्य सफल भएको छ । पोखरेली दर्शक नाटकतर्फ आकर्षित भएको पायौंं’ शर्मा भन्छन्, ‘हामी अब निरन्तर पोखरामा गुणस्तरीय नाटक देखाउँदै जानेछौँ, एकदिन दर्शक आफैं टिकट काटेर नाटक हेर्न आउनेछन् ।’

   
नाटकको प्राविधिक व्यवस्थापन हेमन्त पराजुली, सङ्गीत ऋतु लामा, प्रकाशतर्फ प्रकाश गिरी, नृत्य प्रीति गुरुङ, शृङ्गार÷भेषभुषा सञ्जय श्रेष्ठ, कला संयोजन जोन्छे आर्टका दिनेश ध्वँजूले गरेका थिए । यसैबीच असार २९, ३० र ३१ गते नेपाल संगीत नाट्य प्रतिष्ठनाले काठमाण्डौमा आयोजना गर्ने नाटक महोत्सवमा पनि ‘अन्तर्राष्ट्रिय रक्सी भट्टी’ ले सहभागीता जनाएको थियो । देशभरका ४० नाटकमध्ये ९ वटा छनौट भएकोमा पोखराको नाटक ‘अन्तर्राष्ट्रिय रक्सीभट्टी’ पनि छनौट भएको थियो । पोखरामा मञ्चन भएको यो नाटकले पोखरेली नाटकलाई फेरि पुरानै गर्विलो इतिहासमा फर्काउने माहोल बनाएको छ ।

किन सुस्तायो रङ्गमञ्च ?

काठमाडौं यति बेला पनि नाटकमय बनिरहेको छ । लगातार काठमाडौंमा नाटक मञ्चन भइरहन्छन् । काठमाडौंबाट प्रभावित भएपछि विस्तारै देशका अन्य सहरमा पनि नाटकको माहोल बन्न थालेको छ कुनै बेला लोक नाटकको मानक बनेको पोखरेली रङ्गमञ्च एक दशकसम्म शून्य रह्यो । धर्मराउँदो अवस्थामा रहेको पोखरेली रङ्गमञ्चलाई यहाँका केही उत्साही युवाले एक दशकपछि ब्युँझाएका छन् ‘अन्तराष्ट्रिय रक्सीभट्टी’ नामक नाटक मञ्चन गरेर । यसअघि किन सुस्तायो त पोखरेली रङ्गमञ्च ? यसका विभिन्न कारण छन् ।

एउटा त्यस्तो समय थियो । पोखराबाट लेखिएका लोकनाटकले नेपालभर चर्चा पाउँथे । लेखनमा मात्रै नभएर नाटक मञ्चनमा पनि पोखरा नेपालकै अग्रणी स्थानमा आउँथ्यो कुनै बेला तर असार १४ र १५ मा अन्तर्राष्ट्रिय रक्सीभट्टी नाटक मञ्चन हुनुअघि पोखरा मात्रै होइन पश्चिम क्षेत्रको रङ्गमञ्च नै शून्यतामा झरेको थियो । कहिलेकाहीँ विभिन्न विकासे संस्थाका सडक नाटकलाई नगन्ने हो भने पोखरा लगायतका क्षेत्रमा कलात्मक नाटक मञ्चन नभएको वर्षांैै भइसक्यो  ।

त्यसो त पोखरामा नाटक मञ्चन नहुनुमा स्तरीय नाटक नभएर पनि होइन, सक्षम कलाकार नभएर त झन् हुँदै होइन अनि उपयुक्त स्थान नभएर पनि होइन । पोखरामा कुनै बेला लोक नाटक र विज्ञान नाटकमा ख्याति कमाएका सरुभक्त, कृष्ण उदासीजस्ता नाटककार पनि छन् । राघवलाल वैद्य, विश्व शाक्य, स्व. क्याप्टेन मिनबहादुर गुरुङ, तीर्थ श्रेष्ठ, अनुप बराल, माओत्से गुरुङ, प्रकाश घिमिरे, प्रकट पगेनी शिव, सरु लालचन, घनश्याम लामिछाने, हेमन्त पराजुली, प्रमिला तुलाचाल, लालभोशा गुरुङ, राजु याकचा, सविता गुरुङ, मोहन खड्का ‘पारस’जस्ता राम्रा रङ्गमञ्चमा खेल्न सक्ने हस्ती पनि पोखराकै माटोमा लडिबुडी खेल्दै रङ्गमञ्चमा स्थापित भएका हुन् । केही प्रकाश व्यवस्था र नेपथ्य मिलाउने हो भने पोखरा सभागृह र पोखरा उद्योग वाणिज्य संघजस्तो मञ्चन गर्ने हल पनि छन् तर पनि पोखरा र आसपासका क्षेत्रमा नाटक एक दशकसम्म मृत अवस्थामा रह्यो ।

