पोखरा, जेष्ठ २ गते । पोखरेली युवा सांस्कृतिक परिवारद्वारा नियमित रूपमा सञ्चालित समता काव्य सन्ध्याको ३९४ औँ शृङ्खला शनिवार सम्पन्न भएको छ ।
साहित्य, सङ्गीत र कलाको त्रिवेणीका रुपमा वि. सं. २०३४
सालदेखि अविच्छिन्न रूपमा क्रियाशील पोखराको अग्रणी वाङ्मयिक संस्था पोखरेली युवा
सांस्कृतिक परिवारले मदरल्याण्ड माध्यमिक विद्यालयको प्रेक्षालयमा विद्यार्थी
विशेष शृङ्खला सम्पन्न गरेको हो ।
कार्यक्रमका सुप्रसिद्ध साहित्यकार डा. ईश्वरमणि अधिकारीले पोखरेली
युवा सांस्कृतिक परिवारद्वारा विगत तेत्तिस वर्षदेखि सञ्चालित ‘समता काव्य
सन्ध्या’ले नियमित कार्यक्रममै सन्ध्या नायक, नयाँ पुस्ता विशेष, नारी स्रष्टा विशेष, छन्द कविता विशेष आदि
शृङ्खला सञ्चालन गर्दै आइरहेकामा विद्यार्थी विशेष शृङ्खला सञ्चालन गरेको बताए ।
विद्यार्थीका कवितामा अनुभूतिको तीव्रता, समाज, देश र परिवारप्रतिको संवेदनशीलता देख्दा यिनको
साहित्यिक भविष्य उज्ज्वल देखिएको उनको भनाइ थियो ।
अर्का प्रसिद्ध साहित्यकार दीपक समीपले आफूले पनि
विद्यार्थीकालदेखि नै लेख्न थालेर यहाँसम्म आइपुगेको र यहाँका विद्यार्थीहरुको
प्रतिभा देख्दा आफ्नो बाल्यकाल याद आएको बताए ।
विद्यालयका निर्देशक त्रिभुवन शर्माले पोखरेली युवा
सांस्कृतिक परिवारले यस्तो आफ्नो विद्यालयमा समता काव्य सन्ध्या आयोजना भएकामा खुसी
व्यक्त गरे ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरू शाश्वत पौडेल, सुविका घिमिरे, सुम्निमा क्षेत्री, सुस्मिता आचार्य, रिभा आचार्य, शुभानी पौडेल, नम्रता ढकाल, अक्षता पाण्डेका साथै
अग्रज कविहरू नवराज न्यौपाने, रेशम गिरी, केशु शर्मा, सतीश रेग्मी, ढाकामोहन बराल,
रती भट्टराई, देवेन्द्र चिनार, वसन्त चालिसे, भगवती बञ्जारा, प्रेमनारायण पोखरेल, विद्याविमल बराल, एकदत्त लम्साल, हरि पौडेल, लोचना अधिकारी, रोशन तिमिल्सिना, चन्द्रावती वाग्ले, निकेश गिरी, मनोज गौतम, शान्ति कँडेल, भवसागर घिमिरे, तेजबहादुर गुरुङ, आशिष रेग्मी, विमला अधिकारी, सिर्जना आचार्यलगायतले
आफ्ना कविता वाचन गरेका थिए ।
परिवारका उपाध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको
कार्यक्रममा साहित्य विभागकी संयोजक केशु शर्माले स्वागत र सचिव एमडी काफ्लेले कार्यक्रम सञ्चालन गरेका
थिए ।

No comments:
Post a Comment