मोहनविक्रमलाई गोकुल पुरस्कार ! - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, May 23, 2026

मोहनविक्रमलाई गोकुल पुरस्कार !

 

पोखरा, जेठ ९ गते । ‘गोकुल वाङ्मय पुरस्कार २०८२’ बाट साहित्यकार तथा समालोचक मोहनविक्रम सिंह पुरस्कृत हुनुभएको छ ।

२०४९ सालमा स्थापित ‘गण्डकी साहित्य सङ्गम’, पोखराले शनिवार क्रान्तिद्रष्टा कवि गोकुल जोशीको ९७ औं जयन्तीका अवसरमा आयोजित कार्यक्रममा सिंहलाई ४० हजार रुपियाँसहित सो पुरस्कार प्रदान गरेको हो ।

सम्मानित व्यक्तित्व सिंहले आफूलाई सम्मान गरेकामा संस्थालाई धन्यवाद दिँदै गोकुल जोशी नेपालको प्रगतिशील साहित्यको महान् विभूति भएको उल्लेख गर्नुभयो । उहाँको नामबाट स्थापना गरिएको पुरस्कारबाट सम्मानित हुनु आफ्ना लागि गौरवको विषय भएको बताउँदै सिंहले गोकुल जोशीले साहित्य सिर्जनाद्वारा समाज र जीवनमा परिवर्तनका लागि जोड दिएको उल्लेख गर्नुभयो । जोशीका रचनामा जीवनको दर्शन र क्रान्तिको उद्घोष पाइने बताउँदै उहाँले आफ्नो पनि दुईचारपटक गोकुल जोशीसँग भेट भएको सन्दर्भ समेत कोट्याउनुभयो ।

कार्यक्रममा सम्मानित प्रतिभा मोहनविक्रमको साहित्यिक योगदानमाथि प्रतिभा छनौट समितिका सदस्य प्रा.डा. यदुनन्दन उपाध्यायले प्रकाश पार्नुभएको थियो भने गोकुल जोशीको जीवनी, व्यक्तित्व तथा कृतित्वका बारेमा साहित्यकार एवम् बुद्धिजीवीहरु डा. कृष्णराज अधिकारी, रामराज रेग्मी, रघुनाथ अधिकारी, चन्द्रप्रकाश बानियाँ, शङ्कर बराल, झलकपाणि तिवारी, डा बुद्धिबहादुर थापा, नुमराज बराल लगायतले चर्चा गर्नुभएको थियो ।

सोही सन्दर्भमा गण्डकी साहित्य सङ्गम, पोखराको आवधिक प्रकाशन ‘गण्डकी सङ्गम’को पूर्णाङ्क– २२ लोकार्पण गरिएको थियो । प्रकाशित उक्त पत्रिकामाथि समीक्षक राजेन्द्र पौडेलले टिप्पणी गर्नुभएको थियो ।

संस्थाका उपाध्यक्ष पद्मराज ढकालद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको उक्त कार्यक्रमको अध्यक्षता भीम रानाभाटले र सञ्चालन सचिव नारायण मरासिनीले गर्नुभएको थियो ।

No comments:

Post a Comment