डाँफे कला मन्दिर, प्रतिबिम्ब, क्षितिज नाट्य समूह, दीर्घजीवी नव प्रतिभा नाट्य परिवार, ऊँ कला मन्दिर, जमर्को प्रतिभा समूह, सृजनशील कला समूह, युनापजस्ता दर्जनौं नाटकसम्बन्धी संस्थाहरुको विगत भए पनि वर्तमान छैन पोखरामा । कुनै बेला पोखरामा दर्जनौं नाटकसम्बन्धी संस्थाहरु सक्रिय थिए तर अहिले ती संस्थामा काम गर्नेहरु कता छन् अत्तोपत्तो छैन । कारण के होला ? रङ्गकर्मीको उत्तर सहज आउँछ,  नाटकको अभिशाप बनेर टीभी र विदेशी च्यानलहरु आए । पछिल्लो समय बढेका विभिन्न मनोरञ्जनका साधन, रङ्गकर्मबाट गतिलो आयआर्जन हुन नसक्नु, निकै खर्चिलो हुनु, रङ्गकर्मीले निरन्तरता नदिनु, रङ्गकर्मीहरु श्रव्यदृश्य नाटकतिर आकर्षित हुनु पोखराको रङ्गमञ्च शून्यतामा आउनुका मूल कारणहरु हुन् । पोखराको रङ्गमञ्च शून्यतामा झरेपछि यहाँका पुराना रङ्गकर्मीहरु पनि चिन्तित छन् ।

नाटक क्षेत्रमा लागेका सबै सुस्ताएपछि नाटक हेरौं न भन्नेहरु अहिले दिनभरि टीभीको अगाडि विभिन्न च्यानलहरु हेरेर बस्छन्, कोही भने फिल्म हलतिर समय गुजार्न जान्छन् । त्यति मात्रै हैन यस क्षेत्रमा नाटक लेख्ने र खेल्नेहरु कविता, गजल, मुक्तकतिर लागे । कोही टेलिसिरियलतिर लागे त कोही फिल्म निर्माणतिर अनि यी बाहेक अन्य व्यक्तिले जीविकोपार्जनका लागि विभिन्न अन्य पेसा अँगाले । अहिले पोखराको रङ्गमञ्चमा शून्यता छाएको छ र यही अवस्था कायम रहेमा यो शून्यता चिरिने लक्षण पनि देखिँदैन ।

उसो त पोखराको रङ्गमञ्चको इतिहास लामै छ । बि.सं. २००६ सालमा धनशमशेर राणाले पोखरामा नाटकको मञ्चन सुरु गरेपछि फाटफुट रुपमा नाटकको मञ्चन भइरहेको पोखरामा ६० को दशकदेखि यहाँ कुनै नाटक प्रदर्शन भएका छैनन् । सरुभक्त, तीर्थ श्रेष्ठ, कृष्ण उदासी, अनुप बराल, दुर्गा बराल, प्रकट पगेनी ‘शिव’, प्रकाश घिमिरेजस्ता दर्जनौं नाट्यकर्मी जन्माउने पोखरामा यतिबेला नाट्यकलामै समर्पण हुनेहरु पाइँदैनन् । पोखराको माटोले दर्जनौं नाट्यकर्मी उत्पादन गरे पनि उनीहरुलाई निरन्तर नपाउनुका धेरै कारणहरु छन् । कुनै बेला सरुभक्तले गाँउघरका नाटक, बरै, थाङ्ला, मलामी लगायतका नाटक लेखे । कृष्ण उदासीले व्यथाभित्रको कथा, असिम कल्पना, अँध्यारो वस्ती, मन त्यसैत्यसै दुख्छ, आज सहर हाँसेको छ, अभ्यन्तर, अन्तिम संहार लेखे । यीलगायत धेरै नाटकहरु पोखरामा मञ्चन पनि भए । काठमाडौंमा भएको नाटक महोत्सवमा पोखराका यस्तै नाटकले बाजी मार्थे । त्यसपछि नेपालमै नाटकको क्षेत्रमा नयाँ बहसको सिर्जना पनि भयो । यति मात्रै हो र ? कुनै बेला पोखराले लोक नाटकको त मानक नै बनाएको थियो ।

