सोच (लघुकथा)- दीपक समीप - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Thursday, March 7, 2024

सोच (लघुकथा)- दीपक समीप

-            दीपक समीप

झलक्क हेर्दा ऊ त्यति राम्रो मान्छे त होइन तैपनि उसले दिनदिनै नयाँ नयाँ केटीहरू कसरी घुमाउँछ ?” म सोच्न थाल्छु ... ।

ऊ सामान्य सरकारी जागिरे हो तैपनि उसलाई दिनदिनै दोहोरी रेस्टुरेन्ट धाउन कसरी पुगिरहेको छ ?” म सोचमग्न हुन्छु ।

पहिले हामी एउटै घरमा भाडामा बस्थ्यौँ । हालसालै नयाँ घर किनेर ऊ डेराबाट मुक्त भएको छ ।

गाउँको त्यति थोरै जग्गाजमिन बेचेर सहरमा घर किन्न त गाह्रै पर्छ, र पनि उसले घर कसरी किन्यो ?” म गम्भीर सोचमा छु ... ।

पहिले पहिले सँगै पैदल अफिस जान्थ्यौँ हामी । आजभोलि ऊ आफ्नै गाडीमा हुइँकिने गर्छ । पदोन्नति पनि भएको छैन । छोराछोरी विदेशमा कमाउन पनि गएका छैनन् । फेरि कुनै चिट्ठा परेको पनि हामीलाई थाहा भएन । “मान्छेले कसरी प्रगति गर्छन् हँ ?” म सोच्न बाध्य भएको छु ... ।

जाडोको याम थियो । घाम ताप्न भनेर म घरबेटीको घरको छतमा टहलिँदै थिएँ । तल सडकमा रमिता देखियो । बुझ्दा पत्ता लाग्यो, उसको घरमा अख्तियारले छापा मारी उसलाई समातेर लगेछ । त्यसपछि भने मैले उसका बारेमा सोच्नै छोडिदिएँ ।

 (साभारः नदीको राजमार्ग)



No comments:

Post a Comment