‘अरुन्धतीको मृत्यु’ लिएर आए विष्णु भण्डारी - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Tuesday, December 26, 2023

‘अरुन्धतीको मृत्यु’ लिएर आए विष्णु भण्डारी



काठमाडौं साहित्यकार विष्णु भण्डारीको कथा सङ्ग्रह ‘अरुन्धतीको मृत्यु’ मङ्गलवारदेखि बजारमा आएको छ ।

जनयुद्धकालीन विषय र प्रवृत्तिमाथि लेखिएका १६ वटा कथा कृतिमा सङ्गृहीत छन् । भण्डारीले कथामार्फत् युद्धकालीन नेपाली समाजको यथार्थलाई खोतल्ने प्रयास गरेका छन् । उनका अनुसार यी कथा काल्पनिक र बनावटी यथार्थमाथि नभएर तत्कालीन समयका प्रतिनिधि घटना, प्रवृत्ति र विषयमाथि आधारित छन् । केही महिनाअघि मात्र उनको ‘नेपाली युद्धसाहित्य’ नामक गैरआख्यान प्रकाशित भएको थियो ।

नेपाली युद्धसाहित्यमाथि बहस गर्दै आएका भण्डारीले युद्धसाहित्य (War  Literature) मात्र नभएर युद्धपछिको साहित्य (Postwar Literature) मा पनि काम गर्दै आएका छन् । उनका अनुसार यसपछि आउने उनको कृतिमा युद्धमा संलग्न र युद्धबाट प्रभावित नागरिकले युद्धपछि भोगेका ट्रमा र युद्धपछिको मानवीय संवेदनालाई आधार बनाएर लेखिएका कथा रहने छन् । 

साहित्य पार्टीको घोषणापत्र हुन सक्दैन भन्ने धारणा राख्ने भण्डारीले अहिलेसम्म प्रकाशित सबैजसो कृतिमा राजनीतिक विषय र सामाजिक मुद्दालाई नै प्रमुखताका साथ उठाउँदै आएका पाइन्छन् । राजनीतिक विषय र मुद्दालाई विषयवस्तु बनाएर साहित्य लेखे पनि उनको लेखनमा असङ्गत राजनीति र भ्रष्ट राजनीतिज्ञमाथि तीव्र आक्रोश भेटिन्छ । समाजमा मौलाउँदै गएको मूल्यहीनताका साथै सामाजिक, सांस्कृतिक र राजनीतिक विकृति र विसङ्गतिको खरो आलोचना उनको लेखनको प्रमुख पक्ष हो । ‘अलगधार’ उनको लेखनको रोडम्याप हो । 

चालिसको दशकदेखि कविता विधामा कलम चलाउँदै आएका भण्डारी सत्तरीको दशकयता आख्यान र गैरआख्यान लेखनमा क्रियाशील छन् । अहिलेसम्म उनका कविता सङ्ग्रह, खण्डकाव्य, महाकाव्य, आख्यान र गैरआख्यान गरी १२ वटा कृति प्रकाशित छन् । ‘पहेँलो घाम’ र ‘सुनको पहाड’ उनका अत्यधिक रुचाइएका उपन्यास कृति हुन् ।

कथा सङ्ग्रह ‘भुँडीपुराण प्रकाशन’ ले बजारमा ल्याएको हो । सुन्दर कलेवरसहित १९२ पृष्ठ रहेको कृतिको मूल्य ३५० रुपियाँ राखिएको छ ।

 

No comments:

Post a Comment