२९० औँ साहित्य शृङ्खलामा खुसीराम पाख्रिन र तारा तिम्सिनाको सम्झना - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, November 21, 2026

२९० औँ साहित्य शृङ्खलामा खुसीराम पाख्रिन र तारा तिम्सिनाको सम्झना

पोखरा, मङ्सिर ५ गते । साहित्य शृङ्खला, पोखराको नियमित रचना वाचनको २९० औं शृङ्खला जनगायक खुसीराम पाख्रिनको नवौँ स्मृति र शृङ्खलाका पूर्वउपाध्यक्ष एवम् आलोक शृङ्खलाका सम्पादक ताराप्रसाद तिम्सिनाको पहिलो स्मृतिमा दुवै सर्जकहरूको योगदानको चर्चा गर्दै शनिवार पोखरामा सम्पन्न भएको छ ।

जनगायक पाख्रिनको रचना सङ्गीतमा रहेको "कालो वनको बिचैमा" गीत सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले र सचिव विकास लुङ्गेलीले गाएर उपस्थित स्रष्टाहरूलाई स्वागत गर्दै कार्यक्रमको ढोका उघारिएको थियो । सल्लाहकार नारायण परिश्रमीद्वारा तारा तिम्सिनाको स्मृतीमा रचित गीत सो अवसरमा सुनाइएको थियो ।

शृङ्खलाका सल्लाहकार डा.कृष्णराज अधिकारीले प्रगतिशील लेखक सङ्घ, गण्डकी साहित्य सङ्गम र शृङ्खलाको संयुक्त कार्यक्रम गर्ने थलाका रूपमा साहित्य शृङ्खला गठन भएको बताउँदै कार्यक्रमलाई समयसापेक्ष परिमार्जन गर्नुपर्नेमा जोड दिएका थिए ।

सल्लाहकार यादवराज उपाध्यायले जनगायक पाख्रिन र तिम्सिनाको योगदानको चर्चा गर्दै शृङ्खलाले उचाइ हासिल गर्दै गइरहेकामा खुसी व्यक्त गरेका थिए । उनले प्रगतिशील विचारधारामा कुनै पनि सम्झौता गर्न नसकिने भनाइ राखे ।

गण्डकी साहित्य सङ्गमा अध्यक्ष भीम रानाभाटले जनगायक पाख्रिनका जीवनदर्शनबारे प्रकाश पारेका थिए । आलोक शृङ्खलाका सम्पादक निर्मल सापकोटाले शृङ्खलाका अध्यक्ष लक्ष्मण गौतमको भवानी खण्डकाव्यका बारेमा सङ्क्षिप्त परिचर्चा गर्दै लघुकथा सुनाएका थिए ।

कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका साहित्य संयोजक ढाकामोहन बराल, जनगायक पद्मराज ढकाल, गीतकार प्रतिष्ठानका सचिव रुपिन्द्र प्रभावी, प्रलेस, कास्कीका अध्यक्ष छवि सुवेदी ‘विजयी’, गीतल  प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारी, प्राज्ञ गायत्री पराजुली, शृङ्खलाकी पूर्वअध्यक्ष लक्ष्मी थापा, सल्लाहकार धनबहादुर नेपाली, विजया सुवेदी ‘उदासी’, सुरज उपाध्याय, लोचना अधिकारी, जमुना कायस्थ, तेजनारायण अधिकारी, छविलाल आचार्य, विद्याविमल बराल, गीता तिवारीलगायतका स्रष्टाहरूले आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा प्राज्ञ नारायण मरासिनी, कलाकार यादवचन्द्र भुर्तेल, रामजी थापा, लक्ष्मीप्रसाद पौडेलको पनि सहभागिता रहेको थियो । कार्यक्रम शृङ्खलाका अध्यक्ष लक्ष्मण गौतम ‘हिमाली’ को अध्यक्षता र सचिव काजी गाउँलेको सञ्चालनमा सम्पन्न भएको थियो ।

शृङ्खलाको कार्यक्रम प्रत्येक महिनाको पहिलो शनिवार हुँदै आइरहेको सचिव गाउँलेले जानकारी दिए ।

No comments:

Post a Comment