भाषा आलोकनको छैटौँ अङ्क सार्वजनिक - सम्मोहन साहित्यिक पत्रिका

Slide1

Monday, March 11, 2024

demo-image

भाषा आलोकनको छैटौँ अङ्क सार्वजनिक

.com/img/a/

391a44f5-e2a8-46ec-908f-9cfd538629be

 

पोखरा । नेपाली भाषा शिक्षक परिषद्, कास्कीको चौधौँ साधारण सभा सोमवार पोखरामा सम्पन्न भएको छ ।

`भाषा सभ्यताको संवाहक हो´ भन्ने मूल मन्त्रका साथ स्थापना भएर नेपाली भाषा शिक्षणसँग सम्बन्धित शिक्षककेन्द्रित र विद्यार्थीकेन्द्रित कार्यक्रमका साथै  भाषिक अनुसन्धानमूलक  कार्य गर्दै  आएको परिषद्ले आफ्नो मुखपत्र ‘भाषा आलोकन’ को अङ्क ६ पनि सोही अवसरमा सार्वजनिक गरेको छ ।

कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्ति वरिष्ठ समालोचक प्रा. डा.दयाराम श्रेष्ठले नेपाली भाषा शिक्षक परिषद्ले भाषा र भाषिक अनुसन्धानका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे । विगतका दिनमा भन्दा आज गर्वका साथ नेपाली विषय शिक्षक हुँ भन्ने अवस्था आएको भन्दै श्रेष्ठले आफ्नो साधना त्यसैका लागि भएको धारणा भनाइ राखे । भाषा शिक्षक परिषद् जस्ता संस्थाले नेपाली भाषाको संरक्षण र उत्थानमा लडाइँ लड्नुपर्ने उनको विचार थियो । २०५३ मा ‘नेपालको राष्ट्रिय झन्डा’  कृतिका लागि मनद पुरस्कार विजेता श्रेष्ठले भाषासम्बन्धी कार्यक्रममा उपस्थित हुन पाउँदा आफूलाई नोबेल पुरस्कार पाएको भन्दा बढी खुसी लाग्ने बताए । प्रा.डा. श्रेष्ठले भाषा बिग्रँदा देशले ठुलो क्षति बेहोर्ने भन्दै भाषाको सुधारका लागि हामी सबै लाग्नुपर्ने विचार व्यक्त गरे । उनले सांस्कृतिक राष्ट्रवादको विचारलाई आफूले अघि बढाएको जानकारी दिँदै सबैले आत्मसात गर्नुपर्ने धारणा राखे । संस्थाका सल्लाहकार सहप्राध्यापक डा. पुण्यप्रसाद शर्माले प्रमुख आमन्त्रित व्यक्तित्व प्रा.डा. दयाराम श्रेष्ठको परिचयसहितको मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा भाषा आलोकन अङ्क ६ का समालोचक सुरज पौडेलले आलोकनको आद्योपान्त समालोचना गर्दै पुस्तकमा भाषा र साहित्यका विविध विधा समेटिएकाले विषयगत र शैलीगत विविधतासहितको पुस्तक धेरै दृष्टिले उत्कृष्ट बनेको धारणा राखे । पौडेलले भाषा आलोकनले भाषा अध्यापक र अध्येताको पेसागत विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा `लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन´ शीर्षकमा विद्यावारिधि उपाधि  हासिल गरेका संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार उपप्राध्यापक डा . बोधराज ढकाललाई सम्मान गरिएको थियो भने नयाँ आजीवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान र  विभिन्न प्रतियोगितात्मक कार्यक्रमको पुरस्कार वितरणसमेत गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाली भाषा शिक्षक परिषद्का सल्लाहकार प्रा.डा. रामनाथ ओझा, सल्लाहकार सहप्रा. डा यमनाथ तिमिल्सिना, संस्थापक अध्यक्ष तथा सल्लाहकार माधवशरण उपाध्याय, सम्मानित व्यक्तित्व तथा सल्लाहकार डा .बोधराज ढकाल, गणित शिक्षक मञ्च, कास्कीका अध्यक्ष डिल्लीराम अधिकारी, नेपाली भाषा शिक्षक परिषद्, पर्वतका अध्यक्ष सन्तोष पौडेललगायतले शुभकामना दिएका थिए ।

संस्थाका अध्यक्ष डिल्लीराम अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद लम्सालले स्वागत मन्तव्य गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव शिवहरि सुवेदीले गरेका परिषद्का सचिव नारायणप्रसाद पराजुलीले जानकारी दिए ।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *