भरतपुर, १० चैत । पालिकास्तरीय प्रज्ञाप्रतिष्ठानहरूको राष्ट्रिय भेला ‘भरतपुर घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ । दुई दिनसम्म चलेको भेलाले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यसहित १३ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।
देशभरका १७ प्रज्ञाप्रतिष्ठानबाट करिब ६५ जना प्राज्ञहरूको सहभागिता रहेको भेलामा प्रज्ञा सभाको गठनपछिको अवस्था, सञ्चालन र भावी मार्गचित्रबारे विस्तृत छलफल गरिएको थियो ।
घोषणापत्रमा सङ्घीय, प्रादेशिक र स्थानीय तहबीच समन्वय बढाउने, सबै स्थानीय तहमा प्रज्ञाप्रतिष्ठान स्थापना गर्ने तथा नाममा एकरूपता ल्याउने विषयलाई प्राथमिकता दिइएको छ ।
यस्तै, ‘प्रज्ञासूचना प्रणाली’ निर्माण गर्ने, नयाँ पुस्तालाई सिर्जनामा प्रोत्साहन गर्ने तथा ज्ञानको पुस्तान्तरण सुनिश्चित गर्ने विषयमा पनि जोड दिइएको छ । प्रत्येक स्थानीय तहमा सांस्कृतिक ग्राम निर्माण गर्ने र मौलिकता, विविधता तथा सम्पदाको संरक्षणलाई योजनागत रूपमा अघि बढाउने प्रस्ताव पनि समेटिएको छ ।
घोषणापत्रमा स्रष्टालाई प्रोत्साहन गर्न पुरस्कारमा कर हटाउने, स्रष्टा–परिचयपत्र लागू गर्ने र सामाजिक सुरक्षा सुनिश्चित गर्ने विषय उल्लेख गरिएको छ । साथै, कलालाई शिक्षासँग र शिक्षालाई उत्पादनसँग जोड्ने अवधारणालाई पनि प्राथमिकतामा राखिएको छ ।
भेलाअन्तर्गत आयोजित काव्यिक कार्यक्रममा सहभागी प्राज्ञहरूले गीत, गजल तथा कविता वाचन गरेका थिए भने वक्ताहरूले यस्ता कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए ।

No comments:
Post a Comment