डा. नवराज र शान्तिको कृतिको एकसाथ चर्चा - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Tuesday, March 3, 2026

डा. नवराज र शान्तिको कृतिको एकसाथ चर्चा

 


पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखराले दम्पतीका दुई कृतिमाथि परिचर्चा गरेको छ ।

वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका आजीवन सदस्यद्वय शान्ति कँडेल न्यौपाने र डा. नवराज न्यौपानेका क्रमश: मौन घुम्तीहरू (कविता सङ्ग्रह) र अक्षराञ्जलि (गजलकाव्य) माथि परिचर्चा गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि सरुभक्तले 'मौन घुम्तीहरू'को लोकार्पण गर्दै एउटै समय र कार्यक्रममा दम्पतीका दुई कृतिमाथि परिचर्चा हुनु नेपाली साहित्यको सुखद् पक्ष रहेको बताउनुभयो । स्रष्टा दम्पतीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सरुभक्तले कुनै पनि साहित्यिक विधालाई परिभाषाको साँघुरो घेराभित्र राख्न नहुने तर्क गरे । नेपाली साहित्यमा सबैले आआफ्नै डम्फु बजाउँदै 'तँ ठुलो कि म ठुलो' भनिरहेका छन् । यस्तो प्रवृत्ति नेपाली साहित्यका लागि घातक भएको उहाँको टिप्पणी थियो ।

डा. श्रीधर न्यौपानेले 'मौन घुम्तीहरू' को परिचर्चा गर्दै निबन्धमा निबन्धकारले आफ्नो लेखकीय आग्रहलाई लाद्न खोज्छ तर कवितामा कवि त्यस आग्रहबाट मुक्त हुने बताए । उनले शीर्षक, संरचना, दर्शन, भाव, शिल्प, प्राप्ति, सीमाजस्ता आधार बनाएर कवितासङ्ग्रहको परिचर्चा गरेका थिए । 'सवाई' जस्तो अत्यन्त सरल नेपाली लोक लयमा संरचित सङ्ग्रहका कविताहरूले नेपाली जनजीवनलाई मार्मिक रूपमा प्रस्तुत गरेको उनको टिप्पणी थियो । स्रष्टामा सिर्जनाप्रतिको हुटहुटी हुनु र निरन्तर सिर्जनामा लाग्नु प्रेरणादायी भएको उनले उल्लेख गरे ।

अर्का समीक्षक प्रा.डा. शालिग्राम सुवेदीले 'अक्षराञ्जलि' गजलकाव्यको परिचर्चा गर्दै काव्यिक आनन्दको स्रोत शब्दलाई मान्दै संसारलाई मायाको खेल र साहित्यलाई शब्दको खेलका रूपमा अर्थ्याए । उनले आकाशको विराटताभित्र माखादेखि ठुलाठुला पन्छीहरू उडेको सन्दर्भलाई कोट्याउँदै स्रष्टा न्यौपाने 'अक्षराञ्जलि'का माध्यमबाट नेपाली साहित्य आकाशमा उडान भर्न सफल भएको टिप्पणी गरे । गजलकाव्यको आवरण पृष्ठलाई अर्थ्याउँदै सुवेदीले स्रष्टाले आफ्नै माताको महाप्रस्थानको स्मृतिमा अञ्जुलीभरि अक्षररूपी जल लिएर श्रद्धाञ्जलि अर्पण गरेको उनको भनाइ थियो । शब्दमा खेल्नु आफैँमा कठिन कार्य भएर पनि स्रष्टा यस कार्यमा सफल भएको उनको दाबी थियो ।

स्रष्टाद्वयले लेखकीय मन्तव्य राख्दै सहयोगी सबैप्रति हार्दिक आभार र धन्यवाद प्रकट गरेका थिए भने कार्यक्रममा शिव त्रिपाठी र पद्मराज ढकालले 'मौन घुम्तीहरू' बाट एक/एकओटा कविता वाचन गरेका थिए । त्यस्तै आवाज शर्मा र टङ्कराज बरालले 'अक्षराञ्जलि'बाट एक/एकओटा गजल वाचन गरेका थिए । आवाज शर्माले गजलवाचनसँगै गजलको सैद्धान्तिक पक्षमाथि थप प्रकाश पार्दै प्रशस्ति काव्य (कसिदा) बाट विकसित हुँदै प्रेम काव्यका रूपमा गजल स्थापित भएको उहाँको तर्क थियो । गजल लेखिने विधाभन्दा बढी भन्ने भनिने विधा भएकाले कथ्य भाषासँग यसको निकटता रहन्छ । तसर्थ गजलको विश्लेषण गर्दा कथ्य भाषालाई आधार बनाएर गर्नुपर्ने उनको जिकिर थियो ।

संस्थाका अध्यक्ष सुरज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाकी सहसचिव गायत्री पराजुलीले स्वागत गरेकी थिइन् भने सचिव डा. पिताम्बर पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

No comments:

Post a Comment