बि.सं. २००६ सालमै पोखरामा नाटक मञ्चनको सुरुवात भए पनि विशेष गरेर  ३०, ४०, ५० र ६० को दशकको सुरुमा पोखराको रङ्गमञ्च उत्कर्षमा पुगेको थियो । पोखरामा २०६२ सालमा कृष्ण उदासीको लेखन तथा निर्देशनमा ‘अश्रुज्वाला’ नाटक मञ्चन भएदेखि कुनै पनि नाटक मञ्चन भएन । काठमाडौंमा समेत गतिला नाटक मञ्चन नभएका बेला यहाँको रङ्गमञ्चले सबैको ध्यान खिचेको थियो । उति बेला नाट्यमञ्चहरु पनि निक्रै सक्रिय थिए तर अहिले यहाँ भएका दर्जनौं नाट्य समूहको अस्तित्वसमेत छैन ।  ‘तीसदेखि पचासको दशकसम्म पोखराको रङ्गमञ्च निकै माथि थियो तर अहिले हामी शून्यतामा झरेका छौं’ पोखरामा नाटक लेखन, निर्देशन तथा अभिनयमा सक्रिय रहेका पुराना रङ्गकर्मी एवम् प्राज्ञ सरुभक्त भन्छन्, ‘अहिले पोखराको रङ्गमञ्च शून्यता भएपछि रङ्गप्रेमीलाई निकै चिन्तित बनाएको छ । त्यति मात्रै हैन विशेष गरेर हामी रङ्ग कर्मी बढी चिन्तामा परेका छौं ।’

प्राज्ञ सरुभक्तको अनुभवमा रङ्गकर्ममा प्रतिबद्ध भएर लाग्ने अवस्था नहुनु  र मुख्य गरी रङ्गकर्मबाट आय आर्जन हुने सम्भावना नहुनुले पोखराको रङ्गमञ्च सुस्ताउन पुगेको हो । त्यति मात्रै हैन रङ्गकर्ममा लागेर बाँच्न सक्ने कुनै आधार नभएपछि रङ्गकर्मीहरु अन्य पेसा व्यवसायमा लाग्न थालेपछि पोखराको रङ्गकर्म शून्यतामा झरेको हो । ‘आर्थिक कारणले नै प्रतिभा पलायन भएका छन्’ सरुभक्त भन्छन, ‘यसमा लागेर आम्दानीको त कुरै छाडौं उल्टै लगानी गर्नुपर्ने अवस्थाले नै पोखराको रङ्गकर्म सुस्ताएको हो ।’

सरुभक्तको अनुभवसँग सहमत हुने धेरै रङ्गकर्मीहरु छन् पोखरामा । चर्चित नाटककार कृष्ण उदासीको भनाइ पनि उस्तै छ । ६० को दशकदेखि पोखरामा रङ्गमञ्च शून्यतामा झरेको सुनाउँदै उनले कलाकारहरु विस्तारै फिल्म र सिरियलतिर आकर्षित हुँदा यहाँको रङ्गमञ्चमा शिथिलता आएको बताए । बाहिर भनेजस्तो रङ्गमञ्च सजिलो पनि कहाँ छ र ? अरु मनोरञ्जनभन्दा स्टेज नाटक मञ्चन गर्न निकै खर्चिलो पनि छ । ‘पहिले हामी आफ्ना बाबुआमाले कमाइदिएको पैसामाथि मोज गर्दै रङ्गमञ्चमा लाग्यौं’ उनी भन्छन्‘ आफूले केही गर्नुपर्दैनथ्यो अनि निरन्तरता दिन सजिलो भएको थियो तर अहिले पारिवारिक बोझ आफूमा आएपछि रङ्गमञ्चबाट जीविकोपार्जन हुने त कता हो कता उल्टो लगानी गरेर खर्च पनि नउठ्ने हुनाले यतातिर ध्यान मर्दै गएको हो ।’

