रमेश प्रभातको निसमालोचना ‘पात्रको चिठी समीक्षकका नाममा’ - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, April 6, 2024

रमेश प्रभातको निसमालोचना ‘पात्रको चिठी समीक्षकका नाममा’



निसमालोचना

 पात्रको चिठी समीक्षकका नाममा

रमेश प्रभात

अध्यक्ष, अक्षर समूह चितवन ।

(म रमेश प्रभात । एक सर्वसाधारण । केही न केही पढिरहन चाहने व्यक्ति । आफूलाई लेखक कम पाठक बढी ठान्ने मान्छे । पढ्नु मेरो रुचि र आवश्यकता दुबै । पढेका कुराका बारेमा अरुलाई थाहा दिनुपर्छ भन्ने मान्यता राख्ने गरेको मनुवा । समीक्षक यहाँहरूले गुथाएको पगरी । अझ कोही कोही त समालोचक पनि भन्न पछि पर्दैनन्, यो भार थेग्नु पो कसरी ? यही क्रममा महाकाव्यकार पोषराज पौडेलको ‘शुक्लागण्डकी’ महाकाव्य पढ्दै गरेको । यसको हरकले मनलाई सताइरहेको अवस्था । राति सुत्ने क्रममा महाकाव्यका पात्रले सताउन थालेको । सपनामा मलाई सम्बोधन गरेर लेखेको पत्र विपनामा उठेर यहाँहरूसमक्ष जस्ताको त्यस्तै राखेको छु । अवश्य मन पराउनुहुनेछ भन्ने आशाका साथमा ।)

 शुक्लागण्डकी

कोरोनाकाल, २०१९

आदरणीय समीक्षक रमेश प्रभातज्यू,

नमस्कार ।

          यहाँको लेखनीले हामीलाई तानेको छ । हो, यहाँले केही न केही निरन्तर लेखिरहनुभएकै छ । त्यसैले यहाँलाई सञ्चो आरामै होला भन्ने विश्वास लिएका छौँ । हामीले आफूलाई ठिक छौँ भन्नु कि ठिक छैनौँ भन्नु ? हामी त बडो दोधारमा छाँै । जे भए पनि लेखपढ गर्न सक्ने अवस्थामा भने हामी पक्कै छौँ । यति हुनु पनि राम्रै त होला ।

          हामी हाम्रो कुरा गर्न चाहन्छौँ । विश्वस्त सूत्रबाट यहाँले ‘शुक्लागण्डकी’ महाकाव्य पढेको सूचना पायौँ । यहाँले कृति राम्रैसँग पढ्नुभयो होला भन्ने अनुमान गरेका छौँ। कृति पढेछि समीक्षा त पक्कै गर्नुृहुन्छ होला । हामी परम्परित समीक्षामा त्यति चासो राख्दैनौँ र पढ्दनौँ पनि । यहाँले अन्य समालोचकले भन्दा अलिक फरक लेख्नुहोला भन्ने आशा राखेर यो पत्र कोर्दै छौँ । यहाँको समीक्षमा हामीमाथि न्याय होस् भन्ने अपेक्षा हो हाम्रो ।

          त्यसो त महाकवि पोषराज पौडेलले आफ्नो महाकाव्य ‘शुक्लागण्डकी’मा हामीलाई जन्माउन निकै मेहनत गरेका छन् भन्ने कुरा त महाकावय पढेपछि यहाँले पक्कै थाहा पाउनुभयो होला । हामीमध्ये म दाजु स्पार्टाकसले नेपालमा जन्मन पाऊँ भनेर पहिलो सर्गको दोस्रो श्लोकमै कविले यस्तो मङ्गलाचरण गराएका छन् :

          हे धर्ती जननी ! मेरो तिमीलाई प्रणाम छ

          यो स्पार्टाकसको इच्छा आमाको सुख बन्दछ

          फूलको बिम्बमा बस्छु सूर्यको रङ्गमा म छु

          नेपाल भूमिमा ऐले इच्छा जन्मन गर्दछु । (पृ. १)

          यति विघ्न मेहनत गरेर जन्माएको पात्रलाई कविले बिचका अठार सर्गमा पूरै छायामा पारिदिएका छन् भने अन्तिम अर्थात् बिसौँ सर्गमा बल्ल हाम्रो उपस्थिति देखाइदिएका छन् । यसो गरेको हामीलाई पटक्कै मन परेको छैन । त्यसो त कविले हामी दाजुभाइ स्पार्टाकस र पिटरलाई गोरे र राधाको जुम्ल्याहा सन्तानका रूपमा जन्माएर पाँच वर्षको कलिलो उमेरमै तालिमका लागि बाबुआमाबाट टाढा गुरुको सङ्गतमा पठाएका छन् । दिव्य दश वर्ष कठोर तालिममा लगाएर पन्ध्र वर्षको बाल्यकालीन उमेरमै हामीलाई शूरवीर घोषणा गरिदिएका छन् ।

          समीक्षकज्यू, हामी ‘महाभारत’को अभिमन्यू त होइनौँ नि ! कि महाकविले आफूलाई व्यास नै सम्झे ? त्यो बेला र यो बेला उस्तै कहाँ छ र ?

