लेख्ने विषयको खोजी निबन्धसङ्ग्रहमा भावविधान (कृतिसमीक्षा)- रमेश प्रभात - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Wednesday, November 17, 2021

लेख्ने विषयको खोजी निबन्धसङ्ग्रहमा भावविधान (कृतिसमीक्षा)- रमेश प्रभात

 कृतिसमीक्षा

लेख्ने विषयको खोजी निबन्धसङ्ग्रहमा भावविधान

- रमेश प्रभात

उपप्राध्यापक, वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर ।

नेपाली पत्रकारिताका क्षेत्रमा राम्ररी जमेका मोदनाथ मरहट्टा नेपाली कविताका क्षेत्रमा राजनीतिक विषयवस्तुका कवितामा रमाएका स्रष्टा हुन् । उनी पछिल्ला कृति लेख्ने विषयको खोजी निबन्धमा पनि राम्ररी जमेका छन् । नेपाली साहित्यलाई समसामयिक विषयका विविध भावलाई समेटेर सामान्यदेखि उच्च स्तरका पाठकले समेत पढ्नयोग्य कृति दिन सक्नु उनको उपलब्धि हो ।

 आरम्भ

तत्कालीन गण्डकी प्रदेशको गोरखा जिल्लामा पर्नेे हर्मी भन्ने गाउँमा वि.सं. २०१२ मा जन्मी सोही भूगोगमा लामो समय बिताएका मोदनाथ  मरहट्टा हाल चितवनको रत्ननगर–३ मा स्थायी रूपमा बसोबास गर्दै आएका स्रष्टा तथा राजनैतिक व्यक्तित्व हुन् । गोरखामा लामो समय शिक्षण तथा पत्रकारिताका माध्यमबाट आफ्नो जीवनको उर्बर समय सिंचेर हाल अवकाशप्राप्त जीवन बिताउनका लागि चितवनतर्फ बसाइँ सरेका कवि तथा पत्रकार मोदनाथ मरहट्टा उदय गाउँलेका नाम बाट पनि लेख्ने गर्छन् । उनी विभिन्न साहित्यिक, राजनैतिक तथा सामाजिक संघ–संस्थासँग पनि आबद्ध रहेका छन् । कृतिगत रूपमा हालसम्म उनका पाइला शिखरतिर उकासिँदै गर्दा (कवितासङ्ग्रह, २०५५), उज्यालो जन्मनुअघि (लघुकाव्य, २०६२) र लेख्ने विषयको खोजी (निबन्धसङ्ग्रह, २०७६) प्रकाशित भएका छन् । उल्लिखित कृतिका अतिरिक्त विभिन्न पत्रपत्रिकामा उनका फुटकर रचनाहरू छरिएर रहेका छन् ।

लेख्ने विषयको खोजी : सामान्य चिनारी

प्रगतिवादी स्रष्टा मरहट्टाको पछिल्लो कृति लेख्ने विषयको खोजी  भिजन पब्लिकेशन, काठमाडौँले वि.सं. २०७६ मा प्रकाशित गरेको निबन्धसङ्ग्रह हो । जम्मा १२८ पृष्ठको आयाममा फैलिएको यो कृतिमा २४ वटा निबन्धात्मक रचना समेटिएका छन् । घटीमा तीन पृष्ठदेखि बढीमा सात पृष्ठको आयामसम्म फैलिएका यी निबन्धहरूमध्ये अधिकांश चार पृष्ठको आयाममा बुनिएका छन् । यसमा सङ्कलित निबन्धले नेपाली समाजका विविध विषयवस्तुलाई भावका रूपमा प्रस्तुत गरेको छ ।

लेख्ने विषयको खोजीमा प्रयुक्त भाव

लेख्ने विषयको खोजीको सुरुको निबन्ध अक्षरको आस्थामा प्रगतिवादी कवि कृष्ण सेन ‘इच्छुक’सँग सम्बन्धि संस्मरण उनिएको छ भने उक्त कृतिको दोस्रो निबन्ध माटोको मायामा माटो अर्थात् देशको महत्व झल्काउने काम गरिएको छ । तेस्रो निबन्ध मुसाहरूको उपद्रोलाई हेर्दा सामान्य लागे पनि मुसा र मान्छेको तुलना गरेर लेखिएको व्यङ्ग्यात्मक खालको उच्च कोटिको निबन्ध हो । त्यस्तै चौथो निबन्ध बाको आँखामा आँसु सन्तानका लागि आफ्नो जिन्दगी अर्पने बाहरूको सम्मानमा रचित मार्मिक निबन्ध हो । 

म गहिरिएर बूढो गोरू र मेरो तात्विक अन्तर खोज्छु । म चेतनाले त्यो गोरूभन्दा विशिष्ट त छु । त्यो गोरूको मालिक एउटा मात्र छ, मेरा मालिक भने धेरै छन् । नाम भनूँ ?