हुन पनि एउटा नाटक मञ्चन गर्ने अवस्थासम्म ल्याइपु¥याउन कम्ता कठिनाइ छैन । एउटा नाटक मञ्चन गर्न दुई महिनासम्म रिहर्सल ग¥यो अनि नाटक दुई दिन देखायो, त्यसपछि केही न केही । नाटकका लागि धेरै कलाकार चाहिने हुनाले पनि यो खर्चिलो छ । कुनै ठाउँमा देखाउन जानुपर्दा कलाकारहरुसमेत जम्मा हुनै गाह्रो पर्ने मुख्य समस्या हो । यी यस्तै कारणले गर्दा धेरै रङ्गकर्मीहरु पछिल्लो सयम फिल्मतिर आकर्षित भएका छन् । भएका रङ्गकर्मीहरु पलायन हुनु अनि फिल्म र टेलिफिल्मतिर लाग्नुले पनि पोखराको रङ्गमञ्चलाई धक्का लागेको हो ।

एकताकाका चर्चित रङ्गकर्मी माओत्से गुरुङ रङ्गमञ्च सुस्ताउनुमा सबभन्दा ठूलो बाधक सरकारको रङ्गमञ्चलाई हेर्ने दृष्टिकोण भएको बताउँछन् । त्यति मात्रै नभई पोखरामा मञ्चन गर्ने ठाउँको अभाव हुनु पनि पोखराको रङ्गमञ्च सुस्ताउनुको मूल कारण हो  । ‘पोखराको रङ्गमञ्च सुस्ताउनुमा धेरै कारणहरु छन्, तीमध्ये रङ्गकर्मीहरु श्रव्य दृष्यतिर लाग्नु प्रमुख कारण हो ।’ पछिल्लो समय फिल्मतिर लागेका रङ्गकर्मी माओत्से भन्छन् ‘रङ्गकर्ममा लागेर कमाइ हुने भए पो त्यो कर्मलाई निरन्तरता दिन सकिन्छ, उल्टै पैसा खर्च हुन थालेपछि रङ्गकर्मीहरुमा निराशा आएको हो ।’

पोखरा एकताका नाटकका लागि अत्यन्तै उर्वरभूमि थियो । त्यति राम्रो उर्वरभूमि भए पनि पछिल्लो पुस्ताले यहाँको रङ्गमञ्चलाई न त बुझ्न पाएका छन् न गर्व नै गर्न सक्छन् । छ त केवल विगत मात्र । थोरै मात्रामा भए पनि पछिल्लो पुस्ताका युवाहरु रङ्गकर्ममा नलागेका पनि हैनन् तर निरन्तरता दिनेहरु निकै कम छन् । रङ्गकर्ममा लागे पनि अहिलेका पुस्ता टेलिसिरियलमै व्यस्त छन् । उनीहरुले नाटक स्टेजमा मञ्चन गरेको पाउन मुस्किल छ ।

पोखरेली रङ्गमञ्चको इतिहास

बडाहाकिम भएर पोखरा आएका धनशमशेर राणाले वि. सं. २००६ सालमा पोखराको मोहोरिया टोलमा पहिलो पटक नाटक मञ्चन गरे । त्यहींबाट पोखराको रङ्गमञ्चीय इतिहासको सुरुवात भयो । तत्कालीन बडाहाकिमकै छोरा हरिशमसेर जबराले निर्देशन गरेको त्यो नाटक नै पोखराको पहिलो हो ।  त्यसो त त्यो नाटक हेर्न सर्वसाधारणलाई मौका थिएन । त्यतिबेला त्यो नाटक निश्चित आफन्तहरुको बीचमा मञ्चन गरिएको थियो । सार्वजनिक रुपमा भने ‘राजा हरिशचन्द्र’ भन्ने नाटक मोहोरिया टोलमै प्रर्दशन गरियो । यो समयमा कलाकारहरुको अभावमा पुरुष नै महिला बनेर अभिनय गर्ने चलन थियो ।

वि. सं. २००७ सालमा भीमनिधि तिवारीले लेखेको नाटक ‘सहनशिला सुशीला’ को पहिलो पटक टिकटमा प्रर्दशन गरिएपछि पोखराको रङ्गमञ्चले उचाइ लियो । त्यही वर्ष पोखराका केही उत्साही युवाले यहाँको रङ्गमञ्चलाई मलजल गर्न विन्ध्यवासिनी नाटक मण्डली गठन गरे । यही मण्डलीमा काम गर्ने कलाकारहरुले पारिश्रमिकबापत दुई सय रुपैयाँसम्म लिने गरेका थिए । वि. सं. २०१३ सालमा पोखराका केही राणाहरु र चन्द्रकुमार पालिखेको सक्रियतामा विनायक नाट्यशालाको स्थापना भयो । यो संस्थाले मञ्चन गरेको ‘किस्मत’ नाटक लगातार १८ दिनसम्म चलेर नयाँ कीर्तिमानी राख्दा यहाँको रङ्गमञ्चले देशव्यापी प्रशंसा त बटुल्यो नै सबैको ध्यान पोखरातिर खिच्यो ।

