पोखरा, माघ २४ गते । कवि गोविन्दराज विनोदीको कृति ‘अलङ्कार इन्द्रेणी’ लाई लेखक कृति पुरस्कार २०८१ प्रदान गरिएको छ ।
नेपाली लेखक सङ्घ, कास्कीले शनिवार पोखरामा आयोजना
गरेको कार्यक्रममा नेपाली लेखक सङ्घ, केन्द्रीय समितिका निवर्तमान अध्यक्ष तीर्थ
श्रेष्ठलगायतले २५ हजार रुपियाँ नगदसहित दोसल्ला र सम्मानपत्र रहेको पुरस्कार विनोदीलाई
हस्तान्तरण गरे । डा. लक्ष्मीशरण अधिकारीको संयोकत्वमा डा. गणेश शर्मा र डा.
विष्णुप्रसाद शर्मा सदस्य रहेको कृति छनोट समितिको सिफारिसमा विनोदीको अलङ्कार
इन्द्रेणीलाई पुरस्कार प्रदान गरिएको अध्यक्ष रीता अधिकारी ‘ऋतु’ले जानकारी दिइन्
। २०८१ सालमा प्रकाशित कृतिहरूमध्ये अलङ्कार इन्द्रेणी छानिएको अधिकारीले बताइन् ।
सोही अवसरमा साहित्य र पत्रकारिताका माध्यमबाट
गरेको योगदानको कदर गर्दै तारा पाखेलाई सम्मान गरिएको थियो । पुरस्कृत र सम्मानित प्रतिभाको
परिचय छनोट समितिका संयोजक डा. लक्ष्मीशरण अधिकारी र सङ्घका उपाध्यक्ष कमल पौडेल ‘अथक’
ले दिएका थिए ।
कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठले विनोदी
र पाखेलाई प्रदान गरिएको सम्मान र पुरस्कारले संस्था स्वयम् पुरस्कृत भएको धारणा
राखे । योग्य प्रतिभालाई दिइने पुरस्कारले पुरस्कार स्वयम् पुरस्कृत हुने उनको
भनाइ थियो । मानवीय अनुभूतिहरू समान हुने भएकाले कतिपय कृतिमा समान दृष्टिकोण
आउनुलाई उनले स्वाभाविक भएको धारणा राखे ।
पुरस्कृत प्रतिभा गोविन्दराज विनोदीले आफूले
लेखक भएकै कारण जीवनमा बिर्सनै नसकिने सम्मान र साथ पाएको स्मरण गरे । मनका
भावहरूलाई अलङ्कारको कसीमा राखेर लेखिएका कविताले ‘अलङ्कार इन्द्रेणी’ को रूप लिएर
कृति प्रकाशन गरेको उनको अनुभव थियो । कास्कीको रूपाकोटमा जन्मेर हाल गैँडाकोट,
नवलपुर बस्दै आएका विनोदीका डेढ दर्जन कृति प्रकाशित छन् ।
अर्का सम्मानित प्रतिभा तारा पाखेले समाज
परिवर्तनका पक्षमा आवाज उठाउँदै आउँदा भोग्नुपरेका अप्ठ्याराहरूको चर्चा गर्दै
आफ्ना रचना पनि त्यसैतर्फ केन्द्रित हुने गरेको बताए । लेखक सङ्घले गरेको सम्मानले
आफ्नो प्रयास सार्थक भएको अनुभव पाखेले सुनाए ।
कार्यक्रममा साहित्यकार सरुभक्त, नेपाली लेखक
सङ्घका केन्द्रीय उपाध्यक्ष डा. ईश्वरमणि अधिकारी, गण्डकी प्रदेशका अध्यक्ष दीपक
समीपलगायतले शुभकामना दिएका थिए ।
सङ्घकी अध्यक्ष रीता अधिकारी ‘ऋतु’ को अध्यक्षतामा भएको
कार्यक्रमको सञ्चालन सचिव प्राञ्जलले गरेका थिए ।

No comments:
Post a Comment