कृतिभित्र समेटिएकानैनीतालमा नेपाली नेपाली नाम्लो, भुङ्लीचोकको नियति, छिम्काको रङ, चित्रेको उकालो र बूढ्यौलीको कर्मजस्ता निबन्ध यात्रासँग सम्बन्धित छन् । उनको नाम शीर्षकको निबन्ध स्वपहिचानसँग सम्बन्धित निबन्ध हो भने मास्टरी जीवनको सम्झना आफूले जीवनभरि गरेको शिक्षण पेसाको स्मरणमा रचित निबन्ध हो । यसरी लेखकले आफ्नो जीवनमा देखे–भोगेका विविध भावलाई यो कृतिमा समेटेका छन् ।

यस कृतिभित्र लेखकले आफ्नो नाता सम्बन्धका बा, आमा, छोरी, दाजुभाइ आदिलाई पनि विषय बनाएर प्रस्तुत गरेका छन् । आफू पूर्व शिक्षक भएका कारण शिक्षकका पीडा र पूर्व पत्रकार भएका कारण उसले भोग्ने नियति पनि समेटेका छन् । देशप्रेम, स्थानीयताको चित्रण, अतिथिका कुरा, शहरका फोहर, गाउँको धूलो, भूइँमान्छेको कथा, सीमाको पीडा, यात्राका दुःख–सुख आदि पनि यसमा अटाएका छन् । यसर्थ यस कृतिभित्र विषयगत विविधता छ । अन्तिम अर्थात् चौबीसौँ निबन्ध आमाहरूको जीवन खोतल्दा आमासँग सम्बन्धि मार्मिक निबन्ध हो । यसमा नेपालमा पहिला पहिला प्रचलित बाल विवाह, अनमेल विवाह, विवधा विवाहजस्ता विभिन्न खालका विवाहका कारण महिलाको जीवनमा पार्ने विविध खालका प्रभावहरूको चित्रण गरिएको छ ।

निबन्धकार मरहट्टाको लेख्ने विषयको खोजीमा समेटिएका अधिकांश निबन्धमा लेखकले आफ्नो प्रगतिवादी सोचलाई कतै न कतै मिसाएका छन् । उनी समाजमा हुने गरेका कुरीतिप्रति तीब्र आक्रोश राख्छन् भन्ने कुरा उनका सङ्ग्रहमा समेटिएका निबन्धले प्रष्ट पारेका छन् । उनी लेख्ने विषय खोज्दै गर्दा समाजमा विकृति र विसङ्गति मात्रै मौलाएको पाउँछन् । हेरौँ एउटा उदाहरण ः

म गहिरिएर बूढो गोरू र मेरो तात्विक अन्तर खोज्छु । म चेतनाले त्यो गोरूभन्दा विशिष्ट त छु । त्यो गोरूको मालिक एउटा मात्र छ, मेरा मालिक भने धेरै छन् । नाम भनूँ ? भो ! सबैको नाम भन्दा म फेरि कालो या रातो सूचीमा पर्न सक्छु । (लेख्ने विषयको खोजी, पृष्ठ ः ८८)

लेखकलाई लेख्नका लागि अनुसन्धान नै गर्नुपर्छ भन्ने मान्यतालाई लेख्ने विषयको खोजी निबन्धले निस्तेज पारिदिएको छ । निबन्धको विषय घगडान दार्शनिक खालको हुनुपर्छ भन्ने एक खालका विद्वान्का विचारको पनि यो कृतिले खण्डन गरेको छ । लेखक आफूले देखेको, भोगेको, अनुभूत गरेको विषयवस्तुलाई सहज रूपमा पस्किन सक्छ भन्ने दह्रो प्रमाण हो– लेख्ने विषयको खोजी निबन्धसङ्ग्रह ।

उपस्थापन

राजनीतिक विषयवस्तुका कवितामा रमाउने स्रष्टा मोदनाथ मरहट्टा निबन्धमा पनि राम्ररी जमेका छन् । नेपाली साहित्यलाई समसामयिक विषयका विविध भावलाई समेटेर सामान्यदेखि उच्च स्तरका पाठकले समेत पढ्नयोग्य यस्तो उच्च खालको निबन्ध कृति प्रदान गरेकोमा सर्जकलाई हार्दिक साधुबाद छ । उनीबाट नेपाली साहित्यका पाठकले जनयुद्धसँग सम्बन्धित थुप्रै खुराक पाउन सक्छन् । यस्तै यस्तै विषयका थप कृतिहरू पनि नेपाली साहित्यका पाठकले छिट्टै पढ्न पाऊन् भन्ने शुभेच्छाका साथ कलम रोक्छु ।

[email protected]


No comments:

Post a Comment