वि. सं. २०१६–१७ सालतिर तनहुँ पुख्र्यौली घर भएका महेन्द्र खनालले पोखरेली रङ्गमञ्चलाई आफ्ना ठट्यौली गीत र अभिनयले अझ उचाइमा पु¥याए । वि. सं. २०१८ सालतिर स्याङ्जाबाट पोखरा झरेका चेतन कार्कीले नाटक लेखन, निर्देशन र अभियनसमेत गरेर यहाँको रङ्गमञ्चको विकासलाई थप मलजल गरे । उनले पोखराका धेरै कलाकारलाई रङ्गमञ्च र चलचित्रमा प्रवेशसमेत गराए । वि. सं. २०२३ सालतिर उनले निर्देशन गरेको राष्ट्रिय बहुउद्देश्यीय माध्यमिक विद्यालय पोखराका विद्यार्थीहद्वारा अभिनित ‘आत्मा बेचेको छैन’ नाटकले पनि खुब चर्चा पायो ।

फाटफुट रुपमा नाटकको मञ्चन भइरहेको पोखरामा वि.सं. २०२७ सालमा डाँफे कला मन्दिरले पोखराको नाटकमा नयाँ क्रान्ति सुरु ग¥यो । भूपू ब्रिटिस आर्मीका क्याप्टेन मिनबहादुर गुरुङले पोखराको बगरमा डाँफे कला मन्दिरको स्थापना गरेर नाटक मञ्चन, नेपाली लोकगीत र लोकनृत्यको प्रदर्शन गरी निकै प्रशंसनीय काम मात्र गरेरन् पोखरामा बामे सर्दै गरेको नाटकको इतिहासलाई नयाँ बाटो देखाए । पोखरामा सबैभन्दा लामो समय टिकेको र टिकटमा रङ्गमञ्चमा देखाउने एकताका यो एक्लो सस्था थियो । यसले २०२७ मा प्रदर्शन गरेको ‘मातृभूमिको व्यथा’ नाटकले नयाँ लहर ल्याएको थियो ।

वि. सं. २०३० सालपछि भने पोखरामा थुपै्र संस्था अनि व्यक्तिहरु रङ्गकर्ममा लागेको पाइन्छ । यही दशकमा पोखरेली युवा साँस्कृतिक परिवार, युवा नाट्य परिवार, क्षितिज नाट्य समूह, दीर्घजीवी नवप्रतिभा नाट्य परिवार, ऊँ कला मन्दिर, जमर्को प्रतिभा समूह, सृजनीशल कला समूहजस्ता दर्जनौं नाट्यसम्बन्धी संस्थाहरु स्थापना भए जसको उद्देश्य पोखरमा नाटक प्रर्दशन गर्ने थियो तर कालान्तरमा त्यो हुन सकेन । त्यसपछि पनि छिटपुट रुपमा पोखरामा नाटक मञ्चन त भइरहे तर निरन्तरताको कडीमा बाँधिन सकेनन् ।

वि. सं २०३६ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको नाटक महोत्सवमा निर्देशक सरुभक्तको नाटक उत्कृष्ट निर्देशन र अभिनयमा पुरस्कृत भएको थियो । २०३८ सालमा राष्ट्रिय नाटक उत्सवमा पोखराको प्रतिनिधि नाटक ‘गोलाद्र्ध’मा अभिनय गर्ने पोखरेली कलाकार प्रकट पगेनी ‘शिव’ अभिनय विधामा उत्कृष्ट घोषित भए जसको लेखन सरुभक्तले नै गरेका थिए । यही वर्ष युवा नाट्य परिवारले निर्माण गरेको ‘घामभरिको सपना’ उत्कृष्ट नाटक घोषित भयो । ४० को दशकमा पोखरामै विन्ध्यवासिनी युवा क्लबले नाटकमा सक्रियता देखाउन थाल्यो । वि. सं. २०४३ सालमा सूर्योदय क्लबले अनुप बरालको निर्देशनमा ‘जब इज्जत सल्कन्छ’ मञ्चन गरायो । यो समयपछि पोखरामा नाटकको प्रस्तुतिमा सुधार हुने आशा धेरैले गरेका थिए । यही सयमा कृष्ण उदासी, अनुप बराल, प्रकाश घिमेरे, दीपकराज शर्मा, प्रेमकुमार पुनलगायतका कलाकारहरुले पोखराको नाटकलाई निकै आशालाग्दो स्थितिमा पु¥याए । त्यही भएर वि. सं. २०४८ सालमा तत्कालीन नेपाल राजयकीय प्रज्ञा प्रतिष्ठानले पहिलोपटक पोखरामा माधवप्रसाद घिमेरेले लेखेको नाटक ‘मालती मङ्गले’ प्रर्दशन ग¥यो ।

