पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Thursday, February 1, 2024

पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने

 


पोखरा । मुक्तक मञ्च पोखराको केन्द्रीय समितिले बिहिबार पोखरामा प्रथम मुक्तक दिवस मनाएको छ ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा मुक्तककार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार–२०८० प्रदान गर्ने घोषणा गरिएको थियो । पुरस्कारमा ३३ हजार ३३३ रुपियाँ नगद, दोसल्ला र सम्मानपत्र रहेको छ । मञ्चका सल्लाहकार तथा प्रतिभा छनोट समितिका सदस्य रुपिन्द्र प्रभावीले सो घोषणा गर्दै शेरचनले ३० को दशकदेखि हालसम्म नेपाली मुक्तकमा पुर्‍याएको योगदानको कदरस्वरूप पुरस्कार प्रदान गर्न लागिएको जानकारी दिए । साहित्यकार सरुभक्तको संयोजकत्वमा प्रभावी र कृष्ण देवकोटा सदस्य तथा संस्थापक विष्णु अल्पविराम र अध्यक्ष रामजीप्रसाद आचार्य पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको मञ्चले जनाएको छ ।

२०१२ मा पोखरामा जन्मेकी साहित्यकार शेरचनको वि. सं. २०५६ मा ‘अक्षरहरूका शिविरबाट’ नामक मुक्तक सङ्ग्रह प्रकाशित छ । यसका अलावा नजन्मेका आस्थाहरू (कविता सङ्ग्रह, २०४८), सर्वकालीन पीडा र जागृतिका शङ्खघोष (कविता सङ्ग्रह, २०६३), तेस्रो रङ (कथा सङ्ग्रह, २०७०), आधि (उपन्यास, २०७६) प्रकाशित छन् । खोलीको दुई किनार भो... लगायत थुप्रै गीतहरूसमेत लेखेकी शेरचन यसअघि नातिकाजी सङ्गीत पुरस्कार, पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार, व्यथित काव्य पुरस्कारलगायतबाट सम्मानित छिन् ।

मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा मुक्तक दिवसको महत्त्वबारे बोल्दै नेपाल मुक्तक प्रतिष्ठान र मुक्तक मञ्चको संयुक्त पहलमा मुक्तक दिवस मनाउने निर्णय भएको जानकारी दिए । पोखरामा २०७० मा जारी गरिएको रचनाविधानसम्बन्धी पोखरा घोषणापत्र जारी भएको र २०३५ मा टिकटमा मुक्तक कार्यक्रम सम्पन्न भएको सन्दर्भलाई आधार मानेर हरेक वर्ष माघ १८ गते मुक्तक दिवस मनाउने निर्णय भएको उनको भनाइ थियो । यसले नेपाली मुक्तकका क्षेत्रमा विशेष महत्त्व राख्ने उनको भनाइ थियो ।

पुरस्कारका संस्थापक विष्णु अल्पविरामले पुरस्कारको रकम क्रमशः बढाउँदै लैजाने प्रतिबद्धता जनाए । कार्यवाहक सचिव अम्बिका ओझाद्वारा सञ्चालित कार्यक्रममा डा. ईश्वरमणि अधिकारी, गौरी तमु, कृष्ण देवकोटालगायतले आफ्ना मुक्तक वाचन गरेका थिए ।



No comments:

Post a Comment