साहित्यकार गिरीका दुई कृति एकैसाथ सार्वजनिक - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Tuesday, December 2, 2025

साहित्यकार गिरीका दुई कृति एकैसाथ सार्वजनिक

 


काठमाडौं । कविता, समालोचना, निबन्ध र राजनीतिक स्तम्भ लेखनमा समानान्तर कलम चलाउने डा. अमर गिरीका दुई साहित्यिक कृति एकै साथ बजारमा आएका छन् । गिरीको छैटौँ कविता सञ्चयनका रुपमा ‘रातमा कलम’ र चिन्तनपरक निबन्धहरुको नयाँ सङ्कलन ‘समय, शब्द र संवाद’ बेला पब्लिकेसन्सले प्रकाशन गरेको हो ।

कवि गिरी २०३० को दशकदेखि नेपाली प्रगतिवादी कविताका क्षेत्रमा सक्रिय स्रष्टा हुन् । उनका यसअघि नै ‘घाम छेक्ने पहाड, तर पनि हामी जीवित छौं, दुःसाध्य समय, शब्दहरुका बीचमा र समय संवाद जस्ता पाँच कविता कृति प्रकाशित छन् । गिरीका मौलिक र सम्पादित गरेर दर्जनौं समालोचना कृति पनि प्रकाशित छन् । उनका प्रमुख समालोचना कृति हुन्– समय, समाज र संस्कृति, समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य, भूमण्डलीकरण र साहित्य, साहित्य विमर्श, कवितामा वर्गद्वन्द्व । उनको सम्पादन र सहसम्पादनमा थुप्रै समालोचना सङ्गालो प्रकाशित छन् ।

“एकै भञ्ज्याङ् चढ्दैमा बिसाइ नफेर्ने काव्ययात्री हुन् – अमर गिरी । कविताको उकालोमा पाँच दशकभन्दा बढी समय अथक यात्री हुनु आफैमा असाधारण साक्ष्य हो ।” प्रकाशक बेला पब्लिकेसन्सले भनेको छ, “कवि गिरी २०३० को दशकदेखि प्रगतिवादी कविता धारामा अनवरत क्रियाशील छन् । समाज, प्रकृति, जीवन, दर्शन, वर्गसङ्घर्षजस्ता स्थूल विषयदेखि मानवजीवनका सुक्ष्मतम मनोद्वन्द्व, प्रेम, पीडा, आशा, निराशा, चिन्ताजस्ता भावनालाई पनि सहज शब्दबुनोट र सुन्दर शैलीमा अभिव्यक्ति दिन्छन् गिरीका कविताले । आम मान्छेका सुखदुःखलाई वाणी दिने, जीवन महत्ताको गाथा गाउने, सङ्घर्षशीलहरुसँग ऐक्यबद्धता जनाउने, विकृत दुनियाँको विरूद्धमा निर्धक्क उभिने – गिरीका यी कविता कोमल लवजका तिख्खर स्वरहरु हुन् ।”

पाँच दशकदेखि नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलन, साहित्य–फाँट र सङ्गठनका क्षेत्रमा पनि क्रियाशील गिरी प्रगतिशील लेखक सङ्घका पूर्वअध्यक्ष समेत हुन् । उनले नेपाली प्रगतिवादी कवितामा विद्यावारिधि अनुसन्धान गरेका छन् ।

No comments:

Post a Comment