          सामान्यतः बालकको काम कि त पढ्नु हो कि त खेल्नु हो । हामीलाई कविले त्यो अवसरै दिएका छैनन् । बरु हामीलाई त युद्धको नायक पो बनाइदिएका छन् । हो, महाकविले यो महाकाव्यको बिसौँ सर्गमा हामी बालकलाई नेता बनाएर हाम्रा पिता गोरे र माता राधाले युद्धको सामना यसरी गरेको देखाएका छन् :

          नेतृत्व पूर्वमा स्पार्टाकस ती अविनाश छन्

          लिँदै पिटरले जिम्मा उनी पश्चिमतर्फ छन्

          गोरे उत्तरमा लागे उतै निश्चल बस्दछन्

          राधा र कृष्णले मध्य भाग नेतुत्व गर्दछन् । (पृ. २४०)

          यो महाकाव्यमा महाकविले युद्धको नेतृत्व गर्न हामी बालकलाई किन अघि सारे ? के हाम्रो काम केवल युद्धमा सघाउने मात्रै हो ? यस्ता कुरा पढ्दा हाम्रो मन सधैँ अशान्त हुन्छ ।

          महाकविले सिङ्गो महाकाव्यभरि हाम्रा आमाबुबा राधा र गोरेको मात्र चर्चा गर्नु थियो भने हाम्रो जन्मको औचित्य के ? हामीलाई अन्तिममा उभ्याएर युद्ध जिताउनु कविको स्वार्थ मात्रै हो कि देशमा साँच्चैको परिवर्तनको शङ्घोष हो ? परिवर्तन पनि त्यसरी एक्कासि हुन्छ र ? त्यसका लागि त क्रमिक रूपमा वातावरण बन्नुपर्ने होइन र ? हाम्रा गुरुले हामीलाई हतियार थमाएर युद्धमा किन पठाएका ? हामी दाजुभाइको जब्बरसिँह, वृषभसिँह र भजनेसँग प्रत्यक्ष दुश्मनी के थियो र ? गाउँलेलाई शोषण गरेको छ भन्ने कुरा सुन्दैमा हामीलाई उनीहरूको बध गर्न किन विवश पारियो ? यसरी सामन्तको बध भएपछि शुक्लागण्डकीमा कसको शासन आयो ? हामी पन्ध्रबर्से बालकलाई हँसिया–हतौडा अङ्कित झन्डाको के अर्थ ? यसो गर्नु बालश्रमलाई बढावा दिनुबाहेक के हो त ? तपाईंसँग जवाफ छ समीक्षकज्यू ?

          माथि उठाइएका सवालहरू हामी दाजुभाइका मात्र होइनन् । हामीलाई भेट्ने केही पाठकहरूका पनि हुन् । हामीले यी सवाल हाम्रा मानसपिता अर्थात् महाकाव्यका सर्जक पोषराज पौडेललाई प्रत्यक्ष रूपमा भेटेर सोध्न चाहेका थियौँ । महाकाव्य लेख्न शुक्लागण्डकीमा बसेका भए पनि लेखेर सकेपछि उनी शुक्लागण्डकीतिर देखापरेका छैनन् । त्यसैले यी प्रश्न हाम्रा मनभरि गुम्सिएका थिए । यो पत्र यहाँलाई लेखेपछि भने हाम्रो मन केही शान्त भएको छ । तपाईंले आफ्नो समीक्षामार्फत् कविजीसँग पुर्‍याइदिनुभयो भने कविजीबाट यी सवालका चित्तबुझ्दो जवाफ आउँथ्यो कि ? छिट्टै जवाफ नआए पनि केही छैन, हामीले हाम्रो जिज्ञासा राखेकै छौँ । कुनै न कुनै दिन त पक्का आउला भन्ने आशामा बसेका छौँ ।

          समीक्षकज्यू,

          यो एक्काइसौँ शताब्दी हो, वेदव्यास वा होमरको जमाना होइन । महाकवि पौडेलले हामीलाई गुरुकूलमा पठाएर माक्र्सवादको ठेली घोक्न, हतियार चलाउन, घोडा दौडाउन बाध्य बनाएका छन् । हामी बालकका बाल्यकाल बरवाद पारिदिएका छन् । यसो गर्नु कत्तिको जायज हो ? यदि होइन भने त्यसको हर्जाना कसले तिर्छ ? लेखकले कि प्रकाशकले ? कि अन्य कुनै संस्थाले ? यसको जवाफचाहिँ यहाँ आफैँले खोजेर पठाइदिनुहोला । यहाँले प्रत्यक्ष रूपमा खोजेर हामी भेटिनेवाला छैनौँ । पत्र पठाए पनि हाम्रो हातमा पुग्नेवाला छैन । त्यसैले यो इमेल ठेगानाको प्रयोग गरिदिनुहोला : 

        [email protected]

          हामी यहाँको जवाफको व्यघ्र प्रतीक्षामा छौँ । हवस् त यहाँको समीक्षा अझ सशक्त बन्दै जाओस् । थप संवादका लागि अर्को पटक लेखौँला । अहिलेलाई यत्ति ।

उही यहाँका शुभेच्छुहरू

स्पार्टाकस र पिटर ।

No comments:

Post a Comment