वि.सं. ४७ सालतिरै प्रतिबिम्ब नाट्य समूहको स्थापना भयो । प्रतिबिम्बको स्थापनापछि पोखरामा फेरि स्तरीय नाटकको सुरुवात भयो अनि पोखरेलीहरुलाई आशा लाग्यो फेरि पोखराको रङ्गमञ्च व्युँझने भयो तर त्यो आशा अझै पूरा हुन सकेको छैन । चर्चित रङ्गकर्मी अनुप बरालहरुको प्रतिबिम्ब थिएटरले त चालीसको दशकको अन्त्यतिर पोखरामा तहल्कै मच्चाएको थियो । प्रतिबिम्ब स्थापना भएपछि ५० सालभन्दा पछि उसले खासै काम गर्न सकेन । यसअघिका नाट्यसम्बन्धी संस्थाहरु त करिब अस्तित्वविहीन भइसकेका थिए । वि. सं २०५० मा कृष्ण उदासीको नाटक आस्थाको वस्ती, २०५१ मा अन्तिम संहार, २०५२ मा अश्रुज्वाला, २०५४ मा अङ्गना, २०५६ मा अभ्यन्तर नाटकले पोखराबाट राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुने अवसर पाए । पोखराका नाटककारमध्ये राष्ट्रिय नाटक महोत्सवमा लगातार आफ्ना नाटक पारेर उदासीले चमत्कार गरेका थिए ।

त्यसपछि शून्यतामा झरेको पोखराको रङ्गमञ्चलाई व्यँुताउने आशयले वि. सं. २०५५ सालमा पोखरामा तीन दिने पश्चिमाञ्चल क्षेत्रीय नाटक महोत्सव आयोजना भयो जसमा पोखराका करिब आठ नाट्य समूहले सहभागिता जनाएका थिए । ऊँ शिव कला मन्दिर, हिमशिखर कला परिवार, हिमाली साँस्कृतिक परिवार, क्षितिज नाट्य समूह, दीर्घजीवी नवप्रतिभा नाट्य परिवार, धर्मसेवा परिवार, जमर्को प्रतिभा समूह, सिर्जनशील साहित्य सदनजस्ता संस्थाले पोखरामा नाटक मञ्चन गरेका थिए । पोखराको नाटकको विकासमा विभिन्न समयमा फरकफरक क्रियाकलाप त भए तर पनि ६० को दशकपछि पोखरामा नाटकको मञ्चन भने शून्य भयो । हिजोआज भने पोखरामा नाटक मञ्चन गरिने कुरा कथा भइसक्यो । ऊँ कला मन्दिर, क्षितिज नाट्य परिवार, जमर्को प्रतिभा समूह, सिर्जनशील कला समूहले बेला बेलामा नाटकको स्वाद दिने गरे पनि शून्यता छाएको बेला २०६९ सालमै पोखरेली नाट्य प्रतिष्ठान गठन भए पनि त्यसले खासै ठोेस कार्य गर्न नभ्याउँदै सहकार्यमूलक संस्थाका रुपमा ७० को दशक सुरु हुनु नपाउँदै गठित युथ क्रियशन थिएटरले कृष्ण उदासीको लेखन र निर्देशनमा ‘अन्तराष्ट्रिय रक्सीभट्टी’ नाटक मञ्चन गरेर पोखराको रङ्गमञ्चलाई ब्युँझाएको छ । यसले पोखराको रङ्गमञ्चको माहोल तताएको छ । पोखरामा नाटक मञ्चनले निरन्तरता पाउँछ वा पाउँदैन त्यो भने हेर्न बाँकी नै छ ।

                                                                                                [email protected]


( रङ्ग पत्रकार समूहका अध्यक्ष लेखक अन्तराष्ट्रिय रक्सीभट्टी नाटकका कलाकार तथा युथ क्रियशन थिएटरका सदस्य हुन्  ।)